नेपालको विकासका लागि गाउँ-गाउँ कुना-कन्दरामा विद्युतिकरण हुन जरुरी छ । जसले अन्धकार गाउँहरूलाई उज्यालो बनाउनेछ । अन्धकारमा रुमलिएका गाउँलेहरूको जीवनमा ज्योति छर्ने छ । उनीहरूले पनि भविष्यलाई उज्यालो बनाउन सक्नेछन् ।
नेपालको सङ्घीय राजधानी काठमाडौंसँग जोडिएको जिल्ला हो, धादिङ । धादिङको प्रतिनिधिसभा क्षेत्र-१ काठमाडौंसँग जोडिएको छ । सङ्घीय राजधानी काठमाडौंसँग जोडिएको जिल्ला र निर्वाचन क्षेत्रका जनता भने अझै अन्धकारमै छन् । गाउँ-बस्तीहरू अँध्यारा नै छन् । जनता अन्धकारमै रुमलिरहेका छन् । थुप्रै गाउँहरूमा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन भने विस्तार भएका ठाउँहरूमा पनि बत्ती चाहिँ बल्दैन, लथालिङ्ग छ । पृथ्वी राजमार्गले छोएपछि विकास भएका साना बजारहरूबाट दुई/चार किलोमिटरको दुरीमा रहेका गाउँहरू अन्धकार छन् । सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, सञ्चार लगायत विकासका पूर्वाधारहरूको अवस्था पनि उस्तै छ ।
धादिङ १ को प्रदेश ‘क’ मा एमालेबाट निर्वाचित राजेन्द्र प्रसाद पाण्डे अहिले बागमती प्रदेशका मुख्यमन्त्री छन् ।जो अहिले एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष हुन् । त्यसो त उनी पहिलो पटक निर्वाचित भएका र मन्त्री बनेका भने होइनन् । पाण्डेले बहुदलीय व्यवस्थाको पुनर्बहाली(२०४६) यता त्यस क्षेत्रको नेतृत्व गर्दै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को निर्वाचनमा साबिक (धादिङ ३) अहिले १ बाट निर्वाचित भएका थिए । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादीका शालिकराम जम्कट्टेलसँग पराजित भए । ०६५ मा स्थानीय विकास मन्त्री समेत बनेका पाण्डेले ०७० दोस्रो संविधानसभाको निर्वाचनमा पुनः जित हासिल गरे । ०७४ को निर्वाचनमा सो क्षेत्रको प्रदेश ‘क’ बाट निर्वाचित भए । गत वर्ष नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष बने र अहिले बागमती प्रदेशको मुख्यमन्त्री छन् । धादिङ १ मा पाण्डेले झन्डै तीन दशक एकछत्र नेतृत्व गरेको देखिन्छ । पाण्डे आगामी मङ्सिर ४ को निर्वाचनमा धादिङ १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले पनि एक दशक बढी त्यस क्षेत्रको नेतृत्व गरिसकेका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेका राजेन्द्र पाण्डेलाई पराजित गर्दै साबिक (धादिङ ३) बाट संविधानसभा सदस्य निर्वाचित भएका जमरकट्टेल ०७० को निर्वाचनमा पाण्डेसँगै पराजित भए । ०७४ को निर्वाचनमा धादिङ १ को ‘ख’ बाट निर्वाचित भएका जमरकट्टेल हाल बागमती प्रदेशका अर्थमन्त्री हुन् । आगामी मङ्सिर ४ को निर्वाचनमा जमरकट्टेल धादिङ १ को प्रदेश ‘ख’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । उनी बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन् । जमरकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन् ।
०७४ को निर्वाचनमा धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भूमि त्रिपाठी निर्वाचित भए । उनी धादिङ १ को प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पुनः उम्मेदवार बनेका छन् ।
धादिङ १ मा कमेडियन हिमेश पन्तले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । बजार क्षेत्रमा उनको पनि राम्रै चर्चा देखिन्छ । त्यसैगरी वातावरण संरक्षणका अभियन्ता उत्तम कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यी त भए लामो समय धादिङ १ काे नेतृत्व गरेका र भावी नेतृत्वका लागि दौडमा रहेकाहरूको चर्चा । आगामी मङ्सिर ४ को निर्वाचनबाट यिनै अनुहारहरूमध्येबाटै नेतृत्वमा आउनेछन् ।
निर्वाचन प्रचारप्रसारका क्रममा बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नै नेतृत्वमा धादिङ १ को कायापलट भएको र बाँकी योजनाहरू पुरा गर्न आफ्नो जित आवश्यक रहेको दाबी गर्दै आएका छन् । उनले आफ्नै पहलमा धादिङ १ मा मात्रै हजार एक हजार भन्दा बढी सडक बनेको, दर्जनौँ पुल, सयौँ विद्यालय बनेको विवरणहरू पेस गर्दै आएका छन् । पृथ्वी राजमार्ग अन्तर्गतका बजारहरू, सडक, पुल, विद्यालय हेर्दा पाण्डेकाे दाबी स्वाभाविक हाेकि भन्ने पनि लाग्छ । तर, राजमार्गका बजारबाट थोरै भित्र पस्ने बित्तिकै चित्र अर्कै देखिन्छ ।
मुख्यमन्त्री पाण्डे जन्मेको गाउँ गजुरी २ छेपाङका कतिपय घरहरूमा विद्युत् विस्तार नै भएको छैन भने विस्तार भएका घरहरूमा पनि बत्ती बल्दैन । मलेखु बजारबाट तीन किलोमिटरको दुरीमा रहेको छेपाङ गाउँ हुँदै जाने बाटो कालोपत्रे भएको छैन । छेपाङ गाउँले मुख्यमन्त्री जन्मायो तर गाउँ र गाउँलेको मुहार भने फेरिएको छैन ।
गजुरी ३ र ४ मा पनि विद्युतको विस्तारले पूर्णता पाएको छैन । ती वडाहरूमा ०७६ देखि नै विद्युत् विस्तार थालिएको थियो । अहिले चार वर्ष बित्दा पनि स्थानीयले बत्ती बाल्न पाएका छैनन् । ठेकेदार कम्पनी अमिर कन्स्ट्रक्सनले लथालिङ्ग बनाएर छोडिदिएका छन् । अहिले ठेकेदार सम्पर्कमा नरहेको गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विसुरालले बताइन् ।
यही ठेकेदार कम्पनीले गजुरी ३ र ४ सँग सीमा जोडिएको बेनीघाट १ मा पनि काम सुरु गरेको थियो । सो वडाको सुन्दरनागीमा विद्युत् विस्तारको काम भइरहेको थियो । अहिले ठेकेदारले काम गर्न छोडिसकेका छन् । ठेकेदार सम्पर्कमा नरहेको वडाध्यक्ष जीवन सिं तामाङले बताए । बेनीघाट-रोराङका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले ठेकेदार आफूसँग सम्पर्कमा रहे पनि ‘केही दिनमा काम थाल्छु’ भन्दै आलटाल गरिरहेको बताए । उनले यसरी नै आलटाल गरिरहे ठेकेदार विरुद्ध ‘एक्सन’ लिने बताए ।
विद्युत प्राधिकरण धादिङ शाखाका प्रमुख माधव पाैडेलले केन्द्रकै याेजना भएकाले आफूले ठेकेदार कम्पनीलाई खबरदारी मात्रै गर्न सक्ने बताए । “कामलाई तिव्रता दिलाउन केन्द्रमा दबाव दिने र ठेकेदारलाई पनि खबरदारी गर्ने गरेका छाैँ, केन्द्रकाे याेजनामा त्याे भन्दा बढी हामीले गर्न सकिन्न ।” उनले भने ।
धादिङ १ कै धुनिबेँसी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने लिखु र गुर्दुम गाउँमा विद्युत् विस्तार भएको छैन । लिखु गाउँमा भर्खरै टेन्डर स्वीकृत भएर काम अगाडि बढेको मेयर बालकृष्ण आचार्यले बताए । त्यसैगरी थाक्रे र गल्छी गाउँपालिकाका केही वडाहरूमा विद्युत् विस्तार नै भएको छैन । विस्तार भएका ठाउँमा पनि व्यवस्थापन, मर्मत सम्भार नहुँदा जनता अन्धकारमै रहेको जनप्रतिनिधिहरू स्विकार्छन् । सिद्धलेक गाउँपालिकामा सबै वडामा विद्युत विस्तार भएको छ । तर, सामुदायिक विद्युत उपभोक्ता समिति र विद्युत प्राधिकरणबीच समन्वय नहुँदा वडा नम्बर ४ र ७ का जनताले नियमित विद्युत पाएका छैनन् ।
विकासको महत्त्वपूर्ण पूर्वाधार हो, विद्युत् । विद्युतले अन्धकार हटाएर उज्यालो मात्रै बनाउँदैन, यसले विकासका ढोकाहरू खोलिदिन्छ । विकासका लागि विज्ञान र प्रविधिको प्रयोग बढ्दो छ, यसका लागि महत्त्वपूर्ण आधार हो, विद्युत् । औद्याेगिकरणका लागि विद्युत् अनिवार्य बनेको छ । विद्युतले उद्योग व्यवसाय सञ्चालन गर्ने बाटो खुल्छ । रोजगारी सिर्जना हुन्छ । विद्युतीय प्रविधिको प्रयोग गरेर मानिसलाई महिनौँ लाग्ने काम एकैदिनमा सम्पन्न गर्न सकिन्छ । यसले समयको बचत गराउँछ र उत्पादकत्व बढाउँछ । जसले समृद्धि ल्याउँछ । जनजीवनमा परिवर्तन ल्याउँछ । अविकसित अवस्थाबाट विकासतर्फ लम्काउँछ ।
नेपालको विकासका लागि गाउँ-गाउँ कुना-कन्दरामा विद्युतिकरण हुन जरुरी छ । जसले अन्धकार गाउँहरूलाई उज्यालो बनाउनेछ । अन्धकारमा रुमलिएका गाउँलेहरूको जीवनमा ज्योति छर्ने छ । उनीहरूले पनि भविष्यलाई उज्यालो बनाउन सक्नेछन् ।
तर, निर्वाचनमा होमिँदै गर्दा ठुला ठुला सपनाहरू बाँड्दै हिँड्ने नेताहरूले विद्युतिकरणलाई प्राथमिकतामा राखेको पाइँदैन । यसले जनतालाई अझै अन्धकारमै थन्क्याउन सक्छ ।