बिहिबार , मंग्सिर ६, २०८१

दशैंमा घुम्न जाँदै हुनुहुन्छ ? यी तालहरू तपाईंलाई पर्खिरहेका छन्…

तपाईं पनि दशैं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने हामीले तपाईंका लागि यी तालहरू रोजेका छौँ ।  रोजाई भने तपाईंहरूको आफ्नै हुनेछ है त !

image

काठमाडौं । नेपालीहरुको महान चाड दशैं लगभग आइसकेको छ । दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै घुम्न जानेहरूको प्रचलन पनि पछिल्लो समय बढ्दो छ ।

तपाईं पनि दशैं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने हामीले तपाईंका लागि यी तालहरू रोजेका छौँ ।  रोजाई भने तपाईंहरूको आफ्नै हुनेछ है त !

रारा ताल

सडक क्षेत्रको पहुँच भएपछि मुगु जिल्लाको रारा ताल धेरैका लागि पर्यटकीय गन्तव्य बन्नपुगेको छ । समुद्रि सतहदेखि तीनहजार मिटर उचाइमा रहेको रारा तालले सुन्दरताका अनेक उपनाम पाएको छ ।

रारासँगै यस आसपासको पर्यटन पनि फस्टाउँदो छ । गर्मि समयमा रारा तालको यात्रा सुखद अनुभूति बन्न सक्नेछ । रारा तालको अवस्थिती र आकार नै प्राकृतिक सुन्दरताको उच्चतम नमुना मानिन्छ ।

तालसँगै रहेको जङ्गल र आसपासका मनोरम दृश्य रारा तालमा आकर्षण बढाउन पर्याप्त छन् ।

कसरी पुग्ने : काठमाडौंबाट सडक यात्राबाट तेस्रो दिनमा रारा । पहिलो बास नेपालगञ्ज, दोस्रो नाग्मामा र तेस्रो रारामा । नाग्मा–गमगढी सडकबाट सल्लेरीसम्म बसमा । त्यहाँबाट दुई घन्टामा ताल । सुर्खेतसम्म उडेर जाँदा दोस्रो दिनमै ताल पुगिन्छ । अथवा नेपालगन्ज-सुर्खेतबाट ताल्चा हवाई यात्रा ३५ मिनेट । ताल्चाबाट दुई घन्टा हिँडे रारा ।

फोक्सुन्डो

नेपालको सबैभन्दा गहिरो ताल डोल्पाको फोक्सुन्डो हो जुन ६५० मिटर गहिरो छ । फोक्सुन्डो (३,६१३ मिटर) ४.८ किमि लामो, १.८ किमि चौंडा छ । तालको तीनतिर नाँगा पहाड छन् भने एकतिर रिङमो गाउँ छ ।

तालको पानी निकास भएको सुलिगाडमा अग्लो झरना छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने तालमा पौडी खेल्न पाइन्न र यहाँ बोटिङ सुविधा पनि छैन ।

ताल क्षेत्रमा बोन धर्माबलम्बीको बसोबास छ ।  फोक्सुन्डो पदमार्गमा सामान्य खाना र बास पाइन्छ तर यात्रामा कपडा भने न्यानो बोक्नु पर्छ ।

कसरी पुग्ने : काठमाडौं–नेपालगञ्ज १ घन्टा हवाईयात्रा । नेपालगञ्ज–जुफाल ३५ मिनेट हवाई यात्रा । जुफालबाट दुई दिन पदयात्रामा फोक्शुन्डो ताल । जुफालबाट दुई घन्टा पदयात्रामा डोल्पा सदरमुकाम दुनै बजार ।

तिलिचो

संसारकै अग्लो ठाउँमा रहेको ताल तिलिचो (४,९१९ मिटर) मनाङ जिल्लामा पर्छ । तिलिचोको लम्बाई ४ किमि, चौंडाई १.२ किमि र गहिराई २ सय मिटर छ । त्यहाँ बोटिङ सुविधा छैन, नुहाउन र पौडी खेल्न पनि पाइँदैन ।

ताल क्षेत्रमा तिलिचो, निलगिरिलगायत हिमाल छन् । ताल किनारमा होटल तथा रेष्टुँरा छैन तर तिलिचो वेस क्याम्पमा केही होटल छन् । त्यसैले पहिल्यै बुकिङ गरेर वा उज्यालैमा पुग्दा सजिलो हुन्छ । अन्यथा दुःख पाइने सम्भावना हुन्छ ।

कसरी पुग्ने : काठमाडौंबाट बेशिसहर हुँदै मनाङसम्म माइक्रो र जीपमा दुई दिन। पहिलो दिन बेशिसहरमा बास, दोस्रो दिन मनाङमा। मनाङ गाउँबाट दुई दिन पदयात्रामा तिलिचो ताल।

फेवाताल

फेवाताल नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो । यो ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा अवस्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ ।

यस तालको औषत गहिराई ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) रहेको छ ।

यस तालको उत्तर दिशामा अन्नपूर्ण श्रृंखला रहेको छ, जुन २८ कि.मि.को दुरीमा छ । यो ताल माछापुच्छ्रे, अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।

कसरी पुग्ने : काठमाडौँबाट नजीकै रहेको पोखरामा पर्ने फेवाताल सडकमार्ग वा हवाईमार्ग मार्फत् सजीलै एक दिनमा पुग्न सकिन्छ ।

पाँच पोखरी

लाङटाङ राष्ट्रिय निुकुञ्जमा पर्ने यस पाँच पोखरी तालमा पाँच तालहरु एकै ठाँउमा रहेका छन् । एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा ताल हेर्नलायक छ । विश्वकै उच्च अल्टिच्युडमा रहेको यस ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ ।

यस तालमा जनै पुर्णिमाको अवसरमा मेला लाग्ने हुँदा सो समयमा यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । यस स्थलबाट जुगल, लाङटाङ, रोलवालिङ लगायतका हिमालहरुको दृष्य राम्रोसँग देख्न सकिन्छ ।

कसरी पुग्ने : काठमाण्डौ देखि ८२ किलोमीटरको दुरीमा रहेको यस तालमा एक दिनमा भोताङ्ग सम्म पुग्न सकिन्छ भने  त्यसपछि आठ नौँ घण्टाको पैदल यात्रा पश्चात पाँचपोखरी पुग्न सकिन्छ ।

सम्बन्धित समाचार