काठमाडौं उपत्यकाका पुरा छवि छर्लङ सेता हिमालहरुको लर्कन र निलो आकाश देखिन्छ ललितपुरको देविचौरबाट । काठमाडौंबाट मात्र १५ किमि दुरीमा छ देवीचौर (२,०००मिटर)।
- रामदेवी महर्जन
रुट : चारेघर छम्पी बुरुङचुली देविचौर बुरुङचुली
सुरु : चारेघर १,५३० मिटर
अन्त्य : बुरुङचुली
दुरी : १२ किमि
समय : ५ घण्टा
अधिक उचाई : देविचौर २,००० मिटर
काठमाडौं उपत्यकाका पुरा छवि छर्लङ सेता हिमालहरुको लर्कन र निलो आकाश देखिन्छ ललितपुरको देविचौरबाट । काठमाडौंबाट मात्र १५ किमि दुरीमा छ देवीचौर (२,०००मिटर)। यसको पूर्वमा लेले, पश्चिममा घुसेल र मकवानपुर, उत्तरमा काठमाडौं र डुकुछाप पर्छन भने दक्षिणमा भट्टेडाँडा ।
तामाङ जातिको बाहुल्यता रहेको देवीचौरमा ब्राहम्ण लगायत जातजातिको बसोबास छ । गाउँमा बौद्ध चैत्य छन् । दक्षिणकाली मन्दिरको सामुन्नेमा रहेको देवीचौर काठमाडौं नजिकैको सुन्दर गन्तव्य हो । राम्रो प्रचार भइनसकेकाले कमै घुमन्ते देवीचौर पुग्छन् । देवीचौरको पर्यटन विकासका लागि संस्था खोलेर संस्थागत पहल गर्नुपर्ने देखिन्छ ।
किंवदन्ती:
देवीचौर नामाकरणका बारेमा किंवदन्ती छन् । उहिल्यै त्यहाँ गाई चराउने ठूलो चौर थियो । एक दिन गाई चराएर आउँदा गाईले आफैं चौरको शीलामा दूध चढाएको देखे । उनीहरु अचम्मित भए । त्यो देखेपछि त्यहाँ देवीको बास रहेछ भनेर गोठाला र गाउँहरुले पूज्न थाले । धुपबत्ति गरे । देवीको पूजापाठ गरिने भएकाले यो ठाउँलाई ‘देवीचौर’ भन्न थालियो ।
हाल देवीको मन्दिर भएको ठाउँमा पहिला गोठ थियो भनिन्छ । श्रीस्वस्थानी व्रतकथा अनुसार देवीचौरको देउराली भन्ने ठाउँमा सतिदेवी अङ्ग पतन भएपछि दूधेश्वरी महादेव उत्पन्न भए । मृत सतिदेवीको शरीर बोकेर हिँड्नेक्रममा महादेव यहाँ आइपुगेछन् । यो ठाउँलाई शक्ति पिठ मानेर पूजा गरिन्छ । स्वस्थानी व्रत बस्ने समय (माघ)मा यहाँ मेला लाग्छ ।
त्यहाँ टूलो चौर छ । हाल चौरमा खेलमैदान बनाइएको छ, युवाहरु त्यहाँ फुछबल खेल्छन् । चौर वरपर पसल छैन । त्यहाँ बसेर हिमाल हेर्दै खाजा खान सकिन्छ । चौर क्षेत्रमा पिकनिक स्पट छन् ।
कटुवाल दह:
त्यसैगरी डुकुछाप र देवीचौरको सीमामा पर्ने कटुवाल दहको आफ्नै महत्त्व छ । दहको पानीले नुहाएमा चर्म रोग निको हुने जनविश्वास छ । दहमा नयाँ वर्षका दिन मेला लाग्छ । त्यहाँ स्वर्गद्वारी मन्दिर प्रतिस्थापन गरिएको छ । स्वर्गद्वारी, कटुवाल दह र दूधेश्वरीको एकिकृत प्रचार गर्न सके धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ देवीचौर क्षेत्र । साथै पिकनिक स्पट बनाए बिदाका दिनमा गुल्जार हुन सक्छ ।
गुप्तेश्वर गुफा:
गाउँमा गुप्तेश्वर गुफा छ । त्यसको अध्ययन गरी प्रचार गर्नु जरुरी छ । गुफाभित्र विभिन्न किसिमका अनौठा आकृति छन् ।
देवीचौरको सुन्तोली डाँडाबाट प्याराग्लाइडिङ गराउन सकिन्छ । सल्लाघारी जंगल बीचको स्वर्गद्वारी सम्मै मोटर बाटो खनिएको छ ।
गाउँले कृषि उत्पादनमा रमेका छन् । मकै, कोदो, तरकारी, फलफुल फलाइन्छ । पशुपालनमा गाई, भैंसी र बाख्रापालन गरिन्छ । त्यहाँ जडिबुटी खेतीको सम्भावना छ ।
डाँडामा सुविधायुक्त होटल, रेस्टुँरा र गाउँमा होमस्टे गराउन सके हिल स्टेशनमा बस्न आउनेहरुको भिड लाग्न सक्छ । त्यहँबाट काठमाडौं उपत्यका मात्र होइन, मकवानपुर र तराईसम्मको मनोरम दृश्यावलोकन गर्दै रात विताउन सकिन्छ ।
देवीचौर पदयात्रा ललितपुरको चारघरेबाट सुरु गर्ने । चारघरेबाट गोरेटो उकालो लागेर छम्मी बस्ती हुँदै बुरुङचुली र त्यहाँबाट देवीचौर पुग्ने । गुचुमुच्चु गाउँहरु, खेतीयोग्य जमिन, ग्रामीण जनजीवन बुझ्न पाइन्छ पदयात्रामा । देवीचौरमा खाजा खाएर ओरालो झरेर बुरुङचुलीसम्म पदयात्रा गर्ने । ललितपुर नजिकैको देवीचौर हिमाल हेर्न प्रख्यात गन्तव्य हो ।
अर्को ललितपुरको टीकाभैरवसम्म गाडीमा । टीकाभैरवबाट बुरुङचुली उकालो हुँदै देउराली पुग्ने । देउरालीबाट जौबारी पुगेर दृष्यावलोकन गर्ने । त्यहाँबाट फर्पिङ, छैमले, हुमाने भञ्ज्याङ, चौकाटदेवी, जातीपोखरीका दृष्य देखिन्छ । दृष्य हेरेर गएकै बाटो देउराली फर्कने । देउरालीबाट १० मिनेट उकालोमा देवीचौर टप । टपबाट झरेर बाटो ओरालो झरेर टीकाभैरवसम्म पदयात्रा । टीकाभैरव देवीचौर ७ किमि । पदयात्रा दुरी १४ किमि । समय ६ घण्टा ।
देवीचौरबाट मौसम अनुसार सागसब्जी र फलफुल कोसेलफ ल्याउन सकिन्छ ।
कसरी पुग्ने ?
ललितपुरको लगनखेलबाट चारघरेसम्म गाडीमा ।
चारघरेबाट छम्पी, बुरुङचुली हुँदै देवीचौर र देवीचौरबाट बुरुङचुलीसम्म पदयात्रा ।
चारघरे – देवीचौर ६ किमि, देवीचौर – जौबारी हुँदै बुरुङचुली ६ किमि ।
जम्मा पदयात्रा दुरी १२ किमि ।
समय ५ घण्टा ।