खासमा मतदाताहरू राजनीतिक दलका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरू आफ्ना घरमा आउँदा उनीहरूका योजनाहरू के-के छन् भन्ने सुन्न र जान्न चाहन्छन् । तर राजनीतिक दलका हुन् या स्वतन्त्र उम्मेदवार, उनीहरू मतदाता कहाँ गएर एकले अर्कोलाई तथानाम गाली-गलौच गरेर मतदातालाई दिग्भ्रमित बनाउने गरेका छन् ।
स्थानीय तहको निर्वाचन आउन करिब एक हप्ता मात्रै बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताको घर घरमा पुग्न थालेका छन् । घर घरमा मात्रै होइन, मतदाता जहाँ छ त्यही पुग्न थालेका छन् । खेतबारीमा काम गरिरहेका मतदाता भेट्न खेतबारीमै पुग्न थालेका छन् । मतदाताहरू जुन-जुन काममा जहाँ-जहाँ छन्, त्यही गएर भेट्न थालेका छन् ।
निर्वाचनको बेला नेतृत्वका लागि उम्मेदवार बन्न र मत माग्न पाइन्छ । यो लोकतन्त्रको सर्वमान्य अभ्यास नै हो । नेपालको संविधानले पनि मौलिक हककै रूपमा राजनीतिक दल खोल्न, चुनावमा भाग लिन, मत माग्न र नेतृत्वमा पुग्न पाउने अधिकार दिइएको छ ।
नेपालको संविधानले आवधिक निर्वाचनको व्यवस्था गरेको छ । प्रत्येक पाँच पाँच सङ्घ प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोही बमोजिम यही वैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुँदै छ । यसअघि स्थानीय तहको पहिलो निर्वाचन २०७४ वैशाख ३१ मा भएको थियो । यद्यपि उक्त निर्वाचन तीन चरणमा मात्रै सम्पन्न भएको थियो । यस पटकको निर्वाचन भने देश भरी नै एकै पटकमा एकै दिनमा हुँदै छ ।
निर्वाचन देशको विकास गर्नका लागि नेतृत्वको छनौट गर्ने ठुलो उत्सव हो । यसलाई अत्यन्तै ठुलो उत्सवका रूपमा लिनुपर्दछ । नेतृत्वले विगतमा गरेका राम्रा नराम्रो कामहरूको सही समीक्षा गर्ने र आगामी नेतृत्व छनौट गर्ने अवसर हो । नेतृत्वलाई उनीहरूले गरेका कार्यहरूको आधारमा अभिनन्दन वा सजाय दिने अवसर पनि हो । जनताले राम्रा काम गरेका नेतृत्वलाई पुनः निर्वाचित गरेर अभिनन्दन गर्न सक्छन् । नराम्रा काम गरेकालाई मत नदिएर दण्ड दिन सक्छन् ।
भोट माग्न जाँदा अरूलाई गाली गर्ने कि आफ्ना कुराहरू सुनाउने ?
अहिले निर्वाचनका उम्मेदवारहरू नेता कार्यकर्ता एवम् समर्थकहरूको साथमा मतदाताको घरदैलोमा पुगिरहेका छन् । मत माग्न मतदाताकहाँ पुगेका अधिकांश उम्मेदवारहरू, नेता कार्यकर्ताहरूले मतदातालाई आफ्ना कुराहरू, एजेन्डाहरू सुनाउने भन्दा पनि अन्य पार्टी, नेता तथा कार्यकर्तालाई गाली गर्ने, आरोप लगाउने, होच्याउने, नराम्रो चित्रण गर्ने गरेको गुनासोहरू आउन थालेका छन् ।
खासमा मतदाताहरू राजनीतिक दलका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरू आफ्ना घरमा आउँदा उनीहरूका योजनाहरू के-के छन् भन्ने सुन्न र जान्न चाहन्छन् । आफूहरूको जीवनस्तर उकास्न, गाउँ ठाउँ समाजको विकास गर्न, आफ्ना गाउँ बस्तीलाई समृद्ध बनाउन नेता र नेतृत्वको आकाङ्क्षीहरूको योजनाहरू थाहा पाउन चाहन्छन् । उनीहरूको योजना र एजेन्डाहरूकै आधारमा कसलाई मत दिने भन्ने निर्णयमा पुग्न चाहन्छन् । तर राजनीतिक दलका हुन् या स्वतन्त्र उम्मेदवार, उनीहरू मतदाता कहाँ गएर एकले अर्कोलाई तथानाम गाली-गलौच गरेर मतदातालाई दिग्भ्रमित बनाउने गरेका छन् ।
मतदाताकहाँ पुग्दा नेता कार्यकर्ताहरूले आफ्ना योजना, भिजन तथा प्राथमिकताहरूको बारेमा मतदातालाई बताउनुपर्दछ । उम्मेदवारहरूका एजेन्डा र प्राथमिकताकै आधारमा मतदाताहरूले उपयुक्त उम्मेदवार छान्न सकुन् ।
नेता तथा उम्मेदवारहरूले मतदाताको दुःख पिडा, अभाव र समस्याहरूको बारेमा चासो राख्ने, उनीहरूको कुरा सुन्ने गर्नुपर्दछ । एकोहोरो आफ्ना कुराहरू मात्रै सुनाएर पनि हुँदैन । उनीहरू नेताहरू आफ्ना घर पुग्दा आफ्ना समस्याहरू, आवश्यकता तथा कठिनाइहरू सुनाउन चाहन्छन् । यी कुराहरूलाई पनि भोट माग्न जानेहरूले याद राख्न जरुरी हुन्छ ।
तर त्यसो गर्नुको सट्टा अरूलाई गाली गरेर आफूलाई राम्रो देखाउने, एकोहोरो भट्ट्याउने र मतदाताको भावना नसुन्ने गरेको देखिन्छ ।
एक अर्कालाई गाली गलौच गरेर समाज बन्छ त ?
एक अर्कालाई गाली गलौच गरेर समाज कहिले पनि बन्दैन । बरु समाजमा अशान्ति पैदा हुन्छ । द्वन्द्व बढ्न सक्छ । एकले अर्कोलाई अपमान र गाली(गलौच र होच्याउने गरेकै कारण विभिन्न स्थानमा झडप समेत भएका छन् । यसरी एक अर्कालाई गाली गर्दै अपमान गर्दा एक अर्काप्रति घृणा पैदा हुन्छ । घृणाले समाजमा तनाव सृजना गर्छ । समाजलाई अगाडि बढ्न दिँदैन ।
आलोचना, विरोध र गाली एउटै हुन् ?
वास्तवमा हामीले आलोचना, विरोध र गालीलाई छुट्ट्याउनै सकिरहेका छैनौँ । यी तीनै एउटै हुन् भन्ने अर्थमा बुझेका छौँ । त्यसैले हामीले आलोचनाको नाममा गाली गरिरहेका छौँ । आलोचनाको नाममा राम्रा र सत्य कुरालाई पनि नराम्रा र असत्य भन्दै विरोध गरिरहेका छौँ।
आलोचना भनेको विरोध होइन, कुनै पनि विषय वस्तुको राम्रा र नराम्रा पक्ष केलाउनु आलोचना हो । राम्रोलाई राम्रो भन्ने नराम्रालाई खबरदारी गर्नु आलोचना हो । राम्रालाई पनि नराम्रो मात्रै भन्नु चाहिँ विरोध नै हो । आलोचना होइन । राजनीतिक दल र नेताहरूले एक अर्काको आलोचना गर्नुपर्दछ । नराम्रो काम गर्दै छ भने खबरदारी गर्नुपर्दछ । जनहित विपरीतका काम गर्दै छ भने विरोध गर्नुपर्दछ ।
तर अहिले आलोचना भन्दा पनि गाली र विरोध मात्रै गरिरहेको देखिन्छ । विपक्षीले गरेका छ भने राम्रा कामलाई पनि नराम्रो भनिरहेका छन् । आफूले गरेका छन् भने जनहित प्रतिकुल भए पनि राम्रो नै भनिरहेका छन् । सामान्य नेता कार्यकर्ताहरू मात्रै होइन, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरूले नै यस्तै कू-संस्कारलाई बढवा दिइरहेका छन् । जिम्मेवार पार्टीका अध्यक्ष, देशको नेतृत्व गरिसकेका र गर्ने लाइनमा रहेका व्यक्तिहरूले नै आलोचना, विरोध र गाली छुट्ट्याउन नसकिरहेको वा जानाजानी नछुट्ट्याइरहेको हामीले देख्न सक्छौँ । ठुला नेताहरूले नै सार्वजनिक मञ्चमा एक अर्कालाई तथानाम गाली गरेको, अपशब्द बोलेको, होच्याएको, अपमान गरेको हामीले देखेका सुनेका छौँ । यो विकृति हो । यसले देश र समाजलाई सही दिशामा अघि बढाउँदैन ।
त्यसैले ‘राजनीतिमा स्थायी मित्र पनि हुँदैन र स्थायी शत्रु पनि हुँदैन’ भन्ने उक्तिलाई ध्यानमा राखेर सभ्य र भव्य ढङ्गले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभियानमा सबै जना सरिक होऔँ ।