नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेसले भिडियो सामग्री बनाई चुनावमा सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् । राजनीतिक दल वा उम्मेद्ववारले प्रसार गर्ने यस्ता सामग्री सधैँभरि सही नै हुन्छन् भन्ने छैन ।
– दीपक अधिकारी
गत वैशाख १६ गते काठमाडौँका मेयर पदका उम्मेद्वारसँगको अन्तरक्रियाका क्रममा अभियानकर्मी भावना राउतले नेकपा एमालेका मेयरका प्रत्यासी केशव स्थापितलाई उनीमाथि लागेको यौन हिंसाको आरोपबारे कडा प्रश्न गरिन् । प्रश्न सुनेर क्रुद्ध भएका पूर्वमन्त्री स्थापितले जवाफमा भने, “यु आर नाइस लेडि बट थुतुनो ठिक भएन ।”
स्थापितको आक्रोशमिश्रित जवाफ अनि यो भनाइ सामाजिक सञ्जालमा भाइरल भयो । २५ वर्षअघि स्थापित काठमाडौँ महानगरपालिकाको मेयर हुँदा र पछिसमेत उनले यौन दुर्व्यवहार गरेको आरोप दुई महिलाले लगाएका थिए । रावतले स्थापित मेयर भएमा महिलाहरू कसरी सुरक्षित हुन सक्छन् भनी प्रश्न उठाएकी थिइन् । उनको प्रश्न र स्थापितको जवाफको भिडियो फेसबुक, ट्वीटर, टिकटकलगायतका सामाजिक सञ्जालमा फैलिएसँगै अनलाइन सञ्चारमाध्यमले समाचार बनाए । त्यसअघि नै एमालेले यौन दुर्व्यवहारको आरोप लागेको व्यक्तिलाई मेयरको उम्मेद्वार बनाएको भनेर विपक्षी दलको आलोचना भएको थियो ।
यो सवाल जवाफको भाइरल भिडियो र त्यसले सिर्जना गरेको संकथनबाट सामाजिक सञ्जाल नेपालमा पनि चुनावका दौरान एउटा प्रभावकारी साधनका रुपमा प्रयोग हुनसक्छ भन्ने देखिन्छ । स्थापितबारे सामाजिक सञ्जालमा पोष्ट गरिएको उक्त भिडियो क्लिप हेरेर कैयौँले धारणा बनाएका हुन सक्छन् । त्यसमा मूलधारका सञ्चारमाध्यमले समाचार बनाई उक्त घटनालाई झन् बढी पाठक/दर्शकमाझ पुर्याए । जसले स्थापित बारेको आममानिसको धारणामा परिवर्तन ल्याइदिएको हुनसक्छ ।
दुईधारे तरबार
अन्य कैयौँ उपयोगी साधनजस्तै सामाजिक सञ्जालको पनि दुइटा पाटो छ । यसले सूचनालाई व्यापक र सहज बनाइदिएको छ भने भ्रामक र मिथ्या समाचार, दुष्प्रचार र षडयन्त्र सिद्धान्त फैलाउन पनि मद्दत गरेको छ । सामाजिक सञ्जालले कसैको राम्रो छवि निमेषभरमै ध्वस्त बनाउन सक्छ भने नामै नसुनिएको वा सीमित क्षेत्रमा चिनिएको व्यक्तिलाई एकाएक सेलेब्रिटी बनाउन सक्छ । यसका उदाहरण हुन्, काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह । र्याप गीत पछ्याउनेका लागि उनी परिचित भए पनि सर्वसाधारणमा उनी चिनिएका थिएनन् । तर, सामाजिक सञ्जाल खासगरी फेसबुकको प्रयोग गरेर अहिले उनी आफ्नो चुनावी अभियान अघि बढाइरहेका छन् ।
सामाजिक सञ्जाल हाम्रो जीवनको यति अभिन्न भाग भइसकेको छ कि त्यहाँ पोष्ट गरिएका सामग्रीले हाम्रो जीवनलाई प्रभावित पारिरहेको हुन्छ । भर्चुवल वर्ल्ड र रियल वर्ल्डलाई छुट्याएर हेर्नै नमिल्ने अवस्था आइसकेको छ । जसले सामाजिक सञ्जाल राम्रोसँग चलाउन जान्दछ, ऊ धेरै पाठक/दर्शकमाझ पुग्न सक्छ । तर, सामाजिक सञ्जाल दुईधारे तरबार हो । यसको प्रयोग गर्दा हामीले फेसबुक, ट्वीटर, टिकटक जस्ता कम्पनीलाई आफ्नो तथ्याङ्क सुम्पिरहेका हुन्छौँ, जसलाई उनीहरूले आफ्नै विज्ञापनका लागि प्रयोग गरिरहेका हुन्छन् । डिजिटल माध्यममा आफ्ना सूचना शेयर गर्दा त्यो आफ्ना विरुद्ध प्रयोग हुने पनि उत्तिकै सम्भावना रहन्छ ।
सामाजिक सञ्जालमा अभ्यस्त युवा पुस्ता मात्रै हैन, यस अघिसम्म परम्परागत प्रचार प्रसारमा लीन राजनीतिक दल र उम्मेद्ववार पनि अहिले यसको भरपूर प्रयोग गरिरहेका छन् । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेसले भिडियो सामग्री बनाई चुनावमा सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् । विवेकशील साझाजस्ता दलले घरदैलो र आमसभाभन्दा सामाजिक सञ्जाललाई चुनावी प्रचारका लागि प्राथमिकता दिएको देखिन्छ । यसो गर्नुमा उक्त दलको सीमित पार्टी सञ्जाल पनि एउटा फ्याक्टर हो ।
विकासवादी भाष्य
राजनीतिक दल वा उम्मेद्ववारले प्रसार गर्ने यस्ता सामग्री सधैँभरि सही नै हुन्छन् भन्ने छैन । ती जतिसुकै राम्ररी र व्यावसायिक ढंगले बनाइएका किन नहुन्, भ्रम छर्ने वा विपक्षीलाई नराम्रो देखाउने उद्देश्य हुन्छ ।
उदाहरणका लागि, केही दिनअघि नेकपा एमालेको फेसबुक पेजबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तस्बिरसहित यस्तो स्ट्याटस पोष्ट गरियो, “हामीले तयार पारेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । यस्तै विकास देख्न, सातै सूर्य सातै छाप नेकपा एमाले जिन्दावाद ।” अर्को दिन त्यसलाई सच्याउँदै यस्तो पोष्ट गरियो, “हामी सरकारमा हुँदा निर्माण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । यस्तै विकास देख्न, सातै सूर्य सातै छाप नेकपा एमाले जिन्दावाद ।”
यो उदाहरणबाट प्रष्ट हुन्छ, दलहरू कसरी आफू सरकारमा हुँदा गरेको साना तिना उपलब्धिलाई बढाइचढाइ प्रस्तुत गर्छन् । खासगरी एमालेले आफ्नो सरकारका पालामा भएको भनी विभिन्न सडक, भूकम्प पुनः निर्माण, विमानस्थलहरू, धरहरा आदिको फोटो राखेर आफूलाई विकास र सम्वृद्धिको बाहक भएको भाष्य निर्माण गर्ने प्रयास गरेको छ । यी सामग्री उसका आधिकारिक पेज वा समर्थकहरूको खाताबाट प्रचार प्रसार तीव्र पारिएको छ । यस्तै दाबी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि गरेको छ ।
प्रभाव र प्रयोग
सामाजिक सञ्जाललाई चुनावको परिणाम आफ्नो पक्षमा पार्न कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावताका देखियो । यो मूलतः दुई तरिकाबाट भएको देखिन्छ । क्याम्ब्रिज एनलिटिका नामक बेलायती कम्पनीले राजनीतिक विज्ञापनका लागि फेसबुकबाट तथ्याङ्क संकलन गरी लाखौँ प्रयोगकर्ताको विवरण डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग पुर्याउन प्रयोग गरेको पाइयो । त्यस्तै, रुसको एक कम्पनीले ट्रम्पको पक्षमा र उनका प्रतिस्पर्धी हिलारी क्लिन्टनको विपक्षमा फेसबुकबाट अमेरिकी मतदातालाई प्रभावित पार्ने कोसिस गरेको थियो । यी दुई अभियानबाट अमेरिकी मतदाता कति प्रभावित भए वा भएनन् भन्ने कुराको निर्क्योल थप अध्ययनबाट मात्र हुनसक्छ । तर निर्वाचनमा सामाजिक सञ्जाल कसरी प्रयोग गरिन्छ भन्ने यसबाट छर्लङ्ग हुन्छ ।
एसियाली मुलुक फिलिपिन्समा यसै साता हुने राष्ट्रपतिको चुनावमा पनि त्यहाँका दिवंगत तानाशाह फर्डिनेन्ड मार्कोसका छोरा फर्डिनेन्ड मार्कोस जुनियरले चुनाव प्रचारका क्रममा भ्रम फैलाएको रिपोर्ट प्रकाशित भएका छन् । जापानी म्यागेजिन निक्की एसियाका अनुसार मार्कोस भनेपछि मरिहत्ते गर्ने उनका समर्थक र मार्कोसको तानाशाही शासनपछि जन्मिएको युवा मतदाताले छोराको राष्ट्रपतीय आकांक्षालाई टेवा पुर्याइरहेका छन् । उनको टोली र समर्थकले मार्कोस शासनकालको महिमाले भरिएका सामग्री त्यहाँको सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । दिवंगत मार्कोसका भाषण, विदेशी नेतासँगको उनका भेट आदि सामाजिक सञ्जालमा फैलाइएको छ । रेपुटेसन लउण्डरिङ भनिने यस प्रक्रियामा कालो दाग भएका मानिसको व्यक्तित्व धोइपखाली चम्किलो बनाइन्छ । यसमा सञ्चार माध्यम, सार्वजनिक सम्बन्धमा काम गर्ने संस्था र सामाजिक सञ्जाललाई परिचालन गरिएको हुन्छ ।
यसैले पछिल्लो समय मत परिवर्तन गर्नमा र मतदातालाई प्रभाव पार्न सामाजिक सञ्जाल एक महत्त्वपूर्ण हतियारको रुपमा देखा परेको छ । त्यो किनभने अहिलेको सूचना अमेरिकाको सिलिकन भ्यालीबाट सञ्चालित केही मुठ्ठीभर प्रविधि कम्पनीको हातमा छ । सूचना माथिको पकड परम्परागत सञ्चारको हातबाट फुस्केर यी प्रविधि कम्पनीकहाँ पुगेको छ । तर न यी सञ्चार माध्यम हुन्, न त यी ती जसरी पाठकप्रति जवाफदेही नै हुन्छन् । पत्रकारितामा हुने निगरानी, परीक्षण र सत्यापन तिनले गर्दैनन् नै, यिनको प्रविधि नै भ्रामक र गलत सूचना फैलाउन मद्दत गर्ने किसिमको हुन्छ । तिनले उक्त प्रविधि कसरी बनाउँछन् र त्यसले कसरी काम गर्छ भन्ने बारे सामाजिक सञ्जाल कम्पनी पारदर्शी छैनन् ।
हामीबाट धेरै टाढा रहेका यी कम्पनीको हामी प्रयोगकर्ता मात्र हौँ । तिनलाई जवाफदेही बनाउने ल्याकत हामीसँग छैन । त्यसैले आसन्न तीन तहका चुनावमा हामीले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत हुनु जरुरी छ । हामी आफैँ गलत सूचनाको शिकार हुनुबाट बच्नुपर्छ र प्रदूषित सूचना प्रणालीलाई थप फोहोर बनाउन हामीले योगदान गर्नु हुँदैन ।
अधिकारी नेपालमा तथ्य जाँच गर्ने संस्था साउथ एसिया चेकका सम्पादक हुन् ।