शुक्रबार , अषोज २५, २०८१

(एस.ई.ई)का प्रिय विद्यार्थी भाइबहिनीहरू, “माछा रुखमा चढ्नका लागि र सबै सर्प उड्नका लागि जन्मेका होइनन्”

image

माछा रुखमा चढ्नका लागि र सबै सर्प उड्नका लागि जन्मेका होइनन् । तपाईँको जन्म उज्ज्वल भविष्य, प्रगति र नेपालको मुहार फेर्न भएको हो नि । त्यसैले “एस.ई.ई नतिजाको सम्मान: प्रगतितर्फको प्रस्थान” भन्ने सोचका साथ अघि बढ्ने बेला हो यो ।

आफू को हो ? गर्नुपर्ने र गरिएको के हो ? पुग्नुपर्ने कहाँ हो र कहाँ पुगियो  ? आउनु पर्ने नतिजा कति थियो र कति आयो ? सोचेको नतिजा नआउनु कसको दोष ? अब कसैलाई दोष नलगाई सबैले जिम्मेवार भएर सोचौँ । प्रगतिको मार्ग कठिन छ । परिवर्तन पिडादायी हुन्छ ।

हुन त प्यारा विद्यार्थीहरू, आफूले पढेको विद्यालयमा भेट्न गयौ ? कहाँ पढ्ने, के पढ्ने भनेर एक पटक अभिभावक,  शिक्षकहरूसित सल्लाह लिगेउ ? सोध्यौ ? कक्षा एउटा सहायक हो, सर्वोपरि म हो भन्ने बुझ्नुभयो नि ? संसारको सबभन्दा ठूलो कुरा मनोबल हो, तपाईँको सोच हो, विचार हो । कुवामा बसेको माछाले आफूलाई सर्वेसर्वा ठान्छ , तर समुन्द्रमा छाडिदिँदा बल्ल त्यसको अवस्था थाहा हुन्छ । तपाईँ त समुद्रको माछा हो, तपाईँको जन्म सन् १९८० भन्दा पछि भएको हो , विश्वमा सन् १९८० भन्दा पछि जन्मेका बालबालिकालाई “इलेकट्रोनिक्स चाईल्ड” भनिन्छ । जे सोचेर हामी हिँडेका हुन्छौँ , त्यति नै हुन्छ हाम्रो यात्राको गति । यात्राको गति तोकेर हिँड्नेहरू कहिल्यै थाक्दैनन् । । त्यसर्थ  म तपाईँलाई यी कुरामा ध्यान दिन अनुरोध गर्दछु ।

– नतिजासँग सकारात्मक बन्नुहोस् । 

– करियरको योजना परिवारसँग बसेर बनाउनुहोस् । 

– लक्ष्यमा केन्द्रित हुनुहोस् । 

– इमानदार बन्नुहोस्, कहिल्यै झुट नबोल्नुहोस् 

– तपाईँको सफलता अन्यत्र जोड्ने कोसिस गर्नुहोस्, गल्ती/असफलताबाट सिक्नुहोस् र त्यसलाई पुनः नदोहोराउनुहोस् । 

– नयाँ कुराहरू सिक्न उत्साहित बन्नुहोस् । 

आशा, उत्साह र उमङ्गको श्वास लिनुपर्दछ । बाहिरबाट जति आँधीबेहरी आएपनि भित्रको बलियो र निर्धक्कपनले तपाईँलाई ढल्न दिँदैन । सत्यको साँचो नैतिकता हो । नैतिकवान् बन्नुहोस् । तपाईँले एस.ई.ई नतिजापछि आफूलाई परिवर्तन गर्न चाहनुभएको छ भने ऐनामा हेर्नुहोस्, त्यहाँ छ तपाईँलाई बदल्ने मानिस, त्यो मानिस तपाईँ आफैँ हो ।

हामी त मानव हो नि । अथाह क्षमता र दिमाग दिएका छन् । हामीले त्यसको सदुपयोग गर्नुपर्दछ । अधिकार र नैतिकता भन्ने कुरा सँगसँगै आउने कुरा हो । म को सट्टा हामी भन्न सक्नुपर्दछ । समाजको राम्रो पात्र बन्न सक्नुपर्दछ । तपाईँसँग ज्ञान, विवेक, क्षमता छ तर राम्रोको लागि प्रयोग गर्न सक्नुभएन भने अर्थ हुँदैन । माटो मलिलो भएपनि त्यहाँ बिउ रोपिएन भने केही पनि उम्रँदैन । अब तपाईँले यो समयको सदुपयोग गरेर दिमागमा राम्रो बिउ रोप्नुहोस् , लक्ष्य लिनुहोस् , अब उम्रन्छ, बढ्छ, हुर्कन्छ ।

तपाईँले आफ्नो आत्मबल बलियो बनाउनुपर्दछ । बानी ब्यहोराको कारणले, चरित्रको कारणले, पेशागत दक्षताको समस्याले आत्मबल कमजोर बन्न सक्छ । त्यसैले हरेक कामहरू गर्दा सक्छु भनेर सुरुवात गरेका कामहरू सफल नै हुन्छन् भने सक्दिन भनेर सुरु गरेका कामहरू असफल नै हुन्छन् । त्यसैले कक्षा ११ मा तपाईँले जुन विषय लिएर पढ्न चाहनुभएको छ, त्यो विषय मैले अध्ययन गर्न सक्छु , मेहनत गर्न सक्छु , मेरो जिन्दगीको ढोका खोल्न म आफैँ सक्छु भनेर तपाईँको कथा आफैँ पुनः लेख्नुहोस् । तपाईँको भविष्य अहिले वर्तमानमा तपाईँले गरेको व्यवहार , गतिविधिसँग सम्बन्धित हुनेछ ।

आजदेखि समय तालिका अझै राम्रो बनाएर पढ्छु । खराब काम गर्दै गर्दिनँ । म देशप्रति समर्पित हुन्छु । समय कहिल्यै  खेर फाल्दिनँ भनेर अठोट लिनुहोस् । त्यस्तो अठोट अबका दिनमा पूरा गर्नुहोस् ।

तपाईंहरूको शिक्षक
विष्णु प्रसाद ज्ञवाली
ज्ञानोदय माद्यमिक विद्यालय, बाफल, काठमाडौं

सम्बन्धित समाचार