बिहिबार , कार्तिक २९, २०८१

वास्तविक दक्षिणकाली खोलाछेउमा होइन डाँडामा छिन्

जङ्गलको बिचमा रहेको दक्षिणकालीको उक्त मन्दिर, डाँडाको टुप्पोमा गुफा भित्र राखिएको थियो । सो स्थानमा मानिसहरू नजाने र गएका मानिसहरूमध्ये पनि पछिल्लो व्यक्ति नफर्कने भन्ने जनश्रुति पाउन थालेपछि दक्षिणकालीलाई तान्त्रिक विधिद्वारा निस्तेज पारियो ।

image

उपत्यकामै बसेर पनि दक्षिणकाली मन्दिर पुग्ने धोको विभिन्न कारणले पुरा हुन सकिरहेको थिएन । वर्षैपिच्छे त्यहाँ जाने मेरो याेजना याेजनामै सिमित भइरहेकाे थियाे । यसपालि मैले अलिक जोड लगाएँ । केही महिनादेखि बनिरहेको योजनालाई एउटा शनिवार छुट्टाएँ र, हामीले एउटा घर नजिकैको ट्याक्सी बुक गर्‍यौँ । हामी भन्नाले म र मेरो परिवार ।


बिहानै ३ बजे उठेर नुहाई धुवाई सक्यौँ किनभने हामीलाई बेलैमा घर फिर्नु पनि थियो । मन्दिरमा शनिवार र मङ्गलवार विशेष भीड हुने हामीले सुनिरहेका थियौँ । आफ्नो सुविधा अनुसार अलिक ढिलो उठेर पनि त्यता जान भने सकिन्छ । हामी तयार हुँदा नहुँदै साढे चार बजिसकेको थियो । निकै बेरदेखि घरबाहिर ट्याक्सी पर्खिरहेको थियो । ट्याक्सीमा जान सम्भव नभएका श्रद्धालुले भने सुनधाराबाट सार्वजनिक यातायात चढ्न सक्नेछन् ।

गाडी कतिखेर छुट्छ ?

बिहान ५ : १० देखि प्रत्येक ५/१० मिनेटमा मन्दिरको लागि गाडी हिँड्छ । साठी रुपैयाँ गाडी भाडा तिरेर डेढ या दुई घण्टाको यात्रा गरेपछि मन्दिर प्राङ्गणमै पुगिन्छ । निजी सवारी साधनमा भने ३० देखि ४५ मिनेटमै पुग्न सकिन्छ । तेलको भाउ आकासिएर र ट्राफिकले सुनधाराबाट चाँडै लखेटिहाल्ने हुनाले अचेल त्यति फाइदा नहुने गरेको त्यहाँका स्थानीय चालकले मलाई कुराकानीका दौरान बताए । उनीहरूले कहिलेकाहीँ मन्दिरबाट फर्किने क्रममा भने प्रतीक्षामा बसेका पछिल्ला १० गाडीसम्म एकैपटक भरिने गरेको पनि सुनाए ।

बर्खा लागेसँगै नदीको पानी धमिलिएको छ

हामी करिब २०/२२ किलोमिटरको यात्रा पार गर्दै मञ्जुश्रीले काटेको चोभारको डाँडा हेर्दै मन्दिर पुग्यौँ । सरर चलिरहेको चिसो हावा, डाँडा ढाकेर बसेका बादलका थुम्का र जङ्गलको स्वच्छ अनुभव लिँदै हामीले मन्दिरको प्राङ्गण टेकेका थियौँ ।

मन्दिरसम्म हिँड्दै गर्दा बाटोमा निकै सस्तोमा पूजा तथा बलिका सामग्री किन्न सकिन्छ । हामीले भने घर नजिकै किन्ने भुल गरेका थियौँ । दक्षिणकाली मन्दिरको गेटमै रहेको विगत १५ वर्ष पुरानो फुल तथा बलि सामाग्री भण्डारमा हामीले १० रुपैयाँको एक झोला फुल भने किन्यौँ । सोहिक्रममा शनिवार र मङ्गलवार १०/१२ हजारको व्यापार हुने सो ठाउँमा अरू दिन २/३ हजार मात्र बिकी हुने बिक्रेताले बताए ।

अघि बढ्दै गएपछि तपाईँलाई दक्षिणकाली मन्दिर गएको पललाई कैद गर्न मन छ भने फोटो खिचेर फ्रेम गरिदिने पसलहरू भेट्टीनेछन् । ५० रुपैयाँ तिरेर फ्रेम सहितको तस्बिर तपाईँले सम्झना स्वरूप घर ल्याउन सक्नुहुनेछ । हामीले भने मोबाइलकै क्यामेराले काम चलायौँ ।

मन्दिर प्रवेश गर्ने क्रममा मैले केही फोटोहरू खिचेँ । सलल बगिरहेको उद्दारवती गङ्गाको वारिपट्टि जुत्ता फुकालेर राख्ने ठाउँ बनाइएको छ । यद्यपि आफ्नो जुत्ता हराएमा कसैलाई दोष भने लगाउन पाइने छैन । लाइन बसेर मन्दिर पुगेपछि मोबाइल पुगिसकेपछि मोबाइल गोजीमा हालेँ किनभने मन्दिर भित्र फोटो खिच्न नपाउने नियम बनाइएको छ  ।

कोही धूप बालिरहेका, कोही बत्ती बालिरहेका, कोही घण्टी बजाइरहेका, कोही पूजा गरिरहेको दृश्यले एक किसिमको आनन्द महसुस गराउँछ ।  केही बेरमै पूजा सकियो र नरिवल फुटाएर हामी बलि दिने ठाउँ हेर्दै फर्कियौँ । जहाँ एक साथ १०/१२ वटा बलिका सामग्री (कुखुरा/बोका) सफा गरिँदै थियो ।

“इन् पिन, सेप्टी पिन
मुसाले खायो भिटामिन…
…एक दुई तीन
एउटा खसी किन
दक्षिणकाली जा
काटेर खा”

म सानो हुँदा यो खेल निकै खेले तर, दक्षिणकालीको बारेमा ज्ञान भने थिएन । केही जानकारी बिना नै यो खेल हामी खेल्थ्यौँ । यो कसरी र कहाँबाट सुरु भयो भन्ने कुराको जानकारी पनि छैन अहिले मसँग ।

पूजा चाँडै सकिएकाले मन्दिरबाट निस्किएर हामीले सोही मन्दिरबाट केही अग्लो ठाउँमा रहेको मुख्य मन्दिर जाने निर्णय लियौँ । उक्त मन्दिर नै मूल मन्दिर हो, जसलाई राजा प्रताप मल्लले स्थापना गराएका थिए ।

किम्बदन्ती:

किम्बदन्ती अनुसार १८२५ मा राजा प्रताप मल्ललाई सपनीमा आएर दक्षिणकाली माताले आफू दक्षिणकाली भएको र फर्पिङदेखि माथि नगरचो डाँडाको शिलामा बसेको बताएकी थिइन् । तर, राजाले उक्त कुरामा ध्यान नदिएपछि दरवारकै पञ्चकन्या मध्ये एउटी कन्यालाई साक्षात् रूपमा आफू बसेको स्थान र पूजाआजाको बारेमा बताएकी थिइन् । त्यसपछि राजाले विधिपूर्वक दक्षिणकालीलाई सो ठाउँमा स्थापना गरेका थिए ।

सपनामा बताइएअनुरूप दक्षिणकाली र उनको गणलाई एक रातमा बोकी त्यहाँ देखि दक्षिण तर्फको दुई नदिको शिरोभागमा उक्त शिला लगेर राखियो । त्यसैगरि कुमारीलाई हालको कुमारी मन्दिर भएको स्थानमा र गणेशलाई लैजाने क्रममा भाले बासेपछि पौचो डाँडामा बिसाएर स्थापना गरिएको थियो । जङ्गलको बिचमा रहेको दक्षिणकालीको उक्त मन्दिर, डाँडाको टुप्पोमा गुफा भित्र राखिएको थियो । सो स्थानमा मानिसहरू नजाने र गएका मानिसहरूमध्ये पनि पछिल्लो व्यक्ति नफर्कने भन्ने जनश्रुति पाउन थालेपछि दक्षिणकालीलाई तान्त्रिक विधिद्वारा निस्तेज पारियो । त्यसपछि हालको दक्षिणकाली माताको शिलामुनि घोप्टो पारी माथि पट्टी ठुलो शिलाले छोपी कालीको मुखाकृति बनाई अगाडि भैरव समेत राखी स्थापना गराइयो । प्रताप मल्लले चामुण्डाको (दक्षिणकालीको) सेतो संहमरमरको मूर्ति बनाउन लगाए र उक्त मूर्तिमा प्राण प्रतिष्ठापछि निकै शक्तिशाली हुने तान्त्रिकहरूले जनाएका थिए ।

त्यसपछि राजा प्रताप मल्लले आफ्नै दरबारको चोकमा रहेको एउटा कोठामा थुनी बाहिरबाट दुईवटा ठुल्ठुला सिंहहरू स्थापना गराए । राजाले पुनः कालो पत्थरको मूर्ति बनाउन लगाई पूर्णवती गङ्गा र उद्धारवती गङ्गाको दोभानमा स्थापना गराए । जहाँ उनले अष्ट मात्रिका सहित पूजाआजा गर्दै आए । धार्मिक किम्बदन्ती अनुसार दक्ष प्रजापतिको तेत्तिस कोटी कन्या मध्य दक्षिणकाली पनि एक हुन् ।

पूजारीका अनुसार,

पुजारी दीप मानन्धरका अनुसार, उक्त पुरानो मन्दिर दक्षिणकाली माताको मन्दिर रहेको छ, जुन आफैँ उत्पत्ति भएकी हुन् । यसकै प्रतिरूप पछि तल स्थापना गरिएको हो, जसलाई उनी छोरी भन्छन् । मान्छेहरू आफ्नो सजिलो र सुविधा हेरेर तलैबाट फर्किने गरेको समेत उनले सुनाए।

सो मन्दिरको बाटो हिँड्दै गर्दा बाटोमा खुवा बेच्नेहरूले तपाईँको ध्यान तान्छन् । शुद्ध दूधले बनेको उक्त खुवा थोरै मात्रामा त्यसै पनि चाख्न पाइन्छ । सुनिता भट्टराईले पुर्ख्यौली व्यापारको रूपमा खुवा बेच्दै आएकी छिन् । दक्षिणकाली माताको पुरानो मन्दिर चढ्ने क्रममा सिँढीमै उनलाई भेट्न सकिन्छ । उनी आफ्नो खुवामा शुद्ध दूध मात्र हुने गरेको र कहिले काहीँ थोरै मात्रामा चिनी मिसाउने गरेको बताउँछिन् । बिहानैबाट मन्दिरको सिँढीमा खुवा राखेर बस्ने सुनिता जस्ता दसौँ महिलाहरू भेटिन्छन् । समयमै खुवा बिक्री भए घर फर्किने, नबिके साँझसम्म बस्ने गरेको सुनिताले सुनाइन् । खुवा बेचेको पैसाले जीविका मात्र चल्ने गरेको कुरा समेत उनले बताइन् ।

दर्शानार्थीहरूका कुरा

बाटोमा अन्य दर्शनार्थीहरूसँग पनि मेरो कुरा भयो । कोही पूर्वदेखि मन्दिर दर्शनका लागि भनेर आएका थिए भने कहिले नजिकैबाट आफ्नो मनोकामना पुरा भएकाले दर्शन गर्न आएको सुनाए । कुराकानी गर्दै हामी मन्दिरको गेटबाट बाहिर निस्कियौँ ।

पूजा समयमै सकिएको थियो र घडीमा ७ मात्र बजेको थियो । त्यसैले चियापानका लागि हामी मान बहादुर गुरुङको गुरुङ भोजनालय प्रवेश गर्‍यौँ । ५१ सालबाट थालिएको उक्त पसलमा सेल, मालपुवा, तरकारी, चिया, खाना आदि पाइन्छ । हुन त मान बहादुरको पसल छेउछाउ अरू पनि थुप्रै खाजा घरहरू छन्, जहाँबाट आइरहेको विभिन्न परिकारको सुगन्धले एक कसिमको भोक जगाउँछ । त्यसैले हामीलाई मान बहादुरको पसलमा प्रवेश गर्न बाध्य बनाएको थियो ।  गोरखाका मान बहादुर प्रहरीमा जागिरे हुँदा दक्षिणकाली सरुवा भएका थिए र यतै जागिरबाट निवृत्त भएर पसल सुरु गरेको उनका छोराले सुनाए  । दर्शनार्थीको भिड भएको दिनमा सो पसलमा २५/३० हजारको व्यापार हुने गरेको छ ।

खाजापछि हामीलाई कुरेर बसिरहेको ट्याक्सीसम्म गयौँ । र, ट्याक्सी हुइँकियो फेरी आफ्नै निवास तर्फ । हामीले यात्राका लागि ट्याक्सीलाई २,६०० रुपैयाँ बुझायौँ ।

तपाईं पनि जाने होइन त दक्षिणकाली ?

सम्बन्धित समाचार