शुक्रबार , अषोज ४, २०८१

नेपालकै ठुलो घण्ट, जो हरेक बिहान १०८ पटक बज्दछ

स्वरसम्राट नारायण गोपालले आफू वसन्तपुरको घण्टा हेर्न गएको र खिन्न भएको उल्लेख गर्दै लेखेका छन्, "हामीहरूकहाँ भने घन्टाको महत्त्व दिनैपिच्छे घट्दो छ ।

image

Photo by: Himal darpan

हामी कति पटक वसन्तपुर पुग्छौँ । चिया खान्छौँ, घुम्छौँ । वसन्तपुर पुग्दा हामी कि त कुमारी हेरेर फर्किन्छौँ कि त काल भैरवसम्म पुगेर फर्किन्छौँ । कहिलेकसो वसन्तपुर दरबार स्क्वायर भित्र छिर्न टिकट पनि काट्छौँ तर, वसन्तपुरमै रहेको ‘ठुलो घण्ट’ हामीले नदेखेका हुनसक्छौँ, याद नगरेको हुन सक्छौँ ।

मल्लकालमा काठमाडौं, पाटन, भक्तपुर एकार्काबीच प्रतिस्पर्धात्मक रहेको हुँदा तीन वटै शहरले एकअर्काको सिको गर्दै (या आवश्यकतालाई औँल्याउँदै) एक-एक घण्ट स्थापना गरेका थिए । ‘देवदेवीको मन्दिरको अग्रभागमा साना ठूला घण्ट राख्ने चलन कुनै नौलो नभएको तर तर १५–२० जनाले नै उचाल्न नसक्ने मानिस भन्दा अग्लो आकारको तव गां अर्थात् ठुलो घण्ट राख्नुको उद्देश्य एक आपसमा प्रतिस्पर्धाकै कारण मात्र सम्भव भएको ओम धौभडेलले ‘भक्तपुरको ठुलो घण्ट (तव गां)’ नामक लेखमा बताएका छन् । ललितपुरको ठुलो घण्ट राजा विष्णु मल्लले (१७३६), भक्तपुरको ठुलो घण्ट राजा रणजीत मल्लले (१७३७) र वसन्तपुरको ठुलो घण्ट राजा रण बहादुर शाहले (१७९७) मा बनाएको इतिहास भेटिन्छ ।

यी तीन मध्ये कुन घण्ट ठुलो हो भन्नेबारे यकिन जाँच हुन् आवश्यक छ । यद्यपि, स्वरसम्राट नारायणगोपालद्वारा सम्पादित ‘बागीना’ मा प्रकाशित नारायण गोपालद्वारा लिखित एक लेखमा भने यसो लेखिएको छ, “नेपालको सबभन्दा ठूलो कहलिएको हनुमानढोकाको प्रसिद्ध ‘घन्टा’ हेर्न गएको थिएँ एक दिन । अनि घन्टाको अवस्था र त्यहाँ उम्रेका घाँस–पातले गर्दा मन खिन्न भएर आयो ।”

शिव-पार्वतीको मन्दिरको छेउ भएर जगन्नाथ मन्दिरतर्फ जाँदै गर्दा देब्रेतिर एउटा सेतो खाली भित्ता देखिन्छ । सोही भित्ता भन्दा ४०० मिटर माथि फर्केर हेर्ने हो भने ठुलो घण्ट सजिलै देख्न सकिन्छ । भित्ता उक्लँदै गर्दा सिँढी छेउमै एक स्मारक देख्न सक्छौँ, जहाँ लेखिएको छ, “विश्व सम्पदा स्मारक, हनुमान ढोका दरबार क्षेत्र । हनुमान ढोका दरबार क्षेत्रका स्मारकहरू विश्व सम्पदा सूचीमा नामाङ्कित भएका छन् । यसरी नामाङ्कित हुनु नै यसको विशिष्ट महत्त्व हो । तसर्थ, यो स्मारक क्षेत्र सम्पूर्ण मानव जातिको लाभार्थ संरक्षण गर्नुपर्दछ ।” तर, हाम्रो वेवस्ताका कारण ‘ठुलो घण्ट’बारे चिनापर्ची गर्नु आज आवश्यक ठहरिएको छ ।

तर, यहाँ हामी हनुमानढोका दरबार क्षेत्रको ठुलो घण्टको चर्चा गर्नेछौँ;

ठुलो घण्टको १०८ ध्वनि :

यस घण्ट राजा रण बहादुर शाह र रानी राज राजेश्वरीले वि.सं. १७९७ मा निर्माण गरेका हुन् । यो घण्ट हरेक बिहान ९ बजे १०८ पटक बजाउने गरिन्छ । घण्ट सँगै वसन्तपुरको नगरा बाजा पनि सँगै बज्छ । खासमा हनुमान ढोकामा रहेको देगु तलेजु मन्दिरमा नित्य पूजा गर्ने समयमा घण्टा र नगरा बजाउने परम्परा रहेको छ । तलेजु भवानी मल्ल राजाहरूका इष्टदेवी हुन् । अहिले निर्माण कार्य चलिरहेकाले तलेजुमा पूजा भने हुँदैन । तर हरेक दिन घण्ट र नगरा भने सँगसँगै १०८ पटक  बज्छन् ।

देगु तलेजुको पूजा हुँदा बजाइने वसन्तपुरको ठुलो नगरा

हिन्दू धर्मले १०८ अङ्कलाई महत्त्व दिनुपछाडिको कारण बारे सदगुरु भन्छन्, ” पूर्वीय संस्कृतिमा सूर्य र पृथ्वीबिचको दूरी, चन्द्रमा र पृथ्वीबिचको दूरी, पृथ्वीले परिक्रमा गर्ने तरिका र त्यसले पार्ने प्रभाव जस्ता कुराहरूलाई एकदमै ध्यान दिएर हेरिएको थियो । सूर्यको व्यास (diameter) लाई १०८ ले गुणन गर्दा सूर्य र पृथ्वीबिचको दूरीसँग बराबर हुन्छ । चन्द्रमाको व्यासलाई १०८ ले गुणन गर्दा पृथ्वी र चन्द्रमाबिचको दूरीसँग बराबर हुन्छ । पृथ्वीको व्यासलाई १०८ ले गुणन गर्दा सूर्यको व्याससँग बराबर हुन्छ । यसैकारण, हामीले लगाउने मालामा पनि १०८ दानाहरू हुन्छन् ! १०८ वटै पूजाका दियोहरू बालिन्छन् ।”

यसरी १०८ पटक घण्टा बजाउँदा गोलाकार घण्टको भित्री भाग खिइएर पहिलो धातु चम्किएको देख्न सकिन्छ । यो घण्टा पन्च धातुबाट निर्माण गरिएको पुजारी (सञ्चालक) बालकृष्ण महर्जन बताए ।

यति ठुलो घण्ट कसरी निर्माण भयो ?

यति ठुलो घण्ट कति समयमा कति मजदुरमार्फत निर्माण गरियो भन्नेबारे जानकारी उपलब्ध हुन् सकेन तर, ओम धौभडेलले आफ्नो लेखमा भक्तपुरको ठुलो घण्ट निर्माणको बारे चर्चा गरेका छन्, जसलाई हुबहु यहाँ राखिएको छ;

‘ने.स. ८५३ आषाढ बदि त्रयोदशीको दिन ठुलो घण्टा (भक्तपुरको) बनाउन १३४ धानी मैन ल्यायो । त्यस्तै ने.स. ८५३ श्रावण सुदि दितियाको दिन उक्त मैनलाई घण्टाको आकार दिने काम भयो । ने.स. ८५३ भाद्र बदि नवमीको दिन मैनको थासामा मुसंचा (माटो) को लेप लगाउने काम भयो । जुन काम ने.स. ८५४ वैशाख बदि द्वितीयाको दिन सम्पन्न भयो । ने.स. ८५४ वैशाख बदि तृतीयाको दिन बज्रमाटो लिप्ने काम भयो । ने.स. ८५५ कार्त्तिक बदि पञ्चमीको दिन फलाम जम्मा पार्ने काम भयो । ने.स. ८५६ कार्त्तिक बदि सप्तमीको दिन भुस र माटो मिलाई छोप्ने काम भयो । ने.स. ८५६ पौष शुदि द्वितीयाको दिन तातो फलामको झोल भर्ने काम भयो । ने.स. ८५७ पौष कृष्ण प्रतिपदाको दिन ठुलो घण्टा तयार भयो र तलेजुलाई समर्पण गरियो ।

भक्तपुरको ठुलो घण्ट

यस ग्रन्थ (भक्तपुरको ठुलो घण्टबारे एक-एक हिसाब र प्रविधि लगायत सरसामानको उल्लेख भएको धरपौ) को आधारमा ठुलो घण्टा बनाउने कार्य ने.स. ८५३ आषाढ बदि त्रयोदशीबाट सुरु भई ने.स. ८५७ पौष सुदि कृष्ण प्रतिपदाको दिन तयार भयो । जसको आधारमा यो घण्टाले ४ वर्ष ६ महिना समय लिएको पुष्टि हुन्छ । त्यस्तै उक्त ग्रन्थबाट ठुलो घण्टा बनाउँदा अपनाएको प्रविधि समेत महत्त्वपूर्ण हुन आउँछ । घण्टा बनाउनु अघि मैनको थासा (साँचो) बनाइने गरिन्थ्यो । त्यसमा भित्र बाहिर दुवैतिरबाट मुसंचा(माटो) र गोवरको लेप लगाइन्छ । ठुलो घण्टा बनाउने क्रममा आवश्यक मुसंचा महाकाली पीठ पारी कासान भन्ने ठाउँबाट ल्याएको थियो । घण्टाको आकार सानो भएको भए एक पटक मात्र लेप लगाए पुग्नेमा ठुलो घण्टाको सन्दर्भमा तीनपटक सम्म लेप लगाएको पायो ।

यसरी तीन तहमा लगाएको लेप सुकेपछि त्यसमाथि पुन दुवैतीर बाट माटो र भुसको लेप लगायो । सुरुमा पातलो लेप लगाउँदै सुकेपछि त्यसमाथि दुईपल्ट सम्म बाक्लो तहमा लेप लगायो । यो लेप बनाउन अरू माटो नभई बज्रमाटो नै चाहिन्छ । जहाँ एक पाथी बज्रमाटोमा एक पाथी नै गोवर मिसाई सकेपछि त्यसमा १ कुरुवा फलामको धुलो, १ कुरुवा पिनाको धुलो, डेढ कुरुवा कपडाको टुक्राटुक्री, डेढ कुरुवा पिठो राखी मिश्रण तयार पारिन्छ ।

घण्टको मानोले दिनहुँ १०८ पटक हिर्काउँदा खिइएर चम्किएको पहेँलो धातु

यता लेपहरू सबै राम्ररी सुकी सकेपछि त्यसभित्र रहेको मैनलाई पगालेर बाहिर निकाल्छ र त्यही फलाम, काँचो फलाम, तामाको टुक्रा, जस्ता धातुहरू ठाउँठाउँबाट ल्याई पगाल्ने काम भयो । उक्त तातो फलामको झोल थासा भित्र खन्याउने र हावाबाट मात्र चिस्याएर जमायो । अन्तमा थासा सबै हटाएपछि ठुलो घण्टा तयार भयो । ठुलो घण्टा बनाउँदा अनुभवी पाका व्यक्तिहरूले बडो होसियारीपूर्वक काम गरेको ठहरिन्छ । जसको कारण साढे चार वर्षको दौरानमा ठुलो घण्टा बनाउँदा कुनै दुर्घटना भएनन् । ठुलो घण्टा तयार भई प्रतिष्ठा गर्दा राजा अत्यन्त खुसी भई एउटा ‘दाफा गीत’ समेत लेखे । जुन यस प्रकार छ,

आहाल रणजीत मल्लया तव बोज्या भिङ हँ ।
मेस , दुगु, हास स्याङा पलवान पलमान तवमादिया महाभैरव पुजा ।।
नेखे सित्थे न्याया खापा दथुसं लुया माक
सोपु गजु तयान सुदंल ।
तवगां थन्थे धका थ्युलि बाज्या सुना बिल
गन मनं तव गां थन्थे ।।३।।
नेपु सोपु ङापु सिख नेखे सिल्थे सुदल
तन मन तव गा. थ खाल ।।४।।
मुसिं पतिकं फय गाथ लुँ पोलस खडग गजुर
तंन मन तया नं सुदंल ।।५।।
लोह्र खम्ब थाने धका थुलि बोज्य सुमदि
तनं मनं लोह खबां थान
दको दाफा दको प्याखनं हुयकाव वलो
लो याङ तन मन तलेजुके सेवा ।।६।।’

किम्बदन्तीहरू :

पन्च धातु (सुन, चाँदी, तामा, जस्ता र सिसा) बाट निर्मित भनिएको (पुजारीका अनुसार) यस ठुलो घण्टसँग जोडिएका कयौँ किम्बदन्तीहरू छन्। विगत अठार वर्षदेखि घण्टा बजाउने काम सम्हालिरहेका ७१ वर्षीय बालकृष्ण महर्जनले हामीलाई केही किम्बदन्तीहरू सुनाए । घण्टबारे जान्न/बुझ्न कोही पुग्दा उनी बडो हर्षित देखिन्थे । हामीलाई यस घण्टाबारे हामीलाई जानेका कुरा बताइसकेपश्चात् उनले बताए, “घण्ट त बजाउँछु तर घण्ट बज्छ भनेर कसैलाई थाहा नै छैन ।”

घण्ट बजाउने काम सम्हालिरहेका ७१ वर्षीय बालकृष्ण महर्जन

१.

गोरखा कालिकाबाट हरेक वर्ष हनुमान ढोकामा फूलपाती ल्याउने गरिन्छ । उक्त समयमा भूत, प्रेतहरू फूलपाती सँगै नाच्दै  हनुमान ढोका आइपुग्छन् । हनुमान ढोका पुगिसकेपछि भूत, प्रेतहरू रमाइलो मानेर त्यही बस्न खोज्छन् तर हरेक बिहान बज्ने घण्टको आवाजले उनीहरू भाग्छन् भनेर मानिँदो रहेछ ।

(गोरखाबाट फूलपातीकै दिन ल्याइने फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरू समावेश गरिएको हुन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि (वि.सं १८०० आसपासदेखि) बर्सेनि गोरखाको दसैँ घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने चलन छ । गोरखाबाट बिहान लगिएको फूलपाती साँझ हनुमानढोकामा भित्र्याएपछि विधिवत् रूपमा दसैँ सुरु हुन्छ ।)

२.

पहिले पहिले मान्छेहरूसँग घडी हुँदैन थियो । जागिर खाने मानिसहरूलाई सहज होस् भनेर बिहान ९ बजे घण्ट बजाउन थालिएको पनि भनिँदो रहेछ । “नौ बजे घण्ट बजेपछि मान्छेहरू खाना खाएर काममा जान्थे रे” महर्जनले भने ।

वीर शमशेरको (वि.स. १९०१–१९५७) कार्यकालमा निर्मित त्रिचन्द्रको घण्टाघरको इतिहासले पनि घडीलाई आधार बनाएर आफ्नो दैनिक क्रियाकलाप चलाउने तत्कालीन काठमाडौंवासीको जीवनशैलीलाई उजागर गर्दै आएको हुँदा महर्जन यस कुरामा सत्य नजिक देखिन्छन् ।

ठुलो घण्टदेखि खिचिएको ९ बजे आसपासको वसन्तपुर

३.

देशमा कुनै पनि सङ्कट आएको बखत जनतालाई सचेत गराउन पनि यस घण्ट बजाउने गरिने महर्जन बताउँछन् । जस्तै, यो घण्टा कोत पर्व हुँदा बजेको थियो । यसबाहेक अन्य आपत-विपद र हर्षबढाइँका घटनाहरूमा यस घण्ट बजेको हुनुपर्ने उनको आङ्कलन छ ।

घण्ट बजाउनुका पछाडि धेरै कुराहरू अड्कलबाजीहरू प्रचलित छन् । कहीँ मानिसको जन्म हुँदा घण्टी बज्ने गर्दछ भने कहिकतै मृत्यु भइसकेपश्चात् ।  पूजापाठ स-साना घण्टीहरू बज्नु नियमित नै भइहाल्यो ।  इतिहासकार हेरोडोटस (४१४–४२५ इ.पू.) का अनुसार, ‘स्पार्टामा जब कुनै राजाको मृत्यु हुन्छ, तब मलामी जाने आइमाईहरूले बाटाभरि हाते घण्टी बजाउँदै हिँड्ने गर्छन् । सर विन्सटन चर्चिलको बेलायतमा मृत्यु हुँदा लन्डनका प्रायः जम्मै चर्चहरूमा घण्टा बजेको थियो । ब्रिटानिका विश्वकोशले पनि घण्टा पनि अलेक्जेन्डरको मृत्यु हुँदा घण्ट बजाइएको उल्लेख गरेको छ । ब्रिटानिका विश्वकोशले यस्तो लेखेको छ, “Decorative ceremonial bells were reported as being hung on Lars Porsena’s tomb in the 6th century B.C. and on the funeral car of Alexander the Great (356-323 B.C.) “

देशमा आई पर्ने सङ्कट मध्य पनि प्राकृतिक प्रकोपहरू मानिसहरूलाई थाहै नदिई आउँछन् । २०७२ को वैशाखमा पनि सोही भयो ।  त्यस दिन महर्जन बिहान ९ बजे घण्ट बजाएर घर फर्किएका थिए, खाना खाने बेला हुँदा नहुँदै ठुलो भुईँचालो आयो । यतिबेला उनी असनका भत्किएका घरहरू देखि जोगिँदै  ठुलो घण्ट बजाउन आइपुग्न सकेनन् ।

हामीले मन्दिरहरूमा देखिरहेको भन्दा धेरै गुणा ठुलो घण्टको एउटा चक्का केही समय अघि भाँचिएर फेरेको महर्जनले बताए । उक्त समयमा घण्टको बज्ने भाग खसेर भुईँको इँटामा बज्रिन पुगेको रहेछ, इट्टाको सो भाग अहिले पनि खण्डित अवस्थामा देख्न सकिन्छ । त्यतिबेला पुनर्निर्माणपश्चात्, घण्टको बज्ने भाग उचाल्न मात्रै आठ जना मान्छे लागेको समेत महर्जनले सम्झिए ।

महर्जनलेले बताएअनुसार, विगतमा लगभग २० वर्ष जति यो घण्ट बजाउने कार्य रोकिएको थियो । लगभग अठार वर्ष पहिले तलेजु सेवा समितिले उक्त घण्ट फेरी बजाउन सुरु गर्ने सल्लाह गर्‍यो । उक्त कार्य अहिले निरन्तर भइरहेको छ । तलेजु सेवा समितिले रोकिएको ‘देगु तलेजु’ मन्दिरको नियमित पूजापाठ कार्य अगाडी बढाउन खोजिरहेको समेत उनले बताए । पहिलेपहिले पूजारीहरू आ-आफ्ना काममा तल्लिन थिए, अहिले मनलाग्दी नियुक्तिका कारण पहिले-पहिले चलेको पद्धती भत्किएको छ । देगु तलेजुका पुजारीले फूलप्रसाद देखाएपश्चात् ठुलो घण्ट र ठुलो नगरा बज्ने गर्दथ्यो तर अहिले ‘देगु तलेजु’को नित्य पूजा नै रोकिएको छ ।

निर्माणाधीन देगु तलेजुको मन्दिर

विश्व सम्पदा सूचिमा रहेको हनुमान ढोका दरबार स्क्वायरमा दैनिक रूपमा थुप्रै पर्यटकहरू आउँछन् । तर, पर्यटकहरूलाई यो घण्टको बारेमा जानकारी दिन न त पुरातत्त्व विभागले नै केही काम गर्न सकेको छ, न त मन्दिर हेरचाह समितिले नै । सयौँ वर्षको इतिहास बोकेको उक्त घण्टलाई पर्यटकहरूसम्म पुर्‍याउनु आवश्यक देखिन्छ ।

स्वरसम्राट नारायण गोपालले आफू वसन्तपुरको घण्ट हेर्न गएको र खिन्न भएको उल्लेख गर्दै लेखेका छन्, “हामीहरूकहाँ भने घन्टाको महत्त्व दिनैपिच्छे घट्दो छ । पहिलेपहिलेका मानिसहरूले धर्ममा आस्था राख्थे, त्यसैले यहाँ प्रशस्त मन्दिरहरू बने, जहाँ घन्टा हुनैपथ्र्यो । वर्तमान मनुष्यको विश्वास धर्मबाट हट्दै गएपछि मन्दिर बन्ने प्रश्नै आएन अनि घन्टाले मौनव्रत धारण गर्नु अस्वाभाविक भएन । आजको मानिस आफ्नै लागि मन्दिर (?) बनाउँछन् जहाँ घन्टा हैन कल–बेल (ढोके घन्टी) र स्टेरियो मात्र बज्छन् ।”

(स्वरसम्राट नारायणगोपालद्वारा सम्पादित ‘बागीना’ मा प्रकाशित लेख, उनको निधनपछि स्थापित ‘नारायणगोपाल सङ्गीत कोष’ द्वारा प्रकाशित तथा नगेन्द्र थापाद्वारा सम्पादित ‘बागीना’ वर्ष– ७ अङ्क २३ बाट साभार भनी अक्षरंगले २०७७ मंसिर १९ शुक्रबार प्रकाशित गरेको छ )

***

तपाईँहरू प्राय: दिउँसो या साँझ मात्रै वसन्तपुर पुग्नु हुन्छ होला । समय मिल्दा बिहानको समयमा वसन्तपुर घुमेर नौ बजे घण्टा र नगराको आवाजले फ्रेस भएर फर्कन पनि सक्नुहुन्छ । घण्ट भएको ठाउँ भने बिहान ८ बजेबाट ९ बजेसम्म मात्रै खुल्छ है !

सम्बन्धित समाचार