बिहिबार , मंग्सिर ६, २०८१

कविता- मरुभूमिको चिट्ठी

image

– ध्रुवकुमार सापकोटा
हरेक दिन जस्तो, हरेक पल जस्तो
उडाएर ल्याउँछ मरुभूमिको तुफानले
अनि
टाँसी दिन्छ अक्षर अक्षरमा ,
शब्द शब्दमा, वाक्य वाक्यमा
अनलाइन खबरहरूमा ,
सामाजिक सञ्जालहरूमा
मेरो देशको खबर !
कोरोना र डेंगुले  तर्साएको खबर
बेरोजगारी
भोक
आक्रोश
के गर्न सक्छु र म !
मेरो देशलाई सम्झन्छु
घर – परिवारलाई सम्झन्छु
मेरी निर्दोष अर्धाङ्गिनी अनुराधालाई सम्झन्छु
आँगनमा खेलिरहेकी छोरी रजनीगन्धालाई सम्झन्छु
सेतै फुलेका मेरा बा-आमालाई सम्झन्छु
अनि
दुई थोपा आँसु बगाउँछु  !
यता आफ्नै पीडा छ –
मध्यान्नको टन्टलापुर त्यो घाम
तालु सुक्ने ५० डिग्रीको गर्मी
मरुभूमिमा भेडा चराउँछु
कहिले उँट धपाउँछु
उडाएर ल्याउँछ तातो हावाले
बालुवाका कण कणहरू मेरा आँखाहरूमा
तुफान सँगै गोता खान्छु
तिर्खाले ओठ सुक्छ
भोकले खाल्डो खान्छ मेरो भुँडीमा !
खबर आउँछ उता घरबाट
छोरीको फिश तिर्न नपाएको
चामल, दाल, तेल सकिएको
बिजुली- पानीको बिल तिर्न नपाएको
यता आफ्नै व्यथा छ
तीन महिना भयो मालिकले तलब नदिएको
चार महिना भयो बीमाको पैसा नतिरेको
खबर पढ्छु देशको –
महँगीले पहाड चढेको
जताततै भ्रष्टाचार बढेको
हिंसा, हत्या, बलात्कार भएको
देशको सीमाना मिचिएको
देशको अस्मिता बेचिएको
देशमा प्रदर्शन- नाराबाजी भएको !
आक्रोशित हुन्छु, म पनि उत्तेजित हुन्छु
अनि
भावुक हुन्छु
कम्प्युटर नजिक जान्छु
युट्युबमा देखिएको प्रदर्शनसँगै
 म पनि चिच्याउँछु
 जिन्दावाद .. मुर्दावाद …. !

Tags:

सम्बन्धित समाचार