मंगलबार , मंग्सिर ४, २०८१

किन पक्राउ परे ट्रम्प ? पाेर्नस्टार स्टोर्मी ड्यान्यल्ससँग जाेडिएकाे घटना के हाे ?

image

काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको छ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मङ्गलवार म्यानहट्टन अदालतमा ३४ वटा अपराधको आरोप लगाइएको थियो । उनीमाथि लागेका प्रत्येक आरोपमा अधिकतम चार वर्षको जेल सजाय हुने त्यहाँको कानुनी व्यवस्था छ । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

ट्रम्पले २०१६ को चुनावी अभियानमा आफूसँग सम्बन्धित नकारात्मक समाचारलाई दबाउन पैसा तिरेको आरोप लगाइएको छ ।

सन् २०१६ मा वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यान्यल्सले १० वर्षअघि ट्रम्पसँग आफ्नो “व्यभिचारपूर्ण सम्बन्ध” रहेको दाबी गर्दै सञ्चारसंस्थाहरूलाई सम्पर्क गरेकी थिइन्। उनी आफ्नो कथा बेच्न चाहन्थिन् ।

ट्रम्पको टोलीले त्यसबारे सुइँको पायो र उनका वकिल माइकल कोहेनले ड्यान्यल्सलाई मुख नखोल्ने सर्तमा १,३०,००० डलर भुक्तानी गरे । यद्यपि ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

त्यसो गर्नु अवैध हैन । तर ट्रम्पले कोहेनलाई रकम शोधभर्ना गर्दा कानुनी शुल्क भन्ने अभिलेख राखियो । अभियोजनकर्ताहरूका अनुसार त्यसो गर्नु भनेको झुटो व्यापारिक अभिलेख राख्नु हो जुन न्यूयोर्कमा ‘मिस्डिमीनर’ (अपराध) हो ।

अभियोजनकर्ताहरूले ट्रम्पले त्यतिबेला निर्वाचन कानुन उल्लङ्घन गरेको आरोप पनि लगाउन सक्छन् । किनभने ड्यान्यल्सलाई दिइएको भुक्तानी लुकाउन खोज्नुको उद्देश्य राष्ट्रपति निर्वाचनका बेला मतदाताहरूले आफ्नो र ड्यान्यल्सबीच सम्बन्ध थियो भन्ने कुराको भेउ नपाउन् भन्ने पनि हुनसक्छ । झुटो अभिलेख देखाएर अपराध ढाकछोप गर्नु ‘फेलनी’ अर्थात् अझ गम्भीर अपराध हो ।

जे भए पनि यो त्यति स्पष्ट विषय भने हैन । त्यस्तो मुद्दाका लागि धेरै नजिर पनि छैन । निर्वाचन अभियानका लागि बनाइएको कोष र निजी खर्चको सीमा नाघेको आरोपमा नेताहरूलाई मुद्दा लगाउन खोजिएको प्रयासहरू पहिला पनि विफल भएका थिए ।

सम्बन्धित समाचार