पहिला-पहिला कैलाशको जङ्गलमा सिकार गर्ने प्रचलन थियो । सिकार गर्न जाँदा प्रत्येक बस्तीको सिरानतिर भएको देवीको मन्दिरमा प्रार्थना गरेर जान्थे । सिकार गरेर फर्कन्थे ।
यात्रा जीवनको इन्द्रेनी
यात्रा जीवनको इन्द्रेनी रहेछ र कहिले-कहिले त उर्लिँदै सुस्ताउँदै जाने नदीको प्रवाह जस्तो पनि । बगिरहँदो पानीका छाल उछालमा मिसिँदै हेलिएको विचारको शृङ्खलाले एक दिन कैलाशको थुम्किलो मिथकहरूसम्म उचाल्यो ।
पर्यटनको तिर्खाले सबैमा उमङ्ग ल्याउँदो रहेछ र उत्सुकताको तुलबुल सिर्जना गर्दो रहेछ । त्यही उत्सुकता र तुमुल कौतुहलता मेटाउन हामी समय-समयमा शब्दचित्रको बिम्बहरू खिचिरहेका छौँ, समय असमय ।
बिदा मनाउन गाउँ सहर छोडेर केही दिनको यात्रामा निस्कने प्रचलन हाम्रो दिनचर्यामा बसिसकेको छ । राज्य पुर्नसंरचना पश्चात् नयाँ-नयाँ गन्तव्यहरूको खोज र प्रचारप्रसार भइरहेका छन् र इतिहासका लिखित, अलिखित दस्तावेजहरू उत्खनन् भइरहेका छन्, जसले सभ्यताका आदिम पौरस्त्य दृष्टिकोणहरूको पुनसंस्करण, पुनःजीवित गराएको छ । पर्यटनको दृष्टिले अनुपम र आकर्षक मात्रै होइन इतिहासका लिखित, अलिखित दस्तावेजको साक्षी बनिरहेको पर्यटकीय गन्तव्यको केन्द्र हो — कैलाश बागेश्वरी मन्दिर, धादिङ ।
मिथकै मिथकको चुली
मिथकहरू इतिहासका पहिलो बेलो हुन् । हाम्रा इतिहासका आधारस्तम्भ नै मिथकका गर्तमा लुकेका अर्थ पछिल्तिरका वस्तुनिष्ठा हुन् । कैलाशको चुली र त्यसको सौन्दर्यपान गर्दै मिथकका पछिल्तिरको यथार्थ खोतल्न प्रयास गरेँ।
कैलाश मन्दिर धादिङको सदरमुकामदेखि तीन घण्टाको पूर्वी उकालो उक्लिएपछि पुग्न सकिन्छ । त्यहाँ पुरानो दरबारको अवशेष छ । कैलाशको थुम्किलोलाई वरपर पतेनी, बसाहा, चिसापानी, केराबारी, पात्ले र थुरेथुम आदि बस्तीहरूले चारैतिरबाट घेरेको देखिन्छ । बस्तीहरूको बीचमा निकै अग्लो थुम छ र त्यहाँ निकै बाक्लो जङ्गल छ । जङ्गलमा जामुना, काफल, ऐसेलु लगायत फलफूलहरू पर्याप्त पाइन्छ । बाघ, मृग, घोरल, रतुवा अनेक जातका जङ्गली जनावरहरू पनि पाइन्छन् ।
पहिला-पहिला कैलाशको जङ्गलमा सिकार गर्ने प्रचलन थियो । सिकार गर्न जाँदा प्रत्येक बस्तीको सिरानतिर भएको देवीको मन्दिरमा प्रार्थना गरेर जान्थे । सिकार गरेर फर्कन्थे । सिकार पाइन्थ्यो पनि ।
कुनै एक दिन बसाहाबाट सिकारमा आएका युवाहरूले बेलुकासम्म सिकार भेटेनन् । नभेटेपछि बागेश्वरीको शिलामा अपमानपूर्वक ढुङ्गाले हानेर फर्किए । सिकारीहरू गाउँमा पुग्दा नपुग्दै गाउँमा भयङ्कर बाघको आतङ्क आरम्भ भयो । बाघले खोर खोरमा पसेर बाख्रा थुतेर खान थाल्यो । घरघरमा भय त्रास मच्चाउन थाल्यो । त्यसैले सबैमा त्राहीमाम बनाउन थाल्यो ।
यो सबै भएपछि गाउँलेहरू मिलेर क्षमा प्रार्थना गरे । क्षमा प्रार्थनापछि बाघ पनि हरायो र गाउँलेहरूले लामो सास फेरे ।
कैलाशको थुममाथि शिवालय र बागेश्वरी माताको पूजा अर्चना गरिन्छ । बागेश्वरीमा बली दिइन्छ भने शिवालयमा शैवमतानुसार अर्चना प्रार्थना गरिन्छ । यहाँ विशेष गरेर कार्तिक पूर्णिमामा विशेष उत्सवीय मेला लाग्दछ । प्रत्येक घर धुरीबाट पूजा सामग्री लगेर पूजा अर्चना, आराधना गर्ने गरिन्छ । कार्तिक पूर्णिमाको दिन पूजा गर्न नभ्याएका घर धुरीले आउँदो पञ्चमी वा आउँदो पूर्णिमाका दिन पूजा आराधना गर्ने प्रचलन छ । बस्तीबाट टाढा भएकोले नियमित पूजाआजाको भने व्यवस्था देखिँदैन । यहाँको मन्दिरको शक्ति र प्रभावको बारेमा बस्तीहरूमा अटल विश्वास र प्रबल आस्था देखिन्छ । घर, कुलमा कुनै सङ्कट आइपरेमा भाकल गर्ने, इच्छित वर माग्ने प्रचलन पनि छँदैछ ।
आइतबार र मङ्गलबार यहाँ पूजा लाग्दैन । आइतबार र मङ्गलबार पूजाआजा गरेमा र बली दिएमा गाउँमा अनिष्ट हुने, बाघ लाग्ने र गाउँका पशु चौपाया, बालबालिकालाई समेत खाने गरेको भनाइ पाइन्छ । त्यसैले, आइतबार र मङ्गलबार यहाँ पूजा निषिद्ध छ ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका पुराना सत्ता र यसका परिधिमा थुप्रै थुप्रै घटना र मिथकका पोका पुन्तुराहरू छन् । यात्रामा मलाई ती किंवदन्तीका पात्रहरूसँग लुकामारी गर्न मन लाग्छ । तिनले भोगेका आदिम जीवनका चाकाचुलीमा हेलिन रहर लाग्छ अनि बोक्छु मनभरी तिनीहरूलाई । मनका पत्र पत्रमा खाँदिएर रहेका किंवदन्तीका पात्रहरूलाई फुर्सदमा यसरी अक्षरका उज्यालाहरूबाट केलाउन, पढ्न र निफन्न चाहन्छु जुन ओहिरिन्छन् मनका क्यान्सभासहरूबाट बग्रेल्ती ।
कैलाश एकलासको जङ्गल हो र त्यहाँबाट गाउँ पुग्नका लागि करिब एकघन्टा पैदल हिँड्नु पर्छ । यहाँ काफल, जामुना, ऐँसेलु फल्ने बेला सहरबाट पनि प्रशस्त युवायुवतीहरू ओहिरिन्छन् । कैलाशपति महादेवको अर्चना स्थलबाट केही पर पहराभन्दा मुनि मल्लागिरीको ठूलो वृक्ष छ र त्यसैमा कालो गुदरगानो रहेको रहेको छ । कालो गुदरगानो निकै किम्ती ओखती र सौभाग्य सूचक मानिन्छ । त्यसको दुर्लभता र बहुमूल्य उपयोगका अनेक किंवदन्तीहरू सुन्न पाइन्छ । बेलुका तस्करहरू कालो गुदर गानो लिन गएको र विशाल सर्पले अत्त्याएका कहानीहरू पनि गाउँबासीहरूसँग छ ।
कैलाशकै पूजा स्थल नजिक निकै गहिरो जमिन धस्सिएको भूगोल छ । त्यहाँ केही वर्ष अगाडिसम्म पानीको मूल रहेको थियो । त्यस मूललाई पवित्र मानिथ्यो र नागदेवताको आवास भनिन्थ्यो । त्यसमा फोहोर र प्रदूषण तथा रगत पार्न नहुने विश्वास पनि थियो । एक पटक सिकारीहरूले सिकार गरेर ल्याएको वस्तु त्यही मूलमा पखालेर रगत मिसाइदिएपछि पानी भास्सिएर तलतिर गएको र त्यही मूल गैरी बसाको गैह्री खोलामा निस्किएको भन्ने पाइन्छ ।
हिन्दु र बौद्ध पवित्रताको मिलन केन्द्रको रुपमा कैलाश
कैलाशको दक्षिण पूर्वी भागमा बसाहा, पतेनी, पात्ले जस्ता बस्तीहरू रहेका छन् । यहाँको पतेनी गाउँको ठूला पाटाहरू र निकै पुराना आदिम बस्ती रहेको छ । यहाँ जमिन जोत्दा माटो बन्न लागिसकेका सिक्काहरू पाइन्छन् र दरबारका भग्नावशेष भेटिन्छ । कैलाशको स्थापना र यहाँको दरबारलाई जोडेर हेर्दा यहाँको शासकको उदय र पतनको नाम जोडेर बस्तीको नाम नै पतेनी राखिएको हुन सक्छ भन्ने विश्लेषकहरू पनि छन् । कैलाशबाट करिब आधा घण्टाको दुरीमा लामा गुरुको ऐतिहासिक स्थल छ । त्यहाँ कुनै युगमा सिद्ध लामा बस्थे । उनले शिलामा कोरेका पाली भाषाका केही अक्षरहरू तत् स्थानमा छँदैछन् ।
यहाँ पनि शिलाहरूमा किंवदन्ती लहराएको छ । गुम्बामा बस्ने लामा गुरु सिद्ध लामाकी श्रीमतीलाई एक पटक नागराजाले भगाएर लैजाँदै गर्दा लामाले थाहा पाएर खेद्न थाले । खेद्दै जाँदा नागराजलाई लामाले अहिले चमेरे गुफा भएको डाँडामा भेट्टाए । नाग र श्रीमती अगाडि अगाडि थिए र लामा गुरु पछाडि पछाडि थिए । भेट्न नसकेपछि लामा गुरुले एक सिरुको त्यान्द्रो मन्त्रण गरेर फ्याँकिदिए । उक्त सिरु बिजुली जस्तै चम्किँदै गएर नागको शिरच्देछन गरिदियो । नागको टाउको त्यही बस्यो र शरीर लत्रिएर त्यहाँदेखि बसाहा खोलासम्म पुगेको थियो । जब बलिष्ठ नागराज काटिए तब उनको शरीर शिलामा रुपान्तरण भयो । त्यो शिला उस्तै आकारमा अहिले पनि हामी चमेरे गुफाको डाँडामा देख्न पाउँछौँ । त्यही शिलाले अहिले पनि आदिकालीन मिथकको रहस्यमय कहानी सुनाइरहन्छ जसरी मलाई सुनायो ।
चमेरो गुफा : पृथ्वीको गर्भगृहको अर्को विश्व
नागको शिरबाट दश मिनेट तल्लो भागमा चमेरे गुफा छ जहाँ हजारौँ चमेराहरूको वासस्थान छ । चमेरे ओडारभित्र अनौठा-अनौठा परिदृष्यहरू छन् । गुफाको मुखबाट भित्र पसेपछि केही तल ओर्लनु पर्छ । गर्भ गृहभित्र छिर्दै गर्दा माथि सात तलासम्मका तहहरू छन् । प्रत्येक तलामा देवी देवताका स्निग्ध सफेद र श्वेत आकृतिहरू छन् । त्यहाँ भित्र छत जस्तो पहरामा रहरलाग्दा आकृतिहरू पनि कुँदिएका छन् । यस्तो लाग्छ कि कुनै साधक तपस्वीले युगौँ गरेको कला साधनाबाट यो गुफा तयार भएको होस् ।
गुफाको तेस्रो तल्लामा सङ्गीत सङ्ग्रहालय देख्न सकिन्छ । प्रकृतिले नै सिर्जिएका त्यहाँका शिलाहरूमा ताल मिलाएर बजाउँदा अनौठो आवाज निस्कन्छ । पृथ्वीको अन्र्तगृहभित्र यसरी मादल ,ढोलकी जस्ता मधुमय ध्वनि ओकल्ने शिलाहरू भेटिनु अद्भूत चमत्कार जस्तै लाग्छ । गुफाको तलाहरू उक्लन कतै निकै कष्टसाध्य छ र कतै गाउँ घरको लिस्नु उक्लिएजस्तै सहज पनि हुन्छ । चौथौं पाचौं तलातिर पुग्दा गुफाको संरचना अझै अद्भूत लाग्छ त्यहाँ विशाल आमसभा नै गर्न मिल्ने फाकट क्षेत्रफल भेटिन्छ । यति धेरै अन्र्तगृहमा प्रवेश गर्दा पनि हावा कम हुने तथा निसासी लाग्ने अवस्था रहँदैन । शीतल, शान्ति र अनौठो दिव्यताको अनुभूति हुन्छ । सातौं तलामा हाम्रा पुराना घर-घरमा डाँडाभाटा तेर्सो पारेर ढुङ्गाले छाएको छानाजस्तो देखिन्छ र स्थानीयहरू यसलाई विद्यालय भन्ने गर्दछन् ।
यसरी हेर्दा चमेरे गुफा पृथ्वीको पेटभित्र रहेको अचम्मको बेग्लै संसार जस्तो लाग्दछ ।रामशाहकालीन समयभन्दा पनि पारिको समय हुनसक्छ कि यस इलाकामा थुम-थुममा शासकहरू थिए । बलिया शासकले निर्धाहरूमाथि गर्ने दमन र अराजक प्रवृत्ति सायद हिजो पनि थियो र अहिले पनि छँदैछ ।
कैलाश उच्चता, शीतल वनेली, अद्भूत मिथकहरू र पवित्र आस्थाका धरोहर मात्र होइन यहाँको यात्रा अनुसन्धान उत्खनन्का लागि पनि महिमाशाली छ । मानव सभ्यताको विकास र राज्यसत्ताको क्रमिक यात्राको आरोह अवरोहलाई गूढ गम्भीर रुपले महसुस गर्न पनि मानव शास्त्रीहरूले यहाँको भ्रमण गर्न आवश्यक छ ।