एक हजार सिँढी चढी नसक्दै करिब बिचतिर बुद्धको ठुलो मूर्ति सहितको बनमा केहीबेर विश्राम गर्न सकिन्छ । शान्ति वन नाम राखिएको उक्त ठाउँबाट पनि डाँडाकाँडाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । माथि पुगिसकेपछि बादलभन्दा माथिबाट संसार हेर्नुको मजा नै बेग्लै छ । अग्ला रुखसँग पौंठेजोरी खेलिरहेका बादलका थुम्काहरूको प्राकृतिक खेल देख्दा मन आनन्दित हुन्छ ।
हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अपनाउँछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्त्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।
यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा धुलिखेलको हजार सिँढीलाई लिन सकिन्छ । काठमाडौँ उपत्यकामा घुम्ने ठाउँ खोजिरहेकाहरूका लागि एउटा राम्रो विकल्प हो धुलिखेलको हजार सिँढी । काठमाडौं शहरदेखि केही पर रहेको काभ्रे जिल्लाको एक पर्यटकीय स्थल धुलिखेलमा अवस्थित हजार सिँढी पुग्न त्यति कठिन छैन । काठमाडौंबाट करिब ३३ किलोमिटरको दुरीमा रहेको धुलिखेल सार्वजनिक यातायातबाट पनि सजिलै पुग्न सकिन्छ ।
धुलिखेल चोकबाट बजारतिर केही अघि जानेक्रममै आउँछ ‘हजार सिँढी’ । एक हजार सिँढी चढेपछि त्यहाँबाट देखिने मनमोहक दृश्यले हरकोहीलाई मोहित बनाउँछ । साथै सो ठाउँमा रहेको देविस्थानले धार्मिक पर्यटनलाई आकर्षित गर्ने गरेको छ । सो मन्दिरमा विशेषगरि दशैंमा पूजा गरिने गरिएको छ । सँगै रहेको सेल्फी ढुङ्गामा सेल्फी खिच्ने युवाहरूको घुइँचो पनि त्यतिकै हुन्छ ।
माथिबाट काभ्रेको पहाडी क्षेत्रको दृश्यावलोकन, सूर्योदय तथा धुलिखेल बजार हेर्दा मनबाटै भन्न मनलाग्छ ‘घुम्न जाऊँ घुम्न जाऊँ घुम्न धुलिखेल । हजार सिँढी चढेर आएको थकान त्यहाँको प्राकृतिक रसपानले एकैछिनमा भुलाउँछ । मनमा एक किसिमको शान्ति महसुस हुन्छ ।
एक हजार सिँढी चढी नसक्दै करिब बिचतिर बुद्धको ठुलो मूर्ति सहितको बनमा केहीबेर विश्राम गर्न सकिन्छ । शान्ति वन नाम राखिएको उक्त ठाउँबाट पनि डाँडाकाँडाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । माथि पुगिसकेपछि बादलभन्दा माथिबाट संसार हेर्नुको मजा नै बेग्लै छ । अग्ला रुखसँग पौंठेजोरी खेलिरहेका बादलका थुम्काहरूको प्राकृतिक खेल देख्दा मन आनन्दित हुन्छ ।
धुलिखेल पुगिसकेपछि त्यहाँ रहेको जिपलाइनको अनुभव पनि लिन सकिनेछ । केही समय अगाडी पूर्व-प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सो जिपलाइनको अनुभव लिएका थिए, जसको तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए । विभिन्न प्रकारका जिपलाइन खेल्न पाइने सो ठाउँमा दैनिक रूपमा पर्यटकहरू पुग्ने गरेका छन् । जिपलाइन धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई पाँचखालको खावामा ल्यान्डिङ हुन्छ ।