सोमबार , भाद्र ३१, २०८१

कसरी बागलुङ पुगे भादगाउँका नेवार ?

नेवार बस्ती बसेपछि जिल्लामा लाखे नाच, माक प्याखँ, रोपाइँ नाच, घोडा नाच, नागानगिनी नाच, ठेट्टर नाच आदि नचाउने, गाईजात्रामा ताहामचा, बास्सा, कटुवाल आदि नाच जात्रा निकाल्ने गरेको पाइन्छ ।

image

नेपालको गण्डकी प्रदेशमा अवस्थित पहाडी जिल्ला बागलुङलाई झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ ।

बागलुङको नाम ‘बाग’ र ‘लुङ’ दुई शब्दहरू मिलेर बनेको छ । मगर भाषामा “बाग” को अर्थ केही उठेको खण्ड र “लुङ”को अर्थ सम्म परेको वा समथर भन्ने हुन्छ । यस हिसाबले बागलुङको अर्थ ‘कहीँ उठेको, कहीँ समथर भूभाग’ भन्ने बुझिन्छ ।

विक्रमको १८औँ शताब्दीको अन्त्य र १९औँ शताब्दीको प्रारम्भतिर उपत्यकाको खास गरी भादगाउँबाट बागलुङमा नेवारहरू गई बसोबास गरेको पाइन्छ । काठमाडौँ, पाटन, बनेपा लगायत अन्य स्थानबाट पनि नेवारहरू बागलुङमा गई बसोबास गरेको पाइन्छ । वि.सं. १८२६ मा भादगाउँलाई गोर्खालीले कब्जा गरेको १५ वर्षपछि भादगाउँका राजा रणजित मल्ल र मनमयजुका छोरा अवधूत सिंह बागलुङमा आएको इतिहासमा पढ्न पाइन्छ । पर्वतका राजा कीर्तिबम मल्लबाट अवधूत सिंहले बागलुङ उपल्लाचौरमा १०० मुरी जग्गा बिर्ता पाएका थिए । अवधूत सिंहले उपल्लाचौरमा तेलिया इँटाको गारो र काठको कलात्मक थाम, झ्याल, ढोका भएको भव्य दरबार बनाएका थिए । उनका साथमा कला र प्राविधिक क्षेत्रमा दखल भएका नेवारहरू पनि ल्याएका थिए ।

नेवार बस्ती बसेपछि जिल्लामा लाखे नाच, माक प्याखँ, रोपाइँ नाच, घोडा नाच, नागानगिनी नाच, ठेट्टर नाच आदि नचाउने, गाईजात्रामा ताहामचा, बास्सा, कटुवाल आदि नाच जात्रा निकाल्ने गरेको इतिहास पाइन्छ । भादगाउँबाट बागलुङ पुगेका नेवारहरूले बागलुङ बजारमा भीमसेन, गणेश, नारायण, राधाकृष्ण, विश्वकर्मा (हाल बुद्ध विहार) जस्ता मन्दिरहरू बनाएका छन् । त्यसका साथै, गुठीको व्यवस्था गरी, राति शास्त्रीय लगायत भजन गाउने व्यवस्था समेत मिलाइएको छ ।

(स्रोत : किंवदन्तीमा भक्तपुर | गणेश रञ्जित)

सम्बन्धित समाचार