उहिले ङ्हेमा कु दावा कु निस्किएको समय यस क्षेत्रका तान्त्रिकहरू मिलेर गाउँलाई जोगाउन नौ सूर्य बराबरको तापलाई जमिन मुनि पठाइदिएका थिए । त्यही ताप नै अहिलेसम्म आइरहेको विश्वास गरिन्छ ।
गणेश हिमाल पग्लिएर आएको चिसो पानी खोलाको रूपमा बगिरहेको आँखुको डिलैमा तातो पानीको मूल छ । यो खनियाबास गाउँपालिका वडा नं २ झार्लाङ गाउँको पुच्छरमा अवस्थित छ । यसको नजिकै डुन्डुरे खोँच छ । बाह्रै महिना एक तमासले तातोपानी निस्किरहन्छ । दुईवटा मुख्य मूलहरू र एक बाफद्वार सेकाउने सुविधा छ ।
यस क्षेत्रको विशेष महत्त्वका स्थान भएकाले नुवाकोट जिल्लाको किस्पाङ, म्यगङ लगायतको गाउँबाट समेत रोग चट हुने विश्वासले कैयन मानिसहरू यहाँ नुहाउन आउँदछन् । धादिङ जिल्लाका विभिन्न गाउँहरूबाट बर्सेनि हजारौँ मानिसहरू तातोपानीमा नुहाउन आइपुग्दछन् । पहराबाट मूल फुटेर आएको यसमा औषधीय गुण पनि भएको पाइन्छ ।
नामकरण
यो तातोपानीलाई ‘इलेप’ भनिन्छ । इलेप तामाङ नाम शब्द हो । यसलाई विग्रह गर्दा इ र लेप बन्दछ । इ भन्नाले पानी र लेप भन्नाले तातो बुझिन्छ । औषधीय गुण प्रचुर मात्रामा पाइने तातो पानी रहेकाले यसलाई वैदिक भाषामा ‘अम मेनसिर ज्योमो’ यानेकी ‘औषधीय गुण भएको देवी’ भनेर पूजा समेत गरिन्छ । पहराबाट झरना बनेर आएको तातो पानीलाई भने ‘अप छरछरपो दापो’ भनेर पुज्ने गरिन्छ । समग्रमा तातोपानीको मूल भएकोले बहुसंख्यक तामाङ भाषीहरूले इलेप नामकरण गरिदिएको प्रष्ट देखिन्छ ।
अवस्थिति
समुन्द्री सतहबाट करिब ७०० मिटर उचाइमा रहेको इलेपमा दुईवटा मूलहरू छन् । ज्योमो (स्त्री) खोल्सामा रहेको छ भने दापो (पुरुष) पहरामा रहेको छ । दुवैको मिश्रण भई बिचमा नुहाउने धाराहरू निर्माण गरिएको भए पनि २०७२ को भूकम्प पश्चात् भने यो धारा सुकेको छ । अहिले करिब ५० मिटरको दुरीमा दुई मूल रहेको छ । प्रयोग र धार्मिक विश्वासको आधारमा यो दापोभन्दा शक्तिशाली ज्योमो मूल हो । त्यसैले नुहाउन मात्र जानेहरू पालो हेरेर जता पनि नुहाउँछन् भने विशेष रोगको उपचारार्थ गएकाहरू भने पालो कुरेर भए पनि ज्योमोमा नुहाउँदछन् ।
किम्बदन्ती
तातो पानीको मूल रहेको स्थानमा नजिकका मानिसहरू हिउँदमा घाँस काट्न जान्थे । घाँस मात्र नभई घर वा धनसार छाउन खर पनि काट्न जान्थे । एक दिन एक अधवैँसे खर काट्दा काट्दा हराएछन् । बोलाउँदा पनि नबोलेपछि सबैजना मिलेर खोज्दा बेहोस अवस्थामा भेटिएको थियो । उनलाई नम्च्युङ गरी सोध्दा एक वन मान्छेले लगेर तातोपानीमा नुहाइदिएको स्मरण सुनाए । त्यो देवदेवीको वरदान भएकाले रोग निको हुने जानकारी दिएकाले खोज्दै जाँदा तातोपानीको मूल भेटिएको र हरेक औँसी पूर्णेमा पाठ पूजा गर्न थालेको कथन पाइन्छ ।
अर्को कथनअनुसार उहिले ङ्हेमा कु दावा कु निस्किएको समय यस क्षेत्रका तान्त्रिकहरू मिलेर गाउँलाई जोगाउन नौ सूर्य बराबरको तापलाई जमिन मुनि पठाइदिएका थिए । त्यही ताप नै अहिलेसम्म आइरहेको विश्वास गरिन्छ ।
तातोपानीको विशेषता
पहराको कापबाट रसाएर निस्किएको झरना नै तातो पानीको रूपमा प्रख्यात छ । यसभन्दा ५० मिटजति दुरीको खोल्सामा पनि तातोपानीको मूल रहेको छ । विशेष गरी तातोपानी प्राकृतिक उपचार गराउने स्थानको रूपमा प्रख्यात छ । जमिनभित्रबाट बिरे नुन र गन्धक लगायतका विभिन्न तत्त्वसहित ४५ डिग्रीदेखि ६० डिग्री सम्मको पानी निस्कन्छ ।
तातोपानीमा नुहाउनुका साथै सेवन समेत गर्ने गरिन्छ । यसले ग्यास्ट्रिक, बाथरोग (युरिक एसिड), ढाड दुख्ने, छाला सम्बन्धी विभिन्न रोगहरू, बज्रिएर चोट लागेको, मर्किएको, सुन्निएको, पेट सुन्निएको, गलगाँड, एसाइटिस लगायतका रोगहरूबाट आराम मिल्दछ । यसमा मिसिएको गन्धकमा एन्टिबाइटिक क्षमताका कारण एक अर्कामा रहेको रोग सर्ने सम्भावना रहँदैन । अन्य विभिन्न स्थानमा तातो पानी रहेको भए पनि यहाँको तातोपानी विशेष रहेकाले टाढा टाढाबाट समेत यहाँ आउने गर्दछन् ।
कसरी पुग्ने ?
इलेप पुग्नको लागि निजी मोटरसाइकल सबैभन्दा उत्तम छनौट हुन्छ । करिब ४०/५० किमी कच्ची बाटोको लागि हिउँदमा काठमाडौंदेखि नै सार्वजनिक जिप वा बससेवा रुबीभ्यालीको बराङसम्मलाई पाइन्छ । अन्तिम गन्तव्यमा नपुग्दै डुन्डुरेमा ओर्लनु पाइन्छ ।
वर्षामा भने काठमाडौंबाट धादिङबेंशीसम्म मिनि बस, माइक्रो बस र डिलक्स बसहरू माछापोखरी बालाजुबाट पक्रनु पर्दछ । त्यसपछि धादिङबेंशी मिलनटोलमा संयुक्त यातायात (लेकाली) काउन्टरबाट दामन पाख्रिन मार्ग हुँदै किम्ताङफेदीसम्म जीपको टिकट पाइन्छ । कहिलेकाहीँ भने काठमाडौंबाट किम्ताङफेदीको लागि जिप भेटिन्छ ।
किम्ताङफेदीबाट अर्को जीपमा तरम्हाने, दार्खासम्म पुर्याउँदछ ।
पहिलो दिन केराबारी वा डुन्डुरेको स्थानीय होटेलमा बास बस्नुपर्दछ । डुन्डुरेमा अस्थायी प्रहरी बिट पनि छ ।
भोलिपल्ट बिहानै नास्ता गरी इलेपतर्फ लाग्नुपर्दछ । करिब एक घण्टाको हिँडाइ पश्चात् इलेप पुगिन्छ ।
डुन्डुरेबाट सडक छोडी खोलाको बगर बगर जानु पर्दछ । अहिले त्यहाँसम्म पुग्न गोरेटो बाटो पनि निर्माण गरिएको छ । आँखु खोलाको किनारै-किनार हिँड्दै जाँदा अनेक भातीभातीका पत्थरमा चित्र कुदिए झैँ ढुङ्गाहरू देखिन्छन् । नजिकैको भिरमा देखिने वन जङ्गल र त्यसभित्र चिरबिराइरहेका चराचुरुङ्गीको आवाज र देखिने दृश्यहरूले मन आल्हादित तुल्याउँछ । तत्क्षण एक प्रकारको चङ्गाई प्राप्त हुन्छ । वारी र पारीको जङ्गल, हिउँ पग्लेर आएको चिसो पानी निलो रङका साथ सुसाउँदै बगिरहेको, प्राकृतिक सुन्दरता जस्ता अनेकानेक दृश्यले मानसिक स्फूर्ति दिन्छ ।
तातोपानीमा पूजा गर्ने, नुहाउँने र बाफमा सेकाउन पाइन्छ । भिड अनुसार पालो व्यवस्थापन गरिनु पर्दछ । बिहानी समयमा भीड कम हुन्छ । त्यसैदिन नै फर्किन पनि सकिन्छ वा पेर्चो पुगेर झार्लाङको पहिरो अवलोकन गरी आसपासका अन्य महत्त्वपूर्ण स्थानहरूको भ्रमण गरी त्यतै बास बस्न पनि सकिन्छ । त्यहाँ जानको लागि गोरेटो बाटो र बिसौनीको निर्माण पनि गरिएको छ ।
खर्चको जोहो कति गर्ने त ?
यहाँ राखिएको खर्च सामान्यतया: शाकाहारी भोजनको अनुमान गरिएको हो ।
गाउँबाट टाढा सडकसँगै थापिएका पसल तथा होटेलहरू एकाधिकारयुक्त हुने हुनाले सोही अनुसार राखिएको हो । यातायात खर्च भने कच्ची रोडमा अधिक नै छ । अझ धादिङबेशी हुँदै आउँदा र नुवाकोट विदुर भई आउँदा एकतर्फी भाडा नै बढी पर्ने गुनासो दामन पाख्रिन मार्गबाट यात्रा गर्नेहरूको छ ।
काठमाडौंबाट आउनेहरूको लागि गाडी भाडा आउँदाजाँदा २,४००, सादा खाना ६ छाक ९००, चिया १२ कप नास्ता ६ पटक ८००, औषधी तथा ड्राइ फुड ५०० गरी ४,६०० खर्च चाहिन्छ । यो खर्च हिउँदमा कम र वर्षामा बढी लाग्दछ । व्यक्तिको स्वभाव, समन्वय क्षमता आदिमा पनि खर्च निर्भर रहन्छ । मांशहारी र अल्कोहलीय पार्टी गर्नेको खर्च भने अनुमान गर्न सकिन्न । स्थानीय खोलाको ताजा माछा, कालिज, मृग र बँदेलको मासु, लोकल सुँगुर, कुखुराको मासु पनि पाइन्छ ।
गाउँमा पसेर स्थानीयहरूसँग ढिँडो खान सकिन्छ । स्थानीय जातको आलुको विभिन्न परिकार, जौ, कोदो, फापर, मकै, गहुँ आदिको ढिँडो, लोकल कुखुरा र लोकल रक्सी पनि पाइन्छ । स्थानीय पसलहरूमा बजारबाट ल्याएका सामानहरू पनि पाइन्छ । तामाङ बाहुल्य क्षेत्र भएकाले माध्यम भाषाको रूपमा तामाङ भाषा बोल्दछन् । तैपनि नेपाली भाषा बुझ्ने जमात पनि कम छैन ।
कुन समयमा जाने ?
तातोपानीमा विशेष गरी असोज, कार्तिक, माघ, फागुन र चैत्रमा भीड लाग्ने गर्दछ । वैशाख जेठमा पनि तातोपानीमा मानिसहरू नुहाउन आउँदछन् । खासगरी औँसी पूर्णे र मंगलबारमा बढी भीड हुने गर्दछ ।
धार्मिक उद्देश्य लिई मेला भर्न गोने ङ्या । यो वर्ष साउन २७ गते परेको थियो ।
गुराँससँग रमाउन रंगीचंगी भुईँ फुलसँग रमाउन जेठ अन्तिम सातादेखि असार पहिलो साता सम्म ।
हिउँ चिप्लेटी खेल्न माघ दोस्रो सातादेखि चैत्र दोस्रो साता सम्म ।
थप कुरा
तातोपानी क्षेत्रबाट गाउँबस्ती पुग्न केही घण्टाको मात्र दूरीमा रहेकाले खाना, खाजा र बासको त्यति धेरै चिन्ता लिइरहनु पर्दैन । क्याम्पेन गरेर बस्ने हो भने बगर वा जङ्गलमा दाउरा खोजी टेन्ट बनाएर बस्न पनि सकिन्छ । माछा मार्न र पौडी खेल्न पनि सकिन्छ । ध्यान गर्न पनि सकिन्छ । धार्मिक उद्देश्य लिई जान सकिन्छ । त्यस्तै रोग बिमारबाट मुक्त हुन पनि तातोपानीमा गइन्छ ।मनोरञ्जनात्मक उद्देश्य लिई पिकनिक, गेट टुगेदर गर्न पनि तातोपानी जान सकिन्छ ।
अझ यसलाई व्यवस्थित बनाउन समिति नै गठन गरी संरक्षण र व्यवस्थापन गर्न सकिए यस स्थानले रोग निको पारिदिनुका साथै पर्यटकीय गन्तव्यको रूपमा समेत परिचित हुने अवसर मिल्नेछ ।