शुक्रबार , अषोज ४, २०८१

ब्रुमर चलाउन हतारिएका बालेन !

'काठमाडौंको धुलोको समस्या सडकमा मात्रै छ' जस्तो लागेको महानगरले ब्रुमर चलाउन हतारो गरेको छ । धुलो र फोहोरका मुहानको उचित व्यवस्थापन नगरी सडकको धुलोलाई मात्र कुचो लाउँदैमा काठमाडौंको वायू श्वास फेर्न योग्य हुँदैन ।

image

वातावरण कुनै एक स्थान वा देशको मात्र सरोकारको विषय नरही हाल विश्वव्यापी चासोको विषय भएको छ । वातावरण प्रदूषणले एक स्थानका मानिस मात्र होइन, जनावर र बिरुवा वनस्पतिसमेतलाई असर पार्दै जाने कुरामा दुई मत हुन सक्दैन । वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा विभिन्न सम्मेलनहरूबाट चासो दिइनुको कारण पनि यही नै हो ।  वायुको प्रदूषण नियन्त्रणमा प्रत्येक व्यक्तिले चासो राख्नु पनि स्वाभाविक कुरा नै हो ।

सहरीकरणको तीव्र रफ्तार समातेको काठमाडौं उपत्यकामा निर्माणाधीन कार्यहरूमा प्रयोग हुने उपकरण, सवारीसाधनको बढ्दो छाप, मेसिन, सार्वजनिक सडकमा जम्मा हुने धुलो, अवैज्ञानिक सडक विस्तार,आधुनिक प्रविधिको जथाभावी प्रयोग, निर्माणाधीन आयोजनाको भद्रगोल व्यवस्थापन लगायतका कारण धुवाँ-धुलो बढी वायू प्रदुषण बढीरहेको छ । काठमाडौंको प्रदूषित वायूलाई हावाले सजिलै एक स्थानबाट अर्को स्थानमा उडाएर लागिरहँदा उपत्यकाको कुनै ठाउँ पनि प्रदूषणबाट अछुतो छैन । यस्ता प्रदूषित धुवाँमा नाइट्रोजन अक्साइड, कार्बन मनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेड सल्फेट, एमोनिया, धातुको टुक्रा, कार्बन तथा प्लास्टिकका टुक्राहरू समेत मिसिई काठमाडौंको वायूमण्डल विषाक्त बन्न पुगेको छ । काठमाडौं उपत्यकाको भू-बनावटको कारणले सो प्रदूषण कचौरा आकारको उपत्यकाबाट बाहिर जान सकिरहेको छैन, जसकारण काठमाडौंमा विश्वकै प्रदूषित शहरको सूचीमा एक नम्बर उक्लिरहन्छ र राजधानीको हावा सास फेर्न अयोग्य रहेको प्रमाणित भइरहन्छ ।

स-साना कणमध्ये १० पिएम देखि २.५ पिएम सम्मका धुवाँधुलोका कणहरू नाक र घाँटीसम्म पुग्ने गर्दछ, जसको कारण कालो खकार आउने र नाक टालिने समस्या  उपत्यकावासीमा बढ्दै गइरहेको छ । २.५ पिएम सम्मको धुवाँ धुलोका कणहरू फोक्सोमा जाँदा मानिसहरूलाई दम, खोकीलगायतका फोक्सोमा लाग्ने रोगहरू लाग्ने गर्दछन् ।  यसैगरी, हावामा मिसिएका ०.५ पिएम भन्दा साना धुवाँ धुलोका कणहरू सोझै रक्त सञ्चारमा मिसिई मुटुमा पुग्ने र मुटुसम्बन्धी विभिन्न प्रकारका रोगबाट बर्सेनि ९,९४३ मानिसहरूको मृत्यु वायु प्रदूषणको कारण हुने गर्दछ भन्ने प्रतिवेदन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको छ । यसरी नै, विश्वमा वायू प्रदूषणले पार्ने असर हेर्दा ७२ प्रतिशत मुटु रोग, १४ प्रतिशत दमखोकी, १४ प्रतिशत विभिन्न प्रकारको क्यान्सरजस्तो भयावह रोगका कारण मृत्यु हुने डब्लुएचओको अपडेटेड सेप्टेम्बर, २०१६ को प्रतिवेदनले बताएको छ ।

नेपाल सरकारले तोकेको मापदण्डविपरीत काठमाडौंमा पीएम १० को मात्रा १२५.५ माइक्रोग्राम प्रतिघन मिटरसम्म पुग्ने गरेको छ । यस्तै, पीएम १५१ माइक्रोग्राम प्रतिघन मिटरसम्म पुग्ने गरेको छ भने पीएम २.५ को मात्रा वायुमा ४० माइक्रोग्राम प्रतिघन मिटर हुनुपर्नेमा १२० प्रतिघनमिटर नाघेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचारहरू सम्प्रेषित हुँदै आइरहेका छन् ।

आकाशमा चर्को घाम लागिरहेकै बेला अचानक वर्षा हुनु, राजधानीका अस्पतालहरूमा बिरामीहरूको संख्या दिनहूँ बढिरहनु, आकाशे पानीको रंग छुट्टै देखिनु, बोटविरुवा र एतिहासिक धरोहरहरो क्षयउन्मुख हुनु जस्ता विकाराल समस्याहरूमा सम्बन्धित निकाय ध्यान ज्यान सकेको छैन ।

नेपालको कानून के भन्छ ?

वायू प्रदूषण न्यूनीकरणको सन्दर्भमा पनि नेपालको संविधान तथा कानूनले तोकेको संवैधानिक तथा कानूनी दायित्व र कानूनमा स्पष्ट भएको  कुरा उल्लङ्घन भएको प्रस्ट देखिन्छ ।

नेपालले विभिन्न समयमा विश्वसामू अनुबन्धित भएको तथा हस्ताक्षर गरेका महासन्धिहरूको अन्तर्राष्ट्रिय वातावरणीय प्रचलित सिद्धान्तहरू प्रिन्सिपल ओफ प्रिभेन्सन एक्सन (Principle of Preventive action), परीक्याजिउनरी प्रिन्सिपल (Precautionary principle), पोल्यूटर-पे प्रिन्सिपल (Polluter-pay principle) को विपरीत हुने गरी तथा एड्क्वेट एप्लिकेसन ओफ इन्भायरोमेन्टल टेक्निक (Adequate Application of Environmental Technique) हरूको प्रयोग नगरी गरिने निर्माणको कार्य गर्दै आइरहेको छ, जसले सरासर  अन्तर्राष्ट्रिय वातावरणीय मूल्य मान्यताको उल्लङ्घनतर्फ नेपाल मैमत्त हुँदै गएको प्रष्ट हुन्छ ।

नेपालको संविधानको धारा ३० को उपधारा (१) र(२), वातावरण संरक्षण ऐन, २०५३ को दफा २ र ७, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा २ को उपदफा (छ), (य), (ण), स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ९६, नेपाल राजपत्र खण्ड संख्या १९ भाग ५ मिति २०६९।४।२९ गते प्रकाशित वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९, नेपाल राजपत्रको खण्ड ६२ संख्या २९ मिति २०६९।६।२९ गतेको वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ समेतले प्रदान गरेको नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्‍न पाउने संवैधानिक तथा कानूनी हकसमेत हनन हुँदै आएको छ ।

उपर्युक्त व्याख्या नेपालको सर्वोच्च अदालतको संयुक्त इजलास अन्तर्गत रही न्यायाधीश दीपकराज जोशी, तत्कालीन माननीय, वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. ले २०७४।९।३० मा परमादेश जारी गरेका थिए ।

वर्तमान अवस्था के छ त ?

नेपालको विभिन्न कानुनी व्यवस्थालाई आधार मान्दा कानुनी रूपमा नेपाल वातावरणको पक्षमा सचेतताको साथ उभिएको देखिन्छ । विडम्बना, जबजब कानुनलाई कागजबाट प्रयोगको चरणमा पुग्छ तबतब उहीँ पुरानो नेपाली उखान ‘जति जोगी आए कानै चिरिएका’ हुन् पुग्छ ।

अहिले देशको राजधानी  धुँवाधुलोको पर्यायवाची शब्द जस्तै भएको छ ।  झन्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले  २०७५ चैत १२ गते बाट काठमाडौंका सडकको धुलोमा आधुनिक कुचो लगाउन सुरु गर्‍यो । त्यसको केही समय पछि जेठ १७, २०७६ मा चीनले काठमाडौंको चिन्ता लिँदै २ वटा ब्रुमर अनुदानमा दियो ।

काठमाडौं महानगरको फेरि आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित गर्दै गर्दा पत्रकार सम्मेलनमा दुईवटा ब्रुमर ल्याउने तयारीमा रहेको बतायो । नीति तथा कार्यक्रममा काठमाडौं सहरलाई, ‘नो मास्क सिटी’का रूपमा विकास गर्न अत्याधुनिक ब्रुमरहरूको प्रयोगलाई प्रभावकारी बनाउने छौँ भन्यो ।  ‘ब्रुमरले उठाइएको धुलोलाई प्रशोधन गरी नयाँ वस्तु उत्पादन गर्न अध्ययन गर्ने छौँ’ पनि भन्यो । यतिखेर प्रत्येक नेपालीको मनमा अर्को नेपाली उखानले वास् गरेको छ, ‘जो चोर उसैको ठूलो स्वर ।’

आजको  अवस्थामा आइपुग्दा काठमाडौं महानगरले फेरि अर्को सूचना निकालेको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले निष्क्रिय रहेका यान्त्रिक कुचो (ब्रुमर) लाई पुन: सडक सफाईमा उतार्ने बताएसँगै काठमाडौंका मुख्य सडकमा ब्रुमर चल्न सुरु भएको छ  ।  बुधबारदेखि ५ वटा ब्रुमरले काठमाण्डौं सफाइ गर्न थालेको र बिहीबारदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने बताइएको छ ।

‘काठमाडौंको धुलोको समस्या सडकमा मात्रै छ’ जस्तो लागेको महानगरलाई ब्रुमर चलाउन हतारो गरेको देखिन्छ । वातावरणविद्को चिन्ताजनक अनुहारले पटकपटक बताउँदै आएको छ कि काठमाडौंलाई वातावरणीय पक्षमा सुधार ल्याउनु पहिले काठमाडौं वरपरका उद्योग र कारखाना, इट्टा भट्टी, सिमेन्ट कारखानादेखि यातायात व्यवस्थापनतर्फ सचेत हुनुपर्दछ । धुलो र फोहोरका मुहान उचित व्यवस्थापन नगरी सडकको धुलोलाई मात्र कुचो लगाउँदैमा काठमाडौंको वायू श्वास फेर्न योग्य हुँदैन ।

सामान्यतया ब्रुमरले नभत्किएको कालोपत्रे भएको ठाउँमा सफा गर्छ । कालोपत्रे भएका साँघुरा सडकको धुलो पनि टिप्छ । तर हाम्रा अधिकांश मुख्य सडकमै धेरै खाल्डाखुल्डी छन् । जुन समयमा मर्मत पनि गरिँदैन । त्यसमाथि मुख्य सडकसँग जोडिएका धेरै सहयक बाटा हिलाम्मे हुन्छन् । जसले मुख्य सडकमा जति ब्रुमर चलाए पनि सवारीले सहयक सडकबाट हिलो ल्याउने गरेको पाइन्छ । महानगरका मुख्य सडकसँगै सहायक सडकको अवस्था पनि सुधार नगरी ब्रुमर चलाएर मात्र धुलो नियन्त्रण हुने अवस्था देखिँदैन । काठमाडौंको खाल्डाखुल्डीको मर्मतसम्भार नगरी ब्रुमर सडकमा निकाल्दा आधुनिक ब्रुमर दस दिनमा बिग्रन सकछ । फेरि त्यसको मर्मतमा महानगरले अर्को बजेट विनियोजन गर्नु पर्ने हुन्छ । यति बेला फेरि अर्को उखान भन्न मन लाग्छ, ‘औँसीमा किन्यो पूर्णेमा फाट्यो ।’

राष्ट्रिय योजना आयोगले प्रदूषणका कारण मुलुकमा पर्ने वित्तीय भारको विषयमा अध्ययन गर्न आयोग स्तरबाट कमिटी गठन गरेको थियो । वायू प्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १३० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब) नोक्सानी भएको आङ्कलन गरिएको छ । विश्व बैङ्कको २०१५ को तथ्याङ्कले यो तथ्य बाहिर ल्याएको हो । सन् २०३० सम्ममा नेपालमा वायु प्रदूषणको वित्तीय भार २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बैङ्कको अनुमान रहेको छ ।

यस तथ्यांकले के देखाउँछ भने वातावरण प्रदूषणले पार्ने आयाम केवल स्वास्थ्य नभएर, मानसिक, सामाजिक, आर्थिकदेखि प्राकृतिक हुने गर्दछन् । यी विषयमा पनि महानगर र अन्य सरकारवालको ध्यानाकर्षण होस् । अन्त्यमा, नेपालीले ‘रात राम्रो जुनले, मान्छे राम्रो गुनले’भन्ने दिन आओस्  । महानगरबासिन्दाले अबको पाँच वर्ष पछि ‘सँगैका साथी सिंहदरबार माथि’ भन्ने उखान सुन्न नपरोस् ।

सम्बन्धित समाचार