कृषकहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट कृषकहरूलाई सम्मानित गरेको गाउँपालिकाका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक)ले बताए ।
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट कृषकलाई सम्मानित गरेको छ । गाउँपालिकाले “पालिका प्रमुखसँग कृषक प्रोत्साहन कार्यक्रम” अन्तर्गत १७ जना कृषकलाई नगद र प्रमाणपत्रसहित सम्मानित गरेको हो ।
गाउँपालिकाको कृषि शाखा कार्यालय विशालटारमा गत शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै कृषकहरूलाई सम्मानित गरेको हो ।
कृषकहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट कृषकहरूलाई सम्मानित गरेको गाउँपालिकाका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक)ले बताए ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा नै कृषकहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरूको सञ्चालन गरिने उल्लेख छ । उक्त नीति तथा कार्यक्रमको कार्यान्वयनको क्रममा नै उत्कृष्ट कृषक सम्मान कार्यक्रम गरिएको हो ।
“हाम्रो गाउँपालिकामा उद्योगधन्दा कलकारखाना छैनन् । रोजगारी पाउन गाह्रो छ । हामीले पनि रोजगारी सिर्जना गर्न र दिन सकिने अवस्था छैन”, प्रमुख थपलियाले भने, “हामीले कृषिबाट नै स्वरोजगार र आत्मनिर्भर बन्नु र बनाउनुपर्ने छ । सोही अनुसार कार्यक्रमहरू ल्याउनेछौँ ।”
कृषिको विकासविना गाउँपालिकाका बासिन्दा आत्मनिर्भर बन्न नसक्ने भएकाले कृषिलाई पहिलो प्राथमिकता दिन आवश्यक रहेको र सोही बमोजिमका कार्यक्रमहरू सञ्चालन गरिने गाउँपालिकाका उपप्रमुख टाप बहादुर श्रेष्ठले बताए ।
कृषकलाई मल, विउविजन, कृषि सामाग्री, तालिम लगायतमा सशर्त तथा निशर्त अनुदान दिने र आगामी पाँच वर्षभित्र गाउँपालिकाभित्रका कृषकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ योजना तथा कार्यक्रमको निर्माण गरिरहेको उपप्रमुख श्रेष्ठले बताए ।
सबै मानिसहरूलाई बाँच्नका लागि कृषिजन्य उत्पादन नै आवश्यक पर्ने भएकाले कृषिलाई सम्मानित पेसाको रूपमा लिनुपर्ने उपप्रमुख श्रेष्ठको सुझाव थियो ।
सम्मानित हुनेमा वडा नम्बर १ का इन्द्र बहादुर तामाङ, आयुष तामाङ, वडा नम्बर २ का मनकुमार प्रजा, राम बहादुर प्रजा र लाल बहादुर प्रजा, वडा नम्बर ३ का सिर्जना थपलिया, मसिने प्रजा र रामबहादुर प्रजा, वडा नम्बर ५ का राजकुमार विसुराल र राजन त्रिपाठी, वडा नम्बर ६ का इन्द्रकुमार सिलवाल, वडा नम्बर ७ का गोपी प्रसाद थपलिया, वडा नम्बर ९ का बाबुराम राउत, कमल बहादुर खान ठकुरी, प्रदीप श्रेष्ठ, रोजिना सेन ठकुरी र सन्दीप घिमिरे रहेका छन् । कृषकहरूलाई प्रोत्साहन स्वरूप जनही दश हजार रुपैयाँसहित प्रमाणपत्र दिइएको छ ।