शनिबार , अषोज ५, २०८१

मनोरम हिमश्रृङ्खलादेखि तराईसम्म नियाल्न पुग्नैपर्ने ठाउँ धादिङ्गको ब्रोम्दिङ डाँडा

image

धादिङ्गको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर १ मा अवस्थित ब्रोम्दिङ डाँडामा पर्यटकको भीड बढ्न थालेको छ । दुई हजार एक सय मिटरको उचाईमा अवस्थित ब्रोम्दिङ डाँडा महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमानामा पर्दछ । धादिङ्गको सबैभन्दा दक्षिणी भेगमा रहेको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर एक र मकवानपुर जिल्लाको कैलाश गाउँपालिका  र राक्सिराङ गाउँपालिकाको सिमानामा पर्ने ब्रोम्दिङ डाँडा प्राकृतिक सुन्दरताले भरिपुर्ण भएपनि प्रचारप्रसारको अभावमा ओझेल पर्दै आएको थियो । पछिल्लो समय यातायातको व्यवस्था र स्थानीय बासिन्दामा पर्यटन प्रतिको चासो बढेसँगै प्रचारप्रसार सुरु भएको छ ।

केही बर्षअघि सम्म गाई भैँसी अनि गोठालाहरु मात्रै देखिने चौरहरुमा अहिले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत देखिन थालेका छन् । घाँस दाउरा बोक्नेहरुको लर्को देखिने डाँडा पाखाहरुमा अहिले पर्यटकहरुको घुँइचो बढ्न थालेको छ । डाँडामा रहेका सुन्दर चौर, लमतन्न परेका फाँट अनि थुम्काहरुले मनै लोभ्याउँछन् । विहानीमा सूर्य उदाएको दृष्यले मोहित बनाउँछ । साँझपख सूर्य अस्ताएको दृष्यले डाँडामै बसिरहन प्रेरित गर्दछ । सुन्दरताका सबै रंगहरु देख्न पाइन्छ ।

यस स्थानबाट उत्तरतर्फ लामबद्ध हिमश्रीङ्खला अवलोकन गर्न सकिन्छ । अन्नपुर्ण, माछापुछ्रे, गणेश, लाङटाङ, गौरीशंकर देखि सर्वोच्च शिखर सगरमाथाको चुचुरा आँखै अगाडी देख्न सकिन्छ । दक्षिणतर्फ बागमती प्रदेशको राजधानी हेटौडा देखि पर्साको विरगन्ज बजारलाई अवलोकन गर्न सकिन्छ । त्यसैगरी चितवनको भण्डारा बजार देखि गोरखाको मनकामना मन्दिर पनि यही डाँडाबाट देख्न सकिन्छ । काठमाडौंको चन्द्रागिरी र ललितपुरको फुलचोकी डाँडा पनि यसै स्थानबाट नियाल्न सकिन्छ । एकै ठाउँमा उभिएर उत्तरमा मनोरम हिमश्रीङ्खलादेखि तराईको समथर भूभागसम्म नियाल्नका लागि ब्रोम्दिङ डाँडा उपयुक्त गन्तव्य भएको स्थानीय श्याम लामा बताउँछन् । पर्यटन क्षेत्रमा लामो काम समेत गरेका लामा नेपाली कांग्रेसका नेता समेत हुन् ।

ब्रोम्दिङ डाँडा मात्रै नभएर बेनिघाट रोराङ वडा नम्बर एक नै पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको नेपाली कांग्रेस बेनिघाट रोराङका उपसभापति जीवनसिंह तामाङ बताउँछन् । जरुङ, सिम्टार, सुन्दरनागी, लवाङ लगायतका अन्य गाउँहरु पनि सुन्दरताले भरिपुर्ण रहेका छन् । यहाँका उत्पादनहरु सबै अर्गानिक हुने भएकाले पनि एग्रो टुरिजमको पनि सम्भावना रहेको जीवन बताउँछन् ।

डाँडा पाखा पखेरा हिमाल देखि तराईको भूभाग सम्म नियाल्नका लागि ब्रोम्दिङ डाँडा उचित गन्तव्य हो । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्गको गजुरी बजारदेखि करिव २५ किलोमिटरको दुरीमा रहेको डाँडामा सबै साना ठूला सवारी साधन लिएर पुग्न सकिन्छ । वडाकै सबैभन्दा ठूलो गाउँ जरुङ सम्म काठमाडौंदेखि दैनिक बस सञ्चालन हुन्छ । बसको आरामदायी यात्रा गर्न पनि सकिन्छ भने अन्य सवारी साधनबाट  पनि सजिलै पुग्न सकिन्छ । काठमाडौंबाट ६० किलोमिटरको दुरीमा रहेको गजुरी बजारबाट दक्षिणतर्फ २५ किलोमिटरको दुरी पार गरेपछि यो सुन्दर डाँडामा पुग्न सकिन्छ । राजमार्ग अन्तर्गतकै आदमघाट, घाटवेशी, मलेखु लगायतका बजारबाट पनि यो स्थानमा पुग्न सकिन्छ । मकवानपुर जिल्लाको थाहा नगरपालिकाको पालुङ बजार हुँदै जाँदा पनि यो डाँडामा पुग्न सकिन्छ । त्यसका लागि धादिङ्गको धुनिबेशी नगरपालिकाको खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै जानुपर्दछ । तर यो मार्ग हुँदै जाँदा लामो दुरी पर्दछ । डाँडा पाखा पखेरामा रमाउँदै यात्रा गर्नका लागि भने यो मार्ग पनि उत्तम हुन्छ ।

ब्रोम्दिङ डाँडासँग सिमा जोडिएको मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर दुईले वडालाई पर्यटकीय गन्तव्य बनाउन विकासका पूर्वाधारहरु निर्माण गर्न थालिसकेका छन् । वडामा पर्यटकका लागि होमस्टे निर्माण गरिएको छ । चियाबगान निर्माण थालिएको छ । चर्चित कैलाश पर्वत पनि सोही वडामै पर्दछ । वडाले सिमानामा पर्ने डाँडामा रहेको कुण्डमा गुरु रिम्पोछेको विशाल मुर्ति समेत स्थापना गरेको छ । उक्त मुर्तिको अवलोकन र दर्शन गर्न आउने पर्यटकको संख्या दैनिक वृद्धि हुन थालेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार