बुधबार , कार्तिक २८, २०८१

देश ‘चुनावमय’ भएको हो वा चुनाव ‘देशमय ?’

दिव्यदेवले मेलमा लेख्नुभएको छ, "भाइ, मत माग्ने र झोला/झ्याम्टा बोकेर अघिपछि गर्ने केही हजारलाई भने चुनाव देशमय भएको पक्कै हो । तर, मत दिनुपर्ने ठुलो हिस्साको लागी देश चुनावमय नभएको ठिक साँचो हो । ”

image

– विज्ञान राज

उसो त यो कुरा छुट्टाउन यहाँ कसलाई पो फुर्सद छ । न मलाई छ, न तपाईँलाई छ, न अरू कसैलाई छ, न दिव्य दाइलाई नै छ । तैपनि मैले दिव्य दाइलाई मेल गरिदिए । यो लेखेर मेल गरे, “दाइ चुनावको रौनकता हेर्दा देश चुनावमय भएको हो ? अथवा चुनाव देशमय भएको हो ? छुट्टाउन दुरूह परिरहेको छ ।”

हुन पनि हामीलाई चुनावको चटारोमा यस बारेमा सोच्ने फुर्सद होस पनि कसरी । पर्चा लगेर बजारमा लखरलखर हिँड्ने बेरोजगार युवालाई दिनै पर्‍यो । ब्यानर लगेर अझै मर्मत नगरिसकेको बिजुलीको पोल नजिक उभिनै पर्‍यो । गाडी भाडामा लिएर माइकिङको नाममा चिच्याउँदै गरिबहरूलाई यथार्थको निन्द्राबाट जगाउनै पर्‍यो । हात जोडेर हँसमुख अनुहार लगाएर उदासउदास बस्तीतिर जानै पर्‍यो । फेसबुकतिर होहल्ला गर्नै पर्‍यो । टोलटोलमा गाँउगाँउमा आफ्नो दलको गीतमा नाच्नै पर्‍यो । अब यस्तो चुनावी तामझाममा यी जम्मै काम छाडेर बेकारमा को छुट्टाउन लागिपरोस् देश चुनावमय भएको हो ? अथवा चुनाव देशमय भएको हो ?

प्रिय पाठक तपाईँले आँ.., अहिले चुनावमा केन्द्रित हौँ । चुनावपछि फुर्सदमा चिया पसलमा बसेर छुट्टाउला भनेर भनिसकेपछि म पनि बाध्य भएँ मान्न । तर, तपाइँले चिया पसल भनेपछि मलाई एरिचोक नजिकका चिया पसलहरूको सम्झना भएको छ । किन सम्झना भएको छ भने एउटा चिया पसलको आडमा काँग्रेसको कुनै वडाको चुनावी सम्पर्क कार्यालय खुलेको छ । अर्को चिया पसल भएको घरको दोस्रो तलामा माओवादी केन्द्रको कुनै वडाको चुनावी सम्पर्क कार्यालय खुलेको छ । यी कार्यालय मैले देखेको भएर यहाँ लेखेको हुँ। मैले नदेखेका अन्य दलका कार्यालयहरू पनि रातारात खुलेका होलान्, एरिचोकको पेरिफेरिमा ।

म पक्का छु, केही दिन अघिसम्म यी कार्यालयहरूको यस ठाउँमा नामोनिशान थिएन । तर, जब चुनावको चहलपहल सुरु भयो, यी कार्यालयहरू धमाधम खुले । अनौठो कुरा कतिखेर खुले पत्तो पाइएन । दलका कार्यालय यसरी पत्तो नपाउने गरी धमाधम खुल्नुको कारण स्पष्ट छ । कारण के स्पष्ट छ भने एरिचोक सुर्खेतको सबैभन्दा बढी चहलपहल भएको चोक हो । यहाँका चिया पसलमा मानिसहरूको ओइरो हुने गर्दछ । यस्तो लोभलाग्दो मानिसको ओइरोलाई आफूतिर आकर्षित गर्न चुनावी चटारोमा कुनै पनि दलका निम्ति सबैभन्दा छिटो र छरितो अवसर हुने नै भइहाल्यो । नभए चुनावको अन्तिम कसरतमा आएर कुनै व्यस्त चोकको चिया पसलको छेउछाउमा किन कुनै दलले साबिकको कार्यालय सार्छ होला अथवा खोल्छ होला ?

म के बताउन खोजिरहेको छु भने चुनावी चटारो सुरु हुनुभन्दा अगाडि यी चिया पसलमा आउने र बहस गर्ने मानिसहरू हरेक दिनजसो निष्कर्ष निकाली रहेका हुन्थे कि ‘यो जनप्रतिनिधिले काम गरेन, अर्कोले भ्रष्टाचार मात्र गर्‍यो, अर्कोले आसेपासेलाई मात्र हेर्‍यो, अर्कोले कुनै नीति निर्माण नै गरेन, अर्कोले विनाश मात्र गर्‍यो, अर्कोले रोजगारका कार्यक्रम नै ल्याएन । सबैसबैदेखि वाक्क भइयो, दिक्क भइयो, हतुहैरान भइयो । त्यसैले अब आउने चुनावमा कसैलाई पनि भोट नहाल्ने निधो भयो ।’ तर कस्तो आश्चर्य हेर्नु न ! तिनै निष्कर्ष निकाल्ने मानिसहरू हुन्, जो आजभोलि तनमयका साथ, गुनासो र आक्रोश रहित, विरोध र निराशा रहित तिनै जनप्रतिनिधि अथवा त्यही दलका नेताहरूको चुनावी प्रचारप्रसारको कमाण्डार भएर/बनाइएर चुनावी रणभूमिमा मुग्ध छन् ।

मानौँ, अस्तिसम्म धुलाम्मे र खाडलखुडल भएका सम्पूर्ण सडकहरू कालो पत्रे भइसके । मानौँ, यस सहरका सम्पूर्ण युवाहरूले आफ्नो दक्षता अनुसारको रोजगार पाइसके । मानौँ, यहाँका सुकुम्वासीहरूले जग्गाको लालपुर्जा पाइसके । मानौँ, यहाँका सम्पूर्ण पर्यटकीय र धार्मिक क्षेत्रहरू वैज्ञानिक रूपले अन्वेषण भइसके, अनुसन्धान भइसके, उत्खनन भइसके, संरक्षण भइसके । मानौँ, यस सहरको कला, साहित्य र सङ्गीत उभारमा छ । मानौँ, यस सहरमा गाउँबाट आएको यात्रुलाई ट्वाल्ल पार्दै बस्ने प्रतीक्षालयहरू बनिसके । मानौँ, यहाँ नाटक घर, सिनेमा घर बनिसके । मानौँ, यहाँ राम्रो खेल मैदान बनिसके । सुविधासम्पन्न अस्पतालहरू बनिसके । मानौँ, यहाँ व्यवसायीक पब्लिकेसन हाउस, रेकर्डिङ स्टुडियो खुलिसके । आइटी अफिसहरू खुलिसके । मानौँ, यस सहरमा प्रशस्त मात्रामा पुस्तकालयहरू खुलिसके । मानौँ, चकमन्न रातमा हिँड्नलाई टोलटोलमा बिजुलीका पोलहरू बलिसके । मानौँ, गरिबीको बडेमानको प्वाल पुरिसक्यो ।

अनि अर्को कुरा, चुनावको चटारो सुरु हुनुभन्दा अगाडि के पनि निष्कर्ष निकालिन्थ्यो भने ‘अब भोट युवालाई हालिन्छ । युवालाई समर्थन गरिन्छ ।’ तर, चुनावी चटारो सुरु भइसकेपछिको माहौल पूर्णरूपले उल्टो छ । तिनै निष्कर्ष निकाल्ने मानिसहरू आफ्नो दलको हजुरबा उमेरको उम्मेदवारलाई जसरीतसरी जिताउन अहोरात्र/अहोदिन खटिएका छन् । यतिखेर उनीहरूले युवा भन्ने उमेर, रूप, आकार, चिन्तन र सौन्दर्य सबैसबै भुलेका छन् । मेरो विचारमा यो दुर्दशा देशभरि नै हाबी भएको छ । यहाँनेर मैले जोड गर्न खोजेको कुरा यो हो कि जो युवाहरू चुनावी मैदानमा देशभर दह्रो मनोबलका साथ उभिएका छन्, तिनलाई कसले साथ दिने ? कोको तिनलाई जिताउने अभियानमा लागिदिने ? यस्तो परिदृश्यले चिन्ताको र डरको बादल मडारिदिएको छ ।

कसैले सोध्नु भएको थियो, “यो चुनावी चटारोमा एउटा मिडियाले खेल्नुपर्ने भूमिका के हो भनेर ?” यसको प्रतिउत्तरमा कसैले भनिरहनु भएको थियो, “अब मिडियाले जनतालाई पनि प्रश्न गर्नुपर्छ । किन प्रत्येक पटकको चुनावमा तपाईँहरू अयोग्य उम्मेदवारलाई र दललाई भोट गर्नुहुन्छ ? तपाईँहरू उसलाई जिताइसकेपछि फेरि आफैँ किन निराश हुनुहुन्छ ? फेरि आफ्सेआफ किन आफैँ फर्की हाल्नुहुन्छ/खुसी भइहाल्नुहुन्छ, चुनाव आउँदा नआउँदै ? यो भुलभुलैया र रमाइलो कहिलेसम्म गर्नुहुन्छ ?” यो संवाद जसको बिच भएको भए पनि सान्दर्भिक संवाद भएको हो । चुनावी चटारोमा यस्तो संवाद बिरलै हुने गर्दो रहेछ ।

प्रिय पाठक ! खै किनकिन मलाई तपाईँको कुरा मानेर गल्ती गरे जस्तो भइरहेको छ । यसकारणले कि चुनावपछि हामी के भन्छौँ भने अहिले जेजे हुन्छ, चुपचाप सहौँ । चुनाव आएपछि यिनीहरूको हिसाबकिताब गरौँला । न हामी चुनावको बेला हिसाबकिताब गर्छौँ, न चुनावपछि । यो क्रम विगत धेरै वर्षदेखि निरन्तर चल्दै आएको छ । हामी सबैजना यस कुराको निकै राम्रो भुक्तभोगी हौँ । यसर्थ यसप्रकारको कठपुतली हामी कहिलेसम्म बनिरहने ? कहिलेसम्म अरूलाई आफूलाई सरेआम कठपुतली बनाइरहन दिने ? त्यसैले अब प्रश्न गर्नै पर्ने हुन्छ( आफूलाई, अरूलाई र सबैलाई । अनि हरहालतमा छुट्टाउनै पर्ने हुन्छ, चुनावको रौनकता हेर्दा देश चुनावमय भएको हो ? अथवा चुनाव देशमय भएको हो?

म सोचिरहेको थिएँ, ठ्याक्कै दिव्य दाइको मेल आएको छ । उहाँले यसको प्रतिउत्तरमा के लेख्नुभएको छ भने, “भाइ, मत माग्ने र झोला झ्याम्टा बोकेर अघिपछि गर्ने केही हजारलाई भने चुनाव देशमय भएको पक्कै हो । तर, मत दिनुपर्ने ठुलो हिस्साको लागी देश चुनावमय नभएको ठिक साँचो हो । ”

अस्तु !

सम्बन्धित समाचार