काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन दिएको छ ।
आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्दै ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा (सिसी क्यामेरा) को प्रबन्ध गरेको हो ।
मतगणनाको क्रममा हुने अवाञ्छित गतिविधि रोक्न र विवाद कम गर्ने उद्देश्यका साथ सिसी क्यामेराको प्रबन्ध गरिएको हो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।
कूल ३५० पालिकामा यसअघि नै सिसी क्यामेरा जडान भइसकेको छ । आज या भोलिसम्म सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइसक्नेछ । साथै ५० पालिकाले आफुखुसी आयोगको भीएमएस सिस्टमसँग जडान नहुने सिसी क्यामेरा जडान गरेको पाइएकाले त्यसलाई पनि सोही प्रणालीमा जडान हुने गरी क्यामेरा प्रबन्ध गर्न भनिएको छ । सो कार्य वैशाख २९ गतेसम्म पूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।