तपाईं पनि दशैं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ ?
नेपालीहरूको महान् चाड दशैं नजिकिँदै छ । दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । यहि बिदाको सदुपयोग गर्दै घुम्न जानेहरूको प्रचलन पनि पछिल्लो समय बढ्दो छ ।
तपाईं पनि दशैं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने हामीले तपाईंका लागि यी धार्मिक स्थलहरू रोजेका छौँ । रोजाई भने तपाईंहरूकै हुनेछ है त !
गोसाईकुण्ड
बागमती अञ्चलको रसुवा जिल्लामा पर्ने हिन्दुहरुको पवित्र तीर्थस्थलको रुपमा रहेको गोसाईकुण्ड समुद्र सतहदेखी ४३६० मिटरको उचाइमा अवस्थित छ । चारैतिरबाट मनोरम पहाडहरुले घेरीएको यो ठाउँ अति नै सुन्दर र रमणीय छ ।
यहाँ जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । भगवान् शिवले त्रिशुल प्रहार गरी निस्केको पानी जम्न जाँदा यो कुण्ड निर्माण भएको विश्वास गरिन्छ ।
गोसाईकुण्डका अतिरिक्त यहाँ सरस्वतीकुण्ड‚ भैरवकुण्ड‚ सूर्यकुण्ड‚ गणेशकुण्ड लगायतका ९ वटा कुण्डहरु रहेका छन् । नेवारहरु गोसाईँकुण्डलाइ शिलुतीर्थ भन्ने गर्दछन् । त्रिशुली नदीको उत्पति यही गोसाईँकुण्डबाट भएको हो ।
काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ ।
मुक्तिनाथ
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी‘) भन्दछन् ।
मुक्तिनाथ वैष्णव संप्रदायको प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्रामभगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम वास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनीय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ मन्दिर अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।
हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यहाँ ऋषितर्पणी‚ रामनवमी र बडादशैमा ठूलो मेला लाग्ने गर्दछ ।
जोमसोम अर्थात मुक्तिनाथ जान पछिल्लो समय धेरै नै सजिलो बनेको छ । देशका प्रमुख शहरहरुबाट सजिलै गाडिहरु पाउने गर्दछ । अझ काठमाडौँबाट सोझै मुक्तिनाथ सम्मको गाडि पाईन्छ ।
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ |
यो मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।
काठमाडौंबाट २६५ किलोमिटर दूरीमा रहेको जनकपुर आठ घण्टाको बस यात्रामा पुगिन्छ। काठमाडौंबाट जनकपुर सीधा हवाइसेवाले पनि जोडिएको छ।
स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ।
यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ। स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ ।वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।
समुद्री सतहबाट दुई हजार १ सय २१ मिटर अग्लो स्थानमा रहेको स्वर्गद्वारीको हावापानी, प्राकृतिक सुन्दरता, ऐतिहासिक मनोरम तलाउ, आश्रमको यज्ञशालाको दक्षिण भू–भागमा रहेको ठूलो बाँझको बोट, महाप्रभुले तपस्या गर्ने गरेको गुफा, वि.सं. १९५२ देखि सञ्चालनमा आएको वेद पाठशाला, गोवर्द्धन पहाड, विभिन्न मठमन्दिरलगायतका स्थल मुख्य आकर्षण छन् । वि.सं. १९५२ मा वेदमन्त्रद्वारा प्रकट गरेको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीको विशेष आकर्षणका रूपमा मानिएको छ ।
काठमाडौंबाट रोल्पा जाने बस चढेर प्यूठानको भिङ्ग्रीमा ओर्लनुपर्दछ र भिङ्ग्रीबाट तीन घण्टाको पैदल यात्रापछि स्वर्गद्वारी मन्दिर पुग्न सकिन्छ ।
कालिञ्चोक भगवती
दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ ।
यो मन्दिर सदरमुकाम चरिकोटबाट उत्तरमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट यो ३ हजार ८४२ मिटर उचाईमा छ । कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ ।
कालिञ्चोक जान काठमाडौँबाट सार्वजनिक यातायात सिधै पाइँदैन । त्यसको लागि काठमाडौँबाट दोलखाको चरिकोटसम्म जान सकिन्छ । त्यहाँबाट सार्वजनिक सवारी थोरै मात्रमा चल्ने गर्छ । तर, भाडाका अन्य सवारी साधन भने सजिलै पाउन पाइन्छ ।