१४५३ मिटर लम्बाई रहेको यो झोलुङ्गे पुल एसियाको नै सबैभन्दा लामो पुल रहेछ । आठ वटा खम्बाले अड्किएको यो पुलमा तारको डोरीहरू प्रशस्तै प्रयोग गरिएको थियो ।
~भावना शाह
केही दिनका लागि हाम्रो पच्चीस जनाको टोली सुदूरपश्चिम यात्रामा थियौं । राष्ट्रिय युवा परिषद्को काठमाडौंबाट सुरु भएको हाम्रो यात्रा साँझ पाँच बजे सुरु भएको थियो । बस आफै रिजर्भ गरेको भएर गाउँ जाँदा जुन लोकगीतहरू बज्छ, त्यो अनुभव गर्न पाइएन । आफ्नै रोजाइका गीतहरू, बसको एकात्मक कुदाई, अनि हाम्रा जोसिला गफहरू र त्रिशूलीको चिसो हावा खाँदै रातिको यात्रा सुरु भएको थियो ।
यात्रा आफैमा अनिश्चित छ, त्यस्तै यात्रामा निद्रा पनि अनिश्चित हुन्छ । त्यसैले, गीतको तालमा कुन बेला निदायौँ थाहै भएन । आँखा खुल्दा बिहानी पख थियो । बुटवल, गोरुसिङ्गे पछाडि पार्दै हामी अर्घाखाँचीको लाहपे पुग्यौँ ।
सामान्यतया, पश्चिम जाँदा अर्घाखाँची नपुग्नुपर्ने भएता पनि कपिलवस्तु र दाङको बिचमा अलिकति अर्घाखाँचीको भाग पर्दो रहेछ । बिहानको हावाले रातभरको यात्राले थकित शरीरलाई पुनः ताजगी दिइरहेको थियो । यतिकैमा हामी ओर्लियौँ र खाजा खान लाग्यौँ ।
यसैपनि गाडीको यात्रा त्यहीमाथि बिहान बिहानै चिल्लो पुरी तरकारीको खाजा ।
आम्मा! के बित्यो होला पेटमा । सोच्न सक्नु हुन्छ ? हामीले त खाजा खायौँ खायौँ । गाडीलाई पनि खुवायौँ ।
अं, गाडी भन्दा याद आयो । अलिकति ड्राइभर दाइको पनि कुरा गरिहालौँ क्यारे । पच्चीस जनाको सवाल छ दाइ भन्दाभन्दै पनि दाइले आफ्नो पारा छोडेनन् । उनले जतिन्जेल गाडी चलाए, त्यतिन्जेल टिकटिकमा लाइभ पनि बसे । हेर्नुस् त, टिकटकको क्रेज ।
हाम्रै टोलीमा एक जना बन्दुक दाइ पनि हुनुहुन्थ्यो । बन्दुक दाइ ? तपाईँलाई अचम्म लागेन ? सुन्नुस् अब ।
दाइको लामो इतिहास छ । भएको के रहेछ भन्दा, दाइको निधारमा एउटा चोट थियो । जसलाई दाइले बन्दुकको गोलीको खत भन्नू हुन्थ्यो । तर राजेश दाइले स्पष्टीकरण पेस गर्दै भन्नहुन्थ्यो – त्यो गोलीको खत होइन बन्दुकको बिँडको खत चाहिँ हुन सक्छ । हाँसो गलल्ल फैलन्छ । अझ पनि दाइले बन्दुकको गोलीको खत हो भन्न छोड्नुहुन्न । अटेरी दाइ ।
खाजा खाएर अगाडी बढेको यात्रा खाना खाने गरी चिसापानी पुगेर रोकियो । रातिदेखी यात्रा, बिहानको चिल्लो खाजाले गरेको गडबडी, थकित शरीर, भोको पेट भए पनि हामी खाना खान भन्दा पनि चिसापानीको पुलमा फोटो खिच्नै व्यस्त भयौँ ।
अनुहार क्यामेरामा कैद गर्नुपर्ने जति गरिसकेर अब पुग्यो भन्ने लागेपछि खाना खाएर त्यहाँबाट गर्मी सहँदै निस्क्यौँ । चिसापानीबाट करिब तीन घण्टाको यात्रा पछि हामी टिकापुर पार्क पुग्यौँ । त्यहाँ राजा महेन्द्रको आराम कक्ष, राजा वीरेन्द्रको फाम हाउस, थुप्रै प्रजातिका गुलाफ, केरा बगान नियाल्दै डल्फिन हेर्ने भन्दै संकटी नदिमा (कर्णाली को सहायक नदि) पुग्यौँ तर त्यहाँ त डल्फिनको स्ट्याचु मात्रै थियो । यो कस्तो मजाक हो ?
डल्फिन हेर्ने धोको पनि अधुरो रह्यो । हुन त, जीवनमा कत्ति कुरा अधुरा छन्, यसमा खेद प्रकट गरिरहनु पर्ने छैन । फेरि अधुरै कुरा त महत्त्वपूर्ण लाग्छन् । पाएपछि त्यसको महत्त्व घटिहाल्यो नि । अब, यसो गर्नुस् । कुनै कुरा महत्त्वपूर्ण लाग्छ भने अधुरो छोड्नुस् ।
अधुरा सपना, अधुरा सम्बन्ध, अधुरा आकाङ्क्षा सोच्दै म मेरो टोलीसँग बानाना फाम पुग्यौँ । केही उद्यमका कुरा बुझ्यौ, केही त्यहाँ बनेका कुरा चाख्यौँ र धनगढीतर्फ लाग्यौँ । राति करिब आठ बजेतिर हामी धनगढीको चौराहा पुग्यौँ र त्यहीँ बस्यौँ ।
बिहान उठ्दा सबैको अनुहारमा एक किसिमको चमक देखिन्थ्यो । मन चङ्गा, शरीर फुर्तिलो र अनुहार हँसिलो तबसम्म मात्र देखियो जब पुरी तरकारीको खाजा आइपुगेको थिएन । अब सोच्नुस् त, वातावरण कस्तो रह्यो होला ? तपाईँ अनुमान गर्दै गर्नुस् । मलाई भने पुरी तरकारी ठिकै लाग्ने हो ।
पुरी तरकारी जबरजस्ती ग्रहण गरिसकेपछि हामीले हाम्रो मुख्य उद्देश्यअनुरूप उल्का गार्मेन्ट र गट एण्ड एग्रीकल्चर फाम अवलोकन गर्यौँ । अवलोकन सकाएर महेन्द्रनगर हुँदै कञ्चनपुर जिल्ला पुगियो ।
अनि कञ्चनपुर पुगेर दोधारा चाँदनी नपुग्ने त कुरै भएन । खुब सुनेको थिए यसको बारेमा । लागेको थिएन कि ,अब प्रत्यक्ष रूपमा साक्षात्कार हुन्छु भनेर । उत्सुकताले ४१° को घामलाई पनि पछाडि पार्यो ।
कञ्चनपुर बजार देखि करिब चालिस मिनेटको बस यात्रापछि हामी निर्धारित तालिकाअनुसार दोधारा चाँदनी पुग्यौँ । तलदेखि लामो झोलुङ्गे पुल देखियो । म हराए यति लामो पनि पुल हुन्छ । बच्चा बेलामा घोकेको गण्डकी, कोसी, कर्णाली याद आईरहे ।
दोधारा चाँदनी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्दो रहेछ । १४५३ मिटर लम्बाई रहेको यो झोलुङ्गे पुल एसियाको नै सबैभन्दा लामो पुल रहेछ । आठ वटा खम्बाले अड्किएको यो पुलमा तारको डोरीहरू प्रशस्तै प्रयोग गरिएको थियो । भिमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई पुलले जोडेको थियो ।
महाकाली नगरपालिकाका बासिन्दाहरू महेन्द्रनगर बजार आउने एउटा मात्र बाटो यो suspension bridge रहेछ । वि.सं. २०६१ अघि उनीहरू भारत नाका हुँदै महेन्द्रनगर आउनु पर्ने बाध्यता रहेछ । जसका कारण व्यापार व्यवसायका लागि भारतीय बजारमा निर्भर हुनु पर्ने रहेछ ।
सबै जना फोटो खिच्न, कोही टिकटक बनाउन त कोही सबै सँग मिठो गफगाफमा व्यस्त हुनुहुन्थ्यो । म पनि केही तस्बिरहरूमा कैद भए । खोलामा पानी थिएन, जम्मै बालुवा मात्र थियो जुन उडेर हाम्रो आँखा, नाक, मुखमा पस्दै थियो । तर पुलको चिसो हावाले यी सबै कुरा बिर्साइ रहेको थियो ।
पुलमा मानिसहरूको भन्दा मोटर बाइक आवतजावत धेरै थियो । पुलमा दुई वटा मोटर बाइक सजिलै क्रस हुन सक्ने रहेछन् । पुलले त्यहाँका जनतालाई राहत दिइरहेको पाइयो । सबै कुरा प्रत्यक्ष अवलोकन गर्दा दोधारा चाँदनी मलाई नाउँ जस्तै ठाउँ पनि सुन्दर लाग्यो ।
अब पालो थियो- मलाई सुदूरपश्चिमकै मन पर्ने ठाउँ टनकपुरको । ती साना तर साँघुरा गल्लीहरूले अनि पसलहरूले लू, फिरफिरे लगायतका उपन्यासहरू मानसपटलमा आईरहे । त्यहाँको अजिबो गरिब मालाहरू, चुराहरू जसले कुनै अर्कै संसार प्रतिनिधित्व गर्थ्यो । केही समय महाकालीमा सूर्यास्तको मजा लिँदै, बिपीको बारेमा कुरा गर्दै, बिपीले बेचेकै हुन् त भन्ने प्रश्न गर्दै केहिछिन अल्मलिरह्यौ ।
साँघुरो गल्लीभित्रै रहेको शिवजीको मन्दिर दर्शन गर्यौ । त्यहाँ प्राय, भारतबाट हिन्दु धर्मावलम्बीहरू बढी आउँदा रहेछन् । दर्शन सकाएर हामी पुनः कञ्चनपुरको होटेलमा पुग्यौँ । र, एक्कासि याद आयो कि, भोलि हामी फर्किँदै छौँ । त्यसैले हामी केटीहरू मात्रै रातको दुई बजेसम्म नाचिरह्यौ । पवित्रा दिदीको हेडब्यान्ड, प्रमिला दिदीको रमाइलो सँगसँगैको हतारो, विनिताको ‘मे हु डान्सरवाला’ स्टेप र त्यति हल्लामा पनि निदाउन सक्ने सामनालाई यात्रापश्चात् कयौं दिनसम्म सम्झिरहेँ ।
यात्राहरू आफैँमा याद हुन् । इच्छा आफ्नै हो यादलाई खोतल्ने या नखोतल्ने ।