बिहिबार , मंग्सिर ६, २०८१

सुन्दरनागी-ब्रोम्दिमा चिया खेतीको परीक्षण, होमस्टे पनि सञ्चालन हुने

पालिकाले आर्थिक वर्ष २०७९/८० को बार्षिक निति तथा कार्यक्रम (बजेट) मार्फत यी कार्यक्रमहरू समेटिएको छ ।

image

बेनीघाट रोराङ गाउँपालिकाले वडा नम्बर १ का सुन्दरनागी र ब्रोम्दिमा नमुना चिया बगान बनाउने भएको छ । यी गाउँहरूमा होमस्टे पनि सञ्चालन गर्ने भएको छ । पालिकाले आर्थिक वर्ष २०७९/८० को बार्षिक निति तथा कार्यक्रम (बजेट) मार्फत यी कार्यक्रमहरू समेटिएको छ ।

‘सुन्दरनागी-ब्राेम्दि क्षेत्रमा चिया पर्यटन प्रवर्धनका लागि चियाको सम्भाव्यता अध्ययन गरिने’ निति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाले पर्यटन विकासलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गरिने जनाएको छ । पर्यटकीय क्षेत्रको पहिचान गरि सम्भाव्य पर्यटकीय क्षेत्रको विकास गरिने बजेटमा उल्लेख छ ।

 पर्यटन प्रबर्द्धन अन्तर्गत त्रिशुली नदी र्यारफटिङ, नोहक गुफा, मजदूर स्मृति सहिद पार्क, कृषक तालिम केन्द्र, कार्वाङ चुली, जवाह सुन्तला बगैचा, सोलिघोप्टे सोलाभाजा, मनकामना मन्दिर, कोटगढी, सुन्दरनागी-ब्राेम्दि लगायतका क्षेत्रलाई पर्यटन गन्तब्य स्थलको रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

महाभारत श्रृखलामा ट्रेकिङ रुटको विकास तथा विभिन्न वस्तिमा होमस्टे संचालनका लागि आवश्यक पहल गरी पर्यटन प्रबर्द्धनमा टेवा पुयाइने पनि जनाएको छ ।

पालिकाले पर्यटनको विकासका लागि गाउँपालिकाभित्र भएका पर्यटकीय स्थलहरुको सूचना सामाग्री तथा सचित्र व्याख्या पुस्तिका प्रकाशन पनि गर्ने भएको छ ।

गाउँपालिकाको सुन्दर वस्तिहरु सुन्दरनागी, जम्दी, चाम भञ्ज्याङ, चैलिङ, जवाङ तथा वासपुरलाई होमस्टेको रुपमा विकास गरी त्यस क्षेत्रको पर्यटन प्रवर्धन गरिने कार्यक्रममा उल्लेख छ ।

वडा नम्बर १ पर्यटकीय सम्भावनाले युक्त छ । प्राकृतिक सुन्दरताले भरिएको छ । वडामा विभिन्न रमणीय स्थलहरू समेत रहेका छन् । नौ सय मिटरको चिम्बाङ खोलादेखि २३ सय मिटर उचाइमा रहेको खैलिङ डाँडासम्म फैलिएको वडामा हावापानी र वनस्पतिमा समेत ठूलो विविधता रहेको छ । वडामा थुप्रै गुफा, झरना, रमणी डाँडापाखा, मन्दिर, देवस्थलहरू रहेका छन् । वडाको थमभन्ज्याङ, ब्रोम्दि, च्यात्रा लगायत डाँडाबाट मनोरम हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । जरुङ, सिम्टार, लवाङ लगायतका गाउँहरू पनि सुन्दर भूगोलका कारण रमणीय छन् । वडामा तामाङ र चेपाङ समुदायको बसोबास रहेको छ ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले  पालिकामा पर्यटनकाे विकासमा जाेड दिने बताएका छन् ।  धादिङकाे दक्षिणी भेगमा अवस्थित गाउँपालिका पर्यटनकाे सम्भावनाले युक्त छ ।

सम्बन्धित समाचार