सोमबार , अषोज २८, २०८१

चुनाव आयो आन्द्रा तन्काउँदै गर्नुहोस्

image

‘लौ न हजुर लौ न हजुर आयो निर्वाचन, हाम्रो गाउँ नगरमा आयो निर्वाचन’ यो मैले भनेको होइन । यो नेपाल टेलिकमले बढी बोलेको हो । एकपटक, दुई पटक भनेको भए म यसलाई सूचना पनि मान्न सक्थेँ । तर, हरेक पटक फोन लगाउँदा ऊ यसरी नै मेरो कानलाई दोकान मानेर रोएपछि मलाई मेरा कान बेच्दिउँ-बेच्दिउँ लाग्छ । ए ! साँच्ची कोही छ किन्ने ? या चुनाव नसकिउन्जेल भाडामा लैजाने ?

चुनाव आएकै हो । ठिक हो आन्द्रा तन्काउँदै गर्नुहोस् । दाँत तिखार्दै गर्नुहोस् । कलेजो कनाउँदै गर्नुहोस् । मासु भात ! टन्न रक्सी ! छोयला-सुकुटी, तारेको-झानेको, चिउरा मासु, भुटन पाङ्ग्रा । ओहो मुखमा पानी आयो ? ठिक हो, चुनावपछि आँखामा आउँछ । खसी, कुखुरा, राँगा, बङ्गुर के-के हो, के-के बलि चढ्दै छन् । कसाइरुपी नेताद्वारा भगवानरुपी जनताका लागि । ल ! भगवान्हरू आ-आफ्नो कसाइका अघिपछि लागेर भ्या गर्नुहोस् । अलिक कस्सिएर ! भ्या…!

मलाई थाह छैन, दशैँलाई किन ठुलो चाड मानिन्छ । खास चाड त यो हो । गढीमाई भन्दा धेरै बलि त अहिले चढाइन्छ । दारु पनि विदेशी/ स्वदेशी छानीछानी । ह्विस्की, रम, भोड्का, जिन अनेक छ है । कलेजो त तयार छ नि ?

भोट केमा ? ‘हिमालमा छ’ नभन्नु होला । पार्टीको कुरा गरेको । पार्टी भनेको रक्सी-मासुको होइन हौ, हत्तेरिका ! काकाको सालीको ससुराको झट्केलो ज्वाइँको पड्केको छोराको साथीको आमाको माइतीको दाइको ससुरालीको भाइको सम्धी उठ्दैछन् है चुनावमा । म त ‘दान’ तिनैलाई दिने हो भनेर सोचिसक्नु भयो होला । आफ्नैलाई त हो जिताउने । ‘नराम्रो चिताउने राम्रैले हो बिताउने’ भन्ने त गीत पनि बनिसकेको छ । राम्रोलाई त दिने कुरा पनि भएन नि । फेरी तिनै रुखको छहारीमा बसुँबसुँ लागेको होला । त्यही सूर्यलाई अर्घ दिऊँ दिऊँ लागेको होला । उही हलोले जोतूँ जोतूँ लागेको होला । तिनै गाइलाई घाँस हालूँ हालूँ लागेको होला । गजब हो । अलिक कस्सिएर ! भ्या… गर्नुहोस् ।

देशले रगत मागे जेहेनतेहेन बन्दोबस्त गर्न सकिएला तर भोट ? अहँ ! कुनै पनि हालतमा त्यसैलाई दिने हो । जो चिनेको छ ।

राम्रोलाई जिताए त उधुम भइहाल्छ नि । बाटो बन्लान्, धुलो खान कता जानु ? अस्पताल बन्ला, या बनेका अस्पतालमा डाक्टर आउलान् । उपचार पाइएला, गाह्रो हुन्छ । अस्पताल भएन भन्ने गुनासो सकिएला । नयाँ गुनासो कता खोज्नु ? प्राइभेट अस्पताललाई जग्गा बुझाउन नपाइएला । रोजगारी पाइएला, परदेश कसरी जानु ? सस्तोमा शिक्षा पाइएला, बिचरा बोर्डिङ खोलेकाहरूको कति बिचल्ली हुन्छ । सचेत नागरिक भएपछि सोच्न परेन । कारखाना खुल्लान्, समाज सम्वृद्ध होला । चोर-लुटेराहरूले के खाने ? प्रतिव्यक्ति ऋण कसरी बढाउने ?

हाम्रो भए पो एक दुई हजार ख्वाएपछि नागरिकता आउँछ । सित्तैमा हुने काम, आठदश हजारमै गरिदिन्छ । पान/गुट्खा खाएर जहाँ मनलाग्छ त्यही थुक्न पाइन्छ । बाटो र खोलामा फोहोर मिल्क्याउन पाइन्छ । सार्वजनिक शौचालयमा अरू छिर्नै नमिल्ने बनाउन सकिन्छ । अलिअलि ठग्न पाइन्छ, लुट्न पाइन्छ, अलिअलि गुण्डागर्दी गर्न पाइन्छ । पाप लाग्ला है अरूलाई जिताउँदा । पितृले सराप्लान्, कुल देउता रिसाएर/फुल्लिएर ‘फुल देउता’ होलान् । ग्रह बिच्किएर चिनाबाट निस्किएर हिनामिना गर्लान् । बेलैमा होस् पुर्‍याऔँ । दारुको ह्यांगमा हाम्रोलाई दिनुपर्ने ठाउँमा राम्रोलाई दिइएला नि फेरी ।

टाउको मुडुलो बनाएर, चार पाता कसेर, कालो मोसो दलेर, गधामा बसाएर सोह्र गाउँ कटाउनु पर्ने हाम्रो बुद्धिमा पनि भ्रष्टाचार भएको छ सायद । त्यसैले हाम्रो बुद्धि खोजिखोजी तिनै अनुहारको मायामा पर्छ । पिरतीमा फस्छ । जुन अनुहार अँ(आची)मा नुहाएको छ । ठ्याक्कै जनता र प्रतिनिधि सुहाएको छ ।

ठुला-ठुला घोषणापत्रमा गर्नुपर्ने योजनाहरू देखाएर उनीहरू भेडालाई उल्लु बनाउने जादु रचिरहेका छन् । हामीले जानेको एउटा काम हामी गरिरहेका छौँ, थपडी बजाइरहेका छौँ । मुर्गा भात र ‘जिन-दा-स्वाद’ भनिरहेका छौँ । ए माफ गर्नुहोला, ‘मुर्दावाद र जिन्दाबाद’ भनिरहेका छौँ । ए अँ, घोषणापत्रको कुरा । खसीको सातपत्र खाएपछि त्यो भत्तैभत्ताले सिँगारिएको घोषणापत्र भुले भैगो नि ! हरेक चुनावअघि आउने र चुनावपछि हराउने यस्ता घोषणापत्रले हाम्रो चुनावलाई चुना लगाएर कुरीकुरी गरिरहेका छन् । प्रत्येक चुनावअघि घोषणापत्रको मोहनीमा परेर हामी धुरन्धर गायक बनिदिन्छौँ । त्यसको गुणगान गाइदिन्छौँ । जुन कहिल्यै भएन । प्रत्येक पटक तिनैको र त्यसैको आस गर्ने ‘आशाराम’ हो हामी ।  हामी त्यही बाठो काग हौँ जो मुखमा भएको मासुको चोक्टोलाई बिर्सिएर फ्याउरोको गीत गाउँछौँ ।

‘लुट्न सके लुट, कान्छा लुट्न सके लुट, अरू देशमा पाइँदैन, फलानो देशमै हो छुट’ । फलानो देश कुन हो आफैँ बुझ्नुहोला । जबजब यस्ता गीत सुन्छौँ, राँके भूतले आक्रमण गरे जसरी हामी भित्र एक किसिमको राष्ट्रभक्ति बल्छ । हामी सामाजिक सञ्जालभरि राष्ट्रभक्ति वाक्छौँ/छेर्छौँ/पाद्छौँ । प्रणालीलाई माझी औँला देखाएर हिरो पनि बन्न खोज्छौँ । तर मतदान केन्द्रमा पुगेपछि हामीभित्रबाट स्वाट्ट राष्ट्रभक्ति बाहिर निस्किएर भाग्छ । आँखाअघि तिनै धोकेबाजका कारुणिक अनुहार नाच्न थाल्छन् । ‘धोका दिनेलाई के भनौँ र खोइ , तिमी हाँस भो मै बाँचम्ला रोइ’ गाउँदै हात अघि बढ्छन्

र, ढ्याप्प !
विकासको ढोका = ढ्याप्प !
सुशासन = ढ्याप्प !
समृद्धि = ढ्याप्प !
शिक्षा = ढ्याप्प !
स्वास्थ्य = ढ्याप्प !
ढ्याप्प ! ढ्याप्प ! ढ्याप्प ! ढ्याप्प ! ढ्याप्प ! ढ्याप्प ! ढ्याप्प ! ढ्याप्प र ढ्याप्प..!

सम्बन्धित समाचार