"नेताहरू चुनावको बेला मात्रै गाउँ पस्छन्, अरूबेला राजमार्ग परिसर बाहेक अन्त पुग्दैनन् । गाउँगाउँमा न सडक छ, न बत्ती छ, न विद्यालय छ, न अस्पताल छ । खानेपानीको हाहाकार उस्तै छ", लामाले भने, "दुई जना मुख्यमन्त्रीसहित नेताहरू जन्माएको धादिङ-१, ले केही पाएको जस्तो देखिँदैन । यहाँका गाउँहरूले मुख्यमन्त्री, सांसदहरूलाई साँच्चै गिज्याइरहेका छन् ।"
धादिङको बेनीघाट रोराङ–१, जरुङ गाउँका आशिष तामाङ २०७८ मा वैदेशिक रोजगारीबाट स्वदेश फर्किए । गाउँमा तरकारी खेती गरेर साथीहरूले राम्रो आम्दानी गरिरहेको देखेपछि उनले विदेश नफर्किने निर्णय गरे । अनि सुरु भयो आफ्नो पसिनाले आफ्नै माटोलाई सिञ्चित गर्ने उनको यात्रा ।
मौसम अनुसार विभिन्न फलफूल तथा तरकारी लगाउन थाले । यद्यपि उनको कृषि कर्मले व्यावसायिक रूप लिन सकेन । कारण थियो, माेटरबाटोकाे दुरावस्था । उनकाे गाउँ जरुङबाट गजुरी बजार (पृथ्वी राजमार्ग) पुग्न करिब २८ किलोमिटरको दुरी छ । गजुरी-जरुङ सडकको दुरावस्थाका कारण बजार पुर्याउन सक्ने टुङ्गो नभएपछि उनले ठुलो परिमाणमा उत्पादन गर्ने आँट गर्न सकेका थिएनन् । तर, बाटोको अवस्था थोरै राम्रो हुँदै गएपछि २०८० को वैशाखमा उनले आफ्नो बारीमा ठुलै परिमाणमा बन्दागोभी लगाए । उनका साथीहरू राेशन तामाङ, सूर्य बहादुर तामाङ र चन्द्र थिङले पनि ठुलो परिमाणमा बन्दागोभी लगाए । वैशाखको १५ तिर लगाएको बन्दागोभी असारको १५ तिर (करिब तीन महिनामा) उत्पादन हुने थियो । असारको १० तिर बन्दागोभीको डल्लाले बारी हरियाली बगर जस्तै देखियो । आशिष उत्साहित भए । तर, अफसोस ! उनकाे उत्साह धेरै टिक्न सकेन । बन्दागोभी काटेर बजार पठाउने बेलामा झरी पर्यो । दुई दिनको झरीले सडक बाटो भताभुङ्ग भयो । बन्दागोभी बारीमै कुहिन थाल्यो । एकातिर बन्दागोभीको बजार मूल्य ओरालो लाग्दै थियो भने अर्कोतिर बजारसम्म लैजान गजुरी-जरुङ बाटो बन्न सकेन । उनी निराश भए ।
आफ्नो बारीमा कम्तीमा १६ टन (१६ हजार किलो) उत्पादन हुने र त्यसबाट कम्तीमा पाँच देखि ६ लाख रुपैयाँ आम्दानी हुने उनको आङ्कलन थियो । तर, समयमा सडक नबन्दा उनको श्रम, पसिना र लगानी बालुवामा पानी जस्तै भयो ।
“यसपालि धेरै लगाएको खत्तम भयो, मेरो मात्रै होइन सबैको यस्तै भयो भनेर चित्त बुझाइराकाे छु”, उनले भने, “पहिलो गाँसमै ढुङ्गा परेको जस्तो भयो ।”
आशिष एक प्रतिनिधि पात्र मात्र हुन् । बेनीघाट रोराङ–१, का सयौँ किसानले उस्तै नियति भोगेका छन् । उनीहरूले उत्पादन गरेको तरकारी र फलफूल बारीमै कुहिएका छन् । भर्खरै व्यावसायिक कृषितर्फ लम्किँदै गरेको सो वडाका किसानहरू यस पटक नराम्रोसँग झस्किएका छन् । जरुङसहित साेही वडाका सिम्टार, पइन्टार, सुन्दरनागी, बाँसखर्क, चिम्बाङ, ब्राम्दीङ, धुसाराङ, कुन्चुरुङ लगायत गाउँका किसानहरूले लगाएकाे तरकारी बारीमै कुहिएकाे छ । उनीहरूलाई डर छ, अब पनि बाटो राम्रो बनेन भने फेरि दालभात खानाकै लागि खाडी पस्नुपर्ने हो कि !
बेनीघाट रोराङ–१, का वडाध्यक्ष जीवन सिं तामाङका अनुसार वडामा यस सिजनमा मात्रै साठी लाख रुपैयाँभन्दा बढीको बन्दाकाेपी बारीमै कुहिएको छ । बाटोको दुरावस्थाका कारण समयमा बजार पुर्याउन नसक्दा किसानहरू मारमा परेको उनले बताए ।
“बाटोको दुरावस्थाका कारण यहाँका किसानहरूले समयमा बजार पुर्याउन सकेनन् । अर्काेकुरा यस वर्ष तरकारीको भाउ पनि अकल्पनीय ढङ्गले ओरालो लाग्यो । हामीलाई ठुलो नोक्सान भएको छ ।” वडाध्यक्ष तामाङले भने ।
उनका अनुसार त्यहाँ उत्पादित तरकारी तथा फलफूल काठमाडौं, पोखरा, दमौली, नारायणबाट, चरौँदी, हेटौँडा लगायत बजारमा जाने गरेको छ । अघिल्लो वर्षसम्म बारीमै तरकारी उठाउन आउने व्यापारीहरू यस वर्ष नआएको उनले बताए । “यस वर्ष अन्य ठाउँमा पनि बन्दागोभीको उत्पादन बढेको भन्ने छ । तर, यता चाहिँ बाटो नराम्रो भएकाले ढुवानी खर्च बढ्ने भएपछि व्यापारीहरू नआएका हुन् ।” उनले भने ।
सो वडाको जरुङ गाउँमा रहेको श्री जरुङ सिम्टार आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका स्थानीय वीर बहादुर तामाङका अनुसार ठुलो परिमाणमा उत्पादित बन्दागोभीसँगै आरु, आलुबखडा, खुर्पानी, आलुचा लगायत फलफूल र सागसब्जीसहित एक करोड रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।
“मेरै बारीमा अहिले पनि आरु र आलुबखडा कुहिरहेको छ । बाटोको दुरावस्थाका कारण बजार पठाउन सकेको छैन”, शिक्षक वीर बहादुरले भने, “जसोतसो एक दुई हप्तामा गाडी आउँछ । गाडी कुन ठाउँमा गएर फस्ने हो थाहा नै हुँदैन । तरकारी फलफूल पठाएर के गर्नु, बीच बाटोमै कुहिन्छ ।”
बिमारी पितालाई घरमै छोडेर फर्किए जयराम
काठमाडौं बसेर व्यवसाय गर्दै आएका जरुङ गाउँकै जयराम तामाङ आफ्नो पिता बिमारी भएको थाहा पाएपछि असार ३१ गते गाउँ गए । एक हप्तासम्म जमर्को गर्दा पनि काठमाडौं ल्याउन नसकेपछि बिमारी पितालाई घरमै छोडेर उनी काठमाडौं फर्किए ।
“एम्बुलेन्स आउने सम्भावना नै भएन । बल्लबल्ल एक हप्तामा बस आयो । बीच बाटोमै फस्ने डरले बिमारी बुवालाई घरमै छोडेर आएँ”, उदास देखिएका जयरामले मलिन स्वरमा भने, “सङ्घीय राजधानीसँगै जोडिएको जिल्लाको जनता भएर पनि अलिकति पनि सुख पाइएन । न गाउँमा अस्पताल छ, न सहरको अस्पतालमा लैजान सकिन्छ ।”
आफूले चढेर आएको बस हिलोमा फसेपछि साबेलले हिलो कोट्याउँदै उनले भने, “धत् ! मुख्यमन्त्रीको क्षेत्रको बाटो । मुख्यमन्त्रीज्यूलाई एक पटक यो बाटोमा यात्रा गर्न आउनु भन्दिनु है !”
जयराम पनि प्रतिनिधि पात्र मात्र हुन् । सडक बाटोको दुरावस्थाका कारण अस्पताल जान नसकेर मृत्यु कुरिरहेकाहरू धेरै छन् । कतिले सामान्य सिटामोल समेत खान नपाएर ज्यान गुमाइरहेका छन् ।
अन्य व्यवसायीलाई पनि सास्ती
बाँसखर्कमा होटल सञ्चालन गर्दै आएका जयराम थिङको पिडा पनि उस्तै छ । उनले आफ्नो होटलमा आवश्यक खाद्यवस्तु ल्याउन सकेका छैनन् । ढुवानी भाडा अत्यधिक महँगो परेको कारणले होटल नै चलाउन गाह्रो भएको उनले बताए ।
“पृथ्वी राजमार्ग अन्तर्गतको गजुरी बजारबाट यहाँसम्मको बाटो जम्मा बीस-बाइस किलोमिटर छ, तर गाडी आउन साह्रै गाह्रो छ । बाटो बनाउँदै ल्याउँदा कहिले तीन दिनमा मात्रै यहाँ आइपुग्छ । कहिले नसकेर फर्की जान्छ”, जयरामले भने ।
हिउँदमा बाटो राम्रो हुँदा पर्यटकहरू पनि आउने गरेको तर अहिले बर्खा लागेसँगै बाटो बिग्रिएपछि पर्यटक आउन छाडेको उनले बताए । “हाम्रो यो ठाउँ अत्यन्तै सुन्दर छ, अहिले बर्खाको मौसममा झनै सुन्दर देखिन्छ, तर दुर्भाग्य बाटोको हालत राम्रो भएन ।”
बेनीघाट रोराङ–१ र गजुरी–४ को सिमानामा पर्ने थमभन्ज्याङमा होलसेल किराना पसल चलाउँदै आएका कमान सिं तामाङको पिडा पनि उस्तै छ । गजुरी बजारबाट सामान लैजान तीन दिनसम्म लाग्ने गरेको पिडा उनले सुनाए ।
“हामीलाई सामान ल्याउन धेरै गाह्रो भइरहेको छ । अत्यावश्यक नुन, तेल, साबुन, दाल, चामल गाउँघरमा जसरी भए पनि उपलब्ध गराउनुपर्ने हाम्रो बाध्यता छ । किनकि यो हाम्रो व्यवसाय हो । तर, ढुवानीको कठिनाइका कारण हामीले ठुले घाटा बेहाेर्नु परेको छ ।” उनले भने ।
“साढे चार वर्षअघि जस्तो थियो, त्यस्तै छ सडक”, बस चालक
विगत साढे चार वर्षदेखि सो बाटोमा बस चलाउँदै आएका मिलन घलानले चार वर्षको अवधिमा पनि उक्त बाटोको स्तरोन्नति हुन नसकेको बताए ।
“हामीले विगत साढे चार वर्षदेखि यो बाटोमा बस चलाउँदै आएका छौँ । यो ठाउँमा हामीले नै पहिलो पटक बस सञ्चालनमा ल्याएका हौँ । बाटोको अवस्था चाहिँ साढे चार वर्ष अगाडी जस्तो थियो, त्यस्तै छ अहिले पनि”, उनले भने, “बाटो अलि राम्रो बन्दै जाला भन्ने आशमा हामीले निरन्तर बस सञ्चालन गरिरह्यौँ, तर अझै पनि उस्तै छ । अहिले बाटो बनाउन कुटो, कोदालो, साबेल बोकेर ८–१० जना साथीहरू लिएर हिँड्नुपर्ने अवस्था छ ।”
उनीहरूले काठमाडौंको कलङ्कीबाट बेनीघाट रोराङ–१ को जरुङ गाउँसम्म बस सञ्चालन गर्दै आएका छन् । हिउँदमा जसोतसो चलाए पनि बर्खामा दुई तीन महिना ठप्प प्रायः हुने गरेको उनीहरू बताउँछन् ।
“बर्खा लागेपछि दुई तीन महिना बस थन्काएर बस्नुपर्छ, बस पाल्नु कि पेट पाल्नु ?” मिलनले भने, “यो त मुख्यमन्त्रीको क्षेत्र भन्छ, यस्तो बाटो छ, लाजमर्दो ! कहिल्यै सुधार भएन ।”
गजुरी खण्डमा यसवर्ष पनि छैन बजेट, बेनीघाट-राेराङ खण्डमा झन्डै दुई करोड
धादिङको बेनीघाट रोराङ–१, गजुरी गाउँपालिकाको ३ र ४, मकवानपुरको उत्तरी भेग स्थित कैलाश–२ को वैकुण्ठ र कैलाश गाउँका बासिन्दाहरू बजार आवतजावत गर्ने मुख्य बाटो हो, गजुरी–जरुङ सडक । ट्र्याक खोलेको डेढ दशक हुँदा पनि २८ किलोमिटर लामो सो सडकखण्डको नामकरण भएको छैन, नत स्तरोन्नति नै । २८ किलोमिटरमध्ये करिब २० किलोमिटर (चालिसे–खोरभन्ज्याङ) गजुरी गाउँपालिकामा नै पर्छ ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार यस वर्ष सो सडकखण्डको लागि गाउँपालिकाले पचास लाख रुपैयाँ विनियोजन गरेको छ । सांसद विकास कोषको एक करोड रुपैयाँ बजेट ल्याउने प्रयास गरिएको भए पनि अहिलेसम्म टुङ्गो नभएको उनले बताए ।
गजुरी–३ का वडाध्यक्ष ऋषिलाल श्रेष्ठले गाउँपालिकाले दिएको पचास लाख रुपैयाँ तीन ठाउँमा मर्मत गर्न खर्च हुने जानकारी दिए । उनका अनुसार १८ लाख रुपैयाँ वाल्सिङ, ७ लाख रुपैयाँ ज्यामिरे भन्ज्याङमा र बाँकी २५ लाख रुपैयाँ वडा कार्यालय जाने बाटोमा खर्च हुने छ ।
पालिकाको उक्त बजेटले उल्लेखित तीन ठाउँमा सामान्य टालटुल गर्न पुग्ने र बाँकी खण्डको सडक स्तरोन्नति हुने सम्भावना नरहेको वडाध्यक्ष श्रेष्ठले बताए । उक्त सडकखण्डको दुरावस्थाको विषयमा आफूले मुख्यमन्त्री शालिकराम जमरकट्टेल र प्रतिनिधिसभा सांसद राजेन्द्र पाण्डेलाई पटक–पटक भेटेर ध्यानाकर्षण गराएको तर नसुनेझैँ गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।
“मैले पटक पटक मुख्यमन्त्री सांसदहरूलाई भेटेर भनेको छु, यहाँको अवस्थाबारे ब्रिफिङ गरेको छु, प्रतिवेदनहरू बनाएर बुझाएको पनि छु, तर नसुने झैँ गर्छन्”, वडाध्यक्ष श्रेष्ठले आक्रोश पोख्दै भने, “नेताहरूले आफ्नै गाउँ र पार्टीको कार्यकर्तालाई मात्रै ध्यानमा राखेर बजेट विनियोजन गरे । माननीय राजेन्द्र प्रसाद पाण्डेकाे गाउँमा हेर्नुन, मलेखु-डुँडेठाँटी सडकको लागि चार करोड हालेको छ, अर्को ४५ लाख रुपैयाँ पालिका बजेट पनि सोही सडक खण्डमा हालेको छ । दुई करोड रुपैयाँ यता हालिदिएको भए के जान्थ्यो र ? हामीले पनि भोट हालेकै हो ।”
वडाध्यक्ष तामाङका अनुसार बेनीघाट रोराङ–१ को बाँसखर्क–जरुङ खण्डको लागि एक करोड रुपैयाँ समपूरक बजेट परेको छ । प्रदेश र पालिकाले पचास/पचास लाख रुपैयाँ बजेट हाल्ने भएको छ । त्यसैगरी ताल्ती–ब्रोम्दीङ खण्डको लागि प्रदेशबाट सशर्त अनुदानमा ८० लाख रुपैयाँ बजेट प्राप्त हुने भएको छ ।
“यस वर्ष हाम्रो वडाको सडकमा करिब डेढ देखि दुई करोड रुपैयाँको काम हुँदै छ । वडाको सडकमा परेको बजेट सन्तोषजनक नै छ । समस्या गजुरी गाउँपालिका खण्डको हो । उक्त सडकखण्ड राम्रो नभएसम्म हामीलाई गाह्रो नै हुने भयो”, वडाध्यक्ष तामाङले भने, “गजुरी गाउँपालिकाको बेवास्ताका कारण हामीले दुःख पाउने भएको छ ।”
गजुरी-जरुङ सडकखण्ड कसले बनाउने भन्ने विषयमा दुई गाउँपालिकाबीच अन्योल बढ्दा बजेट ल्याउन नसकिएको वडाध्यक्ष तामाङले बताए । बेनीघाट रोराङ–१ को बासिन्दा आवतजावत गर्ने मुख्य बाटो भएकाले बेनीघाट रोराङले नै बनाउनुपर्ने गजुरी गाउँपालिकाले बताउने गरेको उनले सुनाए । तर, बेनीघाट रोराङले अर्को गाउँपालिकामा पर्ने सडकखण्डको लागि बजेटको सिफारिस गर्न नसकिने बताएपछि उक्त सडकखण्डको गजुरी खण्ड बेवास्तामा परेको हो ।
धादिङ–१, ले दुई जना मुख्यमन्त्री दिए, तर पाएनन् केही
धादिङको प्रतिनिधिसभा–१, को प्रदेश “ख” बाट निर्वाचित शालिकराम जमरकट्टेल अहिले बागमती प्रदेशका मुख्यमन्त्री हुन् । यसअघि सोही क्षेत्रको प्रदेश “क” बाट निर्वाचित राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री थिए । अहिले प्रतिनिधिसभा–१ का सङ्घीय सांसद छन् पाण्डे । नेकपा समाजवादीको केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेले उक्त क्षेत्रमा साढे तीन दशकदेखि नेतृत्व गर्दै आएका छन् ।
त्यसो त नेकपा माओवादीबाट निर्वाचित जमरकट्टेलले पनि पन्ध्र वर्षदेखि त्यस क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । २०६४ मा (तत्कालीन धादिङ–३) हाल १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएदेखि उक्त क्षेत्रमा निरन्तर नेतृत्वदायी भूमिकामा नै छन् मुख्यमन्त्री जमरकट्टेलले ।
०७४ काे निर्वाचनमा नेकपा एमालेका भूमि त्रिपाठी प्रतिनिधिसभा सदस्य निर्वाचित भए । तर, उनले पनि त्यस भेगका जनताले अनुभूत गर्न सकिने काम गर्न सकेनन् ।
त्यस क्षेत्रका प्रतिनिधिहरूले पृथ्वी राजमार्ग वरिपरिका बजार क्षेत्रको विकासमा मात्रै ध्यान केन्द्रित गरेको र ग्रामीण भेगलाई बेवास्ता गरेको नेपाली काँग्रेस बागमती प्रदेश सदस्य श्याम लामाले बताए ।
“नेताहरू चुनावको बेला मात्रै गाउँ पसे, अरू बेला राजमार्ग परिसर बाहेक अन्त पुग्दैनन् । गाउँगाउँमा न सडक छ, न बत्ती छ, न विद्यालय छ, न अस्पताल छ । खानेपानीको हाहाकार उस्तै छ”, बेनीघाट राेराङ-१, जरुङ गाउँका स्थानीय समेत रहेका लामाले भने, “दुई जना मुख्यमन्त्रीसहित नेताहरू जन्माएको धादिङ-१, ले केही पाएको जस्तो देखिँदैन । यहाँका गाउँहरूले मुख्यमन्त्री, सांसदहरूलाई साँच्चै गिज्याइरहेका छन् ।”
भिडियो