बुधबार , अषोज ३०, २०८१

ढिच्क्याऊ : भूत भन्दै भुतभुताउन बन्द गर

राजमार्गमा प्राय सेतो पहिरनमा लिफ्ट माग्दै गरेका भूतहरू कहाँ पुग्न चाहन्छन् ?  कसले सिकाएको हो खोइ पिशाचहरूलाई रगत चुस्न ? व्यापारीले कि नेताले ?

image

टिक-टक टिक-टक गरिरहेको घरको घडी एक्कासि रोकियो । अचानक थामियो । थरि-थरिका डर लाग्दा आवाज सुन्न थालियो । कालो छायाँ देख्न थालियो । टिभी आफैँ खुल्न थाल्यो । टाढा कतैबाट कोही रोएको आवाज आउन थाल्यो । यो सब हुन् थाल्यो भने तपाईँको घरमा भूत-प्रेत-पिशाच-शाकिनी-डाकिनी-ब्रम्हराक्षस-पचभैया हुनसक्छ । यति भनेपछि एकै सेकेन्ड पनि त्यहाँ बस्न मन लाग्दैन । तपाईँमा आपसेआप पङ्ख उत्पन्न हुन्छन् र झट्टसँग उडिहाल्नु हुन्छ । यति सुन्दा-नसुन्दै ज्ञान हुन्छ कि तपाईँसँग अन्तर्ध्यान (बिलाउने) हुने विशेष शक्ति छ ।

भूत !! भूत !! भूत !! भन्दै भुतभुताउने थुतुनोहरू किन त्यसको डरले मुतुनो चुहाउँछन् बुझ्दिनँ । प्राय: भूतकालमा रमाउने मान्छेहरू आखिर किन कालले भूत बनाएकासँग डराउँछन् भन्ने पनि जान्दिनँ । अर्थ मन्त्रालयको सिसिटिभीमा पनि नदेखिने, डरलाग्दै हुन्छ र भन्या ? कि गुपचुप आएर घुच्चुकमा हानेर दिल्ली पुर्‍याइदिन्छन् ? सुनलाई तामा बनाइदिन्छ कि प्रेमिकाको मामा बनाइदिन्छ ? जीवितसँग डराउनु भनेको अलग कुरा हो, उनीहरू त न लुट्छन्-कुट्छन्, न खुट्टा तान्छन्, न पछाडिबाट हान्छन्, न जातको नाममा मार्छन्, न भातको नाममा सिद्ध्याउँछन् । हाउँ..!! गर्छन् रे भनेकै भरमा मूत्र थैली चर्किन चाहिँ नहुने हो केरे । अचम्म छ, औडाह छ, खपिइनसक्नु छ ।

भूतसँग सम्बन्धित चलचित्र हेरिसकेपछिको अनुभव चौपट्टै हुन्छ, मानौँ तपाई एक्कासि घरबाट चिहानघारी पुग्नुभएको छ । सानो खत्र्याक्क गरेको आवाजले पनि खुत्रुक्क बनाउन सक्छ । झन् झ्यालहरू फटफटाएर अलिअलि हावा चल्नु पर्छ र तपाई एक्लै हुनुपर्छ, पुगी’गो । आफ्नै छायाँको ठुलो स्वरूप एक्कासि देख्नु पर्छ, काण्ड पुग्छ । सुन्नु भएकै होला, “आफ्नै छायाँले पनि छल गर्छ भन्छन् अँधेरीमा ।” सिरकभित्र गुटुमुटु परेपनि कतैबाट पसेको हावाको सानो अणुले स्पर्शको मिठो अनुभूति दिन्छ । यति मिठो दिन्छ कि के भनौँ, सिरकबाट मुन्टो झिक्न मन मान्दैन । पिसाबले च्यापेर थैली फुटेपनि चर्पीसम्म पुग्ने आँट आउँदैन ।

अँध्यारो बढ्दै गएसँगै मुटुको धड्कन यसरी बढ्न थाल्छ मानौँ, आज नै मेरो जीवनको अन्तिम दिन हो । या, भूतहरूको संसार भूतालयमा लैजान प्रेतहरू यही अँध्यारो पर्खिरहन्छन् । टाउकाको जुम्राले बाँस झ्याङमा लगेर झुण्ड्याँउछ भनेझैँ उनीहरू पनि सायद कतै झुण्ड्याउन चाहन्छन् भन्ने सोचले अत्त्याएको हो । साह्रो-गाह्रो बनाएको हो, थला परेको हो । कोठाको अँध्यारो कुनामा आँखा जस्ता टल्किरहेका बस्तुले सास रोकिदिन्छ । खुट्टा झारेर बस्दा खाटमुनिबाट कसैले खुट्टा तानिदिन्छ जस्तो लाग्छ । सुनसान बाटोमा एक्लै हिँड्दा घरी-घरी पछाडि फर्किएर हेर्न मन लाग्छ । एक्लै पिसाब फेर्न निस्किँदा चर्पीमा बरखी बारिरहेको भूत सेतो लुगा लगाएर बसिरहेको होला भन्ने कुराले मुटुमा एसी चलाउँछ र चिसो बनाउँछ ।

मान्छे जस्तै मुर्कुट्टा आफ्नो टाउको घरमै छोडेर हिँड्छ भन्छन् । उसले आँखा कसरी देख्छ होला भन्ने प्रश्न आफ्नो ठाउँमा छ । कति पटक त ठोकिएर लड्छ होला । कान पनि नहुनाले उसलाई गाली गर्दा पनि थाह नपाउँदो हो । उसलाई पनि दुःखै छ । त्यस्तो हालमा पनि मान्छे लखेट्नु छ, तर्साउनु छ । तर्सिए त मजै पनि आउला, भगवान्/प्रभु/अल्लाहको नाम जप्न थाले, छोड्नै पर्‍यो ।

खोइ कस्तो आन्दोलन गर्नलाई राँके भूत आगो बोकेर दौडिन्छ, भेटे सोध्न हुन्थ्यो । ऊ कुन पार्टीको कार्यकर्ता हो भनेर जान्न हुन्थ्यो । उसका मागहरू के-के होलान् पुरा गर्न पाए घरमै बस्थ्यो कि ?

किचकन्नीहरूको खुट्टा पोलियो लागेर हो कि किन हो पछाडि फर्किएको हुन्छ भन्ने सुनेको । सायद किचकन्नीहरू दूर-दराजमा बस्छन्, जहाँ अस्पताल-औषधी-डाक्टर केही छैन, कोही छैन । राजमार्गमा प्राय सेतो पहिरनमा लिफ्ट माग्दै गरेका भूतहरू कहाँ पुग्न चाहन्छन् ?  कसले सिकाएको हो खोइ पिशाचहरूलाई रगत चुस्न ? व्यापारीले कि नेताले ?

भूतहरूले भित्ता-भित्तामा हिँड्न तालिम लिएका हुन्छन् । उनीहरूलाई घरको छानामा ढुङ्गाको छर्रा हान्दा मजा लाग्छ । प्रकृतिप्रेमी भूतहरू प्राय पिपल या अन्य कुनै ठुलो रुखमा बस्छन् । घरबाट निकालिएको पनि हुन सक्छन्, सोच्ने कुरा हो । पोखरी या पानीको मुहानमा चाहिँ किन बस्छन् थाह छैन । भूतहरूलाई प्रेमी-प्रेमिका सम्झिएर आँखा जुधाए मरिन्छ भन्ने ज्ञान कसरी आयो होला मान्छेमा, बुझिनसक्नु छ । आगो बोकेर हिँडे उनीहरूले हमला गर्न सक्दैन भनेर पत्ता लगाउने वैज्ञानिक को थिए कुन्नि ?सालिक किन नबनाइदिएको होला ? हिङबाट उनीहरू टाढा रहन्छन्, मलाई पनि उति मनपर्ने होइन हुन त, उनीहरूलाई पनि गन्हाउँदो हो ।

‘भूत पिशाच निकट नही आवै, महावीर जब नाम सुनावै’ भन्दै हनुमान चालिसा पढ्दा उनीहरूले छुन सक्दैनन् भन्छन् । यसबारेमा भूतहरूका वैज्ञानिकले अनुसन्धान गर्दै होलान्, आखिर किन उनीहरूको हात बाउँडिन्छ यो मन्त्र सुन्नसाथ ? पत्ता लगाउँदै होलान् चुरो कुरो । कि रामकृष्ण ढकालले भने झैँ, “ती त सब भन्ने कुरा न हो ।”

जिन्दगीदेखि तर्सिएर रुँदै जन्मिएका मानिसहरूलाई तर्साउनु उनीहरूको पेसा हो ? यसो गरेबापत उनीहरूले तलब पाउँछन् ? राम्ररी तर्साएर मान्छेको सातो लाने तथा हृदयाघात दिने भूतलाई ‘बेस्ट इम्प्लोइ’को पुरस्कार पनि दिइन्छ ? राम्रो मेकअप गरेर डरलाग्दो आवाज निकाल्ने सक्ने क्रियटिभ भूतहरू भाइरल समेत हुन्छन् होला ?

कस्तो अचम्म छ है, भूतहरूको जनसङ्ख्या हामी मरेपछि बढ्छ । यसको लागि उनीहरू गर्भवती हुन पर्दैन । सम्भोग गर्न पर्दैन । जनसङ्ख्या बढ्दा उनीहरू भन्दैनन्- ‘बधाई छ तपाईँको घरमा भूत/प्रेत/पिशाच जन्मिएको छ ।’ उनीहरू चुट्किला सुनाउँदै खुब जोड-जोडले हाँस्छन्, हामी तर्सिन्छौँ, आत्तिन्छौँ, डराउँछौँ । उनीहरूसँग ‘नाइट भिजन आँखा’ हुन्छ, जसले अँध्यारोमा मात्र काम गर्छ । या उनीहरूको नाइट ड्युटी हुन्छ, दिनभरि सुत्दा हुन् । कि उनीहरू एकान्त प्रेमी हुन्छन् र पो एकान्तमा देखिन्छन् ।

अहिले त एकान्त ठाउँ पनि सकिँदै गयो, भूतहरूको वासस्थान मान्छेहरूले चपाइदिए ! भूतहरूको जनसङ्ख्या कम हुँदै गएको भूत पिशाच जनगणना समितिले नजनाएको मात्र हो । भूतहरू पनि भूत हुँदैछन् क्यारे ! अहिले उनीहरू मान्छेको व्यवहार देखेर तर्सिँदा हुन्, मान्छे देखेर डराउँदा हुन् । मान्छे नै मान्छे…..मान्छे नै मान्छे……..मान्छे नै मान्छे………..मान्छे नै मान्छे……..मान्छे नै मान्छे…..!!

सम्बन्धित समाचार