अनावश्यक बितण्डाबाजीमा भाषाको गन्तव्य अलमलिएको छ यतिखेर । भाषा राजनीति होइन र पाण्डित्य प्रदर्शन पनि होइन ।
Photo by: Himal Darpan
मौसम अनेक बहस र चर्चाका बजारु तर्कहरूको छ । तर्कहरूकै तर्कनामा तापिएर बजारमा म विगत दुई तीन वर्षदेखि मिसिएको छु, भाषाको दोकानमा । अतिवादले मान्छेलाई धेरै बिगार्छ र कोही कोही अतिवादी व्यक्तिलाई भने सपार्छ पनि, नितान्त स्वास्थ्यका लागि मात्र । मान्छेले अतिवादलाई मन पराउँछन्, पिछा गर्छन् ,माया गर्छन् तर अतिवादले भने सायद आफैलाई पनि माया गर्दैन । त्यसैले त अतिवादको पराकाष्ठामा पुगेपछि निकै आत्मघातीहरू निस्कन्छन्, आफैँलाई सिद्ध्याउँछन् र अरूलाई पनि मास्छन् ।
प्रसङ्ग नेपाली भाषा व्याकरणमा भएको अनैतिक भद्रगोल र भाँडभैलोको हो । यतिबेला दुई किसिमका नेपाली भाषाका अतिवादले भाषा मात्र होइन हाम्रा परम्परा र संस्कृतिमा समेत निर्मम हस्तक्षेप गरेको छ । हामी नियम र परिधिभित्र रहे पनि ठिक र परिधिभन्दा बाहिर रहे पनि ठिक भन्नु पर्ने अवस्थामा पुगेका छौँ । सिद्धान्ततः भाषा बोधको विषय हो र बोधको सहजीकरण नै भाषाको मूल आदर्श र मान्यता हो तर त्यसो भन्दैमा ‘पहिरनले हिँड्न असजिलो भयो बरु नाङ्गो हिँडौँ न त’ भन्ने कुरा पनि भएन । जन्मनासाथ हाम्री आमाले गुन्युचोली लगाएकी थिइन्, हाम्री नातिनीले त्यो भन्दा अरू कपडा नै लगाउन पाउँदिन भन्नु पनि महाभुल हो । अहिले हामीले देखिरहेका र सुनिरहेका तर्कहरू यिनै दृष्टान्तहरूकै परिधिमा घुमिरहेका छन् । हुनुपर्थ्यो – भाषाको आधुनिकीकरणका अनेक सवाल र सन्दर्भहरूमा बहस तर, भइरहेछ – खुट्टा काट्ने र नकाट्नेमा, टाँक लगाउने र नलगाउनेमा,टोपी अगाडि ढल्काउने र पछाडि कर्काउनेमा । त्यसो भनेर मोजा टाउकामा र टोपी खुट्टामा लगाएर हिँड् भन्नु पनि त मूर्खता हो मात्र प्रयोक्ताहरूले बुझ्ने र सिक्ने आधारभूत तथा सरल नियमावली भने बन्नु आवश्यक छ । त्यो प्रयोक्ताहरूको जनलबजबाट टिप्ने हो, हाकिम हैकमबाट होइन ।
नेपाली भाषाको ठेकेदारी सधैँ संस्कृतका शास्त्री र आचार्यहरूको आसपासमा मात्र रहनु हुँदैन । नेपाली विषयका स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिको प्रमाणपत्रमा मात्र पनि अल्झनु हुँदैन । यसका प्रयोक्ताहरूको त्यो भन्दा बाहिर ठुलो जमात छ । पत्रकारहरू, स्तम्भकारहरू, उद्योग/कलकारखानाका नियमित कर्मचारीहरू, व्यापार/वाणिज्यका कारोबारीहरूको ठुलो समुदायले संसारभरका धेरै क्षेत्रमा यो भाषाको प्रत्यक्ष-परोक्ष प्रयोग गरिरहेका छन् । उनीहरूद्वारा पनि भाषाको जगेर्ना र गोडमेल भइरहेको छ । तिनीहरूका जनबोली र प्रयोगका मान्यताहरू नै हाम्रो भाषाको मूल कानुन हो । हामीले आम गृहिणी र व्यवसायीहरूलाई कुन वर्णको खुट्टा कताबाट काट्ने र कताबाट भाँच्ने भनेर सिकाउन सक्दैनौँ र तिनलाई यस्ता ‘बोक्रे झगडा’को सरोकार पनि रहँदैन ।
प्रयोक्ताहरूको तिनै व्यवहारले भाषाको कानुन स्वतः निर्माण गरिरहेको छ ,परिमार्जन गरिरहेको छ । हामी आज प्रजातन्त्र, लोकतन्त्र पनि छोडेर गणतन्त्रमा आइसकेका छौँ भने भाषालाई शाहीकालीन जङ्गी आदेशले परिमार्जन एवं परिष्करण गर्न खोज्नेहरूलाई भाषाका मर्मज्ञ भन्न सकिँदैन । अहिले पनि महाराजाहरूको आदेशमा भाषामा लालमोहर लगाउने धृष्टता भनेको आफूभित्रको ‘जंगबहादुको प्रदर्शन’ मात्र हो । त्यसैले नेपाली भाषा जनभाषा हो, कसैले खस, कसैले आर्य र कसैलै जुम्ली वा डोटेयाल भनेर अल्झनेतर्फ हामी घुम्नु पनि हुँदैन ।
आज अर्को एक अनावश्यक बहस र तर्क पनि कुराकानीबाट सुनिँदै आएको छ कि नेपाली भाषाको कारण नेपालमा अन्य भाषाहरू ओझेलमा परे र अन्य भाषाहरूको विकास हुनै सकेनन् । यो तर्क सङ्कुचित मानसिकताको उपज हो किनकि नेपालको यस्तो बाध्ययता छ कि नेपाली भाषालाई गाली गर्नेहरूले यसकै सहारा लिनुपर्ने बाध्यता छ । एक नेपाली र अर्को नेपाली बिच स्नेह साटासाट गर्ने अर्को कुनै साधन पनि छैन । खास धरातलीय यथार्थको कुरा गर्ने हो भने हाम्रो राष्ट्रियताको मूल चुरो भाषासँग अभेद्य भएर जोडिएको छ । लिम्बु र तामाङ, मगर, नेवार आदि भाषी वक्ताहरूलाई जोड्न वा राष्ट्रिय मूल प्रवाहमा समावेश गर्न नेपाली भाषाको विकल्प के छ त ? २०४६ साल पछि केही अन्तर्राष्ट्रिय गैससहरूले नेपाली राष्ट्रियता कमजोर बनाएर पश्चिमा र दक्षिणका शक्तिहरू भाषामाथि आक्रमण नगरी यहाँका नागरिकहरू अन्तस्करणमा ढुकढुकी नै बनेर रहेको मातृत्वको मोह घटाउन सकिन्न । त्यसैले नेपाली भाषामाथिको मोह भङ्ग गराउनुपर्छ भन्नेतर्फ लागिरहेका तथ्यहरू बाहिरिएका छन् ।
केही अल्पबुद्धिका नेताहरूले अङ्ग्रेजी वा हिन्दी भाषालाई राष्ट्रभाषा बनाउने आवाज पनि उठाइरहेका नै थिए । भारतमा अङ्ग्रेजहरूले छोडेर जाने बेला निकै सानो जमातले बोल्ने हिन्दी भाषालाई मानक रूप दिएर विशाल भारतको अस्तित्व र विविधतामा एकताको सम्पर्क सूत्र बनाएको छ तर हामीले हाम्रा भएका सम्पर्क सूत्र भत्काउँदै छौँ । भत्काउन त सजिलो छ नै तर, भत्काएपछि बनाउनु पनि त पर्छ । नेपालको विविधतामा रहने सम्पर्क सूत्र हुने के भन्ने बारेमा अन्योलग्रस्त अवस्थामा हामी छौ । ज्याक डेरिडाले विनिर्माणवादको सन्दर्भमा केन्द्रहरू भत्काएर उपकेन्द्रहरूको निर्माणको आधार दिएका हुन् तर उपकेन्द्रहरूको संयोजनको स्नेह तन्तुको न्युक्लियर भने भाषा र साहित्य नै थियो, जसलाई हामीले अपनत्व दिन सकेका छैनौँ ।
भाषा आम जनबोली र स्वैच्छिक मनोविज्ञानले निर्देश गरेर प्रयोग हुने विषय हो । प्रयोक्ताहरूको इच्छित भावलाई कसैका तोकादेश र डुक्रानले न निर्देश गर्न सक्छ, न प्रशिक्षित गराउन नै । यो स्वतः परिवर्तनशील र स्वप्रवाहनशील विषय हो । नेपाली भाषा संसारका भाषाहरूकै एक हिस्सा हो र आम भाषाहरूकै विशेषतालाई यसले पनि बोकेको छ । संसारभरका नेपाली भाषा प्रयोगकर्ताहरूको जनजिभ्रो नै यसको संविधान निर्माण गर्ने विधायकहरू हुन । नेपाली भाषाको अलिखित कानुन हिजो जनबोलीले स्वतः निर्माण गरिरहेकै थियो र आज पनि बनाइरहेकै छ । हामी भाषामा बहस गर्नेहरूले तिनीहरूको दैनिक प्रयोगका वाचन र लेखनमा सहज भइरहेका बिम्बहरू टिप्ने मात्र हो र त्यसलाई अभिलेखन गर्नेसम्म हो । त्यसैले प्रयोगकर्ताहरूको सहजतालाई हामी सुझाव दिन मात्र सक्छौँ, आदेश गर्न होइन । यो भाषाको सदाबहार सिद्धान्त हो र, भाषाको विश्वव्यापी आदर्श पनि । यो सार्वकालिक र सार्वभौम भाषिक सिद्धान्तले दीनानाथकालीन जङ्गबहादुरको पुर्नसंस्करणित आदेश स्वतः खारेज हुनु नै थियो र भयो । तर, त्यस पछाडि निस्कनुपर्ने बहसहरू नजन्मिएर भाषासँग जोडिएको राष्ट्रियताका सवालहरू धरमराएका छन् ।
परम्परादेखि नै नेपाली भाषाका विद्यार्थीहरूलाई हृस्व/दीर्घका त्रासले तर्साइरहेको छ र त्यो परीक्षाका बेला झन् जब्बर भएर उभिन्छ । अहिलेको वर्ग वा ग्रेडिङ प्रणालीमा यो विषय निकै पेचिलो बनिरहेको पनि छ । परीक्षकहरूको मनोविज्ञान उसले कुन स्तरको भाव पोखेको छ ? वा उसको दक्षता कति छ ? भन्ने परीक्षणमा केन्द्रित हुँदैन कि उसले अक्षरलाई कताबाट पगरी गुथाइदिएको छ भन्नेतिर रातो मसीको डन्डा घुमाउन केन्द्रित हुन्छ । त्यसले पनि नेपाली भाषामा समस्या र विकर्षण उत्पादन गरेको छ भन्ने हामीले बुझ्नु परेको छ । यहाँनेर भाषाका केही आदर्शहरूलाई प्रयोक्ताहरूको प्रयोग सन्दर्भबाट टिपेर परिमार्जनको आवश्यकता त ढिलो भइसकेको छ । प्रयोग र परम्परालाई सर्वमान्य हुने ढङ्गले नेपाली भाषाको कानुन निर्माण गर्नु पर्छ न कि कुनै तथाकथित र स्वघोषित भाषाविज्ञको बहकावमा लागेर ।
यतिबेला भूपीको याद आइरहेको छ । उनले भनेका थिए, “हामी आफैँ कहिल्यै हिँड्न जानेनौँ, हामीलाई अर्कैले हिँडाइदिनु पर्ने ।” त्यसैले त सायद उनले सदाबहार सिर्जना रचे, ‘घुम्ने मेचमाथि अन्धो मान्छे ।’ घुम्ने मेचमाथि बसेका कथित अन्धा भाषा विज्ञानी मान्छेहरूकै अन्ध विवेकमा आज एक चिरा अतिवादीहरूले आत्मघात गरिरहेका छन्, मातृघात गरिरहेका छन् र भाषा अध्येता र प्रयोक्ताहरूमाथि जङ्गबहादुर शैलीले हुकुमत गरिरहेका छन् कि ‘यसो लेख्, उसो नलेख् । यसरी खुट्टा काट् यसरी नकाट् ।’अर्काथरीले खबरदारी गरिरहेका छन् र अवज्ञा भइरहेको छ, भाषाका कथित आदेशहरूको ।
यी दुवै पौरखहरू आत्मघात हुन् र भाषाका मर्यादा भत्काउने प्रपञ्चमाथिको अर्को घिउ थपाइ । मान्छेहरूले भन्न पाएका छन् कि यो भद्रगोलमा लाग्नु भन्दा अर्कै सरल बाटो हिँड्नु असल । यसरी भन्ने ठाउँ दिनुभन्दा अगावै सरकारले संसारका अभ्यासहरूबाट पनि सिक्नुपर्छ ।अक्साफोर्डले प्रतिवर्ष आफ्नो भाषामा संसारभरबाट कति शब्दहरू थपिए, आफ्ना कति शब्दहरू खिएर पुराना भए भन्ने अनुसन्धान गरेर शब्दकोशहरू परिमार्जन गर्छन् । धेरै भाषाका अनलाइन शब्दकोशहरू लेखन पठनमा सरलता आइसकेका छन् । हामी त्यता पदार्पण गर्न र सबै समस्याहरूको समाधानको उपाय निकाल्न ढिलो भइसकेको छ ।
अनावश्यक बितण्डाबाजीमा भाषाको गन्तव्य अलमलिएको छ यतिखेर । भाषा राजनीति होइन र पाण्डित्य प्रदर्शन पनि होइन तर भइरहेछ त्यस्तै । त्यसोभए हुनुपर्थ्यो के त ? गन्तव्य कता जानुपर्थ्यो त भन्ने सवाल पनि उठ्न सक्छ । नेपाली भाषालाई मास्न निकै वर्षदेखि कसरतहरू भइआएका छन् । प्रत्यक्ष-परोक्ष यसका ठेकेदारी सम्झने त्रिभुवन विश्वविद्यालयबाट नै नेपाली प्रचलन र भाषामार्फत राष्ट्रियता विरुद्धका हर्कतहरू आरम्भ भएका हुन् । त्रि.विको वाणिज्य विभागबाट, वन विज्ञान, कृषि लगायतका विभाग तथा सङ्कायहरूबाट पहिलो पटक नेपाली भाषा पाठ्यक्रम हटाएपछि यस विरुद्धका अभियानहरू संस्थागत भएकै हुन । आज त्रि.विले भाषा आन्दोलनमा वक्तव्यवाजी गर्दै गर्दा आफूले गरेको मातृघात पनि सम्झोस् । त्रि.विले वाणिज्य शास्त्रको पाठ्यक्रममा नेपाली पढ्न नपर्ने व्यवस्था गरेको छ भने अङ्ग्रेजीका लागि बिजनेस अङ्ग्रेजीको अनिवार्य व्यवस्था गरेको छ । नेपाली उपभोक्ताहरूलाई अङ्ग्रेजीमा मार्केटिङ गरे हुन्छ भन्ने कस्तो भूत सवार भएको हो नीति निर्माताहरूलाई ? बैङ्क र वित्तीय संस्थाहरूमा काम गर्नेहरूले नेपाली नबोले पनि हुने र नेपालीमा कारोबार नगरे पनि हुने । मातृभाषा विप्लवी हर्कतको आरम्भ त्यहाँबाटै भएको हो र प्रथमतः सुधार त्यतैबाट होओस् ।
त्यस्तै वन विज्ञान पढ्नेहरूले कम्तीमा वनस्पतिहरूका नेपाली परिचय र नाम त जान्नुपर्थ्यो होला नि । नेपालमा कृषि अध्ययन गर्नेहरूले नेपाली शैलीका बीउ, बिजन, प्रविधिहरूको ज्ञान नेपाली भाषामार्फत आवश्यक थियो कि थिएन होला ? त्यताबाट नेपाली भाषा नामेट बनाएपछि राष्ट्रियताका जारा शैक्षिक क्षेत्रमार्फत शनैःशनैः काटिँदै जाने यथार्थलाई प्रायोजकहरूले राम्रैसँग मनन गरेका रहेछन् ।
नेपाली भाषाको प्रवर्धन र संरक्षणका लागि हरेक विश्वविद्यालयमा हरेक विषयका लागि तत् क्षेत्रका भाषाका पाठ्यक्रमहरू बनाइनु पर्ने विषयमा बहस केन्द्रित हुनु पर्ने थियो । आज नेपालमा उत्पादन भएका डाक्टरहरू नेपाली बुझ्दैनन् । सुदूर ग्रामीण बस्तीमा पुगेका इन्जिनियरहरू, पशु, कृषि, वनका विज्ञहरू आम नेपालीहरूलाई नेपालीमा सम्झाउने सामर्थ्य राख्दैनन् । तिनीहरूले बोलेको जनताले नबुझ्ने र जनताले बोलेको तिनीहरूले नबुझ्ने स्थिति आइपरेको छ । के हामीले बनाउन खोजेको नेपाल यस्तै हो ? पढेलेखेका र शिक्षितहरूले देश नबुझे पनि हुन्छ ? नेपाली भाषा नसिके पनि हुन्छ त ? हो, भाषाको बहस यतातिर केन्द्रित हुनु पर्छ । हरेक विश्वविद्यालय, शिक्षण संस्थाहरूमा अध्यापनको माध्यम नेपाली हुनै पर्छ । प्राविधिक क्षेत्रमा प्राविधिक नेपाली र सामाजिक क्षेत्रमा समाज सापेक्ष साहित्यका विधाहरू समावेश गरेर नेपाली भाषा पढाइनु पर्छ अनि उत्पादित जनशक्तिले नेपाल, नेपाली र हाम्रो वस्तुगत धरातल बुझ्छन् । अहिले दुनियाँका भाषाका अनलाइन डिक्सनरीहरू आएका छन् । कम्युटरमै बसेर भाषाका व्याकरणहरू मिलाउन सकिने र अनुवाद गर्न सकिने सहज उपायहरू विकास भइसकेका छन् । के हाम्रो सरकारले त्यति व्यवस्था पनि गर्न सक्दैन ? यस्तो उन्नतिको उचाइतिर हामी आफ्ना सोचहरू केन्द्रित गर्न छोडेर एकले अर्काको अधोवस्त्र फुत्काउन लाग्ने परम्पराले हाम्रो भाषाको हित अवश्य गर्ने छैन । मात्र आफैँ नाङ्गो हुने हो महाशयहरू ।
यतातिर नेपाली भाषाका विज्ञहरूको ध्यान जानुपर्नेमा ‘तैँले लेखेको अक्षर कता फर्केको र मैले लेखेको अक्षरको खुट्टो कता काटिएको’ भनेर हेर्न थालेपछि हाम्रो हविगत घाँस खाने पण्डितको कथाजस्तो नहोस् ।
कथाले भन्छ, ‘एकजना सज्जनले घरमा पूजा लगाउन पल्लो गाउँबाट दुई पण्डितहरू झिकाएछन् । अघिल्लो दिन नै दुवै पण्डितहरू सज्जनको घर पुगेछन् । हातमुख सफा गर्न पहिलो पण्डित धारामा गएको बेला दोस्रा पण्डितले पहिलोको अक्षमता बखान गर्दै भनेछन्, ‘सज्जन तपाईँले त्यो पण्डित किन बोलाउनु भो ? त्यसले त केही जान्दैन । स्वर पनि गोरुको जस्तो धोद्रो छ, त्यो त गोरु हो ।’ निश्चित समयमा पहिलो पण्डित धाराबाट आए र दोस्रा हातमुख सफा गर्न गए । मौका पहिलोले पो किन चुकाउँथे ? उनले पनि सज्जनलाई भने, ‘हेर्नुहोस् सज्जन, म हुँदाहुँदै त्यो गधालाई बोलाउनु भो । त्यो गधा पण्डित केही जान्दैन ।’ बिचरा सज्जन तीन छक परे । खाना खाने बेला भयो । दुबैलाई तयार भएर आउन सज्जनले आग्रह गरे । तिनले धोती पाटा फेरेर आए । सज्जनले एकलाई गधाको र अर्कोलाई गोरुको खाना लगाएर दिए । पण्डितहरू निरुत्तर हुनु बाहेक अर्को कुनै उपाय थिएन ।’
भाषाका सन्दर्भमा के यी दुवै असल भइरहेका छन् ? प्रयोगका नाममा नयाँ छाडावाद र पुरानो परम्परावाद के यी दुवै शिष्टलेख्य मानकमा सार्थक र सान्दर्भिक छन् त ? पुराना परम्परा भत्काउने नाममा बनाइएका अमानक हुकुम तामेल गर्न लायक छन् ? वा परम्पराका नाममा ‘बिरालो बाँध्नैपर्ने’ जटिलता बोकिरहनु जायज छ ? अनेक प्रश्नवाचक यथार्थहरूले हामीलाई घेरिरहेको छ ।
नेपाली डायस्पोराको विश्व भूगोलमा भिन्नभिन्न शैलीले उपस्थिति बाक्लिएको छ । नेपाल, असम, दार्जिलिङ मेघालय, भुटान, बर्मा र भारतका अन्य क्षेत्रहरूमा धेरै अगाडिबाट प्रयोग हुँदै आए पनि अहिले बेलायत, हङकङ, अस्ट्रेलिया, अमेरिकामा नयाँ नेपाली भाषिक समुदाय विकास भइरहेकै छ । हङकङ, क्यानडा, अस्ट्रेलिया, अमेरिकामा खुलेका नेपाली विद्यालयमा यहाँका शासकहरूको व्याकरणीक तोक आदेशले भाषिक सरलता कायम गर्छ ? विश्वभरकै नेपाली भाषाको आशा र उद्गमको केन्द्रमा भइरहेको बेमेल र अनीतिमय बबन्डरले त्यहाँ हुर्कँदै गरेका कलिला नेपाली भाषाका नयाँ सभ्यतामा कस्तो बज्रपात पर्छ ? के हामीले यसतर्फ कहिल्यै ध्यान दिएका छौ ? अब आफ्नै भूमिमा आफ्नो मानकलाई अमानक प्रयोगले थिचिरहेको छ भने अन्य मुलुकमा त्यो प्रयोगलाई आदर्श मान्नै पर्छ भन्ने के सरोकार रह्यो र ? स्थानीय आदर्शलाई मानक मान्यता दिँदा हाम्रो प्रतिष्ठा रहन्छ नै कहाँ र ?
त्यसैले सुधार गर्न खोज्नेहरूले बुझ्नु पर्छ कि भाषा आदेशले चल्दैन र विद्यालाई विद्या नै लेख्नुपर्छ नत्र गलत हुन्छ भन्ने हलन्तको ठेकेदारी गर्न खोज्नु हुँदैन । पुरानो मानकबाट एक इन्च हल्लन हुन्न भन्नेहरूले पनि संसारमा हुर्किरहेका अनेक नेपाली डायस्पोराले प्रयोग गर्ने व्याकरणलाई हाम्रो मान्यताले बचाउँछ कि बचाउँदैन भन्ने पनि सोच्न बिर्सनु हुँदैन । यस्तै चिरा र बेमेलले भाषासँगै राष्ट्र र राष्ट्रियता जोखिममा पर्ने हो । त्यसैले आजै दुवै प्रकृतिका अतिवादलाई वर्तमानको ऊर्जामा रूपान्तरण गर्नुपर्छ र भाषाको उन्नयनमा तेस्रो ध्रुवले काम गर्नु विवेकसम्मत हुनेछ ।
– अक्षर आवास धादिङ