बिहिबार , मंग्सिर ६, २०८१

घुँगी र चिच्चरको स्वादमा रमाउँदै चितवन

महोत्सवमा ४ सय ५० वटा स्टल लागिरहेको छ ।

image

चितवन । चितवन महोत्सव अन्तर्गत फुड फेस्टिभल चलिरहेको छ । महोत्सवमा ४ सय ५० वटा स्टल लागिरहेको छ । फुड फेस्टिभलमा दूध, पोल्ट्री, केरा, माछालगायतका परिकारका साथै स्थानीय स्तरका विभिन्न जनजातिका खानाका परिकारदेखि आधुनिक खानाहरू प्रदर्शन एवं बिक्रीका लागि राखिएका छन् ।

नेपालका विभिन्न खानाको मौलिक परिकारलाई चिनाउनका लागि गरिएको फुड फेस्टिभलमा हजारौं खानाप्रेमीहरूको उपस्थिति थियो । महोत्सवअन्तर्गत २८ पुसदेखि २ माघसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभल संचालनमा आएको हो  ।

चिच्चर अर्थात् प्वाका:

खिचरा (माघे संक्रान्ति) को दिन थारुहरूले चिच्चर (प्वाका) बनाएर खाने परम्परा रहेको छ । चिच्चर पकाउनका लागि अघिल्लो दिन नै अनदीको चामल भिजाएर राख्ने गरिन्छ । भोलिपल्ट त्यो चामललाई माटोको भाँडा (पैनी) मा राखी पानीको बाफको सहायताले पकाइन्छ । चिच्चर पकाउन दुईवटा भाँडाको प्रयोग गरिन्छ । सुरुको सिलवरको भाँडामा पानी राखिन्छ । माटोको भाँडाको तलपट्टि बाँसको चोयाले बुनेको जाली राखिन्छ । त्यो भाँडाको पिँधमा बाफ छिरोस् भन्नका लागि मसिना प्वाल बनाइएको हुन्छ । माथिल्लो भाँडामा अनादीको चामल राखिन्छ । चामललाई बाफले पकाएपछि चिच्चर तयार हुन्छ । चिच्चर पकाइसकेपछि भोर्लाको पातमा राखिन्छ । त्यसपछि चिच्चरलाई त्यही पातले बेरिन्छ । बाहिरबाट मसिनो डोरी बेरेर चिच्चरलाई गोलो आकार दिइन्छ ।

चितवन महोत्सव मूल समारोह समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनमा विगतमा भएका महोत्सवले कृषि तथा पशुपालन क्षेत्रको प्रवर्द्धनमा उल्लेख्य भूमिका खेलेको बताउँछन् । “खानाको प्रवद्र्धन, प्रदर्शन र खाद्य संस्कृतिबारे जानकारी गराउनु नै फुड फेस्टिभलको मुख्य उद्देश्य रहेको छ”, उनले भने ।

महोत्सव माघ ४ सम्म

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु भएको महोत्सव ४ माघसम्म चल्नेछ । संघले हरेक २–२ वर्षमा २०५३ सालदेखि महोत्सव गर्दै आइरहेको छ । यो १४औं संस्करण हो ।  कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही २९ पुसदेखि ३ माघसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका गोष्ठी तथा सेमिनार सञ्चालन हुँदै आइरहेको छ ।

अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । महोत्सव पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले बताएको छ ।

Tags:

सम्बन्धित समाचार