डोकेनी नाच याक्खा जातिको सांस्कृतिक विरासत मान्न सकिने संस्थाकी केन्द्रीय सदस्य विमला लिम्बुखिम बताउँछिन् । विशेष गरेर तिहारको लक्ष्मी पूजाका दिन याक्खा जातिका महिलाहरू डोकोभित्र पसेर बस्ने र घरआँगनमा गएर नाच्ने प्रचलन रहेको उनले बताइन् ।
‘तिहारको लक्ष्मी पूजाका दिन याक्खा जातिका महिलाहरू भेला हुन्छौं । डोको (याक्खा भाषामा डोक्कू,फासिङमा, थोङ्ङा) भित्र एक जना महिला पस्नुहुन्छ र छिमेकीको घरघरमा गएर नाच्ने गर्दछौं,’ उनले भनिन्, ‘यो नृत्यमा नितान्त महिलाले मात्र सहभागिता जनाउन पाउँछन् ।’
नृत्य गरिरहेकी डोकोभित्रकी महिलाले हातको सहारा र लठ्ठीको सहाराले समुदायमा नै गरिआएका व्यवहार झल्किने (तान बुन्ने) जस्ता क्रियाकलाप गर्ने गरेको पाइन्छ । डोकेनीसँगै एक जना महिला जो (ढटुवारे) बनेकी हुन्छिन् । जसले डोकेनीको संरक्षण गर्दै विभिन्न हास्य अभिनय गरेर दर्शकहरूलाई हँसाउने भूमिका खेल्छ ।
डोकेनी नाचको मिथक
यो नाचको रोचक मिथक रहेको लिम्बुखिम बताउँछिन् । उनका अनुसार परापूर्वकालमा याक्खा जातिको बस्तीमा प्राकृतिक प्रकोप (बाढी, पहिरो) आएकाले त्यहाँ बसोबास गर्ने याक्खाहरूको धनजनको ठूलो क्षति भएको थियो । प्राकृतिक प्रकोपका कारण उनीहरू घरबारविहीन भएका थिए ।
उनीहरूको उद्धार गर्न आफूले सदियौंदेखि मान्दै आएकी देवी लक्ष्मी (याक्खा भाषामा साङदाङमा) लाई पूजाअर्चना गरेको र पूजापाठ गरेको सुनेर साक्षात देवी नै प्रकट भएको मिथकसँग जोडिएको लिम्बुखिमले बताइन् । नेपालमा बसोबास गर्ने आदिवासीमध्ये याक्खा पनि प्रकृतिपूजक हुन् । आफू प्रकृतिपूजक भएर पनि वनजंगल मासेर प्रकृतिको नाश गरेको साथै पुरुषहरूले जाँडरक्सी सेवन गरेर विकृति ल्याएका कारण प्रकृति रिसाएको भन्ने मिथक पनि जोडिएको उनी बताउँछिन् ।
प्रकट भएकी देवी लक्ष्मी र प्रकृति देवीले लामो सल्लाह गरेर बिचल्लीमा परेका याक्खाहरूलाई आपतमा पर्दा एकअर्कालाई सहयोग गर्ने बानी बसाल्न सहयोग संकलन अभियान शुरु गर्नुपर्ने थिति बसलिदिएको कथन रहेको उनले बताइन् । मिथक अनुसार सहयोग संकलन गर्दा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने र त्यसरी सहयोग संकलन गर्दा कसैलाई मार्का पनि नपर्ने देवीहरूले सम्झाएकोमा याक्खा समुदायका मानिसहरू देवीहरूको भनाइ स्वीकारेका थिए ।
सहयोग गर्दा कसैले नचिन्ने गरी डोकोभित्र पसेर नाच्ने र ‘साङ्दाङमा’ लाई कसैबाट दुर्व्यवहार नहोस् भन्ने हिसाबले उनको रक्षाका लागि ‘राजीराङमा’ (याक्खा भाषामा देवीको नाम) ले पुरुषको भेष बदली मुकुण्डो लगाएर ढँटुवारे बन्ने निधो भएको र त्यही परम्पराअनुसार डोकेनी नाचको शुरुवात भएको उनले बताइन् । एकअर्कालाई सेवाभावले परापूर्वकालदेखि शुरु भएको डोकेनी नाचको संरक्षणको जिम्मेवारी नयाँ पुस्तामा रहेको उनको भनाइ छ ।