मंगलबार , मंग्सिर ४, २०८१

छोइ बार्ने तामाङ

तामाङ समाजमा छोइ बार्ने प्रचलनलाई नकारात्मक, बोझ र विकृतिको रूपमा नभई सामाजिक र नैतिक महत्त्वका साथ अगाडि बढिरहेको पाइन्छ । अहिले शिक्षा, चेतना र विकासको नाममा यसको विरोध तथा छोइ नबार्ने गरिएको देखिन्छ तर, यो सरासर गलत कार्य हो ।

image

एक समय जब म लोर्के ठिटो नै थिएँ । त्यसबेला बाटोमा एक अञ्जान स्त्रीलाई देखेँ । उनलाई हामीले अनेकानेक किसिमले जिस्क्यायौँ । यो सार्वजनिक स्थानमा भएको थियो । त्यो कुरा मेरो परिवारमा पनि थाहा भएछ । आमाले भात खाने बेला भन्नु भो कि ‘उनी सिस्नु(पोलो) हुन् ।’ यानेकी छोइ बार्न पर्ने बुहारी । जब यो कुरा सुने तब मलाई लाग्न थाल्यो कि यो मान्छेले मान्छेसँग बोल्न, जिस्किन, छुन नहुने के नियम राखेको ? अन्धविश्वासी समाज !

यी प्रश्नहरूको उत्तर नपाउँदै म उच्च अध्ययनको लागि काठमाडौं पसेँ । त्यसपछि न बुहारी भेटिन्थ्यो, न कोही । ललितपुर जिल्लाको पाटन वरपर नै रहिरहेँ, जहाँ मेरो गाउँको मानिसहरूको आवतजावत नै शुन्यप्रायः थियो । त्यहीको परिवेशमा हराएँ, रमाएँ । पढेँ, पढाएँ । जागिर खाएँ, काम गरेँ ।

समय परिस्थिति बमोजिम विवाह गरेँ, तब यो छोइ बार्ने कार्यलाई स्थानीय प्रचलन बमोजिम कडाइका साथ अवलम्बन गर्नुपर्‍यो । बुहारी पर्ने र सासुदिदी पर्नेहरू देखे, शरीरमा सिस्नुका काँडा उम्रिन थाले । देख्दा २ मिटर पर नै बस्न थाले । बोल्नुपरे आदरार्थी शब्द प्रयोग गर्न थाले । तब मैले यस प्रचलनको गुणबारे बुझ्दै जान थालेँ । किन समाजमा यस प्रकारका प्रचलन प्रचलित गराउँदो रहेछ थाहा पाएँ । पुर्खाहरूले अनुभवको आधारमा समाजलाई व्यवस्थित गर्न दिएर गएको अमूल्य विधि रहेछन् ।

यस पटकको झ्वाँके सम्बन्धमा छोइ बार्ने तामाङबारे लेख्ने प्रयास गरेको छु ।

छोइ बार्ने तामाङ

तामाङ जातिमा मौलिक संस्कार, संस्कृति र पद्धतिहरू प्रचलनमा छन् । ती पद्धतिहरू मध्ये एक छोइबार्ने चलन पनि हो । ल्हप्सङकर्पो क्षेत्र तामाङहरूमा अझै पनि सासू दिदी (स्यूमे), ज्वाइँ (म्हा) र अच्यो (जेठाजु), बुहारी (चङ) बार्ने प्रचलन छ । अझ मितमितिनी समेत बार्ने गरिन्छ । यसपटकको लेखमा छोइ बार्ने प्रचलन र यसको सामाजिक र नैतिक प्रभावबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

उठान

नेपालका धेरै जातजातिमा छोइ बार्ने चलन छ । तामाङ जातिमा पनि यस्तो प्रचलन रहेको छ । तामाङ जातिमा म्हा (ज्वाइँ) स्युमे (दिदी सासू) र चङ अच्यो (बुहारी जेठाजु) छोइ बार्ने चलन छ । लेङलेङस्या (मितमितिनी) पनि बार्ने चलन छ । कुनै नारी वा पुरुष मगनी वा भागेर विवाह बन्धनमा बाँधिए पछि गोडा फर्काइ (बलेस्योन) गरिन्छ । त्यसमा एकाघरका आफन्तहरूका लागि नवविवाहितको तर्फबाट भोजको आयोजना माइतीमा गर्ने गरिन्छ । त्यही कार्यक्रममा नै कस-कसलाई बार्नुपर्छ भन्ने जानकारी दिइन्छ । औपचारिक रूपमा त्यस दिन केटीको आमा पक्षका दिदीबहिनी (अननेन्च्योन) र उनका सन्तानहरू र बुबा पट्टिका दाज्युभाइ (अच्योन)हरू पनि बोलाइन्छ । र त्यहाँ छोइ बार्नु पर्नेहरूको परिचय दिइन्छ । केटाले दिदीहरू, आमा बुबाका मितमितीनी पट्टिका दिदीहरूलाई बार्ने चलन छ । त्यस्तै महिलाले पनि सहोदर दाज्यूहरू एकै कुलका दाइहरू, आमा पट्टिका दाइहरू, आमाबुबाका मितमितिनी पट्टिका दाइहरू समेतलाई छोइबार्नु पर्दछ । मित वा मितिनी लगाएमा सो अनुसार पनि बार्नु पर्दछ । मितले मितिनी र मितिनीले मित बार्ने गरिन्छ ।

कसलाई बारिन्छ त छोइ ?

विवाह गरेको पुरुषले श्रीमतीका सहोदर दिदीहरू, एकैकुल भित्रका दिदीहरू, आमा पट्टिका दिदीहरू, आमाबुबाका मितमितिनी पट्टिकाहरूलाई बार्ने चलन छ । त्यस्तै महिलाले पनि सहोदर दाज्यूहरू, एक कुलका दाइहरू, आमा पट्टिका दाइहरू, आमाबुबाको मितमितिनी पट्टिका दाइहरू समेतलाई छोइबार्नु पर्दछ । मितले मितिनी र मितिनीले मित बार्ने गरिन्छ ।

अपवाद

दाइ वा दिदी भएता पनि अगाडी नै दिदीसँग विवाह भई भेना पर्ने भएमा वा दाइसँग विवाह भई भाउज्यू पर्ने भएमा छोइ बार्नु नपर्ने हुन्छ । लामा, बोम्पो, लप्ताबा भएमा बार्नु नपर्ने चलन छ । अचेल डाक्टर समेतलाई यो सुविधा दिन थालिएको छ ।

सामाजिक प्रभाव

छोइबार्ने प्रचलनसँग आमा पट्टि र बुबा पट्टिको शाखा चिन्ने गर्दछ । दाइ तथा दिदी हुनुको अभिभावकत्व महसुस गराउँदछ । जसले गर्दा सामाजिक संस्कार, संस्कृति र प्रचलनमा खुलेर सहयोग गर्न सकिन्छ । साथै दुःखमा समवेदना प्रकट गर्ने बाटो पनि मिल्दछ । अभिभावक हुनुको गर्व र साना भाइबहिनी हुनुको अपनत्वले गर्दा सामाजिक सद्भाव बढाउन सघाउ पुर्‍याइ रहेको हुन्छ ।

नैतिक प्रभाव

मानव समाज नैतिकतामा आधारित हुन्छ । तामाङ समाज खुल्ला समाज भएता पनि भाइ बुहारी वा वाहिनी ज्वाइँलाई छुने नहुने प्रचलनले गर्दा यसमा संयमता उत्पन्न भएको हुन्छ । सबै रमाएर नाचिने ‘म्हाने दोरा’ नाच्न समेत विचार गरेर नाच्नु पर्दछ । बहिनी ज्वाइँलाई सासू दिदीहरूले र भाइ बुहारीलाई दाइहरूले विचार पुर्‍याउनु पर्दछ । यसले गर्दा अनैतिक क्रियाकलाप नगरी समाजमा नैतिक अमनचयन उत्पन्न हुन जान्छ ।

अन्त्यमा,
तामाङ समाजमा छोइ बार्ने प्रचलनलाई नकारात्मक, बोझ र विकृतिको रूपमा नभई सामाजिक र नैतिक महत्त्वका साथ अगाडि बढिरहेको पाइन्छ । अहिले शिक्षा, चेतना र विकासको नाममा यसको विरोध तथा छोइ नबार्ने गरिएको देखिन्छ तर यो सरासर गलत कार्य हो । अधकल्चो मस्तिष्कको उपज हो, आफ्नो संस्कार, संस्कृति र प्रचलन भुल्ने बहाना हो । मान्छेले मान्छेलाई छुन नहुने भन्ने सन्दर्भ मात्र नभएर नैतिकतामा बाँधिन पुर्खाले यो नियमको प्रतिपादन गरिएका हुन् भन्ने प्रस्ट हुनु जरुरी छ । यसले जिम्मेवार नागरिकको रूपमा समुदायमा रहन प्रेरित गर्दछ ।

सम्बन्धित समाचार