एउटा घरमा जति पनि अविवाहित छोरी हुन्थे, प्रत्येकका लागि कम्तीमा पनि दुई जोर दौडा सिलाउने गरिन्थ्यो । अझ विशेष गरी चाडपर्व र मेलापातमा युवतीले एउटै किसिमको यो पोसाक लगाउने गर्दा निकै सुन्दर देखिन्थ्यो ।
काठमाडौँ । हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा अविवाहित युवतीले लगाउने पोसाक (दौडा) लोप हुने अवस्थामा पुगेको छ ।
युवतीको पहिचानका रूपमा यो पोसाक रहेको भए पनि पछिल्लो समय युवतीहरू आधुनिक पोसाकप्रति आकर्षित हुन थालेपछि यो कपडा देख्नै मुस्किल हुने गरेको हो ।
अदानचुली गाउँपालिका–२ का कालीबहादुर थापाले प्रत्येक अविवाहित युवतीले लगाउने दौडा लोप हुने अवस्थामा पुगेको बताए । “सो पोसाक स्थानीय प्रविधिद्वारा कपासबाट कपडा बुनेर दौडा तयार गरिन्थ्यो”, उनले भने, “अहिले सबै युवती विद्यालयमा जाने भएको कारण आधुनिक कपडासँग आकर्षित भएपछि यो पोसाक लोप भएको छ ।”
पहिले–पहिले यस्तो पोसाक लगाएका युवती देख्नेबित्तिकै अविवाहित महिला भनेर पहिचान हुने गर्थ्यो । विवाहित महिलाले भने यो पोसाक लगाउन हुँदैन भन्ने थियो । विवाहितले धोती–चोली लगाउने गरिन्थ्यो । अहिले अविवाहित युवतीले कुर्ता-सुरुवाल लगाउन थालेपछि दौडा लोप हुँदै गएको थापाले बताए ।
एउटा घरमा जति पनि अविवाहित छोरी हुन्थे, प्रत्येकका लागि कम्तीमा पनि दुई जोर दौडा सिलाउने गरिन्थ्यो । अझ विशेष गरी चाडपर्व र मेलापातमा युवतीले एउटै किसिमको यो पोसाक लगाउने गर्दा निकै सुन्दर देखिन्थ्यो । ती युवतीले दौडा मात्र नभएर कम्बरमा पटुका, त्यस्तै किसिमका गहना लगाएर सजिएपछि युवतीको समूह फरक देखिन्थ्यो ।
आधुनिकता आफ्ना ठाउँमा भए पनि आफ्नो पुरानो परम्परागत पहिचान झल्कने पोसाकको संरक्षण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।