बुधबार , अषोज २, २०८१

भरतपुरको मेयरमा रेनु दाहाल भारी मतान्तरसहित विजयी

उनी ५२ हजार ३० मतसहित मेयर पदमा विजयी भएकी हुन् ।

image

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित मेयर पदमा विजयी भएकी हुन् ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर बनेकी थिइन् । यसपटक पनि उनले एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पार्दै निर्वाचित भएकी हुन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।

नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ ।

माओवादी केन्द्रले वटा वडाको वडाध्यक्ष पद जितेको छ । १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।

सम्बन्धित समाचार