काठमाडौं । काठमाडौंसम्म रेल ल्याउनका लागि चीनले महत्वपूर्ण सहयोग गर्ने भएको छ । केरुङ–काठमाडौंसम्मको रेलमार्गका लागि सम्भाव्यता अध्ययन गर्न चीनले सहयोग गर्ने सहमति भएको हो।
चीनले यो अध्ययन अनुदानमा गरिदिने भएको छ ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्कासँग बुधबार चिनियाँ शहर छिङताओमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले अनुदानमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने घोषणा गरेको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
यसअघि चिनियाँ पक्षले उक्त रेलमार्गको प्रारम्भिक अध्ययन गरेको थियो । उक्त अध्ययनले ७२.२५ किलोमिटर लामो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यो रेलमार्ग करिब ९ वर्षमा बन्ने अनुमान गरिएको छ । अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछि चीनले पनि सहायता वृद्धि गरेको हो । त्यही क्रममा चीनले आर्थिक सहायता र र रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने घोषणा भएको हाे ।