हिन्दु धर्मका पवित्र ग्रन्थहरू वा महाकाव्यहरू भगवान् शिव, भगवान् विष्णु, भगवान् ब्रह्मा र अन्य धेरै देवताका असङ्ख्य चमत्कारहरूले भरिएका छन् । ती सबै कथाहरूमध्ये एक विशेष कथा समुद्र मन्थन र भगवान् शिवले समुद्र मन्थनबाट निस्केको हलाहल (कालकूट) नामक घातक विष पिएको कथा हो । देवी पार्वतीले उनको घाँटीमा रहेको विषलाई नियन्त्रण गरी शरीरभर फैलिनबाट रोक्दा उनको घाँटी नीलो भएको हुनाले शिवलाई नीलकण्ठेश्वर वा निलो घाँटी भएको देवता भनिएको हो । यो प्रसङ्ग भगवान् शिवसँग सम्बन्धित भए पनि यो आलेख भगवान् विष्णुसँग सम्बन्धित छ ।
काठमाडौं उपत्यकामा भगवान् विष्णुसँग सम्बन्धित बुढानीलकण्ठ अर्थात् ‘बुढा-नीलो-गला’ नामको पवित्र स्थान छ । एक पवित्र मन्दिरका रूपमा बुढानीलकण्ठ नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरूमा पर्ने गर्छ । बुढानीलकण्ठ मन्दिर भगवान् विष्णुका भक्तहरूमाझ नेपालमा मात्र नभई सम्पूर्ण दक्षिण एसियामै लोकप्रिय मन्दिरको सूचीमा पर्दछ । ११ वटा सर्प (शेषनाग)ले घुमाउरो गरी घेरिएको ब्रह्माण्ड, समुन्द्र जस्तो सानो पोखरीमा तैरिरएर सुतेको विष्णुको मूर्ति रहेको छ । मन्दिर नारायणस्थान (भगवान् नारायण अर्थात् विष्णुको घर भनिने ठाउँ) मा अवस्थित छ । पहिला १२ वटा शेष नागको टाउकोले शिर घेरिएको थियो भने अहिले शेष नागको ११ टाउकोले मूर्तिको शिरलाई सुशोभित बनाएको छ । एकपटक राजा आउँदा एक नागले राजालाई लखेट्ने क्रममा बाहिर निस्किएको बुढानिलाकण्ठका सुरज आचार्य बताउँछन् । उक्त नाग अहिले पनि मन्दिर नजिक देख्न सकिन्छ । उक्त नागलाई अहिले मन्दिरको दक्षिणपट्टिको गेट छेउमा देख्न सकिने उनले बताए ।
एउटै ढुङ्गामा भव्य रूपमा कोरिएको ५ मिटर लामो भगवान् विष्णुको मूर्ति १३ मिटर लामो पोखरीको बिचमा रहेको छ । यो मूर्तिलाई १४०० वर्षअघि लिच्छवी कालमा कुँदिएको मानिन्छ । प्रतिष्ठित धार्मिकस्थलकाे यो मूर्ति आश्चर्यजनक रूपमा पानीमा तैरिरहे झैँ लाग्छ । जुन नेपालकै सबैभन्दा ठुलो र सबैभन्दा सुन्दर ढुङ्गाले कोरिएको मूर्तिहरू मध्ये एक हो । हिन्दुहरू बाहेक यस मन्दिरमा बौद्ध अनुयायीहरूले पनि पूजा गर्ने गर्छन् । बुढानीलकण्ठको मूर्ति भगवान् बुद्धसँग मिल्दोजुल्दो छ । बाैद्धमार्गीहरू बुढानीलकण्ठलाई नीलकण्ठ लोकेश्वरको रूपमा पूजा गर्छन् ।
बुढानीलकण्ठ र भगवान् शिवसँग सम्बन्धित कुनै पनि कथाहरू भेटिएका छैनन् । यद्यपि, भगवान् विष्णुको मन्दिर बुढानीलकण्ठको पानी गोसाईंकुण्ड तालबाट उत्पत्ति भएको मानिएको कथा भने भेटिन्छ । गोसाईंकुण्ड पवित्र ताल भगवान् शिवसँग सम्बन्धित भएकाले यो कथाले थाेरै मात्रामा बुढानीलकण्ठसँग शिवको सम्बन्ध देखाउन सक्छ ।
बुढानीलकण्ठस्थित नारायण भगवान्को मूर्ति प्रसिद्ध र ऐतिहासिक मानिँदै आएको छ । मूर्तिमा देखिने भगवान् विष्णुका चार हातहरूले उनका दिव्य गुणहरूलाई प्रतिनिधित्व गरिरहेका छन् । जसमा मनको प्रतिनिधित्व गर्ने चक्र, चार तत्त्वहरूलाई प्रतिनिधित्व गर्ने शङ्ख (शङ्ख), चलिरहेको ब्रह्माण्डको प्रतिनिधित्व गर्ने कमलको फूल र आदिम ज्ञानको प्रतिनिधित्व गर्ने कौमोदकी रहेका छन् ।
यस मन्दिरको निर्माणसँग सम्बन्धित कयौँ रोचक कथाहरू छन् । तीमध्ये एक किंवदन्ती लिच्छवी वंशका राजा भीमार्जुन देवको पालामा काठमाडौं उपत्यका गएका गुप्त वंशका राजा विष्णुगुप्तले यस पवित्र मूर्तिलाई काठमाडौं उपत्यका बाहिर कतै बनाउन लगाएको पछि हालको स्थानमा ल्याएको भनिने गरिन्छ ।
अर्को कथा अनुसार धेरै पहिले त्यहाँ एक किसान र तिनकी पत्नी बस्थे । उनीहरू त्यहाँका केही जग्गामा खेतीपाती गर्थे । एकदिन उनीहरू आफ्नो जमिन जोतिरहेका थिए । जोत्दै जाँदा उनीहरूले एक विशाल मूर्तिको रूपमा आकृति भेटे । उक्त मूर्ति भगवान् विष्णुको मूर्ति हो भन्ने विश्वास गर्दै मूर्तिलाई स्थापना गरे । बुढानीलकण्ठका बारेमा यस्ता थुप्रै कथा किंवदन्ती भेटिन्छन् ।
बुढानीलकण्ठ मन्दिरमा जानका लागि राजाहरूलाई श्राप दिएको किंवदन्ती पनि छ । राजाहरू भगवान् विष्णुको अवतार मानिने तथ्यका बाबजुद पनि नेपालमा शासन गर्ने सम्राट्हरूलाई बुढानीलकण्ठ मन्दिरमा जान निषेध गरिएको थियो । भनिन्छ, मल्ल कालीन राजा प्रताप मल्लले कुनै दर्शन वा सपना देखेका थिए । जसअनुसार मन्दिरमा गएका राजाको मृत्यु अवश्य हुन्छ । यही सपनाको विश्वाससँग राजाहरू बुढानीलकण्ठ जाँदैनथे । प्रताप मल्लपछि नेपालमाथि शासन गर्ने कुनै पनि राजाले यस मन्दिरको दर्शन गरेनन् ।
बुढानीलकण्ठमा हरिशयनी र हरिबोधिनी जस्ता एकादशीमा विशेष मेला लाग्छ । त्याे बाहेक कार्तिक र वैशाख महिनाभर यो मन्दिरमा मेला लाग्ने गरेको छ । भगवान् विष्णुको निद्रासँग सम्बन्धित मानिने विश्वास गरिएको चार महिनाको अवधिलाई चित्रित गर्ने दुई महान/शुभ एकादशीहरूमा हजारौँ तीर्थयात्रीहरूको ठुलो भीड मन्दिरमा देख्न सकिन्छ ।
हरिशयनी एकादशीले चतुर्मासको प्रारम्भलाई चिन्ह लगाउँछ, हिन्दु क्यालेन्डरमा आषाढ महिनादेखि कार्तिकसम्म चार महिनाको अवधि भगवान् विष्णु हरिबोधिनी एकादशीसम्म शेषसायी भएर निदाउँछन् । हरिबोधिनी एकादशी हिन्दु महिना कार्तिकको ११ औँ दिनमा पर्छ र सुतिरहेका भगवान् विष्णुलाई जगाउनको लागि मनाइन्छ ।