काठमाडौं । देशभरका १७० वटा वडा दलित महिला सदस्य विहीन बनेको छ । ती वडामा कुनै पनि दलबाट दलित महिला वडा सदस्यको मनोनयन नभएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो ।
केही हिमाली जिल्ला , काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।
निर्वाचन आयोगको सोमबारको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ पदमा एकल मनोनयन परेको भएको बताए । एकल मनोनयन परेकाहरु निर्विरोध निर्वाचित हुने निश्चित भए पनि घोषणा गर्न बाँकी छ ।
गत ७४ को निर्वाचनमा १७५ वटा वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको थिएन । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दलित महिला सदस्यको उम्मेदवारी नपरेको प्रति गम्भीर हुन सचेत समेत गराएको थियो । तर यस वर्ष पनि १७० वडा दलित महिला सदस्य विहीन बनेका छन् ।
ती वडाहरूमा दलित समुदायको बसोबास नभएकाले पद रिक्त हुन गएको हो ।
संविधानले वडामा एक जना दलित महिला सदस्य अनिवार्य गरेको छ । जसका कारण दलित समुदायको बसोबास नभएको वडामा वडा सदस्य पनि तीन जना मात्रै हुने गरेको छ ।