काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा पर्ने नेपालकै सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल अहिले धेरैको पर्यटकीय गन्तव्य बन्न थालेको छ ।
हिउँदबाहेक सबै सिजनमा त्यहाँ नपुगेका मानिस सायद कमै होलान् । नयाँ अनुभवको लागि हिउँदमा घुम्न जानेको पनि कमी छैन । स्वदेशी तथा विदेशी पर्यटकहरू फरक सिजनमा फरक दृश्यावलोकनको लागि त्यहाँ पुग्ने गर्छन् ।
हिउँदमा खोलानाला, झरना, ताल सबैमा आइस जमेको हुन्छ । आइसमा फोटो, भिडियो र टिकटक बनाउन लागि पर्यटकहरु रमाउने गर्छन् । पुस महिनाको पहिलो सातादेखि नै चिसोको कारण दोङाङदेखि सबै स्थानमा हिउँ जमेर आइस बनेको हुन्छ ।
च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट तीन दिनमै सहज तरिकाले पुग्न सकिन्छ । २०७२ सालको भूकम्पपछि स्वीस सरकारले च्छयोतछ्योतदेखि च्छोरोल्पा हिमतालसम्मै बाटो राम्रो बनाइदिएको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजना लगायतले ठाउँ–ठाउँमा बाटो देखाउन उचाईसहितको साइन बोर्ड राखिदिएको छ ।
हिउँदमा सुर्मुचे, वेदिङ र ना गाउँका होटलहरु बन्द हुन्छ । धारा, पाइपमा पानी जमेकाले पिउन र चर्पी प्रयोगको लागि पानीको समस्या हुन्छ । चिसो मौसम नै भए पनि पर्यटकहरु आउन थालेपछि होटल बन्द गर्नु पर्ने बाध्यता सुनाउँछन्, वेदिङका गौरीशंकर होटल सञ्चालक दोमी लामा ।
छोटो दूरी र सजिला बाटो भएकाले पनि च्छोरोल्पा हिमतालमा पर्यटकको भीड लाग्ने गर्छ । यहाँका होटलहरूमा खान बस्न सस्तो छ । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको कमी हुँदैन । यस सिजनमा मात्रै ७ हजार पर्यटकले च्छोरोल्पा, दूधकुण्ड घुमेका थिए । च्छोरोल्पा हिमताल ४ हजार ५८० मिटर उचाईमा रहे पनि जाडोयाममै घुम्न जान जो कोही मोहित हुन्छन् ।
च्छोरोल्पा घुम्न जाँदा सिमीगाउँ, सुर्मुचे, दोङाङ, वेदिङ हुँदै नागाउँमा बास सकिन्छ । यहि महिना भर्खर मात्र चरिकोटबाट दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेल लगायतका टिम त्यहाँ घुम्न पुगेका थिए ।