यहाँ पुगेपछि दायाँतिर गणेश हिमालको दृश्य देख्न सकिन्छ भने बायाँतिर अन्नपूर्ण र माछापुच्छ्रेको दृश्यहरू देख्न सकिन्छ ।
-रामहरि लम्साल
(सांकोष-३, पुरानोडिही )
१. सामान्य पृष्ठभूमिः
धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसी प्रवेश गर्ने मुख्यद्वार मलेखु हो भने धादिङका पर्यटकीय गन्तव्यहरूमा जाने मुख्य प्रवेशद्वार मुरलीभञ्ज्याङ र सांकोष हो । त्यसमा पनि सवारी साधनको यात्राका दृष्टिले धादिङबेँसीदेखि आरूघाट बुढाथुम फुलखर्क किन्ताङफेदी आदि जस्ता ठाउँमा जाने हरियाली राजमार्गको केही भाग कालोपत्रे भइसकेको हुँदा मुरलीभञ्ज्याङको प्रवेशद्वार सही प्रायोगिक रहेको छ । तर, हिउँदको सवारी यात्रा र अरूबेलाको पैदल यात्राका लागि भने सांकोष पनि उत्तिकै महत्त्वपूर्ण प्रवेशद्वार हो । धादिङका विभिन्न पर्यटकीयस्थलहरूको विवरण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने प्रायः जसो सबै ठाउँमा पाइन्छ । जिल्ला सदरमुकाम धादिङबेँसीलाई केन्द्र बनाएर उत्तरी क्षेत्रको पर्यटकीय अवलोकन गर्न यात्रा तयार गर्दा सर्वप्रथम प्रवेश हुने गा. वि. स. मुरलीभञ्ज्याङ हो । त्यस गा. वि. स. भित्र गुड्दा वा पैदल यात्रा गर्दा देखिने दृश्यहरूको सामान्य झलक यहाँ प्रस्तुत गरिएको छ ।
२. पहिलो प्रवेशद्वार : मुरलीभञ्ज्याङ :
धादिङबेँसीबाट सल्यानटार हुँदै आरूघाट र दायाँबायाँका अन्य विभिन्न ठाउँ जाने शाखा मार्ग भएको हरियाली राजमार्गको सुरुवात साँघुटारको पल्लो किनारबाट हुन्छ । यो ठाउँ मुरलीभञ्ज्याङ गा.वि.स. को वडा नं. ३ मा रहेको मुख्य नाका हो । यहाँबाट बगैँचा हुँदै खास मुरलीभञ्ज्याङ भनिने भञ्ज्याङमा पुगिन्छ । यहाँबाट दक्षिण-पूर्व फर्किएर हेर्दा धादिङबेँसीको मनोरम दृश्यका साथै दायांबायाँको अग्ला पहाडको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँबाट भखरै हुर्कँदैको कालिका सामुदायिक वनलाई दायाँतिर पारेर पश्चोत्तर मोडिँदै अलैंचे पुगिन्छ । अलैंचेको तितिरे धाराको चीसो पानी पिएर तिर्खा मेट्दा थकानको शरीरले शक्तिको सञ्चार भएको अनुभव गर्छ ।
अझै अगाडि बढ्दै जाँदा पाल्पाभञ्ज्याङ पुगिन्छ । त्यही भञ्ज्याङको नाउँबाट त्यसभेगलाई पाल्पा भन्ने गरिन्छ । पाल्पा जिल्लाबाट फरक गर्नका लागि ‘धादिङ पाल्पा’ भन्ने चलन अहिलेसम्म रही आएकै छ । त्यस भञ्ज्याङबाट दक्षिणतिर हेर्दा फेरि धादिङबेँसी तपाईंको ऐना बनेर चिहाइरहेको देख्नुहुनेछ । यहाँबाट पाल्पा-डाँडाचोक र पौवा खाल्टा हुँदै र पर क्षितिजमा अग्ला डाँडाहरूको दृश्यावलोकन गर्दे सर्प गुल्किएजस्तै सडकमा गुड्न वा रातोमाटो भएको ढुङ्यानको उकालो पैदल हिँड्न सकिन्छ ।
मुरलीभञ्ज्याङ गा.वि.स. मा यात्रा गरिरहँदा यस पछिको गन्तव्य भोगटेनीको शिरैशिर भएर पुगिने ज्यामिरेभञ्ज्याङ हो । यात्राको सुन्दर अनुभुति यहाँबाट हुन थाल्छ । अहिले पाल्पाभञ्ज्याङमा रहेको पाल्पा सामरीभञ्ज्याङ मा.वि. २०/२२ सालतिर सम्म ज्यामिरेभन्ज्याङको उपल्लो किनार सल्लाघारीको पुछारमा थियो भन्ने कुरा अहिले विलुप्त इतिहास बनिसकेको छ । यो भाषा पाठशाला सर्वप्रथम वि.स. २०१२ सालमा नुवाकोटको सामरीभञ्ज्याङबाट पं. ढुण्डीराज शास्त्री (लम्साल) ले यस ठाउँमा ल्याएका थिए । गाउँलेहरूको खिचातानीले कहिले ज्यामिरे त कहिले पाल्पाको विभिन्न ठाउँमा सञ्चालित हुँदै हाल मा वि. परिणत भएको छ । श्रद्धेय पं. ढुण्डीराज लम्सालको असामयिक निधनपछि लामो समयसम्म पं. विष्णुदत्त लम्साल (जो यस लेखकको कान्छो हजुरबा हुनुहुन्थ्यो) ले पण्डित भएर सेवा गर्नुभएको थियो । यस भाषा पाठशालाको सरकारी कर्मचारीको रूपमा डोला, पुकका वैकुण्ठ अर्याल र उहाँपछि पाल्पाका तारानाथ लम्सालले सेवा गर्नुभएको थियो ।
मनोरम पहाडी बली (उपत्यका) मा अवस्थित ज्यामिरे बजार नयाँ व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै छ । यहाँ पुगेपछि दायाँतिर गणेश हिमालको दृश्य देख्न सकिन्छ भने बायाँतिर अन्नपूर्ण र माछापुच्छ्रेको दृश्यहरू देख्न सकिन्छ ।
गोर्खाको मनकामना, धादिङको कटुञ्जे र ज्यामरूङका डाँडाहरू अनि दक्षिणतिर महाभारत श्रृंखलाका नागबेली दृश्यहरू देख्न सकिन्छ । ज्यामिरेबाट नागबेली हुँदै उकालिएको हरियाली सडकमा गुडिरहँदा वा सल्लाघारीको चिसो हावा खाँदै हिडिरहँदाको आनन्द अर्कै अनुभव हुन्छ । सल्लाघारी सुसाएर चीसो हावाका साथ पङ्खा हम्किरहेको देख्दा मानौँ स्वागतमा हातहरू हल्लिरहेको अनुभव गर्न सकिन्छ । यहाँबाट उकालिँदै चण्डीभन्ज्याङलाई मायाँ पारेर निगालपानीलाई फेरो मार्दै मूल गाउँको बीचैबीच अगाडि देखिने डाँडाकाँडा र प्रकृतिका मनोरम दृश्य पार गर्दै पल्लो पाखाबाट गोलाभञ्ज्याङ पुगिन्छ । ज्वालामुखी मन्दिरको उकालो चड्ने फेदीको केही वर एउटा ठूलो गोलो आकारको ढुंगो राखिएको र त्यहाँ अन्य देवदेवीका मूर्तिसहित त्यस ढुङ्गाको पनि पूजा गर्ने प्रचलन छ । त्यसै गोलो ढुंगाका कारण यसलाई गोलाभञ्ज्याङ भनिएको हो । सायद गालेर डाल्न वा टुक्रा पारेर बेच्न नमिल्ने भएकोले यो ढुंगो चाहिँ बाँकी छ कि ? किनकि, हाम्रो देशका ऐतिहासिक पुरातात्विक वस्तुहरू आजको भोलि नै के हुन्छ भन्न नसकिने भएकोले यो प्रश्न गरिएको हो । यहाँको ज्वालामुखी मन्दिरमा स. १८५८ मा यं देवज्ञकेसरी अर्यालले चढाएको ३२ धार्नीको ढलौट घण्ट संकटकालमा चोरिएको कुरा स्मरणीय रहेको छ । गोलाभञ्ज्याङ नै मुरलीभञ्ज्याङको निकास पनि हो ।
वरिपरिको मनोरम दृश्यहरूका साथै बायाँतिर ज्वालामुखी मन्दिरको टापुमा चढेर हेर्दा देखिने उत्तरतिरको गंगाजमुना लेक, पश्चिमतिर लमतन्न सल्यानटार, तिनैरित देखिने चाँदी जस्ता हिमश्रृंखला पर्यटक लोभ्याउने पर्यटक सुन्दर दृश्य हुन् । बुढी गण्डकी र आँखु खोलालाई सीमा बनाएर उत्तर दक्षिण लमतन्न परेको सल्यानटार देशकै दोस्रो ठूलो टार हो । यसरी मुरलीभञ्ज्याङ गा.वि.स. पर्यटकीय गन्तव्यको प्रवेशद्वार बन्नुका साथै ढोला, मैदी, चैनपुर, ज्यामरुङ, खरी आदि ठाउँ जाने शाखा मार्ग विस्तार गर्ने गाउँ सडक बनेको छ । धादिङ जिल्लाको विभिन्न पर्यटकीय गन्तव्यको साथै गोरखाका कतिपय गन्तव्यमा समेत पुग्नका लागि मुरलीभञ्ज्याङ पहिलो प्रवेशद्वार बनेको छ ।
३. सांकोष : दोस्रो प्रवेशद्वार:
सांकोष गा.वि.स. पनि धादिङका पर्यटकीय क्षेत्रको यात्रामा जाँदा प्रवेश गरिने महत्त्वपूर्ण प्रवेशद्वारा हो । यस गा.वि.स.को पनि वडा नं. ३ मा नेप प्रवेशद्वार मानिन्छ । धादिङबेँसीको पुछारबजारमा अवस्थित बसपार्क नजिकैबाट विन्दुकेशरी नदी (थोपलखोलाको पानी पुल (वर्खामा पानीमुनि हुने) तरेपछि यात्रारम्भ हुन्छ । स्थानीय भैरवी मन्दिरलाई बायाँ र पशुपतिको हातालाई दायाँ पारेर उकालिन थालेको यो सह पुलबाट करिब १२५ मिटर पर पुगेर मोडिन्छ र पशुपति मन्दिर (नीलकण्ठ महादेवस्थान )लाई बायाँ नै पारेर अगाडि बढ्छ । मूलतः गंगा जमुना (आँबुथुम लेक) र तातोपानीतिर जाने यात्राका लागि यो मार्गको उपयोग गर्न सकिन्छ । थोपल खोलाको सतहबाट करिब १२५ मिटरको अग्लाइमा रहेको पशुपति मन्दिरबाट धादिङबेँसी बजार तथा थोपल सोर ऑसीखोलाको नागबेली रूप तथा अरूङको खहरे रूपको सुन्दर दृश्य देख्न सकिन्छ ।
धादिङबेँसी सदरमुकामको पूरै दृश्य देख्न सकिने नीलकण्ठ महादेवको स्थापनाको बेग्लै इतिहास छ । हाल पशुपति भनेर चिनिने र मानिने यो ठाउँ सांकोष गा.वि.स. वडा नं ३ मा पर्दछ । त्यस आसपासको पूरै गाउँ क्षेत्रलाई हाल पशुपति वनकाली डाँडा भनेर चिनिन्छ । यस नीलकण्ठ महादेव मन्दिरको स्थापना आजभन्दा (४५) पैतालीस वर्ष पहिले स्थानीय समाजसेवी वृद्धहरू तथा केही उत्साही युवाहरूको सक्रियतामा भएको थियो । यसै पशुपति र नीलकण्ठनामका शिक्षण संस्था, वित्तीय संस्था, प्रकाशन संस्था र अन्य व्यवसायिक फर्महरूको नाम राखिएको (Hoarding Board) नामाङ्कन पाटी धादिङबेँसी पुग्ने जो कोहीले देख्न सक्छन् । नीलकण्ठ महादेवको स्थापना रसुवाको गोसाइँकुण्ड र काठमाडौँको पशुपति दुवैको सम्झना दिलाउने गरी भएको हो । खासगरी स्व. जीवनाथ लम्साल, स्व. कृष्णप्रसाद लम्साल, स्व. खडानन्द कोइराला, स्व. जगन्नाथ कोइराला, टीकाराम कोइराला, माधवप्रसाद रिजाल, टिकाराम सापकोटा र अन्य थुप्रै व्यक्तित्वहरूको सक्रियतामा स्थापना गरिएको यस महादेवस्थानको प्राणप्रतिष्ठा वि.सं. २०२३ साल कोशीका दिन ‘शतबीज’ छरेर गरिएको हो । यसरी उद्घाटन गरिएको पशुपति मन्दिर अहिले त्यस क्षेत्रको ठूलो तीर्थस्थल बनेको छ ।
हाल धादिङ जिल्ला प्रशासन र केही व्यापारीहरूको सहयोगमा नयाँ पक्की मन्दिर बनाइएको छ । नयाँ संरचना निर्माण गर्दा त्यसको इतिहासलाई स्मरण गराउने पुराना ढुंगे मूर्तिहरू पूरै नष्ट गरिएको छ । आधुनिक बन्नेमा नाउँमा आफ्नो ऐतिहासिकतालाई हामी आफै नष्ट गर्छौँ भन्ने कुराको प्रमाण यही हो । त्यसबेला स्थापना गरिएको शिवलिङ्ग लगायत अन्य मूर्तिहरूलाई सुरक्षित गर्न नसक्नु जिर्णोद्वारकर्ताहरूको कमजोरी हो । जिर्णोद्वार गर्नेको भावना असल भए पनि त्यसको ऐतिहासिकता जोगाउन नसक्नु वा मेट्न खोज्नुलाई सभ्य समाजको प्रतीक मानिँदैन । त्यसबेला पाँच वर्षको उमेरमा यस लेखकले स्व. पिता कृष्णप्रसादले शिवलिङ्ग राख्ने अर्द्योतो छिनाले खोपेर कुँदेको देखेका कारण हाल त्यो नष्ट गरिँदा गुनासो रहनुलाई अन्यथा मान्नुहुँदैन । जे होस् पशुपति क्षेत्र हाल विवाह, व्रतबन्ध र अन्य शुभकार्यको भोजभतेरका लागि समेत प्रमुख स्थल बनेको छ । यो खुशीको कुरा हो ।
यताबाट उकालिँदै दामगाडे, पचघरे पुग्दासम्म मुरलीभञ्ज्याङकै यात्राबाट देखिने दृश्यहरू दोहोरिन्छन् । पचघरेबाट भने यात्रा सल्लाघारीमा प्रवेश गर्दछ । माथिबाट देखिने सदरमुकामको दृश्य तथा कुँडुले र गहुँते फाँटका दृश्य तथा ठूलो गाउँ र अपिस्वारा जस्ता गाउँहरू ओझेल पर्दछन् । अब स्याली हुँदै मधुवनको दृश्यावलोकन गर्न पुगिन्छ । सूर्यकुण्डको अग्लो डाँडोलाई माथि पारेर गुड्दै वा हिँड्दै जाँदा हावाको शीतल महक यहाँ पनि अनुभव गर्न पाइन्छ । सेउली हुँदै टोड्के पुगेपछि कटुन्जे र घरतिर जाने बाटो जोडिन्छ । टोड्केभञ्ज्याङ त्यस क्षेत्रको पुरानो व्यापारिक नाका हो । यसको अवस्थिति कटुञ्जे गा.वि.स. मा रहेको भए पनि सांकोषका माथिल्लो भेगबाट बजार गर्न जाने ठाउँका रूपमा यसको सम्बन्ध स्थापित भएको छ । टोड्केभञ्ज्याङ पुग्नुभन्दा केही वर अर्को एउटा भञ्ज्याङ रहेको छ । जुम्रेभञ्ज्याङ भनिने यस ठाउँबाट पनि धेरै परसम्मका डाँडाकाँडा र हिमाली दृश्य सो गर्न सकिन्छ । हाल दूरसञ्चारको टावर राख्ने योजना रहेको यस ठाउँमा हिमाली पर्यटकीय टावर पनि निर्माण गर्न सके सांकोषको उच्च भेगमा बस्ने गरीब जनताले आंशिक रूपमै भए पनि व्यावसायिक रोजगारी पाउन सक्ने थिए ।
उपसंहार
यसरी धादिङ जिल्लाका उत्तरी पर्यटकीय गन्तव्यको प्रवेशद्वारका रूपमा मूलतः मुरलीभञ्ज्याङ र सांकोष रहेका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीबाट पश्चिमी रुट प्रयोग गरे मुरलीभञ्ज्याङ र उत्तरी रूट प्रयोग गरे सांकोष गा.वि.स. लाई छिचोल्न पर्ने हुन्छ । यात्राको गन्तव्य टाढा भए पनि मुरलीभञ्ज्याङको गोलाभञ्ज्याङबाट धादिङको पश्चिमी भेग र गोर्खाका केही भूभाग समेत यात्रा गर्न सकिन्छ । यस्तै, धादिङको उत्तरी गन्तव्यको यात्राका लागिसको हुँदै जाने रूट उपयोग गर्न सकिन्छ । यस रुटबाट धादिङको फूलखर्क, गुम्दी, सल्यानकोट र गंगाजमुनाका साथै दार्खा, खनायबास, रि, लापा, सेर्तुङ, झार्लाङ र तिप्लिङ जस्ता ठाउँसम्म पुग्न सकिन्छ । इच्छुक पर्यटकहरू त्यताबाट गोसाइँकुण्ड सम्म पनि जान सक्छन् ।
यसरी यी दुई गा.वि.स. पर्यटकको स्वागतद्वार भएर अवस्थित छ । पूर्वाधारको विकास र सेवा सुविधाको विस्तार गर्न सके यी ठाउँहरू धादिङका नमूना पहाडी नगर बन्न सक्छन् । आशा गरौँ त्यो दिन निकट भविष्यमा देख्न पाइनेछ ।
(प्रस्तुत लेख अमृत सापकोटाले सम्पादन गरेका पर्यटकीय विम्बचित्रमा धादिङबाट साभार गरिएको हो, यसकारण यहाँ साविककै गाविस र वडाहरू उल्लेख छन्- सम्पादक ।)