बिहिबार , मंग्सिर ६, २०८१

आन्तरिक पर्यटकको ‘हब’ बन्दै डाँफे-मुनाल पार्क, नयाँ वर्षमा पर्यटकको घुइँचो

आफ्नो गाउँठाउँमा पर्यटकको भीड बढ्न थालेपछि स्थानीय बासिन्दा निकै उत्साहित भएका छन् ।

image

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका-२ मा बनेको डाँफे-मुनाल पार्क आन्तरिक पर्यटकको हब बन्दै गएको छ । नयाँ वर्ष २०८० को अवसरमा पार्कमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

नयाँ वर्षको अवसरमा हिजो वैशाख १ गते करिब एक हजार पाँच सय पर्यटक डाँफे-मुनाल पार्क पुगेको कैलाश-२ का वडाध्यक्ष राजेन्द्र घिसिङले हिमाल दर्पणलाई जानकारी दिए ।

“पर्यटन प्रवर्द्धनका लागि हामीले गरेको प्रयास सफल हुँदै छ, यो निकै खुसीको कुरा हो”, वडाध्यक्ष घिसिङले उत्साहित हुँदै भने, “हामीले सोचेको भन्दा पनि धेरै पाहुनाहरू आउनु भएको छ ।”

नयाँ वर्षको अवसरमा काठमाडाैं, चितवन, हेटौँडा, धादिङको गजुरी, मलेखु लगायत क्षेत्रका आन्तरिक पर्यटकहरू पार्कमा पुगेको वडाध्यक्ष घिसिङले बताए ।

आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले कैलाश गाउँपालिकाको सहयोगमा वडा नम्बर २ ले डाँफे-मुनाल पार्कको निर्माण गरेको हो । पार्कमा रूखमा बसिरहेको डाँफे र मुनालको आकृति बनाइएको छ । पार्कसँगै रहेको पोखरी (विष्णु कुण्ड) मा गुरु पद्म सम्भवको मूर्ति पनि स्थापना गरिएको छ ।

हालसालै पार्क नजिकै २० फिट र ३० फिट अग्लो दुई वटा विद्युतीय पिङ पनि स्थापना गरिएको छ । एउटा बक्स पिङ रहेको छ भने अर्काे चाहिँ सिङ्गल पिङ रहेको छ । २० फिट लामो बक्स पिङमा चार जनाले एकै पटक खेल्न मिल्छ । परिवारले एकै साथ पिङ खेल्नका लागि बक्स पिङ निर्माण गरिएको हो । पिङ खेल्नको लागि गाउँपालिकाले प्रतिव्यक्ति एक सय पचास रुपैयाँ शुल्क निर्धारण गरेको छ। एक सय पचास रुपैयाँ तिरेपछि बक्स र सिङ्गल पिङ दुवै खेल्न पाउँछन् । तर, चार जनाको परिवारले बक्स पिङ खेल्न चाहेमा जम्मा तीन सय पचास रुपैयाँमै खेल्न पाउँछन् ।

बक्स पिङमा रमाउँदै पर्यटक । तस्बिरः राजेन्द्र घिसिङ

नयाँ वर्षको अवसरमा वैशाख १ गते एकै दिनमा पिङबाट मात्रै करिब तीस हजार रुपैयाँ राजश्व सङ्कलन भएको वडाध्यक्ष घिसिङले जानकारी दिए । कैलाश गाउँपालिकाको १५ लाख रुपैयाँको लागतमा पिङ बनेको हो । ०७९ माघ ८ गते सोनाम ल्हाेछारकाे अवसरमा पिङको उद्घाटन गरिएको थियो । गाउँपालिकाले पिङ सञ्चालनकाे कार्यविधि बनाएर शुल्क निर्धारण गरेसँगै राजश्व सङ्कलन सुरु भएको छ । अहिले पिङ खेल्नकै लागि पर्यटकहरू पुग्ने गरेका छन् ।

पिङ खेल्दै पर्यटक । तस्बिरः राजेन्द्र घिसिङ

पार्क रहेको डाँडामा प्रशस्त पिकनिक स्पाेटहरू पनि रहेका छन् । पिकनिक स्पोटको लागि जम्मा तीन सय रुपैयाँ शुल्क तोकिएको छ । पानी र बत्तीको व्यवस्था गरिएको छ ।

वडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य अनुरूप वडाको वैकुण्ठ र कैलाश गाउँको बीचमा जीपलाइन पनि निर्माण गर्न लागिएको छ । जीपलाइनकाे लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जीपलाइनकाे डिपीआर तयार भइसकेको र अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने वडाध्यक्ष घिसिङले बताए ।

पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको डाँफे-मुनाल पार्क धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ र कैलाश गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्दछ । वैकुण्ठको दुर्सागङ (चिहान डाँडा) भनेर चिनिने महाभारत पर्वत रेन्जमा पर्ने डाँडा अहिले डाँफे-मुनाल पार्कको नामबाट पर्यटकमाझ चिनिन थालेको छ ।

डाँफे-मुनाल पार्कसँगै रहेको धादिङको बेनीघाट राेराङ-१ मा पर्ने ब्राेम्दीङ डाँडा पनि पर्यटकहरूकाे रोजाइमा पर्न थालेको छ । पार्कमा पुग्ने पर्यटकहरू ब्राेम्दीङ डाँडामा पनि पुग्ने गरेका छ । डाँडा र डाँडाबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटकहरू पुग्ने गर्दछन् । नयाँ वर्षको अवसरमा पाँच सय भन्दा बढी पर्यटकहरू ब्राेम्दीङ डाँडा पुगेको बेनीघाट राेराङ-१ का वडा सदस्य बाबुलाल तामाङले बताए ।

ब्राेम्दीङ डाँडामा पर्यटक ।

त्यसैगरी बेनीघाट राेराङ-१ र गजुरी-४ को सिमानामा पर्ने थमभञ्ज्याङमा पनि पर्यटकहरूको भीड लागेको छ । गजुरी, मलेखु, बेनीघाट बजारबाट थुप्रै पर्यटकहरू थमभञ्ज्याङ पुगेको बाँसखर्क नमाेवुद्ध मःम कटेजका सञ्चालक एवम् स्थानीय जयराम थिङ तामाङले बताए । पर्यटकहरूको आगमन बढ्दै गएपछि आफूहरू निकै उत्साहित भएको उनले बताए ।

धादिङको गजुरी-३ र ४, मकवानपुरको कैलाश २ र राक्सिराङ ९ सँग सिमाना जोडिएको बेनीघाट राेराङ-१ मा पर्यटनको अथाह सम्भावना रहेको बेनीघाट राेराङ-१ का वडाध्यक्ष जीवन सिं तामाङले बताए । मकवानपुरको कैलाश-२ र धादिङको बेनीघाट राेराङ-१ सँगै जोडिएको र दुवै वडा पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेकाले सो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरिरहेकाे र गरेर जाने वडाध्यक्ष तामाङले बताए ।

तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा सो समुदायको विशिष्ट संस्कार, संस्कृति, भाषा, भेसभुसा, रहनसहन र जीवनशैलीको अवलोकनका लागि पनि पर्यटकहरू पुग्ने गरेका छन् ।

समुन्द्री सतहभन्दा करिब दुई हजार मिटर अग्लो डाँडामा बनेको पार्कबाट प्राकृतिक सुन्दरताका सबै रङ्गहरूको अवलोकन गर्न पाइन्छ । उत्तरमा दन्ते लहर झैँ मनोरम हिमशृङ्खला, हरियाली गगनचुम्बी पहाड अनि तँछाडमछाड गर्दै उभिरहेका थुम्काहरूको दृश्यावलोकन गर्न सकिन्छ । दक्षिणमा महाभारत र चुरे पर्वत शृङ्खलाका अग्ला होचा पहाडहरू देखि तराईका लमतन्न परेका फाँट अनि बजारहरूलाई अवलोकन गर्न पाइन्छ । मकवानपुर र धादिङका थुप्रै सुन्दर गाउँ बस्तीहरूलाई पनि नियाल्न सकिन्छ ।

डाँफे मुनाल पार्कसँगै रहेकाे विष्णुकुण्ड र पद्म सम्भवकाे मूर्ति ।

कसरी पुग्ने ?

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी बजारबाट २८ किलोमिटरको दुरी पार गरेपछि यो सुन्दर डाँडामा पुग्न सकिन्छ । गजुरी बजार काठमाडौंबाट ६० किमीको दुरीमा रहेको छ । काठमाडौंको चन्द्रागिरि, मकवानपुरको चित्लाङ, टिस्टुङ, पालुङ हुँदै जान पनि सकिन्छ । त्यसैगरी धादिङको नौबिसे खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै पालुङ निस्केर पनि जान सकिन्छ । पालुङबाट डाँडेबास, चामाखर्क, डाँडाखर्क, खोलाखर्क हुँदै वैकुण्ठ पुग्न सकिन्छ । वैकुण्ठ गाउँसम्म नियमित बस सञ्चालन हुन्छ । दुई पाङ्ग्रे सवारी साधनमा जाँदा थप रमाइलो हुन्छ । त्यसैगरी हेटौँडाबाट पनि करिब तीन घण्टाको यात्रा तय गर्दे यस स्थानमा पुग्न सकिन्छ ।

सम्बन्धित समाचार