झाँक्रीहरूले प्रेतात्मा पुज्ने र जीउमा प्रेतात्मा चढाउने चलन हिन्दु धर्मको अभ्यास विपरीत पनि थिएन । आखिर दैवी शक्तिलाई खुसी पार्न रगतको बलि दिने चलन दुवै धर्मको अभ्याससित मिल्दोजुल्दो थियो ।
मूर्तिकलाको वास्तविक मूल्याङ्कन गर्दा हामीले देश, काल, परिस्थिति र परम्परालाई बढी ध्यान दिनुपर्दछ । समयको शाश्वत प्रवाहमा प्रवाहित सुख-दुःख र उथलपुथलका परिणामलाई व्यक्त गर्दै यसले खास प्रकारको विशेषतालाई औँल्याउँदछ । (खनाल, नेपाली कला, पृ. ४) फेरि, सौन्दर्यको प्रकटीकरण तत्कालीन समय निर्देशित मात्रै नरही कलाकारको आन्तरिक प्रेरणाविशेष पनि रहने हुनाले त्यसमा स्फूर्ति, हर्ष एवम् उद्वेगका अंशहरू पनि देखिने नै भए, तर ती धार्मिक प्रभावको तुलनामा गौण छन् । धर्मकै प्रधानता रहेकाले नेपाली मूर्तिकलाको आधारस्तम्भ, अडिने टेको पनि धर्म, त्यसपछि संस्कृति र परम्परा रहेको कुरा माथि परिहाल्यो ।
यसकारण मूर्तिविज्ञान बुझ्नलाई शास्त्रीय पक्षलाई नजरअन्दाज गर्नै नमिल्ने अवस्थामा हामी आइपुगेका छौँ । अतः विष्णुविक्रान्तको मूर्ति बुझ्नुपूर्व हामीले केही कुरा नियाल्नु अनिवार्य भएको छ;
जसप्रकार शैव धर्मलाई परापूर्वकालदेखि चलेको मानिन्छ, सोही प्रकार परापूर्वकालीन वैष्णव धर्मको लागि नेपाल पनि उर्वर भूमि हुन् पुग्यो । यस कुरालाई लम्बेतान गर्नुपर्दा यसरी भन्नुपर्दछ,
नेपालमा प्राचीन राजनीतिक इतिहासमा सर्वप्रथम गोपालवंश, महिषपालवंश, किराँतवंश र लिच्छवीवंश देखिन्छन् । प्राचीनकालदेखि नै नेपालमा राजतन्त्रात्मक शासन पद्धति थियो नै तर, धार्मिक रूपमा के कसरी विभाजित थिए भनेर ठम्याउन चाहिँ कठिन छ । गोपालवंशमा कृष्ण काठमाडौं आएको बताइनाले वैष्णव, महिषपालमा दुर्गाले महिषासुर वध गर्नाले देवीपूजक शाक्त धर्म, किराँतहरू स्वभावतः शैव (झाँक्रीपन्थ) र लिच्छवीहरूमा ज्यादातर बौद्ध, त्यसपछि शैव एवम् वैष्णव मतावलम्बीहरू रहेको अनुमान गर्न सकिन्छ । यो गहनतम विषय छ । गोपालहरू कृष्णसँग आएका व्यक्तिहरू होइनन् भन्नेदेखि महिषासुर सहादत दिवसको प्रसङ्गसम्म यहाँ जोड्नुपर्ने हुन्छ, सोही कारण यता गइएन । अर्कोतर्फ, गाणपत्य, शाक्त, सौर (सूर्य), वैष्णव तथा शैव धर्मलम्बीहरू उपासक सम्प्रदाय अन्तर्गत पर्दछन्, जसले एकै ‘परमात्मा’को पृथक् पाँच भावमा विभाजित भई उपासना गर्दथे र गर्दै आइरहेका छन् ।
पहिलो कुरो, नेपालको धार्मिक इतिहास सदैव शान्तिपूर्ण छैन । यसो हुनुमा प्राचीन तथा मध्ययुगिन इतिहास ब्राह्मणद्वारा लेखिनु र उनीहरू गङ्गा मैदानको हिन्दु विश्व दृष्टिकोणबाट प्रभावित (स्वार्थजनित) हुनु, लिच्छवीहरूको समयमा जनजाति समुदायहरू छिटोछिटो परिवर्तनको प्रक्रियाबाट गुज्रिनु एवम् तिब्बतसँग उनीहरूको सांस्कृतिक र आर्थिक सम्बन्ध रहनु मुख्य: कारण हुन् ।
दोस्रो कुरो, गङ्गा मैदानको हिन्दु धर्म र नेपालमा रहेका अरू धार्मिक परम्पराबिचको द्वन्द्वबारेका प्रसङ्गहरू धमिलो पारिएको बताउने क्रममा डोरबहादुर विष्टले केही उदाहरण अघि सारेका छन्, जसअनुरूप- ‘पाशुपत-शैव किराँतहरूलाई लिच्छवीहरूले धपाएको, बौद्ध धर्मावलम्बीहरूलाई शैव र वैष्णव हिन्दूले दबाएको, तहगत जात प्रथा विरुद्ध घण्टाकर्णको विद्रोह राम्रोसँग अभिलेखीकरण भएको छैन । बाबुराम आचार्यको हवाला दिँदै उनले पशुपतिनाथ मन्दिरमा दक्षिण भारतको शैव पुरोहितको नियुक्ति र पछिल्ला लिच्छवी राजाहरूले विष्णुको पूजा गर्न अस्वीकार गरेका प्रसङ्गहरूले नेपाली समाजको तत्कालीन अशान्तिलाई जनाएको’ बताएका छन् (विष्ट, भाग्यवाद र विकास, पृ. ३१) ।
सुरुवातमा खटपट भएता पनि पछि आएर यस भेगमा वैष्णव धर्म र शैव धर्म समानान्तर रूपमा चलेको पाइन्छ । नवआगन्तुक बाहुनद्वारा सुरु गरिएको हिन्दु धर्म र स्थानीयरूपमा प्रचलित झाँक्रीपन्थबीच आपसी सहयोग विकसित हुनु आवश्यक पर्यो । यो आवश्यकता कारण ‘दुवैलाई आफ्नो धर्ममा अर्को पक्षको धर्म पनि सम्मिलित छ भन्ने विश्वास जागृत हुनु’ रहेको विष्टको मत छ । उनले पुरोहित र जजमानको एकापसमा सम्बन्ध विस्तारमा प्रस्टाउँदै अगाडी लेखका छन्, ‘झाँक्रीहरूले प्रेतात्मा पुज्ने र जीउमा प्रेतात्मा चढाउने चलन हिन्दु धर्मको अभ्यास विपरीत पनि थिएन । आखिर दैवी शक्तिलाई खुसी पार्न रगतको बलि दिने चलन दुवै धर्मको अभ्याससित मिल्दोजुल्दो थियो । (ऐ. पृ. ३२)। प्रेत्मामालाई आह्वान गर्न प्राचीन वैदिक मन्त्रोच्चारण गर्ने हिन्दु पुरेतहरू र सोही कामको लागि आफ्नै पुरानो भाषा प्रयोग गर्ने झाँक्रीहरू जनसामन्यका नजरमा एकै देखिन आइपुगे । यसले पनि यो वैरभाव हटाउन मद्दत पुर्याएको हुनुपर्दछ ।
यसै सन्दर्भमा मोदनाथ प्रश्रित यसो भन्छन्, ‘तन्त्रप्रधान शैव धर्म (रुद्र-शिव) र मन्त्रप्रधान वैदिक धर्मको द्वन्द्व पनि लामै समय चल्यो । त्यसलाई समाधान गर्न ‘शिव र विष्णु समान महत्त्वका हुन् । यी दुईको बीचमा भेदभाव गर्नु, यी ठूला र यी साना हुन् भन्ने धारणा राख्नु पाप हो’ भन्ने व्यापक अभियान चलाइयो । पछि क्रमशः ती दुवै देवता र धर्मले बहुजातीय दक्षिण एसियाली समाजमा मान्यता पाउँदै गए । त्यति मात्र होइन रामले शिवको पूजा र शिवले रामको पूजा अर्थात् सम्मान गरेका कथा पुराण पनि रचिए (प्रश्रित, नेपाल : पाँचवटा धर्मको उत्पत्तिस्थल, अनलाइनखबर)।
यहाँ हामीले वैष्णव र शैव धर्मबारे सरसरती चर्चा गर्न सकेका छौँ, यसो गर्नुको मूल ध्येय शैवमार्गीको पाशुपत क्षेत्रमा वैष्णव मूर्ति किन र कसरी भन्ने प्रश्नका खातिर हो ।
‘पशुपतिलाई टाढाबाट ल्याउनु परेको थिएन । स्वयम्भू जस्तै पशुपति आफैँ उत्पत्ति भएका हुन् । शिव भागेर बस्न गएको ठाउँको स्मृतिमा बागमतीको दाहिने किनारमा धेरै मन्दिरहरूले घेरेर लिङ्ग खडा गरिएको छ (सिल्भाँ लेभी, नेपाल, पृ. २२१)।’
लेभीले अगाडि दन्त्यकथा सुनाउने क्रममा ‘शिवले सनक चढेर हरिणको रूप लिएको, देवताहरूले उनलाई यत्रतत्र खोजेको, कैलाश (जेरुसेलमरुपी बनारस पनि भनेका छन्) फर्किन भनेको तर शिव फेरी भागेर बागमतीको अर्को किनारमा गएको, देवताहरूले हरिणरूपी शिवको सिङ समात्नेक्रममा सिङ भाँचिएको, शिवले यही बस्न जिद्दी कसेको, विष्णुले भाँचिएको सिङको एक टुक्रा लिएर त्यसलाई लिङ्ग जस्तो गरि सिँगारिदिएको, बाँकी तीन टुक्रा क्रमशः गोकर्ण, चन्द्रभागा नदीको किनार र इन्द्रको स्वर्ग अमरावतीमा लागिएको उल्लेख गरेका छन् ।’
अर्को कथनअनुसार, पुराणको हिमवत खण्डलगायत पौराणिक ग्रन्थका अनुसार पशुपतिनाथ मन्दिर भएको स्थानमा ज्वाला निस्किएपछि भगवान् विष्णु आफै उपस्थित भएर ज्वालामाथि शिवलिंग बनाएर स्थापना गरेको मिथक पनि रहेको छ (गोविन्द टन्डन, नागरिक दैनिक) यसले लेभीले बताएको तथ्यसँग विभाजित भएर पनि पारस्परिक सम्बन्ध राख्दछ । तर, यी दुवैबाट हामी के भन्न सक्छौँ भने शिव र विष्णु यहाँ सँगसँगै जस्तो रहँदै आएका थिए । घतलाग्दो कुरा के भन्दा लेभीले सबै देवताको साथ बुद्ध पनि पशुपति दर्शन गर्न आएको बताएको छन् । (यसबारेमा तेस्रो बुँदामा चर्चा हुनेछ ।)
साथै ‘योगीहरूले यो घटना त्रेतायुगको अन्त्यको अन्दाजी तीन सय वर्षअगाडिको अर्थात् हाम्रो युग भन्दा नौ लाख वर्षअगाडि भएको भनेका छन्’ भनेर लेखेका छन् । उनले अगाडी ‘एकचोटी ब्रह्मा र विष्णु लिङ्ग के भयो भनी घुम्न निस्कँदा धेरै समय भइसकेकाले मन्दिर भत्किएको र लिङ्ग पनि भग्नावशेष मुनि पुरिएको, सो ठाउँमा एउटा गाईले प्रत्येक दिन दूधको धारा बगाएको, गोठालालाई उत्सुकता लागेर हेर्दा ज्योति प्रकट भएको र पशुपति पुनः फेला परेको’ बताएका छन् । ‘यतिबेला ने मुनिबाट अभिषेक पाएका गोपाल वंशका संस्थापक राजा भुक्तमानले राज गरिरहेका थिए (ऐ. पृ.२२२) ।’ लेभीले सुनाएको यस कथा अद्यापि अद्यावधिक मानिन्छ । गोठालोको प्रसङ्ग आउनासाथ हामीले गोपालवंशको चर्चा गर्नुपर्ने हुन्छ । गोपालवंशभन्दा अगाडी नागवंश रहेको बताइन्छ, जसको चर्चा गर्नु परोइन् ।
पण्डित गुणानन्द (शाक्य) ले सङ्कलन-सम्पादन गरेको बौद्ध साहिलीको वंशावलीको हवाला दिँदै इतिहासविद् जगदीश चन्द्र रेग्मीले एक लेखमा लेखेका छन्, ‘द्वारकाबाट आएका श्रीकृष्णले चोभारको डाँडोलाई चक्रले काटेर तालको पानीको निकास गरेपछि इतिहास आरम्भ गरिएको, श्रीकृष्णसँगै आएका ग्वालाहरूमध्येकै एक जनाबाट पशुपतिनाथको लिङ्ग पत्ता लाएको र ग्वालाहरूमध्येकै एक जनालाई राजा थापिएको घटनासमेत त्यहाँ बताइएको छ ।” (सामाजिक परिदृश्य काठमाडौं भेकको, रेग्मी) दानासुरले पानीको निकास रोकेको र आफ्ना नाति प्रद्युम्नलाई पानी निकासमा सघाउ गर्न स्वयं श्रीकृष्ण यहाँ आई पानी निकास गरि बस्ती बसाएको उनले थप बताएका छन् । कृष्ण गोठालो भएकाले लेभी र रेग्मीको यो कथनले सामञ्जस्य राख्दछ । लेभीले ज्योति प्रकट हुँदा खनेर हेर्ने क्रममा सो गोठालोको मृत्यु भएको बताएकाले यी ग्वालाको पनि मृत्यु भएको हुनु पर्दछ । ग्वालाहरूको नेतृत्व श्रीकृष्णले उनीहरू वैष्णव मतावलम्बी देखिएका छन् । वैदिक सभ्यताकाल ई. पु. १५०० देखि ई. पु. ५०० वर्षसम्म मानिएको छ । यस आधारमा हेर्दा नेपालको गोपालवंशको काललाई पनि वैदिक कालको समकालीन मानिन्छ । यसप्रकार त्यसैसमयदेखि नेपालमा वैष्णव धर्मको अस्तित्व कुनै न कुनै प्रकारले रहेको छ । यसैगरी, उत्तरवैदिक कालमा विदेह राज्य (राजा जनक) वैष्णव धर्मको ज्ञान र दर्शनको केन्द्रको रूपमा रहेको थियो भन्ने कुरामा स्वतः सिद्ध हुन् आइहाल्छ ।
पशुपतिको उत्पत्ति किम्बदन्तीहरू जेजति भएता पनि तिनले सङ्केत गर्ने भनेको- यायावरी गोठाले युग अर्थात् नवपाषणकालको अन्तिम समयताका सुन्दर र छरिता पाषणऔजार एवम् चित्रकारीयुक्त पोलेका माताका भाँडावर्तन र संयुक्त मानव समुदाय थियो भन्ने नै हो । ‘आगो, पानी, हुरी, बतास आदि प्राकृतिक प्रकोप र भूत, प्रेत, पिशाचजस्ता अदृश्य भयलाई दैविक शक्तिका रूपमा विश्वास गर्दै पशु धनजनलाई त्राण दिने, निर्जन पाखा-पखेरा वा जङ्गलमा विचरण गर्दै अदृश्य रूपमा डुल्ने पशुका पति यिनीहरूका आराध्यदेव थिए । त्यसैले पशु र जङ्गलका देवता रुद्र वा पशुपतिको स्थापना गोपालकाल अर्थात् गोठाले युगमा नै भयो ( नेपाली कला, मोहनप्रसाद खनाल, पृ. ६६)
अन्य मानवजातिहरू पाषणयुगिन संस्कृतिमै अल्मलिरहेको बखत खस-आर्य जातिका गोपालहरू भने धातुयुगीन संस्कृतिसँग पूर्ण परिचित थिए । तिनीहरूको १०/१२ पुस्ता पश्चात् नै पूर्वबाट पश्चिमतर्फ बढ्दै आएको लडाकू स्वभावको किराँत जातिले गोपालसँग प्रतिस्पर्धा गरि आफ्नो बस्ती बसायो । गोपालपश्चात् १२१ वर्ष तीन जना महिषपाल राजाहरूको शासन र तत्पश्चात् २८ वा ३२ नाम भएको लामो फिरिस्तसहित १७०१ वर्ष किराँतहरूले राज्य गरेको इतिहास पाइन्छ । र, यिनै किराँतहरूलाई हराएर लिच्छवीहरूले आफ्नो पकड बनाए । (नेपालका मूलजाति वा आदिवासीका बारेमा चर्चा गर्नु नपरेकाले यहाँ फड्को मारियो।)
अलि हतार भयो कि ?
यहाँनेर पशुपतिनाथको मन्दिर जीर्णोद्धार गराएर त्यसमा सुनको छानो र गजुर हाल्न लगाएका भनिने सोमवंशी राजा पशुप्रेक्षदेवको पनि चर्चा गर्नुपर्ने हुन्छ । लेभीले १२३५ कलियुग अर्थात् इ.पू. १७६७ मा पशुप्रेक्षले पशुपतिलाई सुनका पाताले मोडेको बताएका छन् । यिनको मृत्युपश्चात् सुपुत्र भाष्कर वर्मा देखिन्छन्, जसले आफ्नो विजय अभियानमा नेपालको सीमाना समुद्रसम्म पुर्याए । विजयोत्सवकै क्रममा यिनले पनि सुन तथा अन्य सम्पत्तिलाई पशुपतिनाथको मन्दिरलाई कलात्मक बनाउन खर्चिए । भाषा वंशावलीले यिनलाई त्यागी तथा धर्मात्मा राजाको रूपमा चित्रण गरेको छ । यिनी नि:सन्तान हुनाले सूर्यवंशी क्षेत्रीय राजकुमार भूमि वर्मा (गोपाल वंशावलीका अनुसार भूमि गुप्त) उत्तराधिकारी हुन्छन् र उनी पहिलो सूर्यवंशी लिच्छवी राजा हुन् आइपुगी ४१ वर्ष शासन गर्छन् । (नेपालको प्राचीन र मध्यकालीन इतिहास, प्रा. डा. श्रीरामप्रसाद उपाध्याय, पृ. ५९) सूर्यवंशी शंकरदेवको समयमा नन्दीको मूर्ति, ठकुरी गुणकामदेवको समयमा सुनको छाना, सदाशिवको समयमा पशुपतिमा फेरी नयाँ छाना चढाएको कुरा लेभीले उल्लेख गरेबाट पशुपतिको लोकप्रियता एवम् सिँगार गाथा थाहा पाइन्छ ।
यहाँनेर पशुपतिनाथको मन्दिर जीर्णोद्धार गराएर त्यसमा सुनको छानो र गजुर हाल्न लगाएका भनिने सोमवंशी राजा पशुप्रेक्षदेवको पनि चर्चा गर्नुपर्ने हुन्छ । लेभीले १२३५ कलियुग अर्थात् इ.पू. १७६७ मा पशुप्रेक्षले पशुपतिलाई सुनका पाताले मोडेको बताएका छन् । यिनको मृत्युपश्चात् सुपुत्र भाष्कर वर्मा देखिन्छन्, जसले आफ्नो विजय अभियानमा नेपालको सीमाना समुद्रसम्म पुर्याए । विजयोत्सवकै क्रममा यिनले पनि सुन तथा अन्य सम्पत्तिलाई पशुपतिनाथको मन्दिरलाई कलात्मक बनाउन खर्चिए । भाषा वंशावलीले यिनलाई त्यागी तथा धर्मात्मा राजाको रूपमा चित्रण गरेको छ । यिनी नि:सन्तान हुनाले सूर्यवंशी क्षेत्रीय राजकुमार भूमि वर्मा (गोपाल वंशावलीका अनुसार भूमि गुप्त) उत्तराधिकारी हुन्छन् र उनी पहिलो सूर्यवंशी लिच्छवी राजा हुन् आइपुगी ४१ वर्ष शासन गर्छन् । (नेपालको प्राचीन र मध्यकालीन इतिहास, प्रा. डा. श्रीरामप्रसाद उपाध्याय, पृ. ५९) सूर्यवंशी शंकरदेवको समयमा नन्दीको मूर्ति, ठकुरी गुणकामदेवको समयमा सुनको छाना, सदाशिवको समयमा पशुपतिमा फेरी नयाँ छाना चढाएको कुरा लेभीले उल्लेख गरेबाट पशुपतिको लोकप्रियता एवम् सिँगार गाथा थाहा पाइन्छ ।
गोपालवंशपश्चात् किराँतकालमा आइपुग्दा, ‘किराँतकालको सङ्केत दिने पशुपति आर्यघाट वरिपरिको ‘किराँतेश्वर महादेव’ नामक शिवलिंग तथा पशुपति आर्यघाटमा रहेको ‘विरुपाक्ष’को चर्चा गर्नुपर्ने हुन्छ, जो लिच्छवीकालका प्रचलित मूर्तिहरूमा भन्दा भिन्न छन्, जसले किराँतकालीन नेपालको कलाकौशलको विकास बताउँदछ । ‘नेपालमा किराँतहरूले राज्य गर्दा समकालीक भारतमा पहिले जनपद युग (षोणश महाजनपद), नन्दवंशको युग अनि मौर्यहरूको युग थियो । त्यस बेला भारतमा राज्य गर्ने शासकहरूले शैव धर्मको विकासमा यथेष्ट ध्यान दिएको पाइन्छ । त्यसको प्रभाव नेपालमा पर्नु एवम् पशुपतिनाथको प्रादुर्भाव नेपालमा हुनु र त्यसको ख्याति तात्कालिक जनजीवनमा अत्यधिक रहेकाले पनि शैव धर्मको उत्थान राम्रोसँग भएको हुनुपर्दछ । किराँतहरूलाई भगवान् शिवको अनन्य भक्त बताएको उल्लेख पाइन्छ । आजका राई, लिम्बू, मगर, गुरुङ, दनुवार आदि प्राचीन किरातहरूको प्रतिनिधित्व गर्छन् र भिन्न-भिन्न नाम्ले भगवान् शिवको अद्यापि पूजा-आज्ञा गर्दछन् (गोविन्द टन्डन, पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन, पृ. ३२-३३) ।‘
फेरी, महाभारत (महान् भारत पनि) को समयदेखि नै नेपालमा रहेका किराँतहरूले विष्णुलाई मानेनन् भन्ने प्रष्ट प्रमाण पनि हामीसँग नहुँदा ‘बा, मान्थे कि ?’ भन्न पनि सकिन्छ । यसो भन्नुको एउटा कारण चाहिँ के भन्दा कतिपय पुराणहरूले ब्रह्मा, शिव तथा सम्पूर्ण देवता नै विष्णुको विराट स्वरूप भएको र यो जात नै विष्णुमय रहेको बताउँछन् । यिनले ‘सत्य नै विष्णु र विष्णु नै सत्य’ भएको एवम् ‘तीनै एक र एकै तीन (त्रिमूर्ति) भएको’ समेत बताउँछन् । यता, मोहनप्रसाद खनाल जस्ता विद्वानहरूले गण्डकीको शालिग्राम, चम्पाकारन्यका हरि, सप्तकोसी र कोका नदीका वराह आदिको उल्लेख महाभारत वनपर्वको पुलस्त्य- तीर्थयात्रामा परेको उल्लेख गरेका छन् । उनका अनुसार पशुपतिपुराणले समेत वैष्णव पीठको चर्चा गर्दछ (खनाल, नेपाली कला, पृ. १००) ।
अब हामी लिच्छवीकालमा आऊ ।
मगधका सम्राट् अज्ञातशत्रुले गणराज्यहरूमा आक्रमण गरि वृज्जि आदि गणहरूकै मुल्छेदन गर्दा वैशालीका लिच्छवीहरू आत्मसुरक्षाका लागि नेपाल पसेका थिए । यस्तै कोषलका सेनापति विरुढकले शाक्यकुलको विनाश गर्दा कपिलवस्तुका शाक्यहरू नेपाल पसेको प्रसङ्ग ‘मूलसर्वास्तिवाद विनय’मा पाइन्छ । यसरी इ.पू. पाँचौँ शताब्दीदेखि उत्तरभारतमा रहेका विभिन्न गणराज्यहरूको आत्मसुरक्षाको लागि नेपाल पस्ने क्रम चल्यो र लिच्छवीवंशको जग बस्यो । (खनाल, पृ. ५)
नेपालमा शासन गर्ने लिच्छवी-राजवंशका प्रारम्भिक राजामध्ये सुपुष्पदेव (निमिष, मक्रान्त, काकवर्मन, भाष्करवर्मन पनि उल्लेख) र लिच्छवी वंशका राजा मानदेव (प्रथम)का बीचमा चालिस राजाको शासन रहेको कुरा वि.सं. ७८०-९० को जयदेव द्वितीयको पशुपति अभिलेखमा उल्लेख भएको पाइन्छ । एउटा राजाको सालाखाला २० वर्ष राजकाल मानिदिँदा ई. ४५० को समयमा मानदेव राजा भएका हुन् भने सुपुष्पदेव ई.पु. ३५० तिर राजा थिए । मानदेवले ५५ वर्ष अर्थात् ई. ५०५ सम्म शासन गरे भनिन्छ । उनीपछि महीदेव, वसन्तदेव राजा भए । वसन्तदेव पश्चात् केही राजाहरूलाई छाडेर ई. ६०५- ६२९ सम्म अंशुवर्मा देखिन आइपुग्छन् । अंशुवर्मापछि ख्यातिको हिसाबमा जयदेव प्रथम र द्वितीय दुवैको नाम आउँछ ।
गोपालराज वंशावलीअनुसार सुपुष्पदेव प्रजापालक र न्यायकर्ता भएको र यिनैले वर्णव्यवस्था एवम् पशुपतिनाथको मन्दिर बनाउन् लगाएका थिए । (उपाध्याय, पृ. ६१) पशुपतिको मन्दिर बनाउनेमा यिनी अर्का व्यक्तिको रुपा देखा पर्दछन् । जयदेवको पशुपतिको अभिलेखमा सुपुष्पदेवलाई ‘श्री मान्पुष्पश्राकृति’ अर्थात् कामदेवजस्ता भनिएको छ । ( खनाल, ऐ.)
लिच्छवीहरूले शिवलिंगको स्थापनाको सन्दर्भमा किराँतहरूले जस्तै प्रोत्साहन दिएको पाइन्छ । मानदेव प्रथमका रानीहरू क्षेमसुन्दरी र गुणवतीले क्रमशः संवत् ३९० (वि.सं. ५२६) तथा संवत् ४१९ (वि.सं. ५५५)मा शिवलिंगहरूको स्थापना गरेको देख्दा उनीहरूको शैव धर्मप्रतिको आस्था प्रकट हुन्छ । लिच्छवीकालमा वैष्णव, शैव, बौद्ध आदि विभिन्न धार्मिक सम्प्रदायहरू प्रचलित थिए । ती सबै सम्प्रदायहरूप्रति राजाको सद्भाव र आस्था राम्ररी देख्न पाइन्छ । त्यसले जनसामन्यलाई पनि प्रभावित पारेको थियो । मानदेव प्रथमले चाँगुनारायणको पूजा, गरुडध्वजको स्थापना, वामनमूर्तिको स्थापना तथा संवत् ३९६ (वि.सं ५३२) मा विष्णुमतिको किनार पारेर थन्तुरीद्रङ्गमा शिवलिंग स्थापना गरेको घटनाले त्यस कुरालाई उद्घाटित गर्दछ । यो परम्पराकै रूपमै पछिसम्म चल्यो र चल्दै आएको पनि छ (टन्डन, ऐ. पृ. ३३) ।
यसबाट हामी के निष्कर्षमा आइपुग्छौँ भने बौद्धबाट दीक्षित तर वैदिक हिन्दूप्रति आस्था राख्ने लिच्छवीहरू यहाँ आएपश्चात् वैष्णव धर्मले ज्यादा फल्न/फूल्न पाएको हो । यसबारेमा डोरबहादुर विष्ट प्रष्टसाथ् भन्छन्, “ नेपालमा विकसित भएको शैव धर्मको झाँक्रीवाद र प्रकृतिपूजाको पूर्व वैदिक परम्परासँग नजिकको नाता छ । पुराणसँग यसको सम्बन्ध खासै थिएन (पुराणमा रुद्र शिव नभनी रुद्र उल्लेख गरिएको प्रसङ्ग- लेखक), न त कुनै किसिमको जात प्रथासँग नै यसको लिनुदिनु थियो । जात प्रथा नेपालमा सबैभन्दा पहिले लिच्छवीकालको सुरुमा वैष्णव धर्मको रूपमा प्रवेश गरेको हो । तर, नेपालमा आइपुगेपछि यसले झाँक्रीवाद र शैव मतसँग मात्रै होइन बौद्ध धर्मसँग पनि तादात्म्य राख्नुपर्ने भयो । (विष्ट, भाग्यवाद र विकास,पृ. ३५) ।”
शैव धर्म र वैष्णव धर्मको तादात्म्ययताको प्रयत्न चल्दै गए पनि यी दुवै वेदमार्गीहरूको बीचमा ठूलो-सानो, जातपात र छुवाछूत बरकरार थियो, जसलाई ठिकठाक पनि बौद्ध धर्म अगाडी सर्यो । शैव धर्म र वैष्णव धर्म बरोबर रूपमा फल्नु/फल्नुमा बुद्धको विशेष भूमिका छ भने बौद्ध धर्मलाई मिल्क्याई फ्याँक्नमा पनि यी दुवै धर्मले बरोबरी हात बटाएका पनि छन् ।
खैर, हामी हाम्रो तेस्रो बुँदामा आऊ, जहाँ यी कुराहरू प्रष्ट हुनेछन् ।
क्रमश:..
यो पनि पढ्नुहोस्, ढलमा डुबिरहेछन् १५ सय वर्ष पुराना विष्णुविक्रान्त