बिहिबार , मंग्सिर ६, २०८१

पालिका र पर्यटन : राज्यको चरम बेवास्ताका कारण धनुषाधाम निकै पिछडियो !

धनुषाधामलाई पर्यटकीय गन्तव्य बनाउने सवालमा अघिल्लो कार्यकालमा पनि मैले केहि गर्न सकिनँ । दोस्रो कार्यकालको पछिल्लो ८ महिना बितिसक्दा पनि यस क्षेत्रको उत्थानको लागि बजेट विनियोजनको काम समेत गर्न सकेको छैन ।

image

मिथिलाको पवित्र भूमि धनुषाधाम धनुषा जिल्लाको दोस्रो ठूलो धार्मिक स्थल हो । यो स्थल पर्यटनका हिसाबले पनि उत्तिकै चर्चित छ । जनकपुर पुग्ने जोकोही पनि जानकी मन्दिरको दर्शन पछि धनुषाधाम पुग्छन् । जनकपुरधाममा जगत् जननी सीताको दर्शन गर्न आउने दर्शनार्थीहरू धनुषाधाम अवश्य पुग्ने गर्दछन् । त्यहाँ रहेको धनुषखण्डको दर्शन-पूजा गरी धन्य हुन्छन् । मिथिला माहात्म्यमा धनुष दर्शनले मात्र पनि सबै पापको नाश हुन्छ भनिएको छ ।

धार्मिकस्थल धनुषाधाममा रामायणकालीन झ-झल्को दिने धनुष मन्दिर, धनुषा सरोवर लगायतका दर्जनौंस्थल  भएपनि सोको संरक्षण र प्रचार-प्रसार हुन् सकको पाइँदैन । नगरपालिकाको संरक्षित वन क्षेत्रमा अवस्थित रामायणकालीन इतिहास बोकेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पवित्र तीर्थस्थल वाणगंगा अर्थात् लक्ष्मण सरोवर आदिको संवर्द्धन गर्न पालिका किन चुकिरहेको छ ? धनुषाधाम संरक्षित वन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न पालिकाले अग्रसरता किन लिइरहेको छैन ? यियस्तै विषयमा रही धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल धनुषाधामको पर्यटकीय सम्भावनाका बारेमा नगर प्रमुख बालेश्वर मण्डलसँग गरिएको कुराकानीको संक्षिप्त अंश:

पर्याप्त सम्भावना बोकेर पनि धनुषाधामलाई पर्यटकीय गन्तव्य किन सकिएको छैन ? 

धनुषाधामलाई पर्यटकीय गन्तव्य बनाउने सवालमा अघिल्लो कार्यकालमा पनि मैले केही गर्न सकिनँ । दोस्रो कार्यकालको पछिल्लो आठ महिना बितिसक्दा पनि यस क्षेत्रको उत्थानको लागि बजेट विनियोजनको काम समेत गर्न सकेको छैन । स्थानीय निकायको थोरै बजेटले यो काम सम्भव छैन । ९ वटा वडा रहेको यस पालिका भौगोलिक हिसाबले ठुलो रहेको छ भने स्रोतसाधन पनि निकै कम रहेको छ । जनतासँग जोडिएका विकासका कार्यहरूलाई प्राथमिकता दिने क्रममा धनुषाधामलाई साँच्चिकै हामीले विकास गर्न नसकेको अवस्था हो ।

सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन मन्त्रालयसँग पटक-पटक समन्वय गरेको छु तर राजनीतिक पहुँच नभएकाले हुनुपर्छ, सो काम हुन् सकेको छैन । मधेस प्रदेशका वर्तमान पर्यटनमन्त्री शत्रुधन महतो यसै जिल्ला हुनुहुन्छ, तर उहाँले जानाजान यस क्षेत्रलाई नजरअन्दाज गर्नुभएको प्रत्याभूत हुन्छ । मन्त्रीज्यूहरू पहिलो प्राथमिकता आफ्नो क्षेत्रलाई दिने र सम्भव भयो भने जिल्लालाई दिने प्रचलनको मारमा धनुषाधामको यो अवस्था देखिएको हो ।

पर्यटन नीति एवम् पर्यटन पूर्वाधार निर्माणका निम्ति कति बजेट छुट्टाउनुभएको छ ?

गत असारमा मैले वडाध्यक्षहरू सामू नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा धनुषाधामको पर्यटकीय सम्भावनाको विकासको लागि मन्त्री एवम् मन्त्रालयहरू नभए पनि पालिकास्तरबाट नै केही गरौँ भनेको थिएँ, तर नगरसभामा पक्ष-विपक्षमा टीकाटिप्पणीहरू भए । वडाध्यक्षज्यूहरूले मलाई अवरोध गर्नु भयो । “धनुषाधाम विकास भए पनि नभए पनि मलाई सरोकार छैन तर मेरो वडामा यति पैसा चाहियो”, उहाँहरूले हाकाहाकी यही भन्नुभएको छ । यसै विषयका कारण २ महिनासम्म नगर बैठक बस्न नसकेको कुरा पत्रपत्रिकामा पनि आएकै थिए । यसै कारण यस वर्षको नीति तथा बजेट कार्यक्रममा धनुषाधामको पर्यटन लक्षित कुनै पनि गतिविधिहरू परेका छैनन् भन्दा हुन्छ । अघिल्लो पाँच वर्षमा पनि थिएन, यसपालि पनि छैन ।

जनकपुरदेखि यहाँसम्म आउने सडकको अवस्था राम्रो देखिएन । मिथिला परिक्रमाको महत्त्वपूर्ण विश्राम स्थलमध्ये एक धनुषाधाम आउने बाटो कहिले बन्छ ? 

धनुषाधामको मूल सडक (जनकपुरधाम-धनुषाधाम-धारापानी) सडक विभाग अन्तर्गत रहेको छ । अघिल्लो कार्यकालमा रघुवीर महासेठ जी भौतिक तथा पूर्वाधार मन्त्री हुँदाखेरि हामी डेलीकेसन लिएर पटक-पटक पुगेका थियौँ । तर, यहाँ आउने पर्यटकहरूले बुझ्नुहुन्छ उहाँको क्षेत्र त्यहाँसम्म हो, जहाँसम्म पिच भएको छ । धनुषा जिल्लावासी उहाँले सडकको स्तरोन्नतिको सवालमा यसप्रकारको पक्षपातपूर्ण व्यवहार देखाउनु भएको छ । यसपटक निर्वाचित भएर आएपश्चात् सडक विभाग पुगेर कमसेकम सडक क्षेत्र त पिच गरिदिनुस् भनेर अनुरोध गरेका छौँ, कुनै प्रतिक्रिया आएको छैन ।

माननीय आनन्दप्रसाद ढुङ्गानाजी पर्यटनमन्त्री हुनुहुँदा १२ लाख रुपैयाँ धनुषाधामको व्यवस्थापनको लागि पठाउनुभएको याद छ, त्यसबाहेक हामीलाई राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त भएको छैन । सोही रकमले मन्दिरको अगाडी पर्खाल निर्माण एवं पोखरी नजिकै घाट निर्माण भएको थियो । यसपछि रामचन्द्र झा (०६४ को संविधानसभा सदस्य) स्थानीय विकास मन्त्री हुँदा जिल्ला विकासमार्फत मन्दिरको माथि जस्ता (टिन) लगाउने काम भयो । रामकुमारीजी, मातृका यादव लगायत माननीयजीहरूले धनुषाधामको विकास र उत्थानको लागि एक रुपैयाँ पनि लगाउनु भएको छैन । यो निकै दुःखद कुरा हो । यसप्रकारको राज्यको चरम बेवास्ताका कारण धनुषाधाम निकै पिछडिएको छ । नगरपालिका आन्तरिक आयबाट यो सब कुरा सम्पन्न गर्न साँच्चैमा कष्टकर स्थिति रहेको छ । नसुन्ने कान र नदेख्ने आँखाहरूका कारण धनुषाधामको यो हविगत हुन् पुगेको हो ।

धनुषाधामको पर्यटकीय सम्भावनाबारे केही बताइदिनुहुन्छ कि ? 

धनुषाधाममा बाह्रै महिना श्रद्धालुहरू पुग्ने गरेको भए पनि माघभरिको मेला अवधिलाई नै प्याकेजको रूपमा विकसित गरी अहिले बाँचिरहेको जङ्गलमा अस्थायी कटेजहरूको निर्माण गरी पर्यटक भित्र्याउन सकियो भने, त्यो निकै लाभदायी हुन सक्तछ । धार्मिक पर्यटकहरूको लागि रामलीला, भजन–कीर्तन आदिको व्यवस्था गरेर बसाइलाई भक्तिमय बनाउन सकिन्छ । यहाँ रहेको पवित्र वाणगंगा नदी र पोखरीको जीर्णोद्धार गरी आकर्षक एवं जलपर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।

सम्बन्धित समाचार