सडकमा मोटरले हानेका गाई, गोरु, कुकुरहरूलाई सकेसम्म उनी आफैँ उपचार गर्छन् । नसके पशु अस्पतालसम्म पुर्याउँछन् र उपचार गरेर कसैको घरको भए घरमै फिर्ता गरिदिन्छन् ।
मान्छे सपनाले बाँच्छ र सपनामै खुशी हुन्छ । त्यसैले त देवकोटाले भनेका छन्, “सुखमय सपना दुःखमय विपनाहो ।” आफूले रोजेको बाटो कहरपूर्ण छ भने पनि त्यसमा हिँड्नुको मजा बेग्लै हुन्छ । त्यसमा मजा लिँदै–लिँदै बाँच्नुको आनन्द स्वादिलो हुन्छ । बाँच्नुको त्यही मिठासले सिर्जनशीलता वृद्धि गर्छ । आल्हादता पैदा गर्छ । बाँच्नुको त्यो आनन्द वास्तवमा जीवनको पर्याय हो । सुखको स्रोत पनि हो । त्यसो भए सुख के हो त ?
प्रश्नहरूको असीमित उत्तर हुन सक्छ । घुमन्तेहरू भन्लान्, ‘जीवन यात्रा हो ।’ सुख र दुःख बारबार झेलिरहनेहरू भन्लान्, ‘जीवन घामछाया हो ।’ प्रेम र वियोगको सुख र दुःख संगाल्नेहरूले भन्लान्, ‘जीवन उकाली ओराली हो अथवा गौडा गल्छेडाहरू हो ।’ त्याग, समर्पण, निष्ठा र परोपकार पुण्यायको आदर्शमा जीवन न्यौछावर गर्नेहरूले परिभाषित गर्नेछन्, ‘जीवन परसेवा हो ।’ जीवनलाई परसेवाको पुण्य आलोकमा निष्ठापूर्ण समर्पण गरेर अनुष्ठान बनाइरहेका आदर्शको उदाहरण हुन्– दुर्गानाथ दाहाल ।
पृथ्वी सृष्टिका हर प्राणीको साझा घर हो । यहाँ रहने हरेक प्राणीले सुरक्षित साथ बाँच्न पाउनुपर्दछ । विवेक हुनेहरूले नहुनेहरूलाई सुरक्षा प्रदान गर्नु नै सृष्टिको सौन्दर्य हो । सामान्य मानिसहरू आफ्ना लागि मात्र बाँचेका हुन्छन् भने महान् मानिसहरू दुःखी, असहाय, अनाथ सबैका लागि बाँच्छन् । महान् व्यक्तिहरू आफ्नो परिवारका लागि धन सम्पत्ति आर्जन गर्ने बारे सोच्दैनन् । उनीहरू दुखेका, अभावले डसेका, समस्याका पहाडहरूलाई छिचोल्न सहयोग गर्छन् । रोग, भोक, अशिक्षा र घृणाले दुखेका घाउमा मल्हम लगाइदिन सहयोग गर्छन् । यस्तै दीनदुःखी मानिस मात्र नभएर सम्पूर्ण प्राणीहरूका सहारा हुन्–दुर्गानाथ दाहाल, जसले दुःखी पीडित, रोगी, असहायलाई मनैदेखि सेवा गर्दछन्, स्याहार गर्दछन् र हरप्राणीलाई आँफूसमान आदर श्रद्धा गर्दछन् ।
सेवा र त्याग कसैको पुख्र्यौली विरासत जस्तै हुन्छ र कसैका लागि जीवनको आदर्श पनि हुन्छ । त्यस्तै भयो- काभ्रेका दुर्गानाथलाई पनि । उनी काभ्रेका नाला उग्रचण्डीमा पिता दीनानाथ दाहाल र माता जानुका दाहालका ६ छोरीपछिका सन्तान हुन् । उनका पिता दीनानाथ साँच्चै दीनानाथ थिए । गाउँमा बाटाघाटामा भेटिएका माग्नेहरूलाई खाना खुवाएर सकेजति अन्न अनाज दिएर पठाउँथे । गाउँमा पाटी पौवा बनाउने र त्यसको संरक्षण कार्य पनि आँफै गर्दथे । भएको एकमात्र छोराले समाज सेवा गरोस् भन्ने ध्येयले उनका पिताले ११ वर्षकै उमेरमा तत्कालीन रेडक्रस अध्यक्ष हेलेन शाहमार्फत आजीवन सदस्यता दिलाएका थिए । पढाईमा भन्दा व्यापारमा निकै रुचि भएका दुर्गानाथले माध्यमिक तहको अध्ययनपछि गाउँमै पुस्तक, पत्रपत्रिकाको व्यापार आरम्भ गरेका थिए । केही वर्षपछि काठमाडौँं बौद्धमा कपडा पसलमा आफ्नो व्यवसाय स्थानान्तरण र रूपान्तरण गरे । उनको व्यापार निकै फस्टायो । काठमाडौँं उपत्यकामा नै उनका तीनओटा पसलहरू भए । उनले हङकङ, चीन, थाइल्यान्डबाट कपडाहरू ल्याएर बेच्न थाले । व्यापारबाट भएको आम्दानीको केही प्रतिशत उनले सडकका असहाय माग्नेहरू, घरवारविहीनहरूलाई खाना खुवाउन, सडकमा छोडिएका गाईगोरु, रोगी कुकुरहरूलाई उपचार गर्न खर्च गर्ने गर्दथे ।
स्वभाविक हो कि फराकिलो दिल भएकाहरू र परोपकारी आदर्शले परिपूर्ण दिल भएकाहरूलाई अरुको दर्दले घायल बनाउँछ । अरुको आँसुले पोल्छ र अरुको मृत्युले व्यथित बनाउँछ । दुर्गा यस्ता अनेक कहरले आहत हुन्छन् । यतिसम्म कि काट्न लागेका पशुलाई देख्दा उनी नगद तिरेर छुटाउने गर्छन् ।
उनले २०७२ सालको महाविनाशकारी भूकम्पबाट प्रताडित घरवारविहीन हुनुपरेका तथा रोजगारीविहीन बन्नुपरेका नागरिकहरूलाई केही महिना निःशुल्क भोजन गराए । कोरोना महामारीले विश्व आतङ्क बनाएका बेला पनि रोजगारी गुमाएका सैयौँ नागरिकको निःशुल्क भोजनको व्यवस्था गरे । उनी अहिंसावादी अभियन्ता पनि हुन् । मानवको सृष्टि भगवान्ले हिंसाका लागि होइन विश्वप्राणीको कल्याणका निमित्त बुद्धि, विवेक दिएर गरेका हुन् । त्यसैले ‘हामी मानवजातिले हिंसा गर्नु हुँदैन, प्राणीको सेवा र कल्याण गर्नुपर्छ’ भन्ने दुर्गानाथ दाहालको भनाई छ । यस्तै आदर्शले प्रेरित भएर उनले मन्दिरमा बली दिन तयार पारिएका कैयौँ बोका, राँगा, कुखुराहरूलाई पैसा तिरेर बचाएका छन् । अहिले पनि उनको आश्रममा बधशालामा काट्न ठिक्क पारेका बेला आँसु चुहायो भनेर पैसा तिरेर छुटाएको खसी उनीसँगै बस्छ ।
उनी चीन भ्रमणमा जाँदा सँगैका साथीले होटलमा गएर माछा किनेर आएपछि उनको मन कटक्क काटियो र खाएका माछाको शोध भर्ना गर्नुपर्छ भनेर बाटामा बेच्न राखिएका माछा किनेर समुद्रमा लगेर छोडिदिए । त्यसरी माछा समुद्रमा छोडेपछि मात्रै उनको मन शान्त भयो । यज्ञ अनुष्ठान भनेकै प्राणीको सेवा हो । संसारको कल्याण हो र भगवानले सृष्टि हो । प्राणीको रक्षा नै यज्ञ हो, धर्म हो भन्ने उनको धारणा छ ।
२०७२ सालमा भुइँचालो आएपछि धेरै क्षेत्रमा असर परेको थियो । काठमाडौँंको रानीपोखरीमा पनि भित्ताहरू भत्किएका थिए । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि भत्किएको थियो । रानीपोखरी पुनर्निर्माण हुँदा त्यहाँ रहेका २८ हजार माछा ठेकेदारले मार्दै थिए । पानी मोटरले तानेर बाहिर फालेपछि पोखरीमा माछा छट्पटाइरहेका थिए । त्यति बेला उनलाई त्यो दृश्यले घायल बनायो । ठेकेदारलाई उनले ‘पानी ल्याएर म रानीपोखरीमा भर्छु । पैसा मैं खर्च गर्छु । यी माछाहरू नमारौँ’ भने ।
ठेकेदारले नमानेपछि दुर्गानाथ दाहालले पशुअधिकारकर्मीहरूका साथमा काठमाडौँं महानगर घेराऊ गरे । ‘रानीपोखरीका माछा मार्न पाइँदैन, माछाहरूको संरक्षण गरेर मात्रै पुनर्निर्माणको काम गर्नुपर्छ’ भनेर माग राखे । उनको नेतृत्वमा भएको आन्दोलनले २८ हजार माछाको ज्यान जोगियो । सैनिक, प्रहरी, अभियानकर्ताहरूको सहभागितामा रानीपोखरीका माछा कमलपोखरीमा स्थानान्तरण गरियो । यसरी मृत्युको मुखमा पुगेका ती माछाहरूको जीवन सुरक्षित भयो । रानी पोखरीका माछाहरूले जीवन नपाउन्जेल उनको मन बेचैन थियो, अशान्त थियो र उनलाई निद्र पनि लागेको थिएन । जब माछाहरू बसाइँ सर्न पाए, कमल पोखरीको जलमा आनन्द विहार गर्न पाए । उनको खुशीको सीमा रहेन र घर गएर ढुक्कको निद्रा सुते ।
दुर्गा दाहाललाई पत्रपत्रिकाहरूले ‘सडकका डाक्टर’ भनेर समाचार बनाएका छन् । निस्वार्थ समाजसेवा भनेर विदेशमा बस्नेहरूले उनको अभियानलाई साथ दिइरहेका छन् । सडकमा छोडेका गाई, मानसिक सन्तुलन गुमेका आमाबुबाहरू, बालबालिकाहरूलाई सडकबाटै टिपेर सैयौँलाई अस्पताल पुर्याइएका छन् । मानसिक सन्तुलन गुमेर घरबाट हराएकाहरूलाई उपचार गरिदिएपछि परिवारमा पुनर्मिलन गराइदिएका छन् । उनको जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नै प्राणीहरूको सेवा हो । सडकमा मोटरले हानेका गाई, गोरु, कुकुरहरूलाई सकेसम्म उनी आफैँ उपचार गर्छन् । नसके पशु अस्पतालसम्म पुर्याउँछन् र उपचार गरेर कसैको घरको भए घरमै फिर्ता गरिदिन्छन् । बेवारिसे छ भने आँफैले पालेर राख्छन् । आजभोलि उनले व्यापार व्यवसाय छोडिसकेका छन् । पूर्णकालीनरूपमा समाजसेवामा नै समर्पित भएका छन् ।
नेपाली उखानले भन्छ, ‘फिस्टोको समर्पणले आफ्नो जीवन त्याग गर्न सक्छ तर कसैलाई अघाउन सक्दैन ।’ त्यस्तै भयो दुर्गा दाहालको समाजसेवाको धपेडीले । केही प्राणीहरूले जीवन पाए होलान् । केही चरा, कुकुर, गाई आदिका उध्दार भए होलान् तर, त्यस प्रयासले सामाजिक रूपान्तरणमा दीर्घकालीन र संस्थागत आकार ग्रहण गर्न सक्दैनथ्यो । त्यसैले आफ्नो सेवाको स्वरूपलाई बदलेर उनले व्यक्तिगत यत्नको संस्थागत आयाम दिन चाहे र बन्यो नवजीवन परोपकार समाज ।
आज उनको हात घरवारविहीन मानिसहरूका लागि साथ बनेको छ । सडकमा बसेका रोगी, असहाय, बेसहारा बाबाआमा, बालबालिकाहरूलाई आधार भएको छ । सडकका रोगी कुकुरका लागि अस्पताल भएको छ । चराचुरुङ्गी, गाईवस्तु आदिका लागि ढुक्कको स्वर्ग भएको छ । त्यसैले सर्वप्राणी संरक्षण गर्नका लागि उनले नवजीवन परोपकार समाज दर्ता गरेका छन् ।
काठमाडौँं जिल्ला स्थित फुटुङ निवासी समाजसेवी सज्जनले उनको परोपकारी देवकर्म देखेर नवजीवन परोपकार आश्रमलाई पाँच रोपनी जग्गा दान दिएका छन् । हाल उक्त जग्गा बेसहाराहरूको सहारास्थल भएको छ । रोगी मान्छे, गाई, गोरु, कुकुर, चरा आदिको अस्पताल जस्तै भएको छ, जहाँ अहिले पनि सहाराहीन आमाबुबा बस्नुहुन्छ । अनाथ बालबालिका ढुक्कले अभिभावक पाए भनेर बस्ने गर्छन् । अनाथ गाई, कुकुर, चराचुरुङ्गीहरू रमाई–रमाई बाँच्छन्, खेल्छन् र पुलकित भएर इन्द्रेनीमय स्वर्गको आभाष दिलाइरहन्छन् –नवजीवन परोपकार समाज नामक आश्रममा ।