बिहिबार , मंग्सिर ६, २०८१

बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ काे उपलब्धि के हाे ?

image

बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ लुम्बिनीमा आयोजित दोस्रो ‘बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३’ गत शनिवार (वैशाख ३० गते) सम्पन्न भयो । लुम्बिनी, कपिलवस्तु, रामग्रामसहितको नेपालको बुद्ध सर्किट लगायत बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने र ती स्थानमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सघाउने लक्ष्यसहित (वैशाख २८–३०) तीनदिने मार्ट आयोजना गरिएको थियो ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)काे संयाेजनमा मार्टको आयोजना गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा १६ सदस्यीय मार्ट मूल आयोजक समिति गठन गरेको थियो । मार्टको आयोजना गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत डेढ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

वैशाख २८ गते लुम्बिनीस्थित मायादेवी मन्दिरमा विशेष पूजासहित लुम्बिनी विकास कोषमा उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले मार्टको उद्घाटन गरे । मार्टका अन्य कार्यक्रमहरू लुम्बिनीस्थित होटल पवन प्यालेसमा सम्पन्न भयो । दर्जन बढी देशका करिब तीन दर्जन ट्राभल एण्ड टूर अपरेटरहरू मार्टमा सहभागी भए । स्वदेशी र विदेशी पर्यटन व्यवसायीहरूबीच ‘बिजनेस टु बिजनेस टक’ पनि भयो । सेमिनारमा नेपाली र विदेशी बुद्धिस्ट स्कलरहरूले बुद्ध दर्शन, बुद्ध जीवनी, बुद्धिस्ट पर्यटन, बुद्धिस्ट सर्किट, क्रस बोर्डर टुरिजम, बाैद्ध धर्मावलम्बी देशहरूबीचको सहकार्य लगायत विषयमा पेपरहरू प्रस्तुत भयो । सम्बन्धित विषयमा विभिन्न सेसनमा छलफलहरू भए । “एक्सप्लाेर द बुद्धल्याण्ड, गेट वे टु बुद्धिस्ट सर्किट”  भन्ने नारासहित मार्ट आयोजना गरिएकाे हाे ।

मार्टमा विदेशी पाहुनाहरू, विदेशी ट्राभल / टूर कम्पनीका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधिहरू, नेपाल पर्यटन बोर्डका अधिकारीहरू, नाट्टा सदस्य कम्पनी, ट्रेकिङ एजेन्सीज एशाेसिएसन अफ नेपाल (टान), नेपाल  एशाेसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटाेफ नेपाल), हाेटल एशाेसिएसन अफ नेपाल (हान) लगायत  पर्यटन सम्बद्ध सङ्घ / संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू सहभागी भए ।

बुद्धको जन्मस्थल र शान्तिको मुहान लुम्बिनीलाई बौद्ध परिक्रमाको सुरुआत विन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र नेपालमा रहेका अन्य बौद्ध स्थलहरूमा पर्यटक बसाइ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज भ्रमण विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय सञ्जाल गतिविधिलाई प्राथमिकता दिने, बुद्धसँग सम्बन्धित चार प्रमुख पवित्रस्थल नेपालको लुम्बिनी र भारतमा पर्ने बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूसँग विस्तार गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा कनेक्टिभिटी प्रवर्द्धन र विस्तार गर्ने लगायत सात बुँदे घोषणापत्र जारी गर्दै मार्ट सम्पन्न भयो ।

तर, करोडौँ रुपैयाँ खर्च गरेर आयोजना गरिएको मार्टको उपलब्धिमाथि भने स्वयम आयोजक समिति तथा संस्थाकै जिम्मेवार अधिकारीहरूले नै प्रश्न उठाएका छन् । खासगरी कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी पाएको संस्था नाट्टा नेतृत्वको कमजोरीका कारण मार्ट उपलब्धिमूलक हुन नसकेको उनीहरूले बताएका छन् ।

नाट्टाका निवर्तमान अध्यक्ष एवम् बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टका संस्थापक अच्युत गुरागाइँले मार्टको समापन पश्चात् समीक्षा गर्दै भने, “पहिलो एडिसन २०१९ को भन्दा वेटर गर्न सकिएन यसपालि । पहिला नेपालमा पनि ट्राभल मार्ट हुन्छ र ? भन्ने प्रश्न उठ्ने गर्थ्याे । हामीले पहिलो मार्ट सम्पन्न गरेपछि सम्भव हुने रहेछ भन्ने पुष्टि भएको थियो । तर, सक्षम नेतृत्व चाहिन्छ भन्ने चाहिँ देखियो ।”

अच्युत गुरागाइँ, निवर्तमान अध्यक्ष, नाट्टा, संस्थापकः बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट

नाट्टाको वर्तमान नेतृत्वले समन्वयकारी भूमिका खेल्न नसक्दा मार्टप्रति स्थानीय व्यवसायीमा वितृष्णा पैदा भएको गुरागाइँले ठहर गरे । उनले भने, “एयरपोर्टमा आउँदा खुसी भएर स्वागत गर्न आउँलान भन्ने सोचेको थिएँ । तर, उल्टै कालो झण्डा देखाउन आउन लागेको थाहा पाएँ । यसमा मुख्य त समन्वयको अभाव देखियो । नाट्टाको वर्तमान कार्यसमितिले समन्वय र जिम्मेवारी बाँडफाँड गर्न जानेन । यहाँका स्थानीय पर्यटन व्यवसायी, हान, नाट्टालाई जिम्मेवारी दिनुपर्ने थियो । मैले पहिलो एडिसन गर्दा यहाँको नाट्टा लुम्बिनीको सिनियर भाइसप्रेसिडेन्टलाई कार्यक्रम संयोजक बनाएको थिएँ । कमिटी बनेको थियो । यसमा अहिलेको नाट्टा नेतृत्व चुक्नुभयो । उहाँहरूले पहिलाको फाइल हेर्नुपर्ने थियो । अब अर्को एडिसन गर्दा चाहिँ यहाँको हान, नाट्टा लगायत सम्बन्धित सबैलाई समेटेर कार्यक्रम गर्नुपर्छ र गर्नुस् भन्ने सुझाव पनि दिन चाहन्छु ।”

मार्ट थप उपलब्धिमूलक हुन नसक्नुमा प्राइभेट सेक्टरको मात्रै नभई पर्यटन मन्त्रालय, त्यसको नेतृत्व, पर्यटन बोर्डकै कमजोरी रहेको गुरागाइँले बताए । “यहाँ त के कुरा गर्नु, पर्यटन मन्त्री, विभागीय मन्त्रीले नै पर्यटन बुझेको छैन । पर्यटनमन्त्रीलाई एक महिना अगाडिदेखि फलो गरेको, मार्ट उद्घाटन गर्न आउनुभएन । यत्रो अन्तर्राष्ट्रिय ट्राभल मार्टमा आएर बोल्न चाहनुभएन । तर, काठमाडौंमा एउटा रुद्राक्ष बेच्नेहरूको एशोसिएसनको चिफ गेस्ट बन्न जानुहुन्छ । अनि यत्रो इन्टरनेशनल ट्राभल मार्टमा आएर बोल्न चाहनुहुन्न भनेपछि यसले के देखाउँछ भने अझै पनि बुद्धि आएको छैन ।” उनले भने ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मार्टको उद्घाटन गर्ने तय भएको थियो । तर, अन्तिम समयमा नक्कली भुटानी शरणार्थी प्रकरण र केन्द्रको राजनीतिक घटनाक्रमलाई कारण देखाएर मुख्यमन्त्री चौधरी मार्ट उद्घाटन गर्न उपस्थित भएनन् । तर, नाट्टाको केन्द्रीय नेतृत्व र मार्ट आयोजक समितिसँग असन्तुष्ट स्थानीय पर्यटन व्यवसायीको आग्रहमा मुख्यमन्त्री चौधरी मार्ट उद्घाटन  गर्न नआएको आयोजक समितिका एक सदस्यले बताए । स्रोतका अनुसार सन् २०१९ मा आयोजित पहिलो मार्टको भुक्तानी नपाएका कारण स्थानीय व्यवसायीले विरोध जनाएका हुन् । भैरहवास्थित टाइगर टप्समा पहिलो मार्ट आयोजना गरिएको थियो । कतिपय पाहुनाहरू अन्य होटलमा पनि बसेको र उनीहरूले गरेको खर्च अझै भुक्तान नभइसकेको स्राेतले बताए । आफूहरूको यसअघिको बाँकी भुक्तान पाउनुपर्ने माग राख्दै स्थानीय व्यवसायीले मार्ट बहिष्कार गरेका हुन् ।

यस्तो अवस्था सिर्जना हुनुमा पर्यटन मन्त्रालय, पर्यटनमन्त्री, मन्त्रालयका सचिव, पर्यटन बोर्डको कमजोरी रहेको गुरागाइँको भनाइ छ ।
“हामीले मार्टको आयोजना गरेपछि ब्रान्डिङको लागि किताब छाप्छौँ, विभिन्न माध्यमबाट प्रचार गर्छौँ, पत्रकार, पाहुना, किनोट स्पिकर, सङ्घसंस्थाका प्रतिनिधि बोलाउँछौँ । उहाँहरूलाई यातायातको व्यवस्था, खानपान, बसोबासको व्यवस्था गर्छौँ । यसको खर्च सरकारले व्यहोर्नुपर्छ अनि बल्ल कार्यक्रम सफल हुन्छ । नेपालको प्रोमोशन हुन्छ”, उनले भने, “म पर्यटन मन्त्रालय, मन्त्रीज्यू र सचिवज्यूहरूलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, नेपालको पर्यटन प्रवर्द्धनका लागि खर्च गर्न कन्जुस्याइँ नगर्दिनुस् ।”

पर्यटन बोर्डको कार्यविधि संशोधन गर्नुपर्ने, बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिको चयनमा पुनर्विचार गर्नुपर्ने र नाट्टाले आफ्नो कार्यशैली बदल्नुपर्ने उनको धारणा छ । “बोर्डको कार्यविधि कामै छैन । रद्दीको टोकरीमा फाल्नुपर्ने छ । अनि अर्काेकुरा अहिले पर्यटन निजी क्षेत्रको प्रतिनिधित्व गर्ने चार जनाको कामै छैन । निजी क्षेत्रको प्रतिनिधित्व गर्न सकेका छैनन् । बोर्डको कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी मात्रै निजी क्षेत्रको जस्तो देखिएको छ । जो आफै अर्धसरकारी मान्छे हो । प्राइभेट सेक्टरबाट गएका चार जनाले यस्तो कार्यक्रम गर्नलाई बजेट दिनलाई कन्जुस्याइँ गरिरहेका छन्”, गुरागाइँले भने, “अब नेपाल सरकार पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र निजी क्षेत्रले सहकार्य गर्न सक्ने खालका नयाँ नीति नियम बनाउन जरुरी छ । अब अर्को एडिसनको मार्टलाई सफल बनाउन नाट्टाले आफ्नो कार्यशैली फेर्नुपर्छ । यसले सबैसँग समन्वयकारी भूमिका खेल्न सक्नुपर्छ । पर्यटन बोर्डको बजेटको मात्रै भर नपरी अन्य स्रोत खोज्न सक्नुपर्छ । नाट्टा आफैँमा डिपेन्डेन्ट हुन सक्यो भने उसले चाहेको जस्तो कार्यक्रम गर्न सकिन्छ ।”

बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टका कन्सलट्यान्ट प्रो. डा. हिमलाल गिरीले पनि मार्टको तयारीमा नाट्टा नेतृत्व चुकेको बताए । मार्टको तयारीका लागि समयको व्यवस्थापन गर्न नसकिएको उनले बताए ।

प्राे. डा. हिमलाल गिरि, कन्सल्टयान्टः बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट, पर्यटन विज्ञ

“उहाँहरूले अलि अगाडिदेखि नै तयारी थाल्नुभएको रहेछ । तर, मलाई एक महिनाअगाडि मात्रै जानकारी आयो । एक महिनाको अवधिमा सोभेनियर पब्लिकेसनदेखि स्पिकर, प्रिजेन्टर सबै मैले नै व्यवस्था गर्नुपर्ने थियो । छोटो अवधिमा धेरै काम गर्नुपर्ने भयो । तैपनि मेरो पर्सनल रिलेसनका कारण सहज भयो । किनोट स्पिकर, प्रिजेन्टरहरु सबै तयारी गरेर उहाँहरूको आर्टिकल पेपर पनि सोभेनियरमा इन्क्लुड गर्न सकेँ”, डा. गिरीले भने, “अहिले स्कलरहरू व्यक्तिगत सम्पर्कबाट मात्रै आएका छन् । यस्ता किनोट स्पिकर, प्रिजेन्टरहरू, विजनेशम्यानहरूलाई ल्याउने हो भनेदेखिन् उहाँहरूलाई ६ महिना अगाडि नै निमन्त्रणा दिनुपर्छ । अनि मात्रै स्कलरहरूले राम्रो पेपरहरू तयार पार्न सक्छन् । बीजनेशम्यानहरूले समय मिलाउन सक्छन् । भैहाल्छनी भन्ने खालको मानसिकताले हुँदैन । समयको पावन्दी बुझ्नुपर्छ ।”

उनले मार्ट आफूले परिकल्पना गरेको जस्तो भव्य र सफल हुन नसकेको बताए । “यहाँ यत्रो ट्राभल मार्ट आयोजना भएपछि विभिन्न देशमा चार पाँच वटा चार्टर फ्लाइट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड होला, जापान, थाइल्यान्ड, कोरिया, म्यानमारबाट, श्रीलङ्काबाट पाँचसय–हजार जना बाइएर सेलर यहाँ जम्मा होलान् भन्ने मेरो परिकल्पना थियो । तर, त्यसो भएन ।” उनले भने ।

रचना पन्त, अध्यक्ष, नाट्टा लुम्बिनी

नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले नाट्टा केन्द्र र मार्ट आयोजक समितिले आफूहरूलाई कुनै जिम्मेवारी नदिएको दुखेसो पोखिन्, “समग्रमा बिआइटिएम–२०२३ सफल भएको छ । तर, यसमा नाट्टा लुम्बिनीको भूमिका छैन । पर्यटन मन्त्रालयका सचिवज्यूको संयोजकत्वमा गठन भएको मार्ट आयोजक कमिटीमा मेम्बरहरूलाई हामीले चिनेका छैनौँ । हामीलाई कुनै जिम्मेवारी दिनुभएन । हामीलाई नाट्टा केन्द्रले “हामी आउँदै छौँ, तपाईँहरू तयार हुनुस्” मात्रै भन्नुभयो । हामीले सोही अनुरूप गर्‍यौँ ।” उनले थप भनिन्, “अब तेस्रो मार्टको व्यवस्थापनको जिम्मा नाट्टा लुम्बिनीलाई दिनुपर्छ । इन्टरनेशनल गेस्ट, स्पिकर, प्रिजेन्टर ल्याउने जिम्मा नाट्टा केन्द्रले लिनुपर्छ । गेस्ट, स्कलर, पार्टिसिप्यान्टको नम्बर हामीलाई फिक्स गर्नुपर्छ । उहाँहरूलाई समयमै निमन्त्रणा वा जानकारी दिएर फिक्स गर्नुपर्‍यो । यो कार्यक्रम लुम्बिनीका जनताले अनुभूति गर्न पाउनुपर्छ । त्यसरी कार्यक्रम गर्नुपर्‍यो ।”

लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा. मानिकरत्न शाक्यले बुद्ध र लुम्बिनीसँग जोडिएको मार्टमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई समावेश गर्न नसक्नु दुःखद भएको बताए । “यस्तो बुद्ध र लुम्बिनीसँग सम्बन्धित सेमिनारमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई पनि समावेश गर्नुपर्थ्यो। हामी पनि केही सहयोग गर्न सक्थ्यौँ । यसपटक बिर्सनुभयो । अर्को पटकको बिआइटिएममा सम्झनुहोला ।” उनले भने ।

डा. मानिकरत्न शाक्य, डिन, लुम्बिनी बाैद्ध विश्वविद्यालय

डा. शाक्यले मार्ट सेमिनारमा प्रस्तुत भएका कतिपय पेपरहरू तथ्यमा आधारित नभएको समेत टिप्पणी गरे । “यहाँ बुद्ध, बुद्ध दर्शन, लुम्बिनीसहित बुद्धसँग जोडिएका स्थलहरूबारे विभिन्न एकेडेमिक पेपरहरू प्रस्तुत भएका छन् । एकेडेमिक सेमिनार, एकेडेमिक कन्फरेन्स भनेपछि एकेडेमिक नै हुनुपर्छ ।  तर, यहाँ प्रस्तुत गरिएका कतिपय पेपरहरू एकेडेमिक छैनन्, तथ्यमा आधारित छैनन्”, उनले भने, “एकेडेमिक सेमिनारमा प्रस्तुत गरिने पेपरहरू लोजिकल, साइन्टीफिक, फ्याक्टबेस्ड, सिस्टेमेटीक हुनुपर्छ । धेरैजसो पेपरहरू छोटो समयमा पर्याप्त अध्ययनविना तयार पारेका जस्तो देखिन्छन् ।”

उनले बुद्धिस्ट ट्राभल मार्टमा बुद्धकाे दर्शन, यसकाे सान्दर्भिकता, उनकाे जीवनी लगायत विषयमा पर्याप्त छलफल नचल्नु अर्काे कमजाेरी भएकाे बताए ।

होटल पवन प्यालेसको कमजोर सेवा सुविधा

मायादेवी मन्दिरमा मार्टको औपचारिक उद्घाटनपछि बाँकी कार्यक्रमहरू लुम्बिनीस्थित होटल पवन प्यालेसमा भयो । तीनदिनसम्म होटलमा मार्ट, सेमिनार तथा छलफल चल्यो । यो होटल लुम्बिनी परिसरकै ठुलो पाँचतारे होटल हो । ठुलो कार्यक्रम भएकाले ठुलो होटल भेन्यु छानिएको मार्ट आयोजकले बताए । तर, होटलको सेवा र सुविधा भने सामान्य खाजा पसलको जस्तो थियो ।

हाेटल पवन प्यालेस, लुम्बिनी

सबैभन्दा लाजमर्दो कुरा त के भने पाँचतारे होटेलमा इन्टरनेटले कामै गर्दैन थियो । होटेल मापदण्ड २०७७ अनुसार पाँचतारे होटलको प्रत्येक कोठामा वाईफाइ इन्टरनेट राख्नुपर्छ । टेलिभिजन राख्नुपर्छ । तर होटल पवन प्यालेसको कोठामा वाईफाइ, टेलिभिजन त परको कुरा, ट्वाइलेटमा लगाउने चप्पल समेत थिएन । होटलको सर्भिस, खानाको गुणस्तर, इन्टरनेट, टेलिभिजन लगायतको असुविधा, बाथरुम, वाथटप लगायत विषयलाई लिएर विदेशी पाहुनाहरूले असन्तुष्ट जनाइरहेका थिए । मार्ट आयोजक समितिका सदस्यहरू नै भेन्यु छनौट गर्ने टिमलाई गाली बर्षाइरहेका थिए ।

होटलको सेमिनार हलमा पानीको पिउने पानीको सर्भिस थिएन । चिया, कफी टाढाको कुरा । सेमिनारभरी नै चिया कफीको सर्भिस नै थिएन ।
होटल पवनका भाइस प्रेसिडेन्ट सुरज थापाले छोटो समयमा तयारी गर्नुपरेकाले कमीकमजोरी भएको हुनसक्ने बताए । “हामीले छोटो समयमा तयारी गर्नुपर्‍यो । यो होटेलमा कार्यक्रम हुन्छ या हुँदैन भन्ने स्योर थिएन । तैपनि हामीले तयारी थालेका थियौँ ।”

सेवा र सुविधा बेच्नका लागि खोलिएको पाँचतारे होटलले अन्तर्राष्ट्रिय पाहुना सम्मिलित कार्यक्रममा दिएको यस्तो कमजोर सेवाले नेपालको हस्पिटालीटी इन्डस्ट्रीमाथि नै प्रश्न उठेको छ । सेवा र सुविधाको उपलब्धतामा भन्दा पनि सजिलैसँग पैसा कमाउनमा मात्रै केन्द्रित भएको होटेल पवनको कमजोर सेवाले पुष्टि गरेको छ । अरबौँ रुपैयाँ लगानीमा स्थापना गरिएको होटलले सेवा र सुविधाको उपलब्धतामा ध्यान दिन जरुरी छ । अन्यथा कुनै पनि पाहुना होटल दोहोरिएर आउने छैनन् ।

मार्टकाे उपलब्धि के हाे ? 

व्यवस्थित ढङ्गले सञ्चालन गर्न नसक्दा कराेडाैँ रूपैयाँ खर्च गरेर आयोजना गरिएको मार्टकाे उपलब्धि र औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएकाे छ । मार्टसँग सम्बन्धित सबै सराेकारवालाहरूलाई समेटेर समन्वय गर्दै सञ्चालन गर्न नसके उपलब्धि हातमा लाग्याे शून्य ! भने जस्ते हुने देखिन्छ । उपलब्धिलाई नजरअन्दाज गरेर राज्यकाे ढुकुटी रित्याउने काम मात्रै हुने हाे भने यस्ता मार्टहरू सञ्चालन गर्नुकाे अर्थ रहँदैन ।

बिआइटिएमका मिडिया काेअर्डिनेटर एवम् पत्रकार विष्णु विवेकले अनेकन चुनाैतीबीच बिआइटिएमकाे दाेस्राे एडिसन सञ्चालन गर्न सक्नु नै उपलब्धी भएकाे बताए ।

“सन् २०१९ मा पहिलाे एडिसन भएपछि काेभिड महामारी लगायत कारणले अर्काे एडिसन हुन सकेकै थिएन । अहिले दाेस्राे एडिसन सम्पन्न भयाे । अनेक कठिनाइका बावजुद मार्टलाई निरन्तरता दिन सक्नु नै अहिलेकाे उपलब्धि हाे”, उनले भने, “कमीकमजाेरीहरू भए हाेलान्, तैपनि दर्जनबढी देशका टूर अपरेटरहरू, स्कलरहरू, पाहुनाहरू ल्याएर कार्यक्रम गर्याैँ । यसलाई उपब्धि नै मान्नुपर्छ ।”

सम्बन्धित समाचार