मंगलबार , मंग्सिर ४, २०८१

दशैंको महत्त्व मातृशक्तिसँग जोडिएको छ !

दशैंको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबिच भएको युद्धको प्रतीकका दिनहरू सम्झँदै स्त्री शक्तिको पूजा गरिन्छ तर त्यी शक्तिशाली स्त्रीको पूजा महिलाले गर्न हुँदैन भन्ने मान्यता अझै रहिरहेको छ ।

image

दशैं वा बडा दशैं स्थान,भाषा र रीतिरिवाज अनुसारको नामाकरण भएको पर्व हो । यसको नामाकरण पनि स्थान विशेषले गरिएको छ ।  दशहरा, विजया दशमी नवरात्र आयुध-पूजा आदि नामले यो पर्व मनाउने गरिन्छ । लोकतान्त्रिक गणतन्त्रको समावेशी राज्य संरचनाले पनि यसलाई राष्ट्रिय पर्व मानेको देखिन्छ ।
दशैं (नवरात्र) हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्मका नौ रातलाई शक्ति प्राप्तिको लागि  शक्तिको आराधना गरी दशौँ दिनको शुभ साइतमा आफूभन्दा नाताले ठुला मान्यजनहरूको हातबाट टीका-प्रसादको रूपमा ग्रहण गरेर सम्पन्न गर्ने प्रचलन छ । टिका-प्रसाद ग्रहण गर्न पूर्णिमासम्म छुट्याइएको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक-फरक देवी (स्त्री शक्ति)को पूजा गरिने चलन छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष भक्ति, पूजा एवम् आराधना गरिन्छ ।
विजया दशमीको दिन भगवतीले देव शक्तिको सुरक्षाको लागि दानवी शक्तिको रूपमा मानिएको – फरक विचारलाई दबाएको दिनको रूपमा मानिन्छ । गण र कविलाको रूपबाट राज्य र निजी स्वामित्वको विकाशको विषयमा देव शक्तिभित्रको मातृ शक्तिको उपयोग गरिएको विषय पनि हो । पछिल्लो अवधिमाराम र रावण पक्ष / दानव मानिएको शक्तिले देव शक्तिको विपक्षमा विचार राख्ने प्रचलनको इतिहास  पनि हो ।
रामले रावणमाथि विजय हासिल गरेको विषय पछि द्वापरयुगतिरको राम-रावण युद्धसँग  जोडिएको देखिन्छ । त्यो पनि शूपर्णखा र सीताको यौनिकतासँग राम-रावण युद्ध भएको थियो । पहिलो सभ्यता शाक्त सभ्यताको विकासको कालखण्डमा पुरुषहरूले फरक विचार राख्ने अर्को समूहलाई परस्त गर्न नसकेकोले नवदुर्गा लगायतका महिलाको यौनिकताको प्रयोग गरि विचारले हैन, बल र यौनले विजय हासिल गरेको दिनको रूपमा खुसीयालीलाई मानिसले रातो रङ्ग ( क्रान्ति ) र अनाजको सम्बन्धको महत्त्व दर्शाएको दिनको रूपमा लिने गरिन्छ ।
आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिनलाई यो पर्वको  प्रमुख दिन मानिन्छ । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइएको पाइन्छ ।
तिथिको कारणले दशमीलाई विजया दशमी भनिएको हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्न  नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम विशेष उत्साहका साथ गरिन्छ ।
देवी दुर्गाको विजयको विषय आर्य जातीको विजयको प्रतिनिधित्व गर्दछ । हिन्दू धर्मशास्त्रमा महिषासुर फरक विचारक दानवले देवलोक (देवताहरू बस्ने राज्य) मा आतङ्क मच्चाएको बिम्ब देखाउन खोजिएको छ । आधुनिक परिभाषाभित्र यसलाई दानवको रूपमा फरक विचारक दैत्यकुललाई हराउन नसकेको बेला राजनीतिक चक्रको घेरामा आर्यकुलकै महिलाको यौनको दाउले पराजय गराएको राजनीतिक अपराधीकरणको महत्त्व घटना मान्नुपर्छ । दशैंको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबिच भएको युद्धको प्रतीकका दिनहरू सम्झँदै स्त्री शक्तिको पूजा गरिन्छ तर त्यी शक्तिशाली स्त्रीको पूजा महिलाले गर्न हुँदैन भन्ने मान्यता अझै रहिरहेको छ । हिन्दूहरूका लागि यो चाड रावणमाथि रामको विजयको प्रतीकको बिम्ब मात्रै हो । जुन रामायणमा वर्णन गरिएको छ ।

सम्बन्धित समाचार