संसारमा सबैभन्दा अल्झाउने सामाजिक सञ्जाल र अल्झिने कुरा एयरफोन होला । कतै-कतै गीतमा पछ्यौरीको कुरा पनि सुन्छु । तर मोजाको एकीकरण पनि मलाई ठुलो उल्झन लाग्छ । पृथ्वीनारायण शाहले मोजा लगाउँदैन थिए सायद, लगाउने भए पनि मोजाको एकीकरण गर्नु भन्दा राष्ट्रको गर्नु उनलाई ठिक लागेको होला त्यसबेला, सजिलो लाग्यो होला उतिबेला । झगडा परेर रिसाएका लोग्ने-स्वास्नी झैँ एउटा भएको ठाउँमा अर्को देखा पर्दैन । सत्ताका पक्ष र विपक्ष झैँ दुवै मिले राम्रो सरकार चल्ने हो क्यारे तर दुवै एक अर्कालाई देखि नसहने । यो मोजाको घरजम अचम्मको छ । यो मोजाको राजनीति हाम्रै जस्तै त हुने रहेछ ।
खुट्टाको देश र जुत्ताको देशबिच लाग्ने सिमाना यो मोजा कहिले सुकाएकै ठाउँबाट प्याराग्लाइडिङ खेल्दै अर्कैको बारीतिर गएर ल्याण्ड गर्छ । अर्कैको पसिनाको गन्ध अपनाउने यो परजीवी मोजा लुकामारी खेल्दै कहिले कुनामा त कहिले लुगाहरूको थुप्रोको थुनामा बसिदिन्छ । नलगाँउ भने जुत्ताको जिब्रो खुट्टामा टाँसिएर निस्किने डर धेरै दिन लगाए ‘मलाई जुत्ता भित्रै राख नत्र नाकमा गन्धे किक हान्दिन्छु’ भन्छ ।
रत्नपार्कको १०० को ३ वटा भएपनि दरबार मार्गको ३०० को १ वटा भएपनि यिनीहरूको सोमत भने एकै हुने रहेछ । लुक्ने, गन्हाउने अनि औँलाले टाउको निकाल्ने गरी फाट्ने । हुन त मसँग १०/१२ जोर मोजा थिए, छन् होला कतै, तर कहिले एउटा रङ्गको भेटिन्छ अर्को हराउँछ, कहिले एउटा नापको भेटिन्छ अर्को बिलाउँछ । यस्तै उस्तै गरेर ८/९ जोर मोजा सिङ्गल यानिकी एकल भए र बाँकी डाइनाेसरको हड्डी कुनै कापमा परेर जोगिए झैँ मैले जोगाइराखेको थिएँ । दुई जोर बाँकी रहेका ती मोजामध्ये एक जोर हिजो परेको पानीले भिजाएको थियो र अर्को जोर मोजा च्यातिएर औँला निस्किने भएको थियो । तर, जुजुमान वाला भावना मलाई आयो र मैले उक्त मोजालाई आफ्नो खुट्टामा स्थान दिएँ ।
कुरा के भने आज एक ठाउँ अन्तर्वार्ताका लागि जानु पर्ने थियो । एक जोर मोजा नुहाएर छतमा बसेको थियो, पानीले भिजेर हल्का रुघा पनि लागेकाले अर्को घाइते मोजालाई मैले अपनाए । घाइते मोजाको टाउको हल्का बटारेर पाइतालाको अगाडीको भागले ढ्याप्प टेक्दै मैले मोजा ग्रहण गरे । अन्तर्वार्ता दिने अफिस पुगुञ्जेल ठिकै थियो, हाइसन्चै थियो, आरामै थियो । तर अफिस पुगेर यसो जुत्ता के खोलेको थिएँ, मोजाबाट टाउको निकालेर औँलाले सबैलाई नमस्कार गर्यो । उसको नमस्कार केही व्यक्तिले फिसफिसी हाँसेर उडाइदिए । मलाइ औडाह भयो । तनाव भयो । रनभुल्ल भयो । हल्का लाज लागे जस्तो, कता-कता पसिना आए जस्तो, काँडा उम्रिए जस्तो हुन थाल्यो । रै पनि अर्को खुट्टाले च्यापेर बेइज्जतीलाई फेरी लुकाएँ ।
भित्र कसैसँग आँखा जुधाउन मन लागेन, नढाँटी भन्दा सकिन । अन्तर्वार्ता नसकीउञ्जेल मनमा हुटहुटी चलिरह्यो । अन्तर्वार्ता लिनेले मेरै मोजामा ध्यान दिएको छ की भनेर बेला-बेला खुट्टा बटारिरहेँ । सोधिएका कति प्रश्नको जवाफ मोजाको प्वालबाट छिर्दै र निस्किँदै गरेर मलाई बिल्ला हानिरहे । चिट-चिटि र फिट-फिटि हुँदै अन्तर्वार्ता सकियो । महाभारतको युद्ध लडियो । हतार-हतार गर्दै, हस्याङ-फस्याङ गर्दै, लरखराउँदै फटाफट जुत्ता लगाएँ र सन्तोषको होइन आफ्नै सास फेरेँ ।
घर आएर नाथेलाई पर पुगुञ्जेल हुत्याएँ । सरापे, गाली गरेँ, उल्ले पनि मलाई छोडेन, भन्नु नभन्नु भन्यो । भात घिचेर खाटमा पल्टिएँ, तेल्लाई दिइन । सुमधुर झरी पर्यो मस्त निदाइयो । भोलीपल्ट बिहान नउठ्दै अन्तर्वार्ता दिएको ठाउँबाट फोन आयो । उताबाट ‘तपाईँले आजबाट अफिस जोइन गर्नुपर्ने हुन्छ’ भन्दा मैले ‘हस्; मा जवाफ फर्काएँ ।
खानपिन सकेर फटाफट छतमा गएँ । लौ पापी मोजा त हिजो पनि पानीमा रुझेर बसेको रहेछ । कस्तो हो अरूलाई अबर पर्न सक्छ भनेर पनि नसोच्ने भन्दै थर्काएँ । लुरुलुरु हिजो ज्यान मार्ने धम्की दिएर हुत्याएको मोजा खोजेँ । उसले निकै रिसाएर मलाई हेर्यो, मैले अलिअलि क्षमा भाव र अलिअलि हीनताका साथ उसलाई हेरेँ ।