भैरवीको चुली जहाँ सूर्यरश्मीको पहिलो चुम्बन पोतिन्छ र छरिन्छ- लालीरङ्गका आभा रुखपात र मृत्तिकाका कणकण रङ्गिने गरेर । उस्तै मुस्कुराउनेछ, सुदूर उत्तरतिर गणेश हिमाल र हिउँचुलीहरू आँखामै ठुँग मार्ने गरेर ।
पर्यटनको तिर्खा आम नेपालीको दिलमा आजकाल निकै गहिरिएर बसिसकेको छ । बिदा मनाउन गाउँ सहर छोडेर केही दिनको यात्रामा निस्कने प्रचलन हाम्रो दिनचर्यामा बसिसकेको छ । राज्य पुर्नसंरचनापश्चात् नयाँ-नयाँ गन्तव्यहरूको खोज र प्रचारप्रसार भइरहेका छन् । इतिहासका लिखित, अलिखित दस्ताबेजहरू उत्खनन् भइरहेका छन्, जसले सभ्यताका आदिम पौरस्त्य दृष्टिकोणहरूको पुनसंस्करण पुनः जीवित भएका छन् ।
पर्यटनको दृष्टिले अनुपम र आकर्षक मात्रै होइन इतिहासका लिखित,अलिखित दस्ताबेजको साक्षी बनिरहेको पर्यटकीय गन्तव्यको केन्द्र हो — सुनौला बजारको भैरवीकोट ।
भैरवीकोट र सुनौला बजारसम्मको यात्राका लागि अहिले तीन वटा बाटाहरू तपाइँलाई पर्खिरहेका छन् ।
पहिलो बाटो : दा गल्छी हुँदै पासाङ्ल्हामु मार्गको केउरेनी भएर
काठमाडौंबाट भैरवीयात्रामा निस्कँदा गल्छी हुँदै पासाङ्ल्हामु मार्गको केउरेनीसम्म सहज र करिब तीन घण्टाको यात्रामा तय गर्न सकिन्छ । त्यहाँबाट पक्की पुल तरेर धादिङ बेसी फोस्रेटार सडकको एकघण्टे कच्ची सडकको यात्रापछि रमाइलो धादिङ उपत्यकाको चिसो सुगन्धमय वायुले तपाईंलाई सुस्वागत गर्दछ ।
गल्छीबाट कोशीखोला हुँदै उक्लने कच्ची बाटोमा पर्ने गुप्तेश्वर महादेवको कथाले बाटो छेक्छ । गाई बाख्रा र साँढेको कथासँगै आरम्भ हुने गुप्तेश्वरको किंम्वदन्तीले हामीलाई जीवनको सुदूरपूर्वका सन्दर्भहरूसँग एकाकार गराउँछ । त्यहाँ फलफूलका बोट-बोटमा उभ्भिरहन्छन्- चार्ल्स डार्बिन र टोल्सटयका अभिनव संस्करणहरू । लहराउँछन्, बोनापार्ट र मार्कोनीहरू घाँसे गीतका कथ्य, महाकाव्यका बिटा बोकेर । आँप, लिचीका बगैँचा र धान झुल्ने फाँटैफाँटको रमाइलो यात्राबाट भैरवीको चुली गल्छीको बाटोबाट पुग्न सकिन्छ ।
दोस्रो बाटो : आदमघाट हुँदै उक्लने गोरेटो
भैरवी यात्राको अर्को बाटो आदमघाट हुँदै उक्लने गोरेटो हो । अहिले कच्ची सडक पनि बनेको छ । आदमघाट हुँदै पैदल यात्राबाट करिब दुई घण्टाको उकालो उक्लिएपछि अनौठो उचाइमा पुग्छौँ, जहाँ सुलुत्त परेको जिउभर ढुङ्गैढुङ्गाको भुत्ला पालेको सुख्खा चुलीले हामीलाई सुस्वागत गर्दछ । जुन रमाइलो चुलीले यात्राको पहिलो स्वाद चखाउँछ । नवलपुर, रानीस्वाँरा हुँदै नेवारपानीको चिसो पानी खाएर भैरवीस्थान पुग्न सक्छौँ ।
तेस्रो बाटो : धादिङबेसी हुँदै पिच सडकबाटै भैरवीको चुलीसम्म
भैरवीको चुलीमा पुग्ने अर्को घुमाउरो तर, रमाइलो बाटो पृथ्वी राजमार्गको फुर्के खोला हुँदै कालुपाण्डे राजमार्गबाट धादिङबेसी हुँदै पिच सडकबाटै भैरवीको चुली उक्लने यात्रा हो । यहाँ जानका लागि फुर्के खोलाबाट कालुपाण्डे मार्गको १८ किलोमिटर भित्र छिर्नु पर्दछ ।
धादिङ बेसीमा बास बस्नका लागि राम्रा होटेल र रिसोर्टहरू पाइन्छ । एक बास धादिङ बेसीमा बसेपछि १० कि मि पक्की व्यवस्थित सडकबाट नेवारपानी टेकिन्छ । सल्लै-सल्लाको वनेली लामीडाँडामा यात्रीहरू एकछिन उभ्भिएर फोटो नखिचीकन पाइलो सार्नै मान्दैनन् । लामीडाँडाको सल्लेरी सुसेलीको आनन्द नबिर्सिँदै यात्रा कुसुण्डे मान्के र नेवारपानीको कर्णेश्वर दर्शनमा पुगिन्छ । स्कन्दपुराणकालीन कर्णेश्वर मन्दिरका भग्नावशेषले संरक्षणको पर्खाइलाई बाहिरबाटै झल्काएको छ । त्यहाँबाट मौरीडाँडा हुँदै सुनौला बजार पुगिन्छ ।
सुनौला बजार धादिङ जिल्लाको पुरानो सदरमुकाम धादिङ उपत्यका अन्तर्गतको सानो बजार हो । यस ठाउँ कचौरा आकारको हरियाली बुट्यानहरूले छपक्कै छोपिएको छ । वरपर ससाना अवशिष्ट पहाड जस्ता रमाइला थुम्कै थुम्काहरू छन् । उत्तरमा र पूर्वमा भैरवी थुम्की, बास्तलडाँडा, दक्षिण र पश्चिममा ढुङ्गे चुली, लेकाली चुली, दामगाडे, नवलपुर, रेञ्जरचुली जस्ता थुम्काथुम्कीहरू छन्, जसले त्यो सानो उपत्यकालाई हत्केलामा जतनपूर्वक सजाएजस्तो रखवारी गरिरहेका छन् । यी थुम्किला चुलीहरू यस्ता रहरलाग्दा छन् कि जहाँ एकै बिहान घुमेर फर्कन सकिनेछ अर्थात् एक बिहानीको परिभ्रमणमा त्यो मोहनीमय भानु स्पर्शको दिव्यानन्द चुम्न सकिन्छ ।
भैरवी मन्दिरको स्थापनाको खास तिथिमिति प्राप्त भएको छैन तथापि, मन्दिरको वास्तुकला, मूर्तिको अवस्थिति र पूजा पद्धतिका मानकहरूलाई हेर्दा यसको स्थापना पौराणिक कालदेखि नै भएको भन्न सकिन्छ । यसको सेरोफेरोमा गणेश, सरस्वती, भैरव भैरवी तथा कर्णेश्वर महादेवका मन्दिरहरू छन् । प्रारम्भमा ती मन्दिरहरूको पूजा, आराधना मेला संयुक्त रूपमै हुने गरेका थिए । पछि आ–आफ्नै गुठी र मानधनको सरकारी व्यवस्थापनले त्यहाँको प्रक्रियालाई अल्छी बनाएको देखिन्छ । विस्तार विस्तार ठुलो मन्दिर भैरवीको प्रभाव व्यापक बन्दै गएको र साना साना मन्दिरको महत्त्व बिलाउँदै गएको हो कि भन्ने आभास भएको देखिन्छ ।
भैरवी उक्लिएपछि यात्रीहरूमा थकान हराउँछ । आलस्य गायब हुन्छ, ताजगी र स्फूर्ति बढ्छ र फर्किने समय नै बिर्सन्छन्, यात्रीहरू ।
भैरवीको चुली जहाँ सूर्यरश्मीको पहिलो चुम्बन पोतिन्छ र छरिन्छ- लालीरङ्गका आभा रुखपात र मृत्तिकाका कणकण रङ्गिने गरेर । उस्तै मुस्कुराउनेछ, सुदूर उत्तरतिर गणेश हिमाल र हिउँचुलीहरू आँखामै ठुँग मार्ने गरेर । उता, लेकको दामगाडे थुम्की र ढुङ्गे चुली पनि लुछालुछ गरेजस्तो खोस्न तँछाडमछाड गरेजस्तै पोखिन खोज्छन्- सूर्याभामा चुर्लुम्म डुबेर ।
नेपाल प्रकृतिले सिँगारेको कुमारी सौन्दर्य छरेर मस्किरहन्छ, हर पाखा पखेराहरू र जहाँ पाइला टेके पनि उस्तै आल्हादित अनुभूतिले रोमाञ्च बनाइरहन्छ- दिल र झकझक्याइरहन्छ विचित्रताको उद्वेलनले । त्यस्तै अनौठो र विचित्रताको महकमा सधैँ मस्किरहन्छ भैरवीको थुम ।
विविधता जीवनको इन्द्रेनी । जहाँ फुल्छन् सुस्वादु सौन्दर्य र छरिरहन्छ, कुमारी बैँस र लट्ठ्याइरहन्छ ।
यायावरीय जीवन, सौन्दर्यको अर्को पाटो र जीवनको महक ।
अग्ला डाँडा पाखाहरू जहाँ सुसेलिन्छन् सल्लाका गीतहरू र पोत्छन् गुराँसले राताम्मे पखेराहरूलाई ।