बुधबार , अषोज २, २०८१

बससेवा डटकमः वाइफाई र एसी सुविधासहितको प्रतीक्षालय

निरन्तर गाडीहरू आवतजावत गर्ने काठमाडौँको मुख्य नाका कलङ्कीमा धुवाँ-धुलो खेप्दै, विभिन्न गाडीका कर्मचारीको तानातानबाट गुज्रँदै यात्रा गर्नुपर्ने बाध्यता अब हटेको छ ।

image

काठमाडौँ । काठमाडौँबाट मानिसहरूले विभिन्न गन्तव्यका लागि टिकट काट्थे र टिकट काउन्टर अथवा बसपार्क छेउछाउ छटपटीमा समय खर्चिन्थे । उनीहरूका लागि प्रतीक्षालयको सेवा थिएन । तर, अहिले भने कलङ्कीबाट गाडी चढ्नेले यस्तो कष्टबाट गुज्रिनुपर्दैन ।

उतिबेला प्रतीक्षालय नभएकै कारण आफ्नो सामानको भारी जतिबेलै साथसाथै बोकेर हिँड्नु वा उभिनुपर्ने बाध्यता थियो । चर्को घाम नभनी, बर्खे झरी नभनी, धुवाँ-धुलो नभनी बाध्यतावश छटपटी र सकसपूर्ण प्रतीक्षा गर्नैपर्ने वातावरण थियो । कतिबेला बस आउला, कतै भिडमा बस छुटिसकेको थाहा नपाइएला कि ? दिमागमा शंका र मनमा डरको भारी पनि उत्तिकै बोक्नुपर्ने हुन्थ्यो । बस नचढुञ्जेल बसका कर्मचारीलाई बारम्बार फोन गर्नुपर्ने झन्झट हुन्थ्यो । गाडी नं जाँचिरहनुपर्ने, दाँजिरहनुपर्ने, बेग्लै किसिमको भ्याइनभ्याइ हुन्थ्यो ।

निरन्तर गाडीहरू आवतजावत गर्ने काठमाडौँको मुख्य नाका कलङ्कीमा धुवाँ-धुलो खेप्दै, विभिन्न गाडीका कर्मचारीको तानातानबाट गुज्रँदै यात्रा गर्नुपर्ने बाध्यता अब हटेको छ । यात्रुहरूका यस्ता विभिन्न असुविधालाई ध्यानमा राख्दै बससेवा डटकमले कलङ्कीस्थित ढुंङ्गेअड्डामा प्रतीक्षालय सञ्चालनमा ल्याएको छ । गत कार्तिक २५ गते उद्घाटन भएको प्रतीक्षालयमा यात्रुहरूले आरामसँग आफ्नो सवारी पर्खन सक्छन् ।

प्रतीक्षालयले यात्रुलाई ओत मात्र दिएको छैन सुविधा पनि दिएको छ । यात्रुहरू बसको प्रतीक्षा गरुञ्जेल वाक्क होलान् भन्ने सोच्नुपर्ने स्थिति छैन । किनभने, प्रतीक्षालयमा निःशुल्क वाइफाईको सुविधा उपलब्ध गराइएको छ । इन्टर्नेट चलाउँदै बस पर्खिँदा यात्रुहरूले समय बितेको पत्तोसमेत पाउँदैनन् ।

साथै, बससेवाले यात्रुको सुरक्षाका लागि प्रतीक्षालयभित्र सिसिटिभी क्यामेरासमेत जडान गरेको छ । सिसिटिभीको सेवा उपलब्ध भएका कारण यात्रुहरूले सामानको सुरक्षाका लागि समेत चिन्ता लिनु पर्दैन । न सामानको भारी बोकेर यताउता दौडिने झन्झट नै व्यहोर्नुपर्छ ।

र अब त बसका कर्मचारीसँग निरन्तर सम्पर्क राखेर यात्रुलाई बसको अवस्थाबारे जानकारी दिने जिम्मा पनि प्रतीक्षालय स्वयंले लिएको छ । त्यसका लागि प्रतीक्षालयले व्यवस्थित रूपमा कर्मचारी परिचालन गरेको छ । प्रतीक्षालयमा आनन्दले कुनै पुस्तक पढेर या चिया/कफी मगाई पिएर बस्न सकिन्छ । एयर कन्डिसनको समेत सुविधा भएको प्रतीक्षालयमा अहिलेसम्म आएका यात्रुहरूले राम्रो प्रतिक्रिया दिइरहेको त्यहाँका एक कर्मचारी सायद खत्रीले बताए ।

यद्यपि, कहिलेकाहीँ बस चालकहरूले ढिला गरिदिँदा भने यात्रुहरू निराश हुने गरेको उनले सुनाए । उनी भन्छन्, ‘बाहिर धुवाँ-धुलोमा बस्नुभन्दा आफ्नो टाउकोमा बससँग सम्बन्धित कुनै बोझ नराखी यात्रुहरू प्रतीक्षा गर्ने गर्छन् ।  अहिलेसम्म सबैले राम्रो भन्नुभएको छ । तर, कहिलेकाहीँ सवारी चालकले तोकिएको समयमा सवारी नल्याउँदा यात्रुहरू थोरै निराश हुने गर्छन् ।’

 

निरन्तर बस सेवा डटकमबाट सेवा लिइरहेकी सलिना मगरले आफू सधैँ बससेवामार्फत नै यात्रा गर्ने गरेको सुनाइन् । उनी भन्छिन्, ‘टिकट काट्न पनि सजिलो छ, प्रतीक्षालय पनि बनेको हुनाले बाहिर घामपानीमा बस्नु पनि नपर्ने हुनाले आनन्द लाग्छ ।’

त्यसैगरी, बस सेवा डटकममार्फत् टिकट काटी बुटवलको यात्राका लागि सवारी कुरिरहेका हरि प्रसाद शर्मा बससेवामार्फत् यात्रा गर्दा कुनै समस्या नपर्ने हुँदा आनन्द लाग्ने बताउँछन् । उनी भन्छन्, ‘बस सेवा डटकमको सुविधाले गर्दा नै अहिलेसम्म ५/६ पटक यात्रा गरिसकेँ । बसको अवस्थाबारे पनि कुनै चिन्ता हुँदैन, प्रतीक्षालयमा वाइफाई चलाएर बस्न पाइन्छ ।’

बस सेवा डटकमले अहिलेसम्म दिइरहेको सेवा सुविधा राम्रो रहेको खगेन्द्र न्यौपानेले सुनाए । उनी भन्छन्, ‘अहिलेसम्म राम्रो सेवा सुविधा दिइरहनु भएको छ । त्यसको लागि हामी यात्रुहरू साँच्चै नै खुसी छौँ । पछि केही सुविधा थप्ने उद्देश्य भए यात्रुहरू अझ बढी लाभान्वित हुने नै भए ।’

अनलाइनमार्फत् बस टिकेटिङ सेवा दिइरहेको बस सेवा डटकमले यात्रुको सुविधाका लागि ल्याएको प्रतीक्षालय सेवा सम्भवतः नेपालकै पहिलो हो । ई-सेवा, खल्ती, फोन पे आदि मोबाइल वालेट (डिजिटल खाता)मार्फत् सजिलैसँग बस सेवा डटकमको सेवा लिन सकिन्छ । साथै, बस सेवा डटकमबाट या सिधै ढुंङ्गेअड्डाको कार्यालयमा गएर समेत आफ्नो टिकट लिन सकिन्छ ।

सम्बन्धित समाचार