शनिबार , अषोज ५, २०८१

धादिङ्गको ब्रोम्दिङ डाँडा: मनोरम हिमश्रृङ्खलादेखि तराईसम्म नियाल्न पुग्नैपर्ने ठाउँ

image

धादिङका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा अर्को नाम थपिएको छ, ब्रोम्दिङ । बेनिघाट रोराङ गाउँपालिका–१ मा पर्ने ब्रोम्दिङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

डाँडा पाखा पखेरा हिमाल देखि तराईको भूभाग सम्म नियाल्नका लागि ब्रोम्दिङ डाँडा उचित गन्तव्य हो । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्गको गजुरी बजारदेखि करिव २५ किलोमिटरको दुरीमा रहेको डाँडामा सबै साना ठूला सवारी साधन लिएर पुग्न सकिन्छ । वडाकै सबैभन्दा ठूलो गाउँ जरुङ सम्म काठमाडौंदेखि दैनिक बस सञ्चालन हुन्छ । बसको आरामदायी यात्रा गर्न पनि सकिन्छ भने अन्य सवारी साधनबाट  पनि सजिलै पुग्न सकिन्छ । काठमाडौंबाट ६० किलोमिटरको दुरीमा रहेको गजुरी बजारबाट दक्षिणतर्फ २५ किलोमिटरको दुरी पार गरेपछि यो सुन्दर डाँडामा पुग्न सकिन्छ । राजमार्ग अन्तर्गतकै आदमघाट, घाटवेशी, मलेखु लगायतका बजारबाट पनि यो स्थानमा पुग्न सकिन्छ । मकवानपुर जिल्लाको थाहा नगरपालिकाको पालुङ बजार हुँदै जाँदा पनि यो डाँडामा पुग्न सकिन्छ । त्यसका लागि धादिङ्गको धुनिबेशी नगरपालिकाको खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै जानुपर्दछ । तर यो मार्ग हुँदै जाँदा लामो दुरी पर्दछ । डाँडा पाखा पखेरामा रमाउँदै यात्रा गर्नका लागि भने यो मार्ग पनि उत्तम हुन्छ ।

 

यस स्थानबाट उत्तरतर्फ लामबद्ध हिमश्रीङ्खला अवलोकन गर्न सकिन्छ । अन्नपुर्ण, माछापुछ्रे, गणेश, लाङटाङ, गौरीशंकर देखि सर्वोच्च शिखर सगरमाथाको चुचुरा आँखै अगाडी देख्न सकिन्छ । दक्षिणतर्फ बागमती प्रदेशको राजधानी हेटौडा देखि पर्साको विरगन्ज बजारलाई अवलोकन गर्न सकिन्छ । त्यसैगरी चितवनको भण्डारा बजार देखि गोरखाको मनकामना मन्दिर पनि यही डाँडाबाट देख्न सकिन्छ । काठमाडौंको चन्द्रागिरी र ललितपुरको फुलचोकी डाँडा पनि यसै स्थानबाट नियाल्न सकिन्छ ।

ब्रोम्दिङका जरुङ, थमभञ्ज्याङको सुन्दरता पनि नजिकैबाट हेर्न सकिन्छ ।

ब्रोम्दिङलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन ‘ब्रोम्दिङ पर्यटन महोत्सव’को आयोजना गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना, हिमाल मल्टिमिडियाको सहआयोजना, एक्सपल्स राइडर्स क्लबसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । प्रबर्द्वकका रूपमा नेपाल पर्यटन बोर्ड थियो ।

महोत्सवमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियासहित कलाकार, पत्रकार तथा आन्तरिक पर्यटकहरूको उपस्थिति थियो ।

ब्रोम्दिङसहित यस क्षेत्रलाई पर्यटकमाझ पुर्‍याउन महोत्सव कोसेढुङ्गा सावित हुने आयोजक अपेक्षा छ ।

हेरौँ ब्रोम्दिङ वरिपरिका सुन्दर तस्बिरहरू :

सम्बन्धित समाचार