ओ डाक्टरसाहेब !
ओ डाक्टरसाहेब !
किन यतिबिघ्न हतारिनुहुन्छ बिरामीको खातिर ?
किन खटिनुहुन्छ दिनभर, रातभर ?
किन के का लागि पो मरिमेट्नुहुन्छ ?
ओ डाक्टरसाहेब !
किन लाग्दैन तपाईँलाई कुनै चाडपर्व ?
किन समय छैन तपाईँसँग साथीसङ्गी परिवारको लागि ?
किन, के का लागि पो मरिमेट्नुहुन्छ ?
ओ डाक्टरसाहेब !
महाराज महारानीको सवारी भइरहँदा
किन हिँड्नुपर्यो तपाईँ सडकमा ?
किन भर्नुपर्यो प्राण बिरामीको ?
किन हुनुपर्यो जनतालाई बिरामी ?
ओ डाक्टरसाहेब !
देशमा कुनै सम्भावना नदेखेर
दिनदिनै परदेशिएका छन् त हजुरसँगैका साथीहरू
तिनै बिदेसिएका पङ्क्तिसँगै किन मिसिनुभएन हजुर ?
किन के का लागि पो मरिमेट्नुहुन्छ ?
ओ डाक्टरसाहेब !
के का लागि हो यतिबिघ्न स्वदेश प्रेम ?
के का लागि हो यतिबिघ्न स्नेह ?
के का लागि हो अहोरात्र खटनपटन ?
महामारीमा होमिँदा बिरामीकै आफन्तबाट कुटिन ?
अस्पताल प्रशासनबाटै पलपलमा लुटिन ?
या प्रहरी मेरो साथीको दमन सहन ?
या देशको कुशासन,विसङ्गति,ज्यादतीको चङ्गुलमा फस्न ?
या यी सबैबाट ग्रस्त हुँदै डिप्रेसनको सिकार हुन ?
किन के का लागि पो मरिमेट्नुहुन्छ ?
– डा.राजकुमार भुजेल’साजन’
MBBS(TU)