बुधबार , अषोज ९, २०८१

एडमण्ड हिलारी को हुन् ?

मे २९ को दिन सबेरै उठेर चढाई सुरु गरेका हिलारी र तेन्जिङको जोडी बिहान ढल्दा नढल्दै शिखरमा पुगे । दुवैले हात मिलाए, अङ्कमाल गरे ।

image

आज जुलाई २० अर्थात् एडमण्ड हिलारीको जन्मदिन् । एडमण्ड पर्सिभल हिलारी अर्थात् एडमण्ड हिलारी (जन्म: जुलाई २०, १९१९, मृत्यु: जनवरी ११, २००८), एक न्यु जिल्याण्डेली पर्वतारोही एवम् एन्टारक्टिक अन्वेषक थिए, जो नेपाली पर्वतारोही तेन्जिङ नोर्गे सँगसँगै सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्ने अर्का पहिला व्यक्ती थिए ।

हिलारीका पिता मौरीपालक थिए र उनी पनि यसैमा आबद्ध रहे । हाईस्कुल पढ्दा उनी न्यु जिल्याण्ड्मा रहेको साउथर्न एल्प्स चढ्न थाले । दोस्रो विश्वयुद्धमा सैन्य सेवा सकेपछि उनी फेरि पर्वतारोहणतिर फर्किए र सगरमाथा चढेरै छाड्ने अठोट गरे । सन् १९५१ मा मध्य हिमालयको यात्रामा निस्केको एउटा न्यु जिल्याण्डेली टोलीसित गाँसिएका उनले सोही वर्ष सगरमाथाको दक्षिणी भागको सैनिक परीक्षण अभियानमा भाग लिए । पछि उनलाई सगरमाथा चढ्ने तरखरमा रहेका केही पर्वतारोहीहरूले आफूसँगै आउन आग्रह गरे ।

१९५३ को वसन्त ऋतुमा उक्त सुसंगठित अभियान सुरु गरियो र मे महिनाको बीचतिर आइपुग्दासम्म शिखरसम्म पुग्न सहज होस् भनेर हाई क्याम्पको स्थापना पनि गरियो । मे २७ का दिन केही आरोहीहरू चुचुरोमा पुग्न असफल भए । त्यसको लगत्तै मे २९ को दिन सबेरै उठेर चढाई सुरु गरेका हिलारी र तेन्जिङको जोडी बिहान ढल्दा नढल्दै शिखरमा पुगे । दुवैले हात मिलाए, अङ्कमाल गरे र हिलारीले केही तस्वीर पनि खिचे ।  त्यसपछि दुबैजना मिलेर १९२४ मा सगरमाथा चढ्ने क्रममा हराएका एक बेलायती पर्वतारोही जर्ज म्यालरी शिखरमा पुगेको जनाउने केही निशानी भेटिन्छ कि भनेर खोज्न लागे । हिलारीले त्यहाँ एउटा क्रुसिफिक्स छोडे भने तेन्जिङ जो कि एक बौद्ध धर्मावलम्बी थिए, उनले केही खानेकुरा चढाए ।

शिखरमा त्यस्तै १५ मिनेट बिताएपछि उनीहरू ओर्लिन थाले । तल क्याम्पमा आइपुगेर आफ्ना सहकर्मी डब्ल्यु. जि. लोवसँग हाँसो गर्दै भने, “वेल, जर्ज, वि नोक्ड दि बास्टर्ड अफ ।” हिलारीले आफ्नो यस उपलब्धिबारे १९५५ को आफ्नो पुस्तक “हाई एड्भेन्चर”मा चर्चा गरेका छन् । त्यसो त उनले १९६० को दशकमा पनि धेरैपटक सगरमाथा क्षेत्रको भ्रमण गरे तर फेरि कहिल्यै शिखरसम्म पुग्ने कोसिस भने गरेनन् ।

१९५५ र १९५८ का बीचमा उनले सर भिभियन फ्युसको नेतृत्वमा कमनवेल्थअन्तर्गतको ट्रान्स-एन्टार्कटिक यात्रामा भाग लिन गएको न्यु जिल्याण्डको टोलीको प्रशिक्षकका रूपमा काम गरे । उनी जनवरी ४, १९५८ का दिन ट्र्याक्टरमा दक्षिण ध्रुवमा पुगे । यसको चर्चा उनले १९५८मा भिभियन फ्युसँग मिलेर लेखेको “दि क्रसिङ्ग अफ एन्टार्क्टिका” र उनको १९६१ को “नो ल्याटिट्युड फर एरर” मा पाइन्छ । १९६७को एन्टार्क्टिकाको यात्राका क्रममा पहिलो पटक हर्शेल हिमाल [१०,९४१ फिट (३,३३५ मिटर)] चढ्ने सात जनामध्ये उनी पनि थिए । १९७७मा उनले पहिलोपटक जेट डुङ्गामार्फत गङ्गा नदीको यात्रा गर्ने टोलीको नेतृत्व गरे र यो यात्रालाई हिमालयमा अवस्थित गङ्गाको स्रोतसम्म चढेर निरन्तरता दिए । उनको आत्मकथा “नथिङ्ग भेन्चर, नथिङ्ग विन”, १९७५मा प्रकाशित भयो।

हिलारीले ऐतिहासिक आरोहणपछिको त्यस किसिमको चर्चा र सम्मानको कल्पनासमेत गरेका थिएनन् । आरोहण टोली लन्डन फर्केपछि सन् १९५३मा उनले नाइटहूड (बेलायतको उच्च नागरिक सम्मान) पाए । १९८५ देखि १९८८ सम्म उनले नेपाल, भारत तथा बङ्गलादेशका लागि न्यु जिल्याण्डका उच्च आयुक्तको भूमिका निर्वाह गरे । उनले “अर्डर अफ दि गार्टर, १९९५” लगायत अन्य थुप्रै उपाधि हासिल गरे ।

यति चर्चा एवम् सम्मानका बाबजुद उनले उच्चस्तरको नम्रता कायम राखिरहे र उनको अभिरुचि नेपालको हिमाली भेगका बासिन्दा जसमा पनि विशेषगरी शेर्पाहरूको हेरचाह गर्नेतर्फ रह्यो । १९६०मा आफूले स्थापना गरेको “दि हिमालयन ट्रष्ट”मार्फत उनीहरूका लागि स्कुल, हस्पिटल र हवाईक्षेत्र निर्माण गरे । शेर्पाहरूप्रतिको उनको यो समर्पण उनको अन्तिम क्षणसम्म नै कायम रहिरह्यो र यसैको कदरस्वरुप उनको र तेन्जिङको सगरमाथा आरोहणको पचासौँ वार्षिकोत्सवको अवसर पारेर उनलाई नेपालको मानार्थ नागरिक घोषणा गरियो ।

सम्बन्धित समाचार