शुक्रबार , अषोज ४, २०८१

शिक्षण पेशा छाडेर बुढानीलकण्ठको नगरप्रमुखमा उभिएका विनोद चालिसे

image

काठमाडौं । राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त, विचार र नीतिबाट निर्देशित भएर जीवनको उर्वर समयदेखि राजनीतिमा सक्रिय विनोद चालिसे आसन्न स्थानीय निर्वाचनमा बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुख पदमा उभिएका छन् ।

शिक्षण पेशामा आबद्ध चालिसे सो पेशा चार वर्ष अघि नै छाडि निरन्तर साहित्य सिर्जना र राजनीतिमा सक्रिय छन् । यस नगरपालिकामा प्रमुखमा गठबन्धन छैन । नगरका दुईवटा वडामा मात्रै गठबन्धन छ । फरक फरक पार्टीले फरक फरक उम्मेदवार बनाएका छन् । यसअघि बुढानिलकण्ठमा झिनो मतको फरकले नेकपा एमालेले जितेको थियो । यसपटक अन्य दललाई पछि पार्दै जित आफ्नो पक्षमा पार्न उम्मेदवार चालिसे चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका चालिसेले आफ्नो जीवन पार्टी र जनतालाई दिए । चालिसेले २०४८ सालको संसदीय निर्वाचन र २०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।

चालिसेको सामाजिक कर्म सर्वत्र प्रशंसाको विषय रहेको स्थानीयहरूको मूल्याङ्कन रहेको छ । स्थानीय स्तरमा सामाजिक तथा सेवामूलक कार्यमा खटिने चालिसेसँग सामाजिक संघ संस्थाहरूमा आबद्ध रही कार्य गरेको अनुभव छ। सामाजिक कार्यमा उनको दृढता र इच्छाशक्तिले गर्दा उनले समाजमैत्री व्यक्तिको छवि बनाउन सकेका हुन् ।

binod chalise

२०७२ सालको महाभूकम्पमा गरेको उद्धार कार्य र कोरोना महाव्याधिका बेला राहत वितरण कार्यमा उनी संग्लन थिए । सङ्कटका बेला दिनरात नभनी खटिएका चालिसेद्वारा सेवा पाएका सर्वसाधारणले उनको अनुकरणीय कार्यलाई सबैले प्रेरणाको रूपमा लिनु पर्ने बताउँछन् ।

२०४६ सालदेखि प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि राजनीतिमा होमिएका विनोद चालिसे कपनका स्थानीयवासी हुन् । २०४८ सालको संसदीय निर्वाचन नेपाली काँग्रेस पार्टीलाई विजयी बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरेका थिए । २०५० सालदेखि नेविसंघ गाउँ कमिटी सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सहसचिव लगायत २०५३ सालमा नेविसंघको तर्फबाट विश्व भाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएका थिए ।

तत्कालीन क्षेत्रीय सभापति परशुराम पोखरेलको कमिटीमा आमन्त्रित सदस्य भई काम गरिसकेका चालिसे तत्कालीन गाउँ विकास समितिको इकाई सभापति, बुढानीलकण्ठ नगर कमिटी सचिव, क्षेत्र नम्बर ४ को सचिव, प्रदेश ‘ख’ क्षेत्र नम्बर ४ को सभापति हुँदै पार्टीको १४औँ महाधिवेशनका लागि सङ्घीय महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित भए ।

कवि एवम् गीतकार चालिसे

व्यवस्थापन विषयमा स्नातकोत्तर तथा शिक्षा शास्त्रमा स्नातकसम्म अध्ययन गरेका चालिसेले विद्यालय तथा कलेजमा लामो समय प्राध्यापन गरेका छन् । उनी कवि एवम् गीतकार समेत हुन् । उनको ‘तिम्रो आँखाको आकाश’ कविता सङ्ग्रह तथा ‘मनको धुन’ गीति एल्बम बजारमा आइसकेको छ । उनले आफ्नो नयाँ गजल तथा गीति सङ्ग्रह प्रकाशोन्मुख रहेको बताए ।

नेपाली कांग्रेसका नेता गगन थापाको प्रमुख आतिथ्यता तथा विशेष अतिथिहरू श्रवण मुकारुङ, सङ्गीतकार सुरेश अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थितमा २०७८ भदौमा उक्त कविता तथा गीतिसंग्रह विमोचन गरिएको हो । ४० वटा कविता सङ्ग्रह गरिएको पुस्तक पैरवी बुकले प्रकाशन गरेको छ ।

विनोद चालिसेको कविता तथा गीतिसंग्रह विमोचन

गीति एल्बममा ‘भएछु म अँगारसरि’, ‘विदेश जाऊ’, ‘के गरौँ कसो गरौँ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरू समावेश छन् । गीतमा शब्द रचना विनोद चालिसे र संगीत शशिविक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ । स्वरूपराज आचार्य, शशि विक्रम थापा, मेलीना राई, ज्ञानकुमार खड्का र कृष्णकुमार खड्काले गीतमा आवाज भरेका छन् ।

विनोद चालिसेको उम्मेदवारी किन? 

१. नगर प्रशासनलाई स्वचालित र भ्रष्टाचार मुक्त, पारदर्शी र नागरिक मैत्री बनाउन,
२. स्थानीय मौलिक, धार्मिक तथा सांस्कृतिक धरोहरहरू (मन्दिर, गुम्बा, जात्रा, पर्व, भाषा, साहित्य, कला संस्कृति) को विकास र संवर्द्धन गर्न,
३. सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न,
४. पानी व्यवस्थापनलाई ठोस रूपमा अघि बढाई स्वच्छ खानेपानीको उचित व्यवस्था गर्न,
५. व्यक्तित्व विकास, सशक्तीकरण र सामाजिक सुरक्षाका माध्यमले सबल र सशक्त समाजको निर्माण गर्न,
६. सूचना तथा सञ्चारमैत्री, र प्रविधियुक्त नगरको निर्माण गर्न ।

भिडियो

सम्बन्धित समाचार