शुक्रबार , अषोज ४, २०८१

५०० पर्यटक बोकेर जनकपुरधाम आइपुगे ‘भारत गौरव टुरिष्ट रेल’

ठूलो संख्यामा धार्मिक पर्यटकसहित रेल जनकपुरधाम आउँदा विभिन्न ठाउँमा भव्य स्वागत गरिएको छ ।

image

काठमाडौं । आज बुधबार पाँच सय पर्यटकसहित भारतीय रेल जनकपुरधाम आइपुगेको छ । नेपाल–भारत रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ भारतको सङ्घीय राजधानी नयाँदिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको हो । ठूलो संख्यामा धार्मिक पर्यटकसहित रेल जनकपुरधाम आउँदा विभिन्न ठाउँमा भव्य स्वागत गरिएको छ ।

‘भारत गौरव टुरिस्ट रेल’ नामक विशेष रेलमा रेलमा १४ वटा डिब्बा छन् । रेलको दुईवटा डिब्बा योगसम्बन्धी तस्बिर तथा सामग्री अंकन गरिएको छ । रेलको बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोकनृत्य, पोसाक, पर्व, परिकार प्रवर्द्धन गर्ने चित्र सामग्री राखिएका छन् । भारतीय समयअनुसार सो रेल मंगलबार साँझ ७ बजे नयाँदिल्लीबाट जनकपुरका लागि प्रस्थान गरेको थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दिल्लीबाट विशेष रेल चढेर जनकपुरधाम आएका पर्यटकलाई स्वागत गरेका छन् । स्वागत समारोहमा मुख्यमन्त्री राउतसँगै मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शुत्रधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नीतिश कुमार, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलगायत जनकपुरधाम रेल्वे स्टेसनमा पुगेका थिए ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि त्रेता युगीन भगवान् राम र जगत्जननी सीताको जीवनगाथासँग जोडिएका स्थलका आधारमा भारत सरकारले रामायण सर्किट बनाएको छ । रामायण सर्किटका क्रममा आज विशेष रेल यात्रा दिल्लीबाट सुरु भएको हो । राम र सीताको मूलतः पथागमन भएको त्यस कालखण्डका विभिन्न ठाउँमध्ये जानकी पिता राजा जनकको प्राचीन राजधानी जनकपुरधाम समेत भएकाले रामायण सर्किटमा जनकपुरधाम समेतलाई भारत सरकारले समेटेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चार वर्षअघि भएको जनकपुरधाम भ्रमणका क्रममा नेपाल र भारतबीच रामायण सर्किट तयार गर्ने सम्झौता भएको थियो । केही समयअघि मात्र जयनगर–जनकपुर–कुर्था रेल सेवा सुरु भएको थियो । यो रेल्वे सञ्जाल ब्रोडगेज भएकाले दिल्लीबाट छुटेको रेल सीधा जनकपुरधाम आउन सकेको हो । यो विशेष धार्मिक पर्यटन समूहमा पाँचसय भारतीय पर्यटक सहभागी छन्।

भारतीय पर्यटकहरूलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले यो धार्मिक पर्यटनलाई मधेस प्रदेश सरकारले ठूलो अवसरका रूपमा लिएको बताए । उनले रामायण सर्किटका आधारमा पर्यटक आगमन हुँदा दुई देशबीचको सम्बन्ध मजबुत हुनुका साथै जनकपुरधाम लगायतका ठाउँमा पर्यटकीय सम्भावना बढ्ने विश्वास व्यक्त गरे।

प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री महतोले मधेस प्रदेशको आर्थिक सम्वृद्धिमा पर्यटन र कृषि क्षेत्रलाई लिनुपर्ने बेलामा धार्मिक पर्यटकको आगमनबाट यस क्षेत्रको सर्वपक्षीय विकासमा मद्दत पुग्ने बताए । उनले भारतीय पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने जानकारी दिएका छन् ।

जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले पर्यटक आगमनलाई दृष्टिगत गरी जनकपुरको सरसफाइ तथा सौन्दर्यीकरणका लागि वडा कार्यालयलाई साधनस्रोत उपलब्ध गराइने प्रक्रिया सुरु गरिसकिएको बताए ।

सम्बन्धित समाचार